नास्टको सम्मेलनमा ९ मुलुकका वैज्ञानिकहरु सहभागी हुने 

काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले आयोजना गर्न लागेको नवौं राष्ट्रिय वैज्ञानिक सम्मेलनमा ९ मुलुकका अन्तर्राष्ट्रिय वैज्ञानिक तथा अनुसन्धाताहरु सहभागी हुने भएका छन्। उक्त सम्मेलनमा भारत, पाकिस्तान, जापान, बेलायत, अमेरिका, चीन, जर्मनी, अस्ट्रेलिया र चेक रिपब्लिकका वैज्ञानिकहरुले विभिन्न अनुसन्धानमा आधारित रहेर कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नास्टले जनाएको छ। 

नास्टका कुलपति रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यही असार १२ गते राष्ट्रिय प्रकृति संरक्षण कोषको हलमा सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। असार १४ गतेसम्म चल्ने यस सम्मेलनको नारा ‘समाजका लागि विज्ञान तथा समृद्घिका लागि नव प्रवर्तन’ रहेको छ।  

यस सम्मेलनमा १५ विधा तथा २० विभिन्न विषयमा प्रस्तुत गरिने जम्मा ३ सय ८० वटा वैज्ञानिक कार्यपत्रमध्ये २ सय ६० मौखिक र १ सय २० पोस्टर प्रस्तुति रहने नास्टले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ। 

सम्मेलनमा विश्व प्रशिद्घ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले समेत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनको अन्तिम दिन असार १४ गते ‘विज्ञान, प्रविधि र नवप्रवर्तन–नीति तथा कार्यान्वयन’  विषयमा विज्ञहरुसँग ‘प्यानल डिस्कसन’ गरिने भएको छ।  

देश तथा विदेशका गरी करिब ५ सय वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, सरकारी, गैरसरकारी, संघसंस्थाका प्रतिनिधिहरुबीच विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन आदि विषयहरुमा विचार–विमर्श हुने नास्टको अपेक्षा छ। 

प्रतिक्रिया