गलेश्वर। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेमा व्यावसायिक रुपमा गरिएको सुन्तला खेतीले किसानको जीवनस्तरमा सुधार ल्याएको छ । दोसल्ले गाउँका ५० घरपरिवारका नागरिकले परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि खाद्यान्न खेती छोडेर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका हुन् ।
गतवर्ष यहाँका किसान सुन्तला बिक्री गरेर रु ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याएका स्थानीय किसान प्रेमबहादुर पाइजाले बताउनुभयो । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्षसमेत रहनुभएका पाइजाका अनुसार पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ८० देखि १२० का दरले सुन्तला खरिद गरेर लगेका थिए ।
भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रोसँग फस्ट्याउने गरेको उहाँको भनाइ छ । पहिला दुईचार घरले मात्र सुन्तला लगाएका थिए स्थानीय किसान कृष्ण पुनले भन्नुभयो,“एकदशकयता सबै घरपरिवारले सुन्तलाखेती गर्न थालेका छन् ।” खेती नगरेर बाँझिएको जमिनमा पनि सुन्तलाका बिरुवा रोप्न थालेको उहाँले बताउनुभयो ।
अहिले सुन्तला नलगाएको घर नै छैन मकै,धान र कोदोखेती गाउँबाट हरायो । पुनले भन्नुभयो,“सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि सुन्तला लगाउनेको सङ्ख्या वृद्धि भएको छ ।” गाउँको सबै जमिन खाली नराखी सुन्तला लगाउने अभियान चलाएको उहाँको भनाइ छ ।
विगत १२ वर्षदेखि यहाँका किसानले सुन्तलाखेती गर्दै आएका छन् । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि पाखोबारी र खेत खाली नराखी सबै जमिनमा सुन्तलाका बिरुवा लगाउन थालेको किसानले बताएका छन् । वर्षमा मुस्किलले चार मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट ६० हजार भन्दा बढी आम्दानी भएको किसान रमेश पुनले बताउनुभयो ।
सडक यातायातको सुविधा पुगेपछि बाँझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उहाँले जानकारी दिनुभयो । दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । कृषि ज्ञानकेन्द्र म्याग्दीले दोसल्लेमा सुन्तलाखेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी तालिममा सहयोग गर्दै आएको छ ।
बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गर्ने भवनसमेत निर्माण भएको थियो । सुन्तलाबाट नै समृद्धि भित्रिन थालेपछि यहाँका किसान उत्साहित देखिएका छन् । निर्वाहमुखी कृषिबाट यहाँ व्यावसायिक कृषिको विकास भएको र यहाँका किसानको सिको उत्तरी म्याग्दीका अन्य ठाउँका किसानले पनि गर्न थालेका पाइएको छ ।
प्रतिक्रिया