पशुपतिनाथमा आरति सुरु गर्ने धर्मदास किन पलायन भए?

‘शिव ताण्डव स्त्रोत’ पहिलो पटक रेडियो नेपालमा बि.सं. २०६० मा रेकर्ड भएको थियो। २०६४ सालको साउनदेखि पशुपतिनाथको प्रांगणमा बज्न थाल्यो। त्यहीँदेखि शिव ताण्डव नेपालीमाझ लोकप्रिय भयो। पशुपतिनाथको सन्ध्या आरति पनि त्यही दिनबाट सुरु भएको थियो। 

शिव ताण्डवलाई रेडियो नेपाल र पशुपतिनाथमा गाउने र सन्ध्या आरति शुरु गर्ने व्यक्ति थिए– धर्मदास बुढाथोकी। 

बुढाथोकीको कथा भारतबाट सुरु हुन्छ।

बनारसको दशाश्वमेध घाटमा साँझको ६ मात्र बज्नु पथ्र्याे, भक्तजनहरूको ओइरो लाग्थ्यो। ती भक्तजन दुईटा कारणले त्यहाँ झुम्मिन्थे– पहिलो गंगा सागरको आरति हेर्न अनि दोस्रो धर्मदास बुढाथोकीको शिव ताण्डव सुन्न।

बुढाथोकी? त्यो पनि बनारसको घाटमा? अचम्मै लाग्दो छैन त?

अझ रोचक कुरा त के छ भने– धर्मदासले गाउन थालेपछि बल्ल बनारसको गंगा किनारमा आरति सुरु हुन्थ्यो। हरेक दिन एक घण्टा निरन्तर गाउँथे उनी। 

अझ वार्षिक कार्यक्रमहरूमा त धर्मदासले गाइसकेपछि बल्ल पालो आउँथ्यो दिग्गज भारतीय गायक रवीन्द्र जैन, अनुराधा पौड्वाल, अनुप जलोटा, रुप कुमार राथौर, अहमद हुसेन, मोहम्मद हुसेनहरूको।

भारत आफैंमा शास्त्रीय संगीत जन्मिएको, हुर्किएको अनि जवान भएको भूमी हो। त्यो भूमीमा झापा जिल्लाको पृथ्वीनगरमा जन्मे हुर्केर जवान भएका धर्मदास बुढाथोकीले सबैलाई आफ्नो स्वरले लठ्ठ पारेका थिए।

जब धर्मदास राग भूपालीमा आफैंले ‘कम्पोज’ गरेको शिव ताण्डवको सुरुवाती आलाप लिन्थे ‘‘जटाऽऽऽटवि गलज्ज्वल’’ यति भन्न पाउँदा नपाउँदै भक्तजन एकटकले उनलाई सुन्न थाल्थे। पर्यटकहरू आफ्नो क्यामेरामा धर्मदासको स्वर कैद गर्न तँछाड मछाड गर्न लाग्थे। 

गंगा नदी वारपार गरिरहेका नाउहरू थामिन्थे। नाउ खियाउनेहरू शान्त हुन्थे। बनारसको कोलाहलमा गंगाको बहाव अनि बहावमा मिसिएको धर्मदासको आवाजमात्र सुनिन्थ्यो। करिब एक घण्टा यसैगरी बित्थ्यो काशीको दशाश्वमेध घाटमा हरेक साँझ। 

उसै त शिव ताण्डव त्यसमाथि पहाडी स्वर अनि पहाडी मेलोडी, सबै ‘मन्त्रमुग्ध’ हुन्थे। उनको शिव ताण्डवको फ्यान बलिउड अभिनेत्री जया वच्चनसमेत रहिसकेकी छिन्। एकपटक धर्मदास दशाश्वमेध घाटमा शिव ताण्डव गाएर उठ्न लागेका थिए, जया वच्चन छेउमा आइन् र भनिन्– ‘वाह! आपकी आवाजमे क्या जादु हे।’

धर्मदासलाई त्यो दिन निकै विशेष लाग्छ। जया वच्चनमात्र होइन, खुद सुपरस्टार अमिताभ वच्चनले एक घण्टा पूरै धर्मदासको भजन सुनेका छन्। ‘तर अभिताभले चाहिँ जयाले जस्तो केही भनेनन्’, उनले भने।

आरति हेर्न गए, गायक भएर आए

गीत सिक्न नेपालबाट ०५५ सालमा बनारस हिन्दु विश्वविद्यालय गएका थिए धर्मदास। काशीको दशाश्वमेध घाटमा उनले ६ वर्ष बिताए। हरेक साँझ शिव ताण्डव गाए। 

