समाचार विश्लेषण

स्वतन्त्र उम्मेदवारी घोषणाको तापमा प्रमुख दलहरु

काठमाडौं। असार २ गते बिहीबार ‘सेलिब्रिटी’ पत्रकार रवि लामिछानेले आगामी संसदीय निर्वाचनमा काठमाडौंको कुनै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरे। यद्यपि, कुन क्षेत्रबाट उठ्ने भन्ने चाहिँ उनले खुलाएका छैनन्। टेलिभिजन कार्यक्रम ‘सिधा कुरा’ बाट जनताका समस्या, बेथिति, विकृति आदि विषय जोडदार रुपमा उठाएर अलग्गै पहिचान बनाएका लामिछानेको उम्मेदवारी घोषणाले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ।

लामिछानेको उम्मेदवारीपछि सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर आदि) मा मिश्रित प्रतिक्रिया आएका छन्। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरलगायत मुलुकका केही प्रमुख नगरहरुमा स्वतन्त्र उम्मेदवारहरुको जितबाट उत्साही भएका व्यक्तिहरुले उनको पक्षमा अभिमत व्यक्त गरेका छन् भने कतिपय व्यक्तिहरुले भने ‘राजनीति’ भनेको पत्रकारितामा अरुलाई प्रश्न सोधेर आच्छुआच्छु पारेजस्तो सजिलो नहुने टिप्पणी गरेका छन्।

पछिल्लो समय ‘ग्यालेक्सी ४ के’ को आकर्षक जागिर छाडेर राजनीतिमा होमिएका लामिछानेलाई कतै रवीन्द्र मिश्रको जस्तै हालत हुने त होइन भनी संशय पनि व्यक्त गरेका छन्। स्वयं लामिछानेले भने यतिन्जेल पत्रकारितामार्फत् टेलिभिजनको पर्दाबाट भुइँ मान्छेको आवाज उठाउँदै आएको र अब जनताको आवाज सदनमा उठाउन चाहेको प्रस्ट पारिसकेका छन्। 

यसअघि नै काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बमले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। विवेकशील नेपाली दलको संस्थापक सदस्य तथा कार्यपालिका प्रमुख रहेका बम यसअघि विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रहेका थिए। विवेकशील नेपालीका संस्थापक अध्यक्ष उज्वल थापासँग सुरुदेखि नै निकट रहेर काम गरेका बम सामाजिक र राजनीतिक दुवै मोर्चामा उत्तिकै सक्रिय रहँदै आएका छन्। ‘शालीन विद्रोही’को उपमा पाएका बमले अकुपाइ बालुवाटार, गोविन्द केसीको सत्याग्रह, इनफ इज इनफलगायत विभिन्न सामाजिक आन्दोलनमा अग्रमोर्चामा रहेर काम गर्दै आएका छन्।     

पार्टीको विधान विपरीत समानान्तर गतिविधि गरेको भन्दै विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले मिलन पाण्डे, पुकार बमलगायत २६ जना केन्द्रीय सदस्यहरुलाई कारबाही गरेपछि बम विवेकशील साझा पार्टीमा सक्रिय छैनन्। आगामी संसदीय चुनावमा स्वतन्त्र हैसियतमै प्रतिष्पर्धा गर्ने घोषणा गरेका बमले चुनावी अभियानसमेत थालिसकेका छन्।

२०७४ सालको चुनावमा काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने घोषणा गरिसकेकी छन् भने नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले पनि काठमाडौंबाटै संसदीय चुनाव लड्ने निर्णय लिइसकेका छन्। त्यस्तै, नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले  काठमाडौंबाटै स्वतन्त्र हैसियतमा चुनावमा उठ्ने बताइरहँदा रवि लामिछानेका सहोदर दाजु पत्रकार हरिशरण लामिछानेले काठमाडौं वा काभ्रेबाट उम्मेदवारी दिने कुरा सार्वजनिक गरिसकेका छन्। विवेकशील साझा पार्टीका पूर्वनेता तथा पूर्वाधारविद् डा. सूर्यराज आचार्यले चितवनमा माओवादी अध्यक्ष प्रचण्डको क्षेत्रबाट चुनाव उठ्ने बताउँदै आएका छन्।  

