अध्यात्म अनुरागी चिकित्सकको अपत्यारिलो अवसान


कुसुम भट्टराई


काठमाडौं । यतिका वर्ष काठमाडौंमा रहँदा उनीसँग एक पटक भेट भएन । त्यस्तो कुनै संयोग या सन्दर्भ नै जुरेन ।


न त म उनलाई चिन्थें, न उनले मलाई । थुप्रै चिकित्सकका आत्मबृत्तान्त लेखनमा घोस्ट राइटर भइयो । डा. डिएन गंगोलदेखि डा. भिष्मराज प्रशाईसम्मका आत्मबृत्तान्तको सम्पादन गरियो । डा. उपेन्द्र देवकोटादेखि भगवान कोइरालासम्मको अन्तर्वार्ता लिइयो । धेरै अस्पतालमा उपचारका लागि गइयो, चिकित्सकसँग चिनजान गरियो । 


एउटा चिकित्सक, जोसँग कहिल्यै भेट हुन सकेको थिएन । न त उनका बारेमा कतै सुनेको थिएँ, त उनको अनुहार नै देखेको थिएँ । 


कार्तिकको दोश्रो साता अचानक उनीसँग भेट भयो । काठमाडौं, थापागाउँस्थित घोस्ट राइटीङ नेपालको लेखन कुन्जमा पुगेको थिएँ । पुस्तक लेखन र सम्पादनका सन्दर्भमा भेटने क्रममा मित्र कमल ढकालको कार्यकक्षमा ति चिकित्सकसँग जिवनमै पहिलो पटक देखभेट भयो ।

‘ल कुसुमजी पनि तपाइको कार्यक्रममा आउनुहुन्छ, उहाँले अन्य पत्रकार मित्रलाई पनि बोलाउनुहन्छ’, ढकालले भने । 


हो, डा. सुवास लोहनीसँग त्यही पहिलो पटक मेरो परिचय आदान प्रदान भयो । उनी न्यूरो सर्जन रहेछन् । नेशनल न्यूरो सेन्टरमा कार्यरत डा. लोहनीमा आध्यात्मिक चेत प्रचुर थियो ।  


२२ कार्तिकमा लेखनकुंजकै थियटरमा डा. लोहनीले आफ्नो प्रवचन कार्यक्रम आयोजना गर्न लागेका रहेछन् । आध्यात्मिक र धार्मिक पारिवारिक माहौलमा हुर्किएका डा. लोहनीले शिक्षण अस्पतालबाट एमबिबिएस सकेपछि केही वर्ष भारत र अमेरिकामा पढेका रहेछन् । 


एक चिकित्सक भए पनि नेपालको वैदीक सनातन धर्मको पक्षमा उनको अगाध लगाव रहेछ । खासगरि नेपालमा इशाइकरणको बढदो क्रमको उनी कट्टर विरोधी थिए ।

 
‘समय मिल्यो भने म पनि आउँला, मित्रहरुलाई पनि बोलाउँला’, मैले भने । 


डा. लोहनी उत्साहित भए । कमल ढकाल, डा. लोहनी र पँक्तिकारविच केहीबेर समसामयिक सन्दर्भबारे कुराकानी भयो । कालो चिया पिइयो । मलाई हतार थियो, त्यसैले म करीब आधा घन्टापछि डा. लोहनीसँग बिदा मागेर त्यहाँबाट निस्कीएँ । 


२० कार्तिकमा डा. लोहनीले मेरो फेसबुकको च्याटबक्समा आफ्नो कार्यक्रमबारे एउटा सन्देश पठाए । त्यसमा ‘युग समीक्षा’ शिर्षकमा २२ कार्तिकमा आयोजना हुने उनको प्रवचन कार्यक्रमबारे जानकारी थियो । 


‘यो कार्यक्रमको विषयवस्तु ५ हजार वर्षको इतिहास र धार्मिक पृष्ठभूमि हुनेछ’, उनले युनिकोड नेपालीमा सन्देश पठाए । त्यसका साथमा निमन्त्रणापत्रको प्रतिलिपी पनि समावेश थियो । 

yug samikcha

२२ कार्तिकको विहान डा. लोहनीले म्यासेज बक्समा सन्देश लेखे, ‘आज २ बजे आउनुहोला, धन्यबाद ।’