तर यो यात्रा एउटा रोचक संयोगले जुराएको थियो। उनी आफ्ना नेपाली साथीसँग गंगा किनारको साँझको आरति हेर्न भनि दशाश्वमेध घाट पुगेका थिए। उनी परे संगीतका विद्यार्थी। त्यहाँ भजन गाएको सुनेपछि उनलाई पनि गाऔं गाऔं लागेछ। 

गाउनेहरूसँग कुरा गरेपछि उनलाई पनि ‘एक चान्स’ दिएछन्। उनले पनि पाएको अवसर भरपुर प्रयोग गर्दै आफैंले कम्पोज गरेको शिव ताण्डव सुनाएछन्। अनि त के चाहियो ‘सय चोट सोनारको, एक चोट लोहारको’ जस्तै भयो। 

अर्काे गजज्बको संयोग त तब भयो, जब धर्मदास भजन गाइरहेका थिए। त्यही दिन गंगा सेवा निधिका प्रमुख सत्येन्द्र मिश्र पनि त्यहाँ उपस्थित थिए– पहिल्यै देखि। गंगा सेवा निधि त्यस्तो संस्था हो, जसकै पहलमा गंगामा आरति सुरुवात गरिएको थियो। र संस्थाका प्रमुख सत्येन्द्र, धर्मदासको स्वर र मौलिक किसिमको शिव ताण्डवबाट यति प्रशन्न भए कि, भोलिपल्टैबाट नियमित एक घण्टाको समय धर्मदासको गायनलाई दिइयो। 

धर्मदासको जीवनले त्यही दिनबाट ‘यू टर्न’ लियो। सन् २००० बाट उनले काशीको घाटमा भजन गाउन थाले। यहीबीचमा उनलाई बलिउडमा पनि गाउने अवसर आए। भारतीय प्रख्यात संगीत उत्पादक कम्पनि ‘टि सिरिज’का प्रडक्सन म्यानेजरले त उनलाई ‘टि सिरिज’मा गीत रेकर्ड गराउने सम्पूर्ण बन्दोबस्त गरिदिने भए। बलिउडमा डेव्यू गराइदिनेसमेत भए। तर धर्मदास संगीत पढ्न भारत गएका थिए। उनले ठाडै भनिदिए– ‘मेरो बि म्यूजको अन्तिम वर्ष बाँकी नै छ। अहिले बम्बई जाँदिन।’

उनले उतै ‘सेटल’ हुने विभिन्न अवसर पाए। वनारस हिन्दु विश्वविद्यालयमै प्राध्यापन गर्ने अवसर पाए। तर सन् २००६ मा उनको जीवनले अर्काे ‘यू टर्न’ लियो। एकाएक उताका कैयौं अवसरलाई ललकार्दै धर्मदास नेपाल फर्किए। 

पशुपतिमै सुरु गरे आरति र शिव ताण्डव  

धर्मदास सन् २००६ को सुरुवातमा नेपाल आए। तर यहाँ गर्ने के? उताको त्यत्रो मानसम्मान, पहिचानलाई चटक्कै बिर्सेर नेपालमै केही गर्छु भनेर आएका धर्मदास यता न उताका भए, विलखबन्द! 

तर सीप उनमा भरपुर थियो। कलाले सुसज्जित थिए। मनमा असीमित चाहना अनि साहस थियो। र सबैभन्दा महत्वपूर्ण कुरा उनीसँग यसअघि नै नेपाली गीत र भजन गाएर रेकर्ड गरिसकेको अनुभव थियो। रेडियो नेपालबाट ०५२ सालमै स्वर परीक्षा पास गरेको ‘सर्टिफिकेट’ पनि थियो। 

त्यसमाथि भारतको काशी हिन्दू विश्वविद्यालयबाट संगीत अनि पूर्वीय दर्शनशास्त्रमा स्नातकोत्तर। तर यी कुरा त अरुलाई सुनाउन मात्र काम लाग्ने भए। कामै लाग्ने कुरा त कामै गर्नु हो। यो कुरा धर्मदासले राम्ररी बुझेका थिए। यहीबीचमा एकदिन धर्मदासको जीवनमा अर्काे ‘यू टर्न’ थपियो। चर्चित ज्योतिषाचार्य बासुदेव कृष्ण शास्त्रीले कान्तिपुर टेलिभिजनमा प्रशारण हुने आफ्नो कार्यक्रमको लागि धर्मदासले गाएको शिव ताण्डव रेकर्ड गर्ने प्रस्ताव राखे। धर्मदासले सहजै स्वीकारे। 