खासगरी काठमाडौंका १० वटै क्षेत्रहरुका साथै ललितपुर र भक्तपुरबाट समेत स्वतन्त्र हैसियतमा संसदीय चुनावमा प्रतिस्पर्धा गर्ने प्रत्यासी युवाहरुको सूची दिनहुँ बढ्दो छ। त्यस्तै, चितवन, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज, नेपालगन्ज, धरान, धनगढीलगायत मुख्य शहरहरुबाट स्वतन्त्र रुपमा संसदीय चुनाव लड्न चाहने युवाहरुको नामावली धमाधम सार्वजनिक हुँदै आएको छ। 

स्वतन्त्र उम्मेदवारी दिँदैमा सबै उम्मेदवारहरुले जित हासिल गरिहाल्छन् भन्ने पक्कै कुनै निश्चित स्थिति रहँदैन। तथापि, खासगरी काठमाडौं उपत्यका र मुख्य शहरी क्षेत्रबाट आगामी संसदीय चुनावमा प्रत्यासी बन्ने स्वतन्त्र उम्मेदवारहरु कांग्रेस, एमाले र माओवादी केन्द्रका लागि बलियो चुनौती बन्ने स्थिति सिर्जना हुँदै गएको छ। यसबाट प्रमुख राजनीतिक दलहरुको अपारदर्शी र गैरलोकतान्त्रिक कार्यशैलीबाट आजित नागरिकले लोकतान्त्रिक अभ्यासबाटै वैकल्पिक नेतृत्व खोजिरहेका छन् भन्ने स्पष्ट हुन्छ। 

हालै सम्पन्न स्थानीय तह चुनावमा काठमाडौं, धरान, धनगढी, जनकपुरलगायत विभिन्न शहरहरुमा स्वतन्त्र उम्मेदवारहरुको जितले स्वतन्त्र हैसियतमा संसदीय चुनाव लड्न चाहने युवाहरु हौसिएका छन्। राजनीतिक दलहरुको कुशासन र अकर्मण्यताबाट वाक्कदिक्क भइसकेका नागरिकहरुले वैकल्पिक राजनीतिक नेतृत्वको अपेक्षा गरिरहेका छन् चाहे स्वतन्त्र व्यक्तिहरुबाट होस् या पार्टीभित्रै सक्षम युवा पुस्ताबाट होस्। 

राजनीतिक दलहरुप्रति जनताको वितृष्णा जाग्नुमा दलहरु नै जिम्मेवार रहेका छन्। दसवर्षे जनयुद्घ लडेर आएको माओवादी, लामो लोकतान्त्रिक इतिहास बोकेको नेपाली कांग्रेस र आफूलाई वामलोकतान्त्रिक आन्दोलनको प्रमुख शक्ति दाबी गर्ने एमालेको नेतृत्व देश र जनताको एजेन्डाभन्दा पनि कुर्सीकेन्द्रित राजनीतिक अभ्यासमा निर्लिप्त छन्। यस्तो नैराश्यपूर्ण राजनीतिक परिदृश्यविरुद्घ नागरिकले आफ्नो मतद्वारा विद्रोह गर्नसक्ने अवस्था प्रबल बन्दै गएको देखिन्छ। अझै पनि प्रमुख दलका नेताहरुले चेतेनन् वा उनीहरुको व्यवहारमा लोकतान्त्रिक आचरण प्रतिबिम्वित भएन भने नागरिकले पक्कै दण्डित गर्नेछन्। 

काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दिँदा एमालेबाट मेयरमा प्रत्यासी गरेका केशव स्थापितले चुनावी अभियानका बेला उनलाई दिनहुँजसो खिसिट्युरी गर्थे। आखिर जनताले बालेनलाई जिताएर देखाइदिए र, उनै स्थापितलाई तेस्रो स्थानमा थचारिदिए। धरान नगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अनि धनगढीमा गोपी हमाललाई नागरिकलाई अत्यधिक मतका साथ विजयी बनाए। 

