समाचार विश्लेषण

ताइवान मुद्दाले झन् चिसिँदै अमेरिका र चीन सम्बन्ध 

काठमाडौं। पछिल्ला दिनमा ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच तीव्र रुपमा कटुता बढिरहेका बेला जुन १२ मा यी दुई मुलुकका उच्च अधिकारीबीच सिंगापुरमा भेटवार्ता भयो। सिंगापुरले आयोजना गरेको सांग्रिला डायलगमा भाग लिन आएका चीनका रक्षा मन्त्री जनरल वे फंख र अमेरिकी रक्षा मन्त्री लियोड जे. अस्टिनबीच भएको भेटवार्ताले कटुता र द्वन्द्व घटाउन मद्दत गर्ला त? सबैको चासोको विषय भएको छ। 

चिनियाँ एक अधिकारीले यस भेटलाई ‘प्रोफेसनल’को संज्ञा दिए पनि पछिल्लो समयमा ताइवानको विषयलाई लिएर अमेरिका–चीन तनावबारे कुन तहमा छलफल भएको भन्ने आधिकारिक रुपमा खुलाएका छैनन्। उता, वासिंगटनले पनि अमेरिकी रक्षामन्त्री जस्टिन र उनका चिनियाँ समकक्षीबीच कुन–कुन एजेन्डामा विमर्श भयो भन्ने औपचारिक ढंगले कहीँ स्पष्ट उल्लेख गरेको छैन। उनीहरुबीच आधा घन्टाका लागि भेटवार्ता तय गरिए पनि करिब एक घन्टाजति कुराकानी भएको थियो। चिनियाँ रक्षामन्त्री वेको आग्रहमा भेटवार्ता तय गरिएको र ताइवानबारे व्यापक छलफल भएको अमेरिकी पक्षको भनाइ छ। त्यस अवसरमा उत्तर कोरिया, रुस–युक्रेन युद्घबारे समेत कुराकानी भएको जनाइएको छ। 

शक्तिशाली मुलुक अमेरिका र पछिल्लो समय शक्तिसम्पन्न बन्दै गएको चीनका रक्षामन्त्रीबीच भएको कुराकानी नितान्त औपचारिकतामा सीमित रहेको देखिन्छ। उनीहरुबीच पछिल्लो समय ताइवान प्रकरणले अमेरिका र चीनबीच उत्पन्न गरेको संशय र अविश्वास घटाउन कुनै ठोस योगदान पुर्याएको देखिँदैन। यस्तो ढंगले यी दुई शक्तिशाली मुलुकहरुबीच द्वन्द्व बढ्दै गयो भने कतै संसार नै विश्वयुद्घको विभीषिका फस्ने त होइन भन्ने भय र त्रास उत्पन्न भएको छ। 

के हो द्वन्द्वको कारण?

अमेरिकाले बारम्बार ताइवानबारे आफ्नो नीति फेरबदल नहुने स्पष्ट पार्दै आएको छ। ताइवानमाथि चिनियाँ सेनाको हस्तक्षेप र ज्यादती विश्वव्यापी मानवअधिकारको घोषणापत्र विपरीत रहेको उसको जिकिर छ। उता, ‘वान चाइना पोलिसी’को विरुद्घमा अमेरिकाले ताइवानमा आफ्नो सैनिक गतिविधि बढाएर द्वन्द्वको बिजारोपण गर्दै आएको आरोप चीनले लगाउँदै आएको छ। 

अमेरिकाले एसिया–प्यासिफिक राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्दै बेइजिङविरुद्घ मोर्चाबन्दी कसेको भन्दै चिनियाँ अधिकारीले कडा प्रस्तुति दिँदै आएका छन्। बहुपक्षीय सहयोग नामक छद्मभेषमा अमेरिकाले युध्दको अभ्यास गरिरहेको र त्यो आफूहरुलाई सह्य नहुने आशयको प्रतिक्रिया यसअघि नै चीनले दिइसकेको छ। ताइवानमा शैन्य अभ्यास बन्द गर्न अमेरिकालाई चीनले कडा चेतावनीसमेत दिइसकेको छ। 

