‘बम ब्लास्ट’ मा फसाइएका वाहिदको बयानः मेरो प्राइभेट पार्टमा करेन्ट लगाइयो

वाहिद शेख

घटना हो, १६ वर्षअघिको। मुम्बईको लोकल ट्रेनमा बम ब्लास्ट हुँदा २ सयभन्दा बढी व्यक्तिको ज्यान गएको थियो। यो घटनामा करिब ७ सय व्यक्ति घाइते भएका थिए। मलाई महाराष्ट्रको ‘एन्टी टेरोरिस्ट स्क्वाड (एटीएस)’ ले जबरदस्ती झुटो मुद्धामा फसायो। अकारण मैले ९ वर्ष जेलमा बिताउनु पर्यो। जेलमा मलाई यति धेरै ‘टर्चर’ गरियो, अहिले पनि त्यो घटना सम्झदा झस्किन्छु। हिजोआज शरीरले काम गर्न छोडेको छ, प्रायः बिरामी रहन्छु। कमजोर आर्थिक अवस्थाका कारण समस्यामा बल्झिएको छ। कहिले काहिँ मलाई लाग्छ, म जन्मिए किन? जन्मिने वित्तिकै किन मरिन्? शरीरको कुनै भाग आलो छैन, सबैतिर घाउको निशान छ। यो देशको अदालतलाई धन्यबाद दिन चाहन्छु, जसले मलाई दोषी नभएको प्रमाणित गर्यो। 

मेरो नाम, वाहिद शेख हो। मुम्बईमा बसोबास गर्छु। मेरो पिता मुम्बईमा एउटा सानो कम्पनीमा काम गर्नुहुन्थ्यो। हामी ४ भाई र बहिनीमा म सबैभन्दा ठूलो छोरा हुँ। मैले इङ्लिस र उर्दू भाषामा मास्टर्स गरेको थिए र ‘अन्जुमन इस्लाम’ मा केटाकेटीलाई इङ्लिस पढाउँथे। त्यतिबेला म मुन्बरामा बसोबास गर्थे र मेरो बिहे पनि भइसकेको थियो। घर राम्रोसँग चलिरहेको थियो। तर, भाग्यलाई मेरो खुसी मञ्जुर थिएन। 

११ जुलाई, सन् २००६। साँझ ६ बजेर ३० मिनेटको समय हुनुपर्छ, म आफ्नो केटाकेटी र श्रीमतीसँग छिमेकीको घरमा चिया पिउन गएको थिए। छिमेकीको टिभीमा ब्रेकिङ न्युज भन्दै एउटा समाचार लगातार प्रसारित भइरहेको थियो, जसमा मुम्बई लोकल ट्रेनमा भएको सिरियल बम ब्लास्टको समाचार थियो।  

केही समयपछि हामी आफ्नो घरमा फर्कियौं र खाना खाएर सुत्यौं। अघिल्लो दिन मेरो भाईको फोन आयो, मलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ भनेर। जतिबेला म प्रहरी चौकी पुगे, मलाई केही व्यक्तिको तस्वीर देखाएर सोध्न थालियो– ‘के तिमी यिनीहरूलाई चिन्छौं?’ अपरिचित व्यक्तिलाई चिन्ने कुरा भएन। मैले अस्विकार गरे। यसपछि मलाई भनियो, तिमीले हरेक दिन प्रहरी चौकीमा हाजिरी दिनुपर्ने छ। 

तीन महिनासम्म यो सिलसिला चलिरहयो। म हरेक दिन प्रहरी चौकी पुग्थे। मसँग सोधपुछ गरिन्थ्यो र घर जाने आदेश दिइन्थ्यो। नियमित यो प्रक्रियाले मलाई मानसिक पिडा हुन थाल्यो। मेरो शारीरिक तौल नै २० केजी घट्यो।

२९ सेप्टेम्बर, जुमाको दिन थियो। प्रहरी चौकीमा मेरो हाजिरीको पनि तीन महिना बितिसकेको थियो। एका बिहान प्रहरी चौकीबाट २५ कल आएको रहेछ, मलाई चौकी बोलाउन। मैले उनीहरूलाई नमाज पढेर आउछु भने। तर, प्रहरीले तुरुन्त आउन उर्दी लगाए। खाना पनि खाएको थिइन, अटो पकडेर सिधै प्रहरी चौकी हानिए। बाटोमा एउटा प्रहरीको फोन आयो। उसले भन्यो– अगाडिको सिग्नलमा उत्रिनु। म जिपमा तिमीलाई पर्खेर बसेको छु। 

म सिग्नलमा उत्रिए। उनीहरू एटिएसका मानिस रहेछन्। मलाई जिपमा राखेर सिधै काला चौकी पुर्याए। प्रहरी चौकीमा पुग्ने वित्तिकै उनीहरूले मेरो हातमा हतकडी लगाए र अनुहार कालो कपडाले छोपेर भने, ‘तिमीलाई बोरीवलीमा भएको एउटा हत्याको सिलसिलामा गिरफ्तार गरिएको हो।’

