‘जीवन हाम्रो छोटो छ, हृदयमा कृष्णको फोटो छ, हाँसेर भए पनि नाचेर भए पनि जीवन विताउनु छ’ भन्ने भजन खुब लोकप्रिय छ। जीवन विताउनु मात्र जीवनको उदेश्य हुनु हुँदैन। सार्थकतापूर्ण सुखमय जीवन जीउनु बरु जीवनको उदेश्य हुन सक्छ। यदि हामीले जीवन यात्रामा कुनै महापुरुष महात्माको संगत गर्न पायौं, सानिध्य पायौं, ज्ञान शिक्षा दीक्षा पायौं भने सार्थक जीवन संभव छ।
जसले भेटेको छैन सद्गुरु, वास्तवमा उसको जीवन भएकै छैन शुरु। जीवन यात्रा मात्र कहाँ हो र! मृत्यु यात्रा समेत सहज बन्नेछ। सत्यमा, चित्तमा र आनन्दमा स्थापित भएको, पूर्णताको अनुभूति भैसकेको आध्यात्मिक गुरुलाई सद्गुरु भनिन्छ। अब कसरी थाहा पाउने त सच्चा गुरु को हुनुहुन्छ? यति छोटो जीवनमा कतै ट्रायल एण्ड इरर गर्दै समय ब्यतित हुने पो हो कि? बेलैमा सद्गुरु पहिचान गर्न सद्गुरुमा हुने लक्षण थाहा पाउनु जरुरी छ। यस्तो भयो भने आफ्नो सद्गुरु वहाँ नै हुनुहुन्छ भनी यकिन गर्नुपर्छ।
सद्गुरुसँगको भेट पछि शिष्य वा साधकलाई यस्तो हुन्छ भनिएको छ– भिद्यन्ते हृदय ग्रन्थी अर्थात् हृदयको गाँठो खुल्दछ, छिद्यन्ते सर्व संशया अर्थात् सारा प्रश्नहरु गायव हुन्छन्, क्षियन्ते चास्य कर्माणी अर्थात् कर्म बन्धनहरु काटिन्छन्, यास्मिन द्रष्टा परावरे अर्थात् जसलाई देख्तामात्र अतिशय प्यारो लाग्दछ, हृदय द्रविभूत भएर आउँछ। यदि हृदयको गाँठो खुलेन, प्रश्नहरु हराएनन्, कर्मबन्धन काटिएनन्, परम प्रेम घटित भएन भने बुझ्नु पर्यो कि सद्गुरु भेट्न बाँकी नै छ।
तीन प्रकारका दुःख निवारण गर्न आदि भौतिक अर्थात् सांसारिक, आदि दैविक अर्थात् दैवी वा प्राकृतिक विपत्ति र आध्यात्मिक अर्थात् स्वयं सिर्जित दुःखबाट मुक्त गर्न सद्गुरुले सहयोग गर्दछन्। सार्थक र सुखी जीवनका दुई मूल उद्येश्य दुःख निबृत्ति गर्नु र परमात्मा प्राप्त गर्न सद्गुरुले प्रेरणा र ज्ञान प्रदान गर्नुहुन्छ। सद्गुरुका प्रत्येक बोलाई, पढाई, लेखाई, गराई, सिकाई, सुनाई, हेराई, भोगाई र श्वास फेराईले समेत असत्यबाट सत्य तर्फ, अँध्यारोबाट उज्यालो तर्फ र मृत्युबाट अमृत तर्फ लैजाने खालका हुन्छन्।
श्रोतिय ब्रह्मनिष्ठ गुरु पाउन अत्यन्त दुर्लभ छ। सद्गुरुले शिष्यको संसार बृक्षलाई तीनवटा हतियार रुपि विधि दिन्छन्। एक बैराग्य, दुई समता र तीन युक्ति। जो स्वयं परम् वैराग्यमा स्थित छ, जसका लागि सबै समान छन्, जो संसारका सबै प्रकारका दुःखबाट मुक्त भैसक्यो। जुन चेतनाको तहबाट समस्या र प्रश्नहरु उब्जिन्छन् त्यो भन्दा उच्चतहको चैतन्यमा उपलब्ध भैसक्यो। उसले मात्र अरुलाई बाटो देखाउन सक्छ। उसले मात्र समाधान दिन सक्छ। जो बाटो हिँडेको छ, उसैले बाटो देखाउन सक्छ। जो आफू संसारको भवसागरबाट तरेको छ उसैले तार्न सक्छ। जो व्यष्टिबाट समष्टी बन्यो। जो जीवात्माबाट परमात्मातुल्य बन्यो। सद्गुरु उही हो।
राजर्शी जनकको गुरु को हो? भन्ने प्रश्नमा महान् गुरु अष्टाबक्र भन्नुहुन्छ– जसले संसार सागरबाट मुमुक्षु शिष्यलाई पार पुर्याई दिनुहुन्छ, उहाँ नै महान् गुरु हुनुहुन्छ। त्यस्ता गुरुले आत्मबोध गराईदिनु हुन्छ। स्वयं ब्रह्मबोधद्वारा मुक्त भएका ज्ञानी गुरुले नै शिष्यलाई उद्धार गर्दछन्। गुरु उनै हुन्। श्रद्धावान लभते ज्ञानम् जो श्रद्धावान छ, उसैले ज्ञान पाउँछ। जसमा कुशल शिष्यको पात्रता छ, उसैले असली गुरु पाउँछ। महासागरमा पानी कति छ कति! पानी निकाल्ने भाँडो जत्रो छ, त्यतिमात्र पानी भर्न सकिन्छ। राज्य, संगठन र संस्थाहरुले आफूलाई मालिक वा शासक बनाउन र मनुष्यलाई दास वा शासित बनाउन खोज्छन्।
