काठमाडौं– युक्रेनविरूद्ध युद्ध छेडेको सय दिनभित्र रूसले ९७ अर्ब डलरको कच्चा तेल र ग्यास निर्यात गरेको पाइएको छ।
सेन्टर फर रिसर्च एण्ड क्लिन एयर (क्रेया)को प्रतिवेदन अनुसार यस वर्षको मार्च महिनादेखि धेरै देशले रूसबाट कच्चा तेल र ग्यास खरिद गर्न बन्द गरेका छन्, जसका कारण यसको निर्यात आम्दानी लगातार घट्दै गएको छ। तर, यसको बाबजुद रूसको आम्दानी पनि बढेको छ।
प्रतिवेदनले रूसबाट तेल खरिद गर्दा लगाइएका प्रतिबन्धहरूमा सम्भावित कमजोरी हुन सक्ने चेतावनी दिएको छ। युक्रेनमा रूसले आक्रमण गरेपछि युरोपेली संघ, अमेरिका र बेलायतले रूसबाट तेल र ग्यास आयात नगर्ने बताएका छन्।
तर, क्रेयाको प्रतिवेदनका अनुसार युद्धको १०० दिनभित्र अर्थात् फेब्रुअरी २४ देखि जुन ३ सम्ममा रूसले तेल र ग्यास बेचेर आफ्नो राजस्वमा ९७ अर्ब डलर थपेको छ। जसमध्ये ६१ प्रतिशत अर्थात् ५९ अर्ब डलर बराबरको युरोपियन युनियनका देशहरूले आयात गरेका छन्।
प्रतिवेदनका अनुसार रूसी तेल र ग्यास निर्यातबाट हुने आम्दानी मार्चमा दिनमा १ अर्ब डलरले घटेको छ।
तर, क्रेयाका अनुसार युद्धको पहिलो सय दिनमा रूसको आम्दानी युक्रेन युद्धमा भएको खर्चभन्दा बढी थियो। युक्रेन युद्धमा रूसले दैनिक ८७६.५ मिलियन डलर खर्च गरिरहेको छ।
युरोपेली संघले यस वर्षको अन्त्यसम्ममा रूसबाट समुद्रबाट हुने आयातमा प्रतिबन्ध लगाउने योजना बनाएको छ र यसको आयात दुई तिहाइले घटाउनेछ।
प्रतिक्रिया