त्यही दिन साँझ मेरो मेडिकल टेस्ट गरियो र न्यायाधीस अभय थिम्सेको बेञ्चमा प्रस्तुत गरियो। अदालतमा मलाई आफ्नो पक्ष राख्ने, सुन्ने कुनै मौका दिइएन। प्रहरीलाई १४ दिनको रिमाण्ड प्राप्त भयो।

mumbai bombings

त्यो १४ दिनमा मसँग जे घटना भयो, अन्य कोहीसँग त्यस्तो घटना नदोहरियोस् भनेर भगवानसँग प्रार्थना गर्छु। त्यो पिडा अहिले पनि मेरो दिमागमा घुमिरहेको छ। मेरो खुट्टाको तल्लो भाग तथा हातमा पिठो पिस्ने चक्कीको पट्टाले हिर्काउने गरिन्थ्यो। मलाई कहिले नाङ्गै निकै चिसो कोठामा राखिन्थ्यो भने कहिले निकै गर्मी कोठामा। मलाई श्वास लिन निकै गाह्रो पथ्र्यो। जुन कोठामा मलाई राखिएको थियो, त्यो कोठामा यति ठूलो आवाजमा होहल्ला गराइन्थ्यो, जसका कारण कानको पर्दा फुट्छ कि जस्तो अनुभूत हुन्थ्यो। 

१४ दिनपछि मेरो रिमाण्ड बढाउन उनीहरू पुनः सफल भए। मेरो छातीको निप्पल र प्राइभेट पार्टमा उनीहरू करेन्ट लगाउँथे। पिसाब फेर्न जाँदा पोलेर ठूलो आवाजमा कराउँदा घाँटी फुट्छ कि जस्तो लाग्थ्यो। केही दिनसम्म भोकै राख्थे। 
तपाईहरूलाई लाग्दो होला, आखिर प्रहरीले मसँग किन यस्तो व्यवहार गरे? 

वास्तवमा मेरो एकजना आफन्तलाई प्रहरीले यो बयानका लागि तयार गरिसकेका रहेछन्, लोकल ट्रेन ब्लास्टमा मैले पाकिस्तानी आतंकवादीलाई आफ्नो घरमा बस्न, उनीहरूलाई खाना ख्वाउन र देशबाट बाहिर निस्किने बाटो बताए भनेर। जबकी यसमा मेरो टाढासम्म कुनै सम्बन्ध थिएन। यता प्रहरी मलाई ‘टर्चर’ गरिरहेको थियो। ममाथि दबाब बनाउन खोजिरहेका थिए, मैले सबै स्विकार गरेर उनीहरूको झुटमा साथ दिउँ। तर, म आफ्नो कुरामा अडिक थिए। मैले मानिन्। 

यसपछि प्रहरीले मेरो परिवारमाथि निशाना बनाउन सुरु गर्यो। एक दिन प्रहरीले मेरो सानो भाईलाई चौकी लगेर रामधुलाई गर्यो। भाईको अवस्था देखेर मलाई निकै नराम्रो लागेको थियो। तर, पनि मैले हिम्मत हारिन्। यसपछि मेरो श्रीमती र परिवारसँग प्रहरीले ज्यादती गरे, मारपीट गरे।   

मलाई युएपीए र मकोका (आतंकमा आरोपसम्बन्धि मुद्धा) मा आरोपी बनाइयो। एक महिनापछि मलाई जेलमा राखियो। आर्थर रोड जेल जाँदै गर्दा जेलकर्मीले डण्डाले खुब पिटे। उनीहरूको भनाई थियो, म ट्रेनमा बम ब्लास्ट गरेर आएको कैदी हुँ। 

हरेक दिन जेलमा एटिएसका अधिकारी आउँथे र मलाई सरकारी साक्षी बन्न दबाब दिन्थे। २८ जुन, २००८ मा मलाई जेलभित्र यति निर्दयी भएर कुटे, मेरो हड्डी भाँचियो, रगतले म लतपत थिए। यही साँझ मलाई नासिक जेलमा सारियो। 

यसपछि रत्नागिरी र नागपुर जेलमा पनि स्थानान्तरण गरियो। जेलमा हुँदा मलाई लाग्थ्यो, म जन्मिए किन? किन छिट्टै मरिन्। मैले विवाह नगरेको भए हुन्थ्यो। 

लामो समयपछि हामी नाम चलेका वकिल युग चौधरीसँग कानुनी सल्लाह गर्न पुग्यौं। उहाँकै कृपाले अहिले म जेलबाट बाहिर निस्किन सफल भएको छुँ। अदालतले प्रहरीसमक्ष वाहिदको घर पाकिस्तानी आएका थिए कि थिएनन्? वाहिदले उनीहरूलाई स्वागत गरेका थिए कि थिएनन्, सबै कुराको प्रमाण खोजेपछि दुःधको दुध पानीको पानी भएको थियो। फेरि उनको आफन्तले प्रहरीले दबाबमा आफूसँग बयान लिएको जानकारी दिएपछि प्रहरी नतमस्तक भएको थियो। 

यो घटनामा मसँगै १३ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो। तर, म मात्र रिहा भए। आज म रिहा भएको ७ वर्ष वितिसकेको छ। म सधै बिरामी पर्छु। म भित्र डर गडेको छ। आर्थिकस्थिति पनि कमजोर हुँदै गइरहेको छ। अहिले आफ्नो परिवार पाल्न संघर्ष गरिरहेको छु। 

–द वायरबाट

        

प्रतिक्रिया