उत्तराखण्डको चम्पावत नजिक ५ हेक्टर नेपाली भू–भागमा भारतको दावी 

काठमाडौं। नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र महाकालीमाथि अवैध कब्जा जमाएको भारतले उत्तराखण्डको चम्पावत क्षेत्रमा रहेको नेपाल–भारत सिमाना नजिकैको ५ हेक्टर जमिनलाई पुनः आफ्नो भन्दै प्रोपगण्डा सुरु गरेको छ। 

भारतीय अखबारहरूले उल्लेख गरेअनुसार सशस्त्र सीमा बल (एसएसबी) ले यसको रिपोर्ट भारतको केन्द्रिय गृह मन्त्रालयलाई पठाएको छ। राज्यको वन विभागले पनि अतिक्रमित जग्गालाई लिएर राज्य सरकारलाई रिपोर्ट पठाएको उल्लेख छ। 

भारतीय वन विभागका अनुसार नेपालले विगत ३० वर्षमा उसको जमिन कब्जा गर्दै घरलगायतका पूर्वाधार तयार पारेको छ।

एसएसबीको सहायक कमाण्डेण्ट अभिनव तोमरलाई उध्रृत गर्दै भारतीय अखबारहरूले लेखेका छन्, नेपालले हालै आएर जमिन कब्जा गरेको होइन। लामो समयदेखि कब्जा गरेको हो। 

सर्भे अफ इन्डिया र नेपालका पदाधिकारी बसेर सिमा विवाद समाधान गर्ने भनिएको छ। यहाँको जमिनलाई लिएर नेपाल र भारतका पदाधिकारीबीच पनि बेलाबेलामा विवाद हुँदै आएको छ। यस क्षेत्रका रेञ्जर महेश बिष्टले भनेका छन्, ‘हामीले थुप्रै पल्ट राज्य सरकार र केन्द्रिय गृह मन्त्रालयलाई रिपोर्ट पठाइसकेका छौं।’

स्थानीय अधिकारीले सन् २०१० र २०२१ को बीचमा तीन पल्ट गृह मन्त्रालय र उत्तराखण्ड सरकारलाई रिपोर्ट पठाएको उल्लेख छ। 

नेपाल, भारत र चीनको सिमामा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा पर्ने ३ सय ३८ वर्ग किलोमिटरको नेपाली भूभागलाई आफ्नो राजनीतिक नक्सामा देखाएपछि नेपालमा यसको चौतर्फी विवाद भएको थियो। भारतले अहिलेसम्म आफ्नो राजनीतिक नक्सा सच्चाएको छैन। 
 

प्रतिक्रिया