पाँच पाण्डवहरू जङ्गलमा राम्रैसँग हुर्किँदै गए । सही मार्गदर्शन पाउनु अनि प्राकृतिक छहारीमा हुर्किनु सबैभन्दा उत्तम शिक्षा हो । ऋषि–मुनिहरूले उनीहरूको शिक्षाको ख्याल राखे, तर अझ विशेषगरी प्रकृतिको कोखले उनीहरूलाई ज्ञान र शक्तिले भरिदियो । उनीहरू शक्तिशाली, धैर्यवान्, बुद्धिमानी र शस्त्र (हतियार) चलाउने कलामा निपुण बन्दै हुर्किए ।
पाण्डवहरूका बुबा पाण्डुले एकजना ऋषिबाट श्राप पाएका थिए कि यदि उनी सहवासको इच्छाले आफ्नी पत्नीसमक्ष गए भने, उनको मृत्यु हुनेछ । यसैकारण, उनले आफ्नी पत्नीहरूलाई अर्को माध्यमबाट बच्चा जन्माउने व्यवस्था गरेका थिए । १६ वर्षसम्म उनी पत्नीहरूबाट अलग्गै बसे, ऋषि–मुनिहरूको सङ्गतमा रहे, ज्ञान आर्जन गरे, ब्रह्मचर्यको साधना गरे अनि शक्तिशाली व्यक्ति बने । तर, एकदिन जब उनी जङ्गलको निर्जन नदी भएको ठाउँमा पुगे, त्यसैबेला उनकी अर्की पत्नी माद्री नदीमा नुहाएर भर्खरै बाहिर निस्किँदै थिइन् । उनलाई नग्न देखेर पाण्डुभित्र कामवासनाको आगो सल्कियो अनि आफूलाई नियन्त्रण गर्न नसकेपछि उनी माद्री नजिक गए ।
माद्रीलाई पाण्डुले पाएको श्रापको बारेमा थाहा थियो, त्यसैले उनले कडा प्रतिरोध गरिन् । तर, नियतिले उनलाई माद्रीतर्फ तानिरह्यो अनि अन्ततः उनले माद्रीको अङ्गालोमा अन्तिम श्वास लिए । माद्री डर र त्रासले चिच्याउन थालिन् । उनी आफ्ना पतिको मृत्युले मात्रै आतङ्कित थिइनन्; उनी यसकारण आतङ्कित भइन्, किनकि आफूप्रतिको कामवासनाको चाहनाले पाण्डुको मृत्यु भएको थियो । चिच्याहट सुन्नेबित्तिकै कुन्ती हतारिँदै त्यस ठाउँतर्फ दौडिन् । जब उनले त्यहाँको परिस्थिति देखिन्, उनी रिसले आगो भइन् । दुवै पत्नीहरूबिच यतिका वर्षसम्म कुण्ठित रहेका भावनाहरू उर्लिएर छताछुल्ल भयो ।
केही बेरपछि, आफ्ना बच्चाहरूको भविष्यबारे सोचेर कुन्ती शान्त भइन् । अपराधबोध र निराशाले भरिएकी माद्रीले मृत पतिसँगै चितामा जल्ने निर्णय गरिन् । केही क्षणको लागि कुन्तीले पनि माद्रीकै बाटो पहिल्याउने छाँटकाँट देखाइन्, तर भित्री मनमा चाहिँ उनले अर्कै दृढ सङ्कल्प गरिसकेकी थिइन् । एउटी रानीको रूपमा जे–जति निर्दयतापूर्वक गर्नुपर्ने थियो, उनले ती सबै गरिन् । त्यसपछि, लगभग १५ वर्षपछि ऋषिहरूको साथमा कुन्ती र पाँच पाण्डवहरू हस्तीनापूरतर्फ प्रस्थान गरे ।
कुरुवंशको राजधानी हस्तिनापुरमा पाण्डवहरू फर्किँदै छन् भन्ने हल्ला फैलिएपछि, दुर्योधन ईर्ष्या र घृणाको भावनाले भरिए । दुर्योधनले आफू नै हस्तिनापुरको भावी राजा बन्ने ठानेका थिए । उनका बुबा देख्न नसक्ने भएकोले अन्धो त थिए नै, तर दुर्योधनप्रति भावनात्मक रूपमा पनि अन्धो थिए । यसैकारण, एक प्रकारले दुर्योधन राजा जस्तै भइसकेका थिए अनि त्यहाँ विभिन्न कुराहरू उनले भनेअनुसार हुन थालेका थिए । तर अचानक, उनको अगाडि यस्तो प्रतिद्वन्द्वी देखा परे, जो कानुनी रूपमा राजगद्दीको हकदार थिए । दुर्योधनले यो कुरालाई सहन सकेनन् । उनले आफ्ना भाइहरूलाई उक्साउन थाले, जो उनको तुलनामा मन्द बुद्धिका थिए, साथै उनीहरूमा राज्य चलाउनको लागि आवश्यक जोश र सामर्थ्य थिएन । उनले आफ्नो सहयोगीको रूपमा दुःशासन पाए, जो सय भाइहरूमध्ये दोस्रो थिए ।
