काठमाडौं– ओपनर पाथुम निस्सानकाको उत्कृष्ट शतकमा घरेलु टोली श्रीलंकाले तेस्रो ओडीआई खेलमा अस्ट्रेलियामाथि सानदार जित हात पारेको छ।
आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो। योसँगै ५ ओडीआई सिरिजमा श्रीलंकाले २–१ को अग्रता लिएको छ।
जितका लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ४८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाको जितमा ओपनर पाथुम निस्सानकाले सर्वाधिक १३७ रनको अविजित शतकीय इनिङ्स खेले। उनले १४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे।
यो उनको ओडीआई करिअरको पहिलो शतक हो। यता, कुशल मेन्डिस ८५ बलमा ८ चौकासहित ८७ रनमा रिटायर्ट हर्ट भए। दोस्रो विकेटका लागि कुशल र पाथुमले १७० रनको सानदार शतकीय साझेदारी गरेका थिए।
ओपनर निरोशन डिक्कवेला र धनन्जय डि सिल्भा २५–२५ रनमा आउट भए। चरिथ असलंका १३ रनमा अविजित रहे। अष्ट्रेलियाका झेय रिचर्ड्सनले सर्वाधिक २ विकेट लिए। जोश हेजलवुड र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।
त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो। अष्ट्रेलियाका ट्रविस हेडले सर्वाधिक ७० रनको अविजित इनिङ्स खेले। उनले ६५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
कप्तान आरोन फिन्चले ८५ बलमा ४ चौका र १ छक्कासहित ६२ रन बनाए। एलेक्स केरीले ५२ बलान ३ चौका र १ छक्कासहित ४९ रन बनाए।
रग्लेन म्याक्सवेल १८ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए। मार्नस लाबुसेन २९ रनमा आउट भए भने क्यामसन ग्रिन १५ रनमा अविजित रहे।
श्रीलंका स्पिनर जेफ्री वान्डरसेले ३ विकेट लिए। पहिलो ओडीआई खेलमा अष्ट्रेलिया डकवर्थ लेविस पद्धतिको आधारमा २ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा २६ रनले पराजित भएको थियो। चौंथो खेल मंगलबार र पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ।
प्रतिक्रिया