सद्गुरुले मनुष्यलाई तिमी आफ्नो मालिक आफंै बन, अप्प दिपो भवः अर्थात् तिमी स्वयं प्रकाशित आत्मा बन भनेर प्रेरणा हौसला दिनुहुन्छ। आत्मोत्थानको विधि प्रदान गर्नुहुन्छ। विश्वब्रह्माण्डको प्रकृति पूर्ण सत्य, परम चैतन्यले भरिएको र आनन्दमयी छ। परम् कल्याणकारी छ, विशाल आकाशीय हृदय भएको, उदार अनि निःशर्त छ, निःशुल्क छ, यो संसारमा निर्वाध फैलिने स्वभावको छ। जसले ब्रहाण्डको यो स्वभावलाई धारण गर्दछ, ईश्वरीय ज्ञानलाई जनजनमा फैलाउन सक्छ, उसैलाई ईश्वरले ज्ञान शक्ति र सामर्थ्य प्रदान गर्नुहुन्छ। मनुष्य चेतनाको विस्तारलाई कुज्याउने कार्य गर्ने, नियन्त्रण गर्न खोज्नेलाई ईश्वरले पनि मन पराउनुहुन्न। सन्तहरु भन्दछन्– आफ्ना ईच्छा पूर्तिको लागि सद्गुरुको शरणमा जान्छौ, तिमी भक्त होईनौं। ईच्छा मुक्तिको लागि सद्गुरुको शरणमा जान्छौं, तिमी सच्चा भक्त हौ।
हवाई जहाज उडाउने कितावका ठेली पढेर प्रयोगात्मक अभ्यास विना हवाई जहाज उडाएमा दुर्घटना अवश्यम्भावी छ। डाक्टरले लेखेको किताव पढेर आफ्नो उपचार आफैं गर्न सकिन्न। ईश्वर परमात्माले सिधै तथास्तु भनेर मानिसलाई प्रत्यक्ष मद्दत गर्नुहुन्न! ईश्वरीय ज्ञान प्रदान गरिएका ब्रह्मदूत रुपि सद्गुरु मार्फत् मनुष्यलाई सद्ज्ञान दिनुहुन्छ।
बर्तमानका समस्या समाधान गर्न, समय सान्दर्भिक समाधान निकाल्न जीवित गुरुको आवश्यकता पर्दछ। ईश्वरीय तत्वसँग साक्षात्कार गरेर स्वयं ईश्वरतुल्य भएका सद्गुरुको सानिध्यप्राप्त गर्नु परम् शौभाग्य हो। सद्गुरुमा उच्चस्तरको उत्प्रेरणा, प्रेम केन्द्रित कर्म गर्ने असल ब्यक्तित्व, आदर्श र अनुकरणीय चरित्र हुन्छ। प्रेम, सेवा र करुणाको प्रतिमूर्ति जसले दिन मात्र जानेको वहाँलाई नै गुरुदेव भनिन्छ।
राज्यसँग र भक्तसँग माग गर्ने गुरु उपाधीधारी ब्यक्ति सद्गुरुको कोटीमा उक्लन सक्दैन। सद्गुरुले अथाह आध्यात्मिक सम्पदाको सिर्जना गरेर छोडिदिन्छन्। मनुष्यलाई प्रश्न गर्न र आफैं उत्तर खोज्न सिकाउने, स्वतन्त्रता मुक्तिको मार्ग र मोक्षको गन्तब्यसम्म पुर्याउने सामर्थ्यवान ब्यक्ति सद्गुरु हुनसक्छ। जसलाई सत्य थाहा छ र सत्यको मार्गमा हिँडेको कर्मयोगी सद्गुरु हो। अस्तित्वको कानुन, संप्रभुको सत्ता/सिद्धान्त थाहा पाएको र प्रकृतिको नियम थाहा पाएको र त्यसलाई सम्मान गर्ने सद्पुरुष नै सद्गुरु हो।
ज्ञानको सागर, रहस्यमयी, तत्वदर्शी महापुरुष नै सद्गुरु हो। प्रेम, सेवा, परोपकार र करुणाको प्रतिमूर्ति नै सद्गुरु हो। भड्किएको ब्यक्तिलाई सहीमार्गमा ल्याउन मार्ग निर्देशकको भूमिका निभाउने र समस्या समाधानकर्ता, मनुष्यलाई प्रश्न गर्न र उत्तर खोज्न सिकाउने, जनकल्याण र विश्वकल्याणका लागि काम गर्ने, महान संकल्प भएको/दिब्य कल्याणकारी लक्ष्य लिएको ब्यक्तित्व, माग्नेवाला हैन दिनेवाला, समस्या सिर्जनाकर्ता हैन समस्या समाधानकर्ता सद्गुरु हुनुहुन्छ। श्रोतिय ब्रह्मनिष्ट सद्गुरु स्थान, घटना र समय भन्दा माथि, देशको भौगोलिक सीमा भन्दा परसम्म सद्गुरु मात्र पुग्न सक्दछ। विश्वब्रह्माण्डको सत्यमा स्थापित महान आत्मा सद्गुरु हुनुहुन्छ। सद्गुरुमा नै सत्यको प्रकटीकरण भएको हुन्छ। सत्यमा एक मत हुन्छ, अनेक मत भयो भने त्यो सत्य होईन। सद्गुरु नै सत्य हो। हरिॐ!
(आचार्य, जीवन विज्ञान योग प्रशिक्षक हुन्)
प्रतिक्रिया