अनि पशुपतिको १६ शिवालयमा (हालको आरति हुने स्थान) लागि उनले शिव ताण्डव गाए। तर टेलिभिजनमा प्रशारण भएपछि धर्मदासले एउटा अनौठो भाव महशुस गरे। उनी भन्छन्– ‘मलाई त कता कता पशुपतिनाथले बोलाउनु भएको जस्तै लाग्यो। उहाँको सामुन्नेमा शिव ताण्डव गाइरहुँ, उहाँ नाचिरहनुहुन्छ भन्ने आभाष भयो। मलाई औडाहा भयो।’

यसपटक धर्मदास आफ्नो प्रस्ताव बोकेर बासुदेव कृष्ण शास्त्री कहाँ गए। उनलाई सुनाए– पशुपतिनाथमा सन्ध्या आरति सुरु गर्ने अनि पशुपतिनाथलाई शिव ताण्डवले हरेक दिन खुसी तुल्याउने। 

बासुदेव तुरुन्त राजी भए। आरति र ताण्डव गर्न आवश्यक वाद्यवादक खोज्न लागि परे। बाँसुरीमा दुर्गाप्रसाद खतिवडा, ढोलकमा हीरा घिमिरे, तबलामा वैंकटेश ढकाल अनि गायनमा सहयोग गर्ने रमेश पोखरेल भेटिए।

यी सबै वनारस हिन्दु विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर थिए। 

उनीहरु योजना बोकेर पशुपति क्षेत्र विकास कोष गए। तर कोषले उनीहरूलाई पत्याएन। फेरि अर्काे पटक धाए, फेरि उनीहरूको प्रस्तावलाई वेवास्ता नै गरियो। यसरी ५÷६ पटक धाएपछि चाहिँ ‘लु कस्तो चाहिँ गर्दाे रहेछौ गर’ भन्दै कोषले अनुमति दियो।

उनीहरू पनि के कम, कोषले जुनसुकै दिन अनुमति खोस्न सक्छ भन्दै लिखित अनुमति नै मागे। लिखित अनुमति लिएपछि भने ‘श्री पशुपतिनाथ आरति सेवा समिति’ स्थापना भयो। यही समितिमा रही पशुपतिनाथमा आरति र शिव ताण्डव गाउने जस्ता गतिविधि गर्ने तय भयो। 

२०६४ साल साउन महिनाको तेस्रो सोमबारको साँझ ६ बजे उनीहरूको असली परीक्षा सुरु भयो। पशुपतिनाथमा सन्ध्या आरति सुरु भयो। आरति सँगसँगै सुरु भयो धर्मदासको आवाजमा मनै प्रफुल्लित पार्ने ‘शिव ताण्डव’।

सुरुमा त उनीहरू डराए पनि। नौलो काम गर्दा नआत्तिने को पो होला र! 

तर पहिलो दिन नै पशुपतिनाथको आरतिमा यति भक्तजन झुमिए कि, धर्मदास एण्ड टीमलाई स्वयं पशुपतिनाथकै कृपा परे जस्तो भयो। भक्तजनको उपस्थिति, अनि भाषा संस्कृति नै नबुझ्ने पर्यटकसमेत झुमेको देखेर त उनीहरूको हर्षको सीमा नै रहेन। 

त्यसपछि हरेक साँझ पशुपतिनाथ मन्दिर क्षेत्र दीप, संगीत अनि ताण्डव मुद्रामा झुम्नथाल्यो। अहिले त अवस्था कस्तो छ भने– गाउँबाट बा आमा शहर छिर्नुभयो भने पशुपतिनाथको आरति हेर्न नलग्ने छोराछोरी को होला र!

ताण्डव गाउने धर्मदास, नारायणगोपालको विरासत धान्न पनि पुगे

सन् २००७ देखि सन् २०११ सम्म धर्मदासले पशुपतिनाथमा ‘लाइभ’ ताण्डव गाए। त्यत्तिकै सांस्कृतिक संस्थानमा गायन निर्देशकको पदमा सरकारले नियुक्ति गर्न लागेको थाहा पाए। धर्मदासले पनि राष्ट्रसेवा गर्ने अवसर भन्दै उम्मेदवारी दिए। 

परीक्षा भयो, नतिजा आयो। धर्मदासको नाम निस्कियो। अन्तर्वार्तामा बोलाइयो, त्यहाँ त धनबहादुर गोपाली, बम बहादुर कार्की, होम नाथ उपाध्याय, भैरव बहादुर थापा जस्ता ‘लेजेण्ड’हरू पो बसेका थिए अन्तर्वार्ता लिन। सुरुमा त आत्तिए उनी। तर आफ्नो विगतलाई सम्झिए। आफूले भारतमा दिग्गज दिग्गजका सामु गीत गाएको सम्झिए। उनीहरूलाई आफ्नो आवाजले लठ्ठै पारेको सम्झिए। र दिए अन्तर्वार्ता। 

