समाचार विश्लेषण

अर्थात् माधव नेपालः मन्त्री फेर्दै राजनीति जोगाउँदै

काठमाडौं। सोमबार नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए। यसअघि, आइतबार शहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा र श्रममन्त्री किसान श्रेष्ठले पार्टी निर्णय पालना गर्दै राजीनामा दिएपछि नयाँ मन्त्रीहरु नियुक्तिका लागि बाटो खुलेको थियो। तर, मन्त्रीहरु फेरबदलको यो घटना आमनागरिकका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात उक्तिसँग ठ्याक्कै मिल्छ। 

एकदमै अस्वाभाविक र अनौठोजस्तो लाग्ने चक्रीय प्रणाली अनुसार हेरफेर भएको मन्त्रीहरुको सूचीअनुसार शहरी विकास मन्त्रालयको जिम्मेवारी मेटमणि चौधरी पाएका छन् भने  पर्यटन मन्त्रीको कार्यभार जीवनराम श्रेष्ठले सम्हालेका छन्। त्यस्तै, शेरबहादुर कुँवरले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् भने हीराचन्द्र केसीले स्वास्थ्य राज्यमन्त्रीको भूमिका पाएका छन्। यसअघि, स्वास्थ्य राज्य मन्त्री रहेका भवानी प्रसाद खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा भए।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वयंले सरकारमा पठाएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम किन सिफारिस गरे भन्ने उचित कारण देखाउन सकेका छैनन्। एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेका बेला आफूलाई साथ दिने सांसदहरुलाई माधव नेपालले मन्त्री बनाउने आश्वासन दिएको हुनुपर्छ। नभए चुनाव आउन ६ महिना बाँकी रहेको अवस्थामा सबैको भाग पुर्याउनबाहेक मन्त्रीहरु फेरबदल गर्नुको अर्को कारण देखिँदैन। 
 
त्यसो त गत जेठ २२ गते नै नेकपा (एस) ले गठबन्धन सरकारमा आफ्नो पार्टीको तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसलगत्तै, उक्त निर्णय कार्यान्वयनका लागि एसले प्रधानमन्त्री शेरबहादुर देउवालाई औपचारिक पत्र पठाएर दबाबसमेत दिएको थियो।

रोचक दृश्य त के देखियो भने मन्त्रीहरु फिर्ता बोलाउने पार्टीको निर्णयलाई चुनौती दिँदै बहालवाला मन्त्रीहरुको अग्रसरतामा हस्ताक्षर अभियान नै चल्यो। आफूले बनाएका मन्त्रीहरुले नै माधव नेपाललाई टेरेनन्। तर, पछि पार्टीको कडा निर्देशनपछि ती मन्त्रीहरुले हस्ताक्षर फिर्ता लिएर राजीनामा बुझाइ मार्गप्रशस्त गरिदिए। 

‘अवसरवाद’ नेपाली राजनीतिको विशिष्ट चरित्र हो। पार्टीको सिद्घान्त अनि मूल्य–मान्यता जेसुकै भए पनि पद र पैसाका लागि इमान र निष्ठालाई तिलाञ्जली दिने प्रवृत्ति नेपालको सन्दर्भमा नौलो होइन। पछिल्लो घटना–क्रमबाट एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्दा माधव नेपालले इमान र नैतिकताको निक्कै दुहाइ दिएका थिए। ‘लोकतान्त्रिक गणतन्त्रमाथि मडारिएको प्रतिगमनको बादल’ हटाउन एकीकृत समाजवादी गठन गर्नुपरेको उनको जिकिर रहेको थियो। तत्कालीन  प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुस ५ मा संसद् विघटन गरेपछि प्रतिगमनविरुद्घ माधव नेपाल आन्दोलित भएका थिए। 

ओली र माधवबीचको अन्तर्विरोध यतिसम्म चुलिएर गयो कि उनीहरुबीच झण्डै पानी बाराबार जस्तै अवस्था बन्न पुग्यो। पछि उनीहरुबीचको सम्बन्ध नदीका दुई किनाराजस्तो बनेर अलग्गै पार्टी बनाउनुपर्ने स्थितिसमेत आयो।  
  
ओली सरकार ढलेपछि माधव नेपाल समूहले साथसहयोगको जगमा शेरबहादुर देउवा नेतृत्वको सरकार उभिएको पक्कै हो। माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी गठन नगरिकन गठबन्धन सरकारको स्थिरता सम्भव थिएन।  

माधव नेपाल र महन्थ ठाकुरलाई सजिलो हुने व्यवस्था राखेर देउवा सरकारले अध्यादेश ल्यायो, जसअनुसार २० प्रतिशत सांसदको हस्ताक्षरले नयाँ पार्टी गठन गर्न सकिने प्रावधान उल्लेख भयो। 

