काठमाडौं– आज बुधबारदेखि उडान बन्द गर्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका वायुसेवा सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। उनीहरूले आफ्नो कार्यक्रम फिर्ता लिएसँगै उडान नियमित हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका वायु सेवा सञ्चालकहरूले उडान नभर्ने घोषणा गरेका थिए। तर, गृह मन्त्रालयको समन्वयमा दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो।
त्यसलगत्तै राति नै बुद्ध एअरले आफ्नो उडान बुधबार बिहान ११ बजेदेखि नियमित हुने सामाजिक सञ्जालमार्फत् जानकारी दिएको थियो। प्राधिकरणले मागको सम्बोधन गर्दै जाने बताएपछि एअरलाइन्स कम्पनीहरु उडान गर्न तयार भएका बताइएको छ।
प्राधिकरणले वायुसेवा कम्पनीलाई आफ्नो बेस स्टेसनबाट उडान गर्न हवाइ कम्पनीलाई निर्देशन जारी गरेपछि तत्काल नसक्ने भन्दै उडान स्थगन गर्ने बताएका थिए।
प्रतिक्रिया