स्थानीय तहको चुनावमा जस्तो नतिजा आयो, त्यस्तै खालको नतिजाको ट्रेन्ड संसदीय चुनावमा नहुन पनि सक्छ। तथापि, स्वतन्त्र उम्मेदवारहरुमाथि नागरिकको चासो, उत्सुकता, आड र भरोसा बढ्नुमा राजनीतिक दलहरुको क्रियाकलाप नै जिम्मेवार रहेको देखिन्छ। 

स्वतन्त्र व्यक्तिहरुले भटाभट उम्मेदवारी घोषणा गरिरहँदा दलका शीर्ष नेताहरुले यसबारे कुनै चर्चा सुरु गरेका छैनन्। आगामी मंसिर वा फागुनमध्ये कहिले संसदीय चुनाव हुने भनी सत्तारुढ गठबन्धनले तिथि टुंग्याइ नसकेको अवस्थामा दलहरु अन्यमनस्क स्थितिमा छन् भने स्वतन्त्र युवाहरुले त्यसभन्दा एक कदम अगाडि बढेर धमाधम उम्मेदवारी घोषणा गरेर रणनीतिक रुपमा अभियान थालनी गरिसकेका छन्।

स्वतन्त्र व्यक्तिहरुको उम्मेदवारीले यसअघि काठमाडौंबाटै चुनाव जितेका नेताहरुलाई सकस हुने देखिएको छ। काठमाडौं १ बाट विजयी प्रकाशमान सिंह, काठमाडौं ५ बाट विजयी एमालेका ईश्वर पोखरेल, काठमाडौं ४ बाट विजयी गगन थापालगायत काठमाडौंका १० वटै क्षेत्रबाट विजयी दलहरुका उम्मेदवारहरुलाई आगामी संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुले गतिलो टक्कर दिनसक्ने विश्लेषकहरुको आँकलन छ। यो आँकलन उनीहरुले विशेषतः उपत्यकाका मतदाताको पछिल्लो मनोविज्ञानलाई आधार मानेर गरेका हुन्। 
   
नेपाली कांग्रेसभित्र लोकप्रिय मानिएका नेता गगन थापाको क्षेत्रमै उनले जित्ने सम्भावना कमजोर बन्दै गइरहेको मूल्यांकनसहित यसअघि काठमाडौंबाट चुनाव लडेका प्रमुख नेताहरुले समानुपातिक कोटामा लबिङ गर्न थालेको बुझिएको छ। त्यस्तै, काठमाडौंबाट यसअघि चुनाव उठेका एमालेका प्रमुख नेताहरुले पनि समानुपातिक कोटामा अभिरुचि देखाउन थालेका छन्। 

अमेरिकी लेखक जेम्स फ्रिम्यान क्लार्कले आजभन्दा डेढ सय वर्षअघि भनेका थिए– राजनीतिक दलका नेता र राजनेताबीच के फरक छ भने दलका नेताहरुलाई आगामी चुनावको मात्र चिन्ता हुन्छ तर राजनेताहरुलाई आगामी पुस्ताको बारेमा चिन्ता हुन्छ। हामीकहाँ दलका नेताहरुले खाली सत्ता, शक्ति र पैसालाई केन्द्रमा राखेर काम गरेकाले मुलुकले यो दुर्गति भोग्नुपर्ने अवस्था आएको हो। भ्रष्टाचार, अनियमितता, गरिबी, अभाव आदिबाट त्राण दिने असल राजनेता मुलुकले पछिल्लो समयमा पाउन सकेको छैन। स्वतन्त्र उम्मेदवारीको लहर र त्यसप्रति नागरिकले व्यक्त गरेको अभिमतलाई उनीहरुको मुलुकको विकास र जुझारु नेतृत्व स्थापित गर्ने एउटा कडीका रुपमा लिन सकिन्छ। अन्ततः दलहरु नागरिकका मुद्दाप्रति जिम्मेवार र प्रतिवध्द नभइकन समुन्नत लोकतान्त्रिक समाज निर्माण गर्न सकिँदैन।      
   
                 
      
  

प्रतिक्रिया