पाण्डवहरू आउनुअघि नै दुवैजनामा क्रोध चुलिएको थियो । मानिसहरूले पाण्डुलाई प्रेम गरेका थिए, किनकि उनी आधिकारिक रूपमा राजा नभए तापनि, कार्यकारी रूपमा सबै राजकाज उनैले सम्हालेका थिए । पाण्डुले नै राज्यको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, अरू राज्यहरूमाथि विजय प्राप्त गरेका थिए अनि सबै प्रशासनिक कामहारू सम्हालेका थिए । सोह्र वर्षसम्म उनले आफ्नै इच्छाले निर्वासित (अलग्गै रहने) जीवन बिताएका थिए, र अब उनको निधन भएको थियो । मानिसहरूले पाण्डुका सन्तानहरूलाई पहिले कहिल्यै देखेका थिएनन्, त्यसैले सबैजना उत्साहित र रोमाञ्चित थिए ।
उत्सुकता र प्रेमको भावले जनसागर उर्लिएर आयो । जब पाण्डवहरूले आफ्नी आमा कुन्तीसँगै शहर प्रवेश गरे, भीडबाट अभिवादनको चर्को स्वर गुञ्जियो । पाँचैजना जङ्गलमा हुर्किएकोले निकै बलियो र शक्तिशाली भएका थिए । महलमा हुर्किएका भए उनीहरू त्यति बलशाली हुने थिएनन् । सयजना कौरव भाइहरू, धृतराष्ट्र, गान्धारी, भीष्म, विदुर अनि सबै मान्यजनहरू उनीहरूको स्वागतका लागि शहरको द्वारमा उभिए । आफ्नो बाल्यकालदेखि नै धृतराष्ट्रले संसारको बारेमा जान्नको लागि अनि सहयोगको लागि पाण्डुको सहारा लिनुपरेको थियो । धृतराष्ट्रप्रति पाण्डुमा स्नेह र करुणाको भाव थियो । तर, यतिखेर धृतराष्ट्रमा मिश्रित भावना मडारिएको थियो । धृतराष्ट्रलाई आफ्ना भाइप्रति आफूमा प्रेमको भावना छ भन्ने लाग्थ्यो, तर पाण्डवहरूको आगमनले अब आफ्ना छोराहरू राजा बन्न पाउने छैनन् भन्ने विचारले उनीभित्र चलिरहेको भावनासँग उनी सङ्घर्ष गरिरहेका थिए ।
पाण्डवहरू र कुन्तीको स्वागत गरियो । पाण्डुको लागि मृत्युपछिका अन्तिम संस्कराहरू सम्पन्न गरियो । पाण्डवहरूले दरबारमा प्रवेश गरेको क्षणदेखि नै नियतीले आफ्नो रूप प्रस्तुत गर्न थाल्यो । भीम र दुर्योधन सबैजनामध्ये बलिया थिए । भीमको शरीर विशालकाय थियो अनि उनको शारीरिक बलको तुलनामा दुर्योधन बराबरी थिए । आफ्नो जिवनमा पहिलो पटक दरबार देख्न पाएकोले भीम असाध्यै खुसी थिए । उत्साह र रोमाञ्चले भरिएका सरल एवं सोझा किसिमका भीम दरबारको चारैतिर पुगेर जो कसैसँग ठट्टा गर्दथे अनि मौका पाउनेबित्तिकै दुर्योधन र सबै कौरव भाइहरूको खिल्ली उडाउँथे ।
