काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि धनी देशले गरिब देशबाट नर्सहरूको भर्तिलाई तिब्र बनाएका छन्। अन्तर्राष्ट्रिय संगठनका अनुसार नर्सहरूको पलायनले गरिब देशले ठूलो संकटको सामना गर्नुपर्ने छ।
क्यानडाको टोरोन्टोमा विगत एक वर्षदेखि एउटा अस्पतालको इमर्जेन्सी विभागमा काम गरिरहेकी एमी एरहार्टले गत साता मात्र आफ्नो जागिरबाट राजीनामा गरिन्। उनी अस्थायी कामका लागि अमेरिकाको फ्लोरिडा उड्दैछिन्। उनका धेरै योजना छन्।
एयरहार्ट भन्छिन्, ‘हामी प्रायः सधै थाकेका हुन्छौं। म आफ्नो सहकर्मीलाई सधै सम्झिरहेको हुन्छु। यहाँ कामको अवस्था राम्रो भए बस्न सक्थें।’
कोभिड महामारीका कारण धनी र गरिब दुवै देशका स्वास्थ्यकर्मीले भयानक परीक्षाबाट गुज्रिनु पर्यो। यतिबेला सबै देशमा स्वास्थ्यकर्मीको अभाव देखिन्छ। अहिले अवस्था यस्तो छ कि, अस्पतालले आफ्नो कर्मचारीलाई छुट्टिमा नबस्न तथा बढी समय काममा सक्रिय हुन दबाब दिइरहेको छ। यो अवस्था विगत दुई वर्षदेखिको हो। यी अवस्थाबाट बाहिर निस्किने उपायको रूपमा यतिबेला धनी देशले गरिब देशबाट स्वास्थ्यकर्मीको खोजी कार्यलाई तिब्र बनाएको छ।
नर्सहरूको अन्तर्राष्ट्रिय संस्था (आइसीएन) ले भनेको छ– धनी देशले ठूलो संख्यामा गरिब देशबाट नर्सहरूको पूर्ति गरिरहेको छ, जसले गरिब देशको स्वास्थ्य व्यवस्थामा नराम्रो प्रभाव पार्ने निश्चित छ।
ओमिक्रोन भेरियन्टका कारण संक्रमणमा भइरहेको वृद्धिले विश्वभरिका देशमा स्वास्थ्यकर्मीको अभाव महसुस भइरहेको छ। जेनेभामा कार्यालय भएको आइक्यानमा १ सय ३० राष्ट्र समावेश छन्। जसमा २ दशमलव ७ करोड भन्दा बढी सदस्य सहभागी छन्। यो संस्थाका कार्यकारी निर्देशक होवर्ड केटन भन्छन्, ‘बिरामी, कामको बोझ र स्वास्थ्यकर्मीको पलायनको कारण बढ्दो ओमिक्रोन संक्रमणका बीच बढी संख्यामा नर्सहरू काममा फर्किएका छैनन्। यो संख्या हामीले महामारीको २ वर्षको बीचमा पनि देखेका थिएनौं।’
गरिब देशमा मात्र होइन, यतिबेला धनी देशमा पनि स्वास्थ्यकर्मीको अभाव देखिएको छ। यो अभावलाइ पूर्ति गर्न धनी देशहरूले स्वयमसेविका र सेवानिवृत्त स्वास्थ्यकर्मीलाई पुनः काममा बोलाइरहेका छन्। तर, केटन भन्छन्, ‘धेरै देशले अन्तर्राष्ट्रिय भर्तिलाई तिब्र बनाएका छन्। यसले असन्तुलन निम्त्याएको छ।’
केटनले कोभिड–१९ को बेला अन्तर्राष्ट्रिय नर्सहरूको अवस्था के थियो भन्ने विषयमा एउटा रिपोर्ट नै तयार पारेका थिए। यस विषयमा उनी भन्छन्, ‘हामीले बेलायत, जर्मनी, क्यानडा र अमेरिका जस्ता देशमा अन्तर्राष्ट्रिय भर्तिमा आएको तिब्रता महसुस गरेका छौं। मलाई यो प्वाँल टाल्ने उपाय जस्तो लाग्छ। जस्तो कि, हामीले पीपीई किट र भ्याक्सिनको मुद्धामा पनि देखेका थियौं। त्यतिबेला पनि पैसाको बलमा धनी देशले सबै सामान खरिद गरेर जम्मा गरेका थिए। यदी उनीहरूले नर्सहरूको मुद्धामा पनि यस्तै उपाय अवलम्बन गर्छन भने यसले असन्तुलनको खाल्डोलाई थप गहिरो बनाउने छ।’
आइसीएनको तथ्यांक अनुसार महामारी सुरु हुनुभन्दा अघिदेखि नै विश्वमा ६० लाखको हाराहारीमा नर्सहरूको अभाव थियो। यी अभावहरू धनीभन्दा गरिब राष्ट्रमा झन् बढी भएको तथ्यांकले प्रमाणित गर्छ। नर्सहरूको अभाव गरिब तथा मध्य आय भएको देशमा ९० प्रतिशतसम्म थियो।
धनी देशले पछिल्लो समय जुन देशबाट बढी नर्सहरू भर्ति गरेका छन्, ती देश नाइजेरिया, क्यारेबिया र अन्य अफ्रिकी मुलुक रहेको बताइएको छ। केटन भन्छन्, ‘बढी तलब र राम्रो सुविधाका कारण यी नर्सहरू आफ्नो देश छोडेर विदेश पलायनका लागि प्रोत्साहित भएका छन्।’
नर्सहरूलाई इमिग्रेशनमा दिने गरिएको प्राथमिकताले पलायनलाई प्रोत्साहित गरेको आइसीएनको रिपोर्टले दर्शाएको छ। केटन भन्छन्, ‘मुख्य कुरा यो हो कि, धनी देशहरू नर्स तथा स्वास्थ्यकर्मीलाई शिक्षित तथा प्रशिक्षित बनाउने खर्च जोगाइरहेका छन्।’
केटनले यस्ता देशलाई चेतावनी पनि दिएका छन्। उनी विश्वले जसरी स्वास्थ्यकर्मीको अभाव झेल्नु परिरहेको छ, धनी राष्ट्रले पनि यसको मूल्य चुकाउनुपर्ने दिन आउन सक्ने बताएका छन्। उनी यो समस्याबाट बाहिर निस्किन दश वर्षीय योजना तथा ठूलो निवेश आवश्यक रहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले अन्तर्राष्ट्रियस्तरमा संयुक्त, सहयोगी र केन्द्रीयस्तरको प्रयास सुरु गर्नुपर्ने आवश्यकता छ।’
श्रोतः रोयटर्स
प्रतिक्रिया