स्वतन्त्र ताइवानको पक्षमा अमेरिकालगायत पश्चिमी मुलुकले ऐक्यबद्घता जनाउँदै आएका छन्। ताइवानका बहुसंख्यक जनता चीनको कम्युनिस्ट तानाशाही व्यवस्थाको विपक्षमा रहेका र स्वतन्त्रता तथा मानवअधिकारको लडाइँमा आफूहरुको साथ रहने वासिंगटनले स्पष्ट पार्दै आएको छ। इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो उपस्थिति बलियो पार्ने रणनीतिमा लागेको अमेरिकाले ताइवानबाट कुनै हालतमा पछि नहट्ने जनाइसकेको छ। केही साताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वतन्त्र ताइवानको पक्षमा अभिव्यक्ति दिँदै लोकतन्त्र र मानवअधिकारका विपक्षमा नलाग्न चीनलाई चेतावनी दिएका थिए। त्यसयता, चीन अमेरिकाविरुद्घ क्रोधित बन्दै आएको हो।  

अमेरिकाको उक्साहटमा स्वतन्त्र ताइवानको पक्षमा गरिने जुनसुकै प्रयासलाई जुनसुकै मूल्य चुकाएर भए पनि परास्त गर्ने सिंगापुरमा भएको सांग्रिला डायलगमा चिनियाँ रक्षामन्त्री फंखले जनाइसकेका छन्। अमेरिकाले चिनियाँ मामिलामा हस्तक्षेप गरेको र उसले त्यसको मूल्य चुकाउनुपर्ने भन्दै कडा अभिव्यक्ति दिएपछि यी दुई मुलुकबीचको सम्बन्ध झन् जटिलतातर्फ उन्मुख भएको जानकारहरु बताउँछन्। 
 
केही समयअघि चीनले ताइवानको भूमिनजिक लडाकु विमान उडाएर मनोवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति बाइडेनले चीनले लडाकु विमानको ध्वाँस देखाएर आगोसँग खेलिरहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि बेइजिङका उच्चअधिकारीहरु कडा प्रतिवादमा उत्रिँदै आएका छन्। यदि चीनले ताइवानमाथि आक्रमण गरेमा सैनिक परिचालन गरेर त्यसको प्रतिरक्षा गरिने ह्वाइट हाउसले वक्तव्य जारी गरेपछि अमेरिका र चीन सम्बन्ध आगोमा घिउ थपेजस्तै बन्न पुगेको छ। 

सन् २०१६ मा निर्वाचित हाल पनि कार्यरत रहँदै आएकी ताइवानकी पहिलो महिला राष्ट्रपति साइ इंग वेनले ताइवान एउटा सार्वभौम राष्ट्र रहेको बताउँदै आएकी छन्। 

तर, चीनले भने लामो समयदेखि ताइवानलाई आफ्नो प्रान्त रहेको दाबी गर्दै आएको छ। अमेरिकाको उक्साहटमा ताइवानमा चीनविरोधी गतिविधि हुँदै आएको र त्यसलाई कडा प्रतिरोध गर्न चीन तत्पर रहेको अभिव्यक्ति बेइजिङले दिँदै आएको छ।  

पछि हट्ला त बेइजिङ?

बहुसंख्यक ताइवानी जनता सार्वभौम राष्ट्रको पक्षमा छन्। तर, चीन भने त्यसलाई स्वीकार गर्न तयार देखिँदैन। ताइवानको लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारको अभियानमा अमेरिका र पश्चिमी मुलुकहरुले सघाउँदै आएका छन्। यो कुरा चीनले पटक्कै रुचाएको छैन र कुनै पनि हालतमा चीन ताइवान मामिलामा पछाडि हट्ने सम्भावना देखिँदैन रुचाउँदैनन्। चीनले ताइवानमाथि सैन्य अभ्यास बढाइरहेका बेला कुनै पनि बहानामा अमेरिकाले त्यसको प्रतिरोध गरेमा युद्घ हुनसक्ने विश्लेषकहरुको ठहर छ। पछिल्लो समय पश्चिमी मुलुकहरुको सहायतामा चीनले हवाई र सामुद्रिक सैन्यशक्ति सुदृढ गर्दै आएको छ र आवश्यक परेमा भिड्न तयार रहेको सन्देश प्रवाहित गरेको छ। 

त्यसो त चीनले ‘एक देश, दुई प्रणाली’ संरचनालाई आधार मानेर ताइवानसँग शान्तिपूर्ण पुनःएकीकरणको मुद्दा उठाए पनि ताइवानले त्यसलाई स्वीकार गरेको छैन। यदि ताइवान प्रकरणमा शान्तिपूर्ण समाधान हुन सकेन भने रुस–युक्रेन युद्घजस्तै भयानक परिणति सिर्जना नहोला भन्न सकिन्न। अहिलेसम्मको स्थिति हेर्दा अमेरिका तथा पश्चिमी मुलुकहरुको ब्याकअपमा ताइवान र सैन्यशक्तिको बलमा चीन टसमस गर्ने स्थितिमा छैनन्।

प्रतिक्रिया