काठमाडौं– दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिजमा भारतीय टोलीको कप्तानी ऋषभ पन्तले गरेका थिए। ५ खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ।
यस सिरिजको पहिलो दुई खेलमा भारतीय टोलीले हार बेहोरेको थियो। तर, पछिल्ला दुई खेलमा जित निकाल्दै भारतीय टोलीले उत्कृष्ट पुनरागमन गरेको थियो। तर, यो सिरिजमा कप्तान पन्तको प्रदर्शन निकै खराब रह्यो।
४ खेलमा उनको ब्याटबाट ५७ रन मात्रै निस्केका छन् भने उनी कुनै पनि खेलमा अविजित रहन सकेनन्। त्यसैले भारतीय टोलीमा उनको स्थानबारे प्रश्नचिन्ह्र लागेको छ। दिनेश कार्तिक, इशान किशन र केएल राहुलजस्ता खेलाडीले पन्तको स्थान लिन सक्ने अनुमान गरिएको छ।
दक्षिण अफ्रिकाविरूद्धको सिरिजपछि भारतले करिब १५ खेल खेल्न बाँकी छ। तर, पन्त आयरल्यान्डविरूद्धको टी–२० टोलीमा पर्न सकेका छैनन्। यस्तो अवस्थामा पन्तलाई वेस्ट इन्डिजविरूद्धको सिरिजमा राम्रो ब्याटिङ गरेर टोलीमा आफ्नो स्थान जोगाउन सक्ने मौका छ।
पन्तले पछिल्लो १० इनिङ्समा मात्र ३ पटक २० भन्दा बढी रन बनाएका छन् भने ३ पटक मात्र अविजित रहेर फर्केका छन्। पाँचौं नम्बरमा ब्याटिङ गरेका पन्तले कप्तानको जिम्मेवारी पाएपछि एकपटक मात्रै २० भन्दा बढी रन बनाउन सके। उनले पहिलो खेलमा २९ रन बनाएका थिए। दक्षिण अफ्रिकाविरूद्ध पन्त अफ स्टम्प बाहिरको वाइड बलमा आउट भएका थिए।
भारतका पूर्वखेलाडी आरपी सिंहले ट्वीटरमा लेखेका छन्– पन्तले टेस्टमा निकै आक्रामक ब्याटिङ गर्ने गरेका छन्। तर, टी–२० मा त्यो लय छैन। यसको कारण के हो?
पन्तको स्थान कसले लेला?
ऋषभ पन्तले भारतीय टोलीमा आफ्नो स्थान बचाउन राम्रो प्रदर्शन गर्नुपर्नेछ। यदि उराम्रो ब्याटिङ गर्न सकेनन् भने उनको स्थानमा केएल राहुल, इशान किशन र दिनेश कार्तिकलाई मौका मिल्न सक्छ। कार्तिक भारतको वर्तमान टोलीमा फिनिशरको रूपमा खेल्दै आएका छन्। उनको लय उत्कृष्ट छ।
यस्तो अवस्थामा कार्तिकलाई विकेटकिपरको रूपमा पनि मौका मिल्न सक्छ। इशान किशनले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। दक्षिण अफ्रिकाविरूद्धको सिरिजमा सर्वाधिक १९१ रन बनाउने खेलाडी हुन किशन। उनी टी–२० विश्वकपका लागि भारतीय टोलीमा पनि समावेश हुन सक्नेछन्।
भारतीय टिममा केएल राहुलको स्थान पक्का भएको छ। उनले रोहित शर्मासँग इनिङ्सको सुरूआत गर्नेछन्। राहुलले विकेटकिपिङ पनि गर्न सक्छन् र उनलाई पन्तको स्थानमा विकेटकिपिङ बनाउन सकिन्छ।
प्रतिक्रिया