असारको पहिलो हप्ता खानेपानीको चुनाव हुने भो! बिशुद्ध सामाजिक संस्था भए तापनि राजनैतिक पोलियोग्रस्त मुलुककै भू–भाग भएकोले यहाँ पनि रोग मुक्त हुने कुरै भएन! दलिय रोगले भेट्यो!
स्थानीय चुनावताका प्रचण्ड र माकुनेको बैशाखी टेकेको काङ्ग्रेस बाहुवलिको आदेशबाट प्राप्त भिटामिनको उर्जाका कारण एक्लै भिड्ने निर्णयमा पुग्यो भने केही दिनसम्म “एक्लै” को दम्भ चिच्याउँदै गरेको बाम समूह प्रचण्ड र लिङ्देनको पोल्टामा लुट्पुटिन पुग्यो! चुनावी भिडन्तमा जानुभन्दा दलिय सहमतिबाट संस्था संचालनका लागि गरिएको प्रयत्न काङ्ग्रेस गोठ भित्रका उप बिपि र बाम खोर भित्रका उप पुष्पलालका कारण बिफल भए सँगै घरदैलो सुरु भो! घरदैलो सँगसँगै मनमैलोको लेदो समेत भद्रपुर–चन्द्रगढी वरिपरी फैलियो!
चुनावका दिनका लागि भोजन ग्रहण सहितको निम्तो आयो काङ्ग्रेस खेमाबाट! उता हप्ता दिन अघि नै ‘पञ्चायती मण्डले’ नवराज घिमिरेले समेत निम्तो दिएको थियो! चुनावको दिन बिहानै ‘उग्रबाम’ भाई लोकनाथ बुईपालिले उर्दि जारी गर्यो–‘दाजु बिहानै आउनु है! खाना यतै हो!’
संस्था चलाउन तम्सेका जुनसुकै गुटको लेबल टाँसेर मैदानमा उत्रेका भएपनि आफ्नै वरिपरीका जन्ती मलामी नै थिए! एकातर्फ पार्टीगत हिसाबले नजिक बालसखा गोविन्द लम्साल अध्यक्षका प्रत्याशी थिए भने अर्कोतर्फ बच्चा देखिको छिमेकी भाई पुरुषोत्तम अधिकारी! एकातिर आत्मीय मित्र अर्कोतिर आत्मीय भाई! त्यसभन्दा मुनिका पनि सबै चिरपरिचित आत्मीयजन नै! मतदान स्थल पुग्दा गोविन्दले आत्मीयतापूर्वक स्वागत गरे भने भाईले चिया पसलतिर तान्दै चियाले स्वागत गर्यो! माहोल आत्मीय बन्यो!
तर मतदान स्थलभित्र पस्दा यस्तो लाग्यो कि चुनाव खानेपानीको हैन! रुस–उक्रेन युद्ध चल्दैछ! काङ्ग्रेस भित्रका एकाध उप बिपिहरु यसरी लागि परेका छन् कि गोविन्दले जितेको भोलिपल्टै आफैं प्रधानमन्त्री बन्नेछन् अनि उता बाम उप पुष्पलालहरु पनि त्यस्तै! पुरुषोत्तमले जितेमा स्वयं राष्ट्रपतिको कुर्सीमा बिराजमान हुनेछन्! चुनावको भोलिपल्ट मर्दापर्दा छिमेकी चाहिन्छ, समाज चