आइसल्याण्ड फेरि विश्वको शान्तिप्रिय देश, नेपाल ७३ स्थानमा

काठमाडौं। विश्वको सबैभन्दा शान्तिप्रिय देशमा नेपाल ७३ स्थानमा उक्लिएको छ। ग्लोबल पिस इन्डेक्सले सन् २०२२ को रिपोर्ट सार्वजनिक गर्ने क्रममा नेपाल ७ स्थान माथि उक्लिएको हो। 

विश्वको सबैभन्दा शान्तिप्रिय देश भने पुनः आइसल्याण्ड भएको छ। दोस्रो स्थानमा न्युजिल्याण्ड र तेस्रोमा आयरल्याण्ड छन्। आयरल्याण्ड गत वर्ष आठौं स्थानमा थियो। 

विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबैभन्दा अशान्त राष्ट्र अफगानिस्तान परेको छ। यसपछि यमन र सिरियाको नाम उल्लेख छ। युक्रेन युद्धमा होम्मिएको रुस चौथो अशान्त राष्ट्र बनेको छ। 

आइसल्याण्ड र न्युजिल्याण्ड गत वर्ष पनि पहिलो र दोस्रो स्थानमा थिए। विश्वको १० शान्तिप्रिय देशमा डेनमार्क चौथो, अस्ट्रिया पाँचौ, पोर्चुगल छैटौं, स्लोभानिया सातौं, चेक गणराज्य आठौं, सिङ्गापुर नवौं र जापान दशौं स्थानमा छन्। 

ग्लोबल पिस इन्डेक्सले घरेलु तथा अन्तर्राष्ट्रिय संघर्ष, समाजिक सुरक्षा, सुरक्षा र सैन्य करणको अवस्थालगायत २३ वटा मापदण्डको अध्ययन गरेर सबै देशको मूल्यांकन गर्छ। 

नेपाल गत वर्ष ८० औं स्थानमा थियो। यस्तै छिमेकी भारत पनि यसपालि ३ स्थान माथि उक्लिदै १ सय ३५ स्थानमा पुगेको छ। दक्षिण एसियामा सबैभन्दा शान्त देश भुटान हो। उ ग्लोबल पिस इन्डेक्समा १९ स्थानमा छ। गत वर्ष भुटान १६ औं स्थानमा थियो। 

यस्तै, हिंसाका कारण सन् २०२१ म विश्व अर्थव्यवस्थामा १६ दशमलव ५ ट्रिलियन डलरको नोक्सानी भएको छ। प्रत्येक व्यक्तिसँग यसको तुलना गर्दा २ हजार १ सय १७ डलर घाटा लागेको छ। 
 

प्रतिक्रिया