एमालेभित्रको अन्तर्विरोधमा माधव नेपाललाई साथ दिएका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टजस्ता नेताहरुले पार्टी फुटाउँदा भने माधवलाई साथ दिएनन्। उनीहरु ओलीलाई साथ दिँदै एमालेको संस्थापन पक्षतिर लागे।

अर्कोतर्फ, ओली सरकारमा मन्त्री भएका प्रेम आले, ओलीका सहयोगी भनेर चिनिएका किसान श्रेष्ठलगायत २० प्रतिशतभन्दा सांसदहरुले माधव पक्षलाई साथ दिए। आखिर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो।

एमाले अध्यक्ष ओलीले माधव र उनीनिकट नेताहरुलाई स्थान नदिएपछि उनी नयाँ पार्टी गठनको चरणतर्फ अगाडि बढेका थिए। यद्यपि, यसका लागि ओलीको अहंकार र छुद्र स्वभाव पनि त्यतिकै जिम्मेवार रहेको देखिन्छ। 

जब माधवले प्रेम आले अनि किसान श्रेष्ठजस्ता अवसरवादीहरुलाई काँध थापे, त्यसपछि उनले भन्दै आएको ओलीमा देखिएको सैद्घान्तिक विचलनविरुद्घ नयाँ पार्टी गठन गरिएको हो भन्ने भनाइमा कुनै दम देखिएन। हुन त माधवलाई अडान लिन नसक्ने ‘पदको लोभी’ नेताका रुपमा कतिपय विश्लेषकहरुले उपमा दिने गरेका छन्। पछिल्ला घटनाक्रमले त्यसलाई झनै चरितार्थ गरेको छ। 

उमेरले ७० वर्ष टेकिसकेका माधव नेपालले विश्राम लिएर अन्य युवा नेताहरुलाई अगाडि बढाएको भए उनको कद उच्च रहने थियो। तर, उनले त्यसो गरेनन्। केही अवसरवादीहरुलाई काँध थापेर एकीकृत समाजवादी नामक राजनीतिक दुकान खोले र, अहिले उनी आफूलाई पार्टी फुटाउन साथ दिने सबै सांसदहरुलाई आलोपालो मन्त्री बनाउने अभियानमा छन्। नत्रभने एकीकृत समाजवादीका मन्त्रीहरु अहिले नै परिवर्तन गर्नुपर्ने त्यस्तो अन्य कारण केही देखिँदैन। सबै सांसदलाई मन्त्री खुवाउनु नै एकीकृत समाजवादी अनि माधव नेपालको उपलब्धि मान्न सकिन्छ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि माधव नेपाल डेढ दशकभन्दा बढी समय पार्टी नेतृत्वमा रहे। उनी नेतृत्वमा रहेका बेला २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेले शर्मनाक हार व्यहोरेपछि उनले लोकलाजका लागि राजीनामा दिएर आफूलाई ‘नैतिकवान’ देखाउने प्रयास गरे। तर, उनको यो ‘नैतिकवान’ निर्णय दुई वर्ष पनि टिक्न सकेन। दुई–दुई ठाउँबाट चुनाव हारेका उनी २०६६ सालमा प्रधानमन्त्री भए। 

स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले गठबन्धनको बलमा पनि केही उपमहानगर, नगर र गाउँपालिकामा मात्र जित्यो। त्यसपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालले फेरि वाम गठबन्धनको बहस सुरु गरेका छन्। स्वयं माधव नेपालले पनि वाम गठबन्धनको पक्षमा अभिव्यक्ति दिन थालेका छन्।

गठबन्धन या तालमेल जे भने पनि कतै त्यसकै बलमा कतै प्रधानमन्त्री हुन सकिन्छ कि भन्ने अभीष्ट माधव र झलनाथ दुवैमा रहेको देखिन्छ। प्रमुख दलका नेताहरुको कुशासनबाट आजित भइरहेको अवस्थामा धमाधम स्वतन्त्र उम्मेदवार घोषणाको लहर चलिरहेको छ। 

वर्षौदेखि पद ओगटेर मुलुकलाई अस्थिरता र कुशासनको चक्रव्युहमा राखिरहने शेरबहादुर देउवा, माधव नेपाल, ओली, प्रचण्ड, झलनाथजस्ता वृद्घ नेताहरुले राजनीतिबाट स्वेच्छिक विश्राम लिन ढिलो भइसकेको छ। नत्रभने जनताले चुनावमार्फत् उनीहरुलाई पाखा लगाउने स्थिति आइसकेको छ।     
   
    
  
        
    
 
     
 

प्रतिक्रिया