भीम र दुर्योधनबिच औपचारिक रूपमा पहिलो मुठभेड कुस्ती–मैदानमा भएको थिए । आफूलाई कसैले पनि पराजित गर्न नसक्ने भन्ने कुरामा दुर्योधन विश्वस्त थिए । सय भाइहरूमध्ये उनी सबैभन्दा शक्तिशाली थिए अनि उनको उमेरका अरू कसैले पनि उनलाई हराउन सक्दैनथे । भीमले एकपछि अर्को कुस्ती जित्दै गए अनि सबैको प्रिय पात्र बन्दै गए । यो कुराले भित्रभित्रै ईर्ष्याले जलिरहेका दुर्योधनले भीमलाई उनको औकात बताउनको लागि परिवारका सबै सदस्यहरूसामु कुस्तीको लागि निम्तो दिने योजना बुन्न थाले । यो अरूको निम्ति मैत्रीपूर्ण खेल देखिने थियो, जबकि दुवैका निम्ति जीवन–मरणको लडाइँ बन्ने थियो । तर, भीमले लडाइँ हुनुअघि नै दुर्योधनलाई उचालेर पछारिदिए । दुर्योधनको घमण्ड चक्नाचुर भयो । पराजयको लाजले उनको क्रोध र घृणा झन् दन्कियो । उनी आफ्ना भावनाहरूलाई न त लुकाउन सक्थे, न त दबाउन ।
दुर्योधनले भीमलाई समाप्त गर्नको लागि योजनाहरू बुन्न थाले । त्यसैबेला, दुर्योधनका मामा शकुनी सल्लाहकारको रूपमा दरबारमा प्रवेश गरे । अहिले शकुनी शब्द छल–कपटको पर्याय भएको छ । शकुनी गान्धारीको भाइ थिए । गान्धारी र धृतराष्ट्रको विवाह भइसकेपछि मात्र भीष्मले गान्धारी एक प्रकारले विधवा हुन् भन्ने कुरा चाल पाएका थिए । यो कुराबारे मानिसहरूबिच खासखुस हुन थाल्यो । खासमा भएको के थियो भने, गान्धारीले विवाहको तीन महिनापछि पति गुमाउने श्राप पाएकी थिइन् । यसैकारण, त्यो श्रापबाट मुक्त हुन उनलाई बोकासँग विवाह गराइएको थियो अनि त्यसको बलि दिइएको थियो । कुरुवंशलाई यसरी धोका दिइएको विषयले भीष्म एकदमै आक्रोशित भए अनि उनले गान्धारीका पिता र सबै भाइहरूलाई समातेर नजरबन्द गरिदिए । यो एक प्रकारको सत्कार थियो— कुरा यत्ति हो कि उनीहरू त्यहाँबाट कहिल्यै निस्किन पाउँदैनथे ! त्यस युगको धर्मअनुसार केटी पक्षको परिवारहरू केटा पक्षको घरमा पहिलो पटक आउँदा, उनीहरूलाई भोजन दिइरहँदा सम्म त्यहाँबाट जान पाउँदैनथे ।
बिस्तारै–बिस्तारै भोजनको मात्रा कम हुँदै गयो । त्यो यस हदसम्म पुग्यो कि गान्धारीको परिवारका सदस्यहरू दुब्लाउँदै गए अनि कमजोर बन्दै गए । यो अचेलका सुबिधा–सम्पन्न होटेलहरू जस्तै थियो, जहाँ तपाईंको अगाडि थुप्रै भाँडाहरू सजाइएका हुन्छन्, तर प्लेटमा भने एकदमै थोरै खाना पस्किएको हुन्छ ! उनीहरूले पनि यस्तै सत्कार पाएका थिए । केही समयपछि, गान्धारीका बुबा र भाइहरू पूरै सुकेर हाड–छाला मात्र भएका थियो । यो स्पष्ट भयो कि गान्धारीको ससुराली पक्षले उनीहरूलाई भोकभोकै मार्न चाहन्थ्यो । तर, उनीहरूलाई नियमित रूपमा भोजन दिइएकै थियो, जसकारण उनीहरू त्यहाँबाट निस्किन सक्दैनथे— त्यो उनीहरूको धर्म थियो ।
उनीहरूले एक–आपसमा छलफल गरे अनि एकजनाबाहेक अरू सबैले आमरण उपवास गर्ने निधो गरे । शकुनी सबैमध्ये चतूर र बुद्धिमानी थिए । त्यसैले, उनीहरूले आफ्नो सबै खाना शकुनीलाई दिए, ताकि उनी जीवित रहेर ती सबैसँग प्रतिशोध लिन सकून् । यस्तो भनिन्छ कि जब एकएक गर्दै उनका भाइहरू मर्दै गए, शकुनीका बुबाले उनलाई मृत भाइहरूको अङ्ग–प्रत्यङ्ग खान भने, ताकि शकुनी निकै बलियो बनेर उनीहरूसँग बदला लिन सकून् । बुबाको मृत्यु भएपछि आफ्नो मातृभूमिमा उनको काजक्रिया गर्नुपर्ने हुन्थ्यो । त्यसबेला, उनी त्यहाँबाट जान पाउँथे ।