केही दिनपछि नतिजा आयो। मनमा बेचैनी लिएर नतिजा हेरे। तर उनी त पास भएछन्। त्यसपछि उनी सांस्कृतिक संस्थानको गायन निर्देशक भए। 

त्यतिमात्र होइन, नारायणगोपाल र चन्द्रराज शर्मा जस्ता दिग्गजपछि गायन निर्देशकको विरासत उनैले धाने। यसलाई धर्मदास अर्काे उपलब्धी मान्छन्। 

‘तर खुट्टा तान्ने प्रवृत्ति नेपालका हरेक संघ संस्थामा हुने रहेछ’, धर्मदासले भने, ‘मैले सांस्कृतिक संस्थानमा उम्मेदवारी दिँदामात्र पनि त्यतिबेलाकी चर्चित गायिकाले तपाइँहरू हाम्रो स्थान खोस्न किन आएको भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरिन्। पछि त उनले मेरो नियुक्ति घुसको आधारमा भएको भन्दै सर्वाेच्च र अख्तियारमा मुद्दासमेत हालिन्।’

धर्मदासले अन्तिममा यो युद्ध त जिते तर यी र यस्तै प्रवृत्तिले गर्दा उनमा नैराश्य पैदा भएछ। साँस्कृतिक संस्थानको ४ वर्षे यात्राले उनलाई मातृभूमी छोड्न बाध्य बनाएछ। संस्थानभित्रको चाकरी, राजनीतिक भागवण्डा, खिचातानी देखेर सहन नसकेपछि उनले क्यानडा पलायन हुने सोच बनाएछन्। क्यानेडाले पनि सहजै भिसा दिएछ।

त्यसपछि सन् २०११ को डिसेम्बर १९ मा उनी क्यानडा हानिए। यद्यपि डिसेम्बर १५ सम्म पनि पशुपतिनाथको सन्ध्या आरति गरे। शिव ताण्डवमा पशुपतिनाथलाई झुमाए। आफ्नो अन्तिम लाइभ प्रस्तुती उल्कै रमाइलो बनाए। अहिले १० वर्ष भैसक्यो उनी नेपाल छोडेर क्यानडा बस्न थालेको। तर त्यहाँ पनि पशुपतिनाथको मन्दिर स्थापना गराएर पहिलो एक वर्ष त निरन्तर आफैं गाए। 

पुराना दिन सम्झिँदा सम्झिँदै उनले भने– ‘संस्थानको राजनीतिले मात्र कहाँ पलायन हुन बाध्य बनाएको हो र, आरति गरेर खुब पैसा कमाए यी सामन्तीले भन्दै माओवादीका भातृसंगठनले त मारुँला झैं पो गरे त।’

उनले थपे– ‘मलाई हरेक दिन धम्की दिन थाले। श्रीमतीलाई समेत छोडेनन्। चन्दा माग्ने उद्देश्यले हरेक दिन मिटिङ राख्थे। रुँदै श्रीमतीले आज त नजानुस् न मिटिङमा भन्थिन्। कति दिन त खुकुरी बोकेर ‘मिटिङ गरौं’ भन्दै आइपुग्थे। यस्ता अराजकसँग त कसरी लड्नु? कतिञ्जेल लड्नु।’ 

अन्त्यमा,

धर्मदासले अन्तिम पटक पशुपतिको आँगनमा शिव ताण्डव गाएको पनि एक दशकभन्दा बढी भैसक्यो। सन् २०११ मा उनले अन्तिम पटक शिव ताण्डव गाएका थिए। त्यसपछि उनी क्यानडा पलायन भए।  तर आफूले सुरुवात गरेको चलन बिलाएर नजाओस् भनेर उनले शिव ताण्डव गाउन सक्ने गायक आफैंले ‘ट्रेन’ गरे। उनले आरति विधि र ताण्डवको नेपालीकै मौलिक कम्पोजिसन नेपालीलाई नै हस्तान्तरण गरे। 

हाल जनकपुरको गंगासागर, नारायणी किनारको देवघाट धाम, गोठाटारको नौतन धाम, साँगा, शाश्वत धाम गरि नेपालका ३५ शिवालय तथा मठमन्दिरमा सन्ध्या आरति हुने गर्छ। अनि आरतिको पूरकको रुपमा धर्मदासले ०६५ सालमा गाएको शिव ताण्डव बज्ने गर्छ।  
 

प्रतिक्रिया