उनका यी सबै सन्देशहरु पढे पनि म २२ कार्तिकको कार्यक्रममा सहभागि हुन असमर्थ रहें । ‘दृश्यटिभी डटकम’ भर्खर प्रारम्भ हुँदै थियो र म यसमै व्यस्त थिएँ । 


सायद डा. लोहनीले मेरो उपस्थिति र उनको कार्यक्रमको प्रचार प्रसारको अपेक्षा गरेका थिए । हुन त कमल ढकाल, सन्तोष आचार्य र टंक पन्तलगायतका पत्रकार मित्रहरुले कार्यक्रममा उपस्थित भएर उनको हौसला बढाएका थिए । तर, सायद त्यो पहिलो भेट नै अन्तीम हुन लेख्यारैछ, म कार्यक्रममा जान असमर्थ रहें । 


तेश्रो दिन डा. लोहनीले यूटयूबमा अपलोड गरिएको सोही कार्यक्रमको भिडियो लिंक मेरो मेसेज बक्समा पठाए । आफु सहभागि हुन नसके पनि एउटा चिकित्सकको धर्म, संस्कृति र इतिहासबारेको प्रवचन कस्तो रहेछ भनेर मैले ध्यान दिएर सुनें, हेरें । 


७ मंसिरमा  विभिन्न अनलाइनमा समाचार आयो, ‘बेहोस अवस्थामा फेला परेका टोखा निवासी एक चिकित्सकको मृत्यु ।’


तस्बिर देखेपछि मन अमीलो भयो, उनी डा. लोहनी थिए । ग्रान्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा बेहोस अवस्थामा फेला परेका डा. लोहनीको मृत्युको खबर थियो । 


मिडियामा उनले आत्महत्या गरेको आशँकाका खबरहरु आएका छन् । राससले प्रहरीलाई उधृत गर्दै ‘डा. लोहनीले आफैले बेहोस हुने औषधि लिएको र त्यसको ओभरडोजबाट मृत्युभएजस्तो देखिन्छ’ भन्दै समाचार प्रकाशमा ल्याएको छ । 


सुसाइड नोटसमेत फेला परेको भन्ने खालका सूचना आएका छन् । आफन्तहरुले सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा मानिस ठिकठाक रहेको, ३ बजे मात्र बेहोस अवस्थामा फेला परेको बताएका छन् । 


अर्बौै मानिसहरुको भीडमा तिन साताअघि मात्र भेट भएको बिलकुल नयाँ मान्छे अचानक हरायो । मर्नुभन्दा तिन साताअघि मात्र परिचय भएको मानिस, जसलाई राम्ररी चिन्न नपाउँदै र दोश्रो पटक भेटघाटसमेत हुन नपाइ मरिहालेको खबरले एउटा रिक्तता सिर्जना गर्दोरहेछ । 


अहिले लाग्दैछ, डा. लोहनीले बोलाएको त्यो कार्यक्रममा गइदिएको भए हुन्थ्यो । अबको दुइ तिन सातामै उनी मर्दैछन् भन्ने पूर्व जानकारी हुन्थ्यो भने त को सहभागि नहुँदो हो ? पहिला क्यान्सरबाट मर्दैछन् भन्ने पहिल्यै थाहा भएकाले साहित्यकार जगदीश घिमिरेलाई भेटन गइएकै थियो, फोनमा बारम्बार बात मारिएकै हो । तर, डा. लोहनी यति चाँडै मरिहाल्छन् भन्ने कुरा कसको कल्पनामा हुन्थ्यो होला र ? असोचनिय, अकल्पनीय घटना भो । अनि लाग्छ, कार्यक्रममा गएको भए उनको खुसीको आयतन केही बढथ्यो कि ? 


जान पाइएन । ‘कार्यक्रममा आउन सकिएन, सरी है’ भन्न नपाउँदै नव मित्र डा. लोहनी चाहिँ सरी पनि नभनी गए । न त कुनै सेल्फी खिचियो, न उनीसँगको कुनै चिनो बाँकी रह्यो । 


यो धर्तीको एउटा सुन्दर मान्छेसँगको परिचयको फूल फक्रिन नपाउँदै ओइलायो । हार्दिक श्रद्धाञ्जली । 

प्रतिक्रिया