शकुनीले आफ्ना मृत भाइहरूको शरीर काटेर उनीहरूको मुटु, कलेजो र मृगौलाहरू खान थाले । यसैबिच, आफ्नो मृत्युशैय्याबाट उठेर शकुनीका बुबाले आफूले टेक्ने लट्ठी उठाए अनि शकुनीको गोली गाँठोमा निकै जोडले हिर्काए, जसले गर्दा त्यो भाग भाँचियो । शकुनी पीडाले आहत भएर चिच्याए अनि सोधे, “किन हिर्काउनु भएको ?“ तब बुबाले जवाफ दिए, “मैले यसकारण भाँचिदिए, ताकि तँ सँधै खोच्याएर हिँड्नेछस् अनि आफ्ना भाइहरूका अङ्गहरू खाएर जीवित रहेको कुरा कहिल्यै बिर्सिने छैनस् । तेरो प्रत्येक पाइलाले तँलाई यो याद गराउनेछ कि तँ केवल प्रतिशोध लिनको लागि बाँच्नुपर्छ । ” मर्नुअघि शकुनीका बुबाले उनलाई भनेका थिए, “जब म मर्नेछु, मेरा औँलाहरू काट्नु अनि त्यसबाट पासा बनाउनु । म आफ्नो तान्त्रिक शक्तिको प्रयोग गर्नेछु, जसले गर्दा पासा तैँले चाहेअनुसार नै पल्टिनेछन् । अरू कसैले पनि तँलाई पासाको खेलमा हराउन सक्ने छैनन् । यो एकदिन अवश्य काम लाग्नेछ । ” बुबाको मृत्युपछि, शकुनीले उनका औँलाहरू काटेर पासा बनाए । भलै, आफूसँग कुनै योद्धाको जस्तो शारीरिक बल नभए तापनि, यी पासाहरूको शक्तिले संसारलाई नै जित्न सक्छु भन्ने कुराप्रति शकुनी विश्वस्त थिए ।
आफ्ना बुबाको मृत्युपछि, शकुनीले कुरुवंशको विनाश गर्ने प्रण गरेर त्यहाँबाट गए । यतिखेर उनी सल्लाहकारको रूपमा फर्किएका थिए । दुर्योधनलाई शकुनी असाध्यै बुद्धिमानी लाग्यो, जसकारण उनले आदर–सत्कार गरे अनि चाँडै दुवैबिच गहिरो मित्रता बस्यो ।
शकुनीले दुर्योधनको साथ पाए, जो घृणा र ईर्ष्याले भरिएका थिए । शकुनीले दुर्योधनको त्यो भावनालाई लगातार पोषण गरिरहन्थे । दुर्योधन आफैँ त्यति कपटी थिएनन्, तर उनी तातो रिसका व्यक्ति थिए । आफूलाई मनमा लागेका कुराहरू उनी फ्याट्ट भनिहाल्थे— विशेषगरी आफ्ना बुबासँग । दुर्योधनको यो व्यवहार नियालेपछि, शकुनीले सम्झाउँदै भने, “दुर्योधन, भगवानले मनुष्यलाई यो मुख आफूलाई लागेको कुरा फ्याट्ट भनिहाल्न दिएका होइनन्, बरु दिमागमा चलिरहेको कुरालाई लुकाउनको लागि दिएका हुन् । ” शकुनीको मानसिकता त्यस हदसम्मको थियो । दुर्योधनको नशा–नशामा घृणाको भाव बगिरहोस् भन्ने हेतुले शकुनी जतिबेला पनि दुर्योधनको मनमा ईर्ष्या र घृणाको विष भर्ने काम गरिरहन्थे । शकुनीले दुर्योधनलाई भने, “आफ्नो शत्रुलाई उक्साउने, गाली–गलौज गर्ने वा ऊमाथि थुक्नुको कुनै औचित्य छैन— यसबाट ऊ झन् शक्तिशाली बन्दै जानेछ । मूर्खले मात्र त्यस्तो गर्छ । आफ्नो शत्रुलाई चिन्नेबित्तिकै मारिहाल्नु पर्छ । ” तब दुर्योधनले सोधे, “म आफ्नै भाइहरूलाई दरबारभित्र कसरी मारूँ ?” शकुनीले अनेक योजनाहरू बताइरहे ।
–सदगुरुको प्रवचनमा आधारित
प्रतिक्रिया