भारतमा चिनियाँ कम्पनीमाथि लगातार छापा, चीनको कडा आपत्ति 

काठमाडौं। भारत सरकार चिनियाँ उत्पादनलाई हत्तोत्साही गर्ने अभियानमा पुनः डटेर लागेको छ। यसको पछिल्लो उदाहरण हो, एक महिनाभित्र दोस्रो चिनियाँ कम्पनीमा छापा हान्नु। यसपल्ट भारतको आयकर विभागले चीनको चर्चित मोबाइल कम्पनी ओप्पोमा छापा हानेका छन्। 

विगत कोट्याउने हो भने, यही वर्ष मात्र भारतमा ठूलो चिनियाँ कम्पनीमा छापा हानिएको यो तेस्रो घटना हो। बुधबार ओप्पोमा भएको छापाको विषयलाई लिएर भारतस्थित चिनियाँ दूतावासले असन्तुष्टी जाहेर गरेको छ। 

चिनियाँ कम्पनी ग्याङडोङ ओप्पो मोबाइल टेलिकम्युनिकेसन कर्प लिमिटेडसँग आवद्ध ओप्पो इन्डियाले आयात करमा ४३ दशमलव ९ अर्ब डलरको घोटाला गरेको भन्दै आयकर विभागले छापा हानेको हो। 

ओप्पो इन्डियाले भारतलगायत नेपालमा पनि मोबाइल फोन बिक्री वितरण गर्ने गर्छ। आयकर विभागका निर्देशकले एउटा विज्ञप्ती सार्वजनिक गर्दै ओप्पो इन्डियाले कर छुटबाट लाभ उठाएको दावी गरेका छन्। उनले कम्पनीलाई लाभका लागि त्यो कर छुट नदिएको पनि स्पष्ट पारेका छन्। यस्तै, विज्ञप्तीमा भनिएको छ, रोयल्टी र लाइसेन्स शुल्कबाट फाइदा लिन खातामा नक्कली रिपोर्ट दर्ता गराएर २ दशमलव ९ अर्ब डलरको घोटाला गरिएको छ।

आयकर विभागले कर छलीका लागि आम्दानीको ठूलो रकम चीन पठाएको आरोप लगाएको छ। 

ओप्पो इन्डियाले आफूमाथि लागेको आरोपको हालसम्म खण्डन गरेको छैन। गत साता आयकर विभागले चिनियाँ कम्पनी भिभो मोबाइल इन्डियामा पनि छापा हानेको थियो। आयकर विभागको आरोप थियो, भिभो इन्डिया मोबाइल कम्पनी मनि लाउन्ड्रिङमा संलग्न छ। विभागले गत साता भिभोको १ सय १९ बैंक खाता बन्द गर्न आदेश दिएको थियो, जसमा ४ दशमलव ६५ अर्ब भारतीय रुपैयाँ, दुई किलो सुन र थप ७३ लाख रुपैयाँ बरामद भइसकेको छ।  

सुरक्षाको कारण देखाउँदै भारतले विगत २ वर्षयता ३ सय चिनियाँ मोबाइल ऐपमाथि प्रतिबन्ध लगाएको थियो। यसबाहेक चिनियाँ निवेशमाथि प्रतिबन्ध पनि लगाएको थियो। 

भारतले गत अप्रिलमा अर्को चिनियाँ मोबाइल कम्पनी शाओमीविरूद्ध पनि यस्तै कार्यवाही गरेको थियो। कम्पनीमाथि अवैध रूपमा रकम विदेश निकास गरेको आरोप लागेको थियो। तर, शाओमीले आरोपको खण्डन गर्दै आफ्ना सबै गतिविधि कानुनसम्वद्ध भएको दावी गर्दै आइरहेको छ।  
सन् २०२० मा लद्धाखस्थित भारत–चीन सीमा नजिक दुई देशका सेनाहरूको झड्प भएपछि यी देशबीच सम्बन्ध राम्रो छैन। यसको असर भारत–चीन व्यापारमा पनि देखिदै आएको छ। 

भारतमा चिनियाँ कम्पनीमाथि लगातारको छापामारीले चिनियाँ कम्पनीको छवी खराब हुने भन्दै भारतस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ। ‘यस्तो गतिविधिले सामान्य व्यापारिक गतिविधिमा असर पर्छ र यसले चीन तथा अन्य देशको कम्पनीको भारतमाथिको विश्वास कमजोर हुनेछ,’ चिनियाँ दूतवासद्धारा जारी विज्ञप्तीमा भनिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियाङले यही महिना एउटा विज्ञप्ती जारी गर्दै भारतसँग निष्पक्ष व्यवहार गर्न आग्रह गरेका थिए। उनले भनेका थिए, ‘चिनियाँ सरकार आफ्नो कम्पनीले सम्बन्धित देशको नियम कानुनको दायरामा रहेर कारोबार गर्ने विश्वास राख्द्छ र कम्पनीको हित तथा अधिकारको रक्षा गर्न चाहन्छ।’ 

उनले भारतीय सरकारले कानुनी दायरामा रहेर छानवीन गर्ने आशा आफूले राखेको बताए। ‘हामीलाई विश्वास छ, भारतले निस्पक्ष र भेदभावरहित वातावरण उपलब्ध गराउने छ,’ जाओले भनेका छन्।   

भारतीय बजारमा अहिले पनि चिनियाँ कम्पनीको हालीमुहाली छ। शाओमी भारतको सबैभन्दा धेरै फोन बेच्ने कम्पनी हो। काउन्टरपोइन्ट्स रिसर्च सेन्टरका अनुसार शाओमीबाहेक भिभो पनि भारतमा फोन बेच्ने पाँचौ ठूलो कम्पनीभित्र पर्छ। 

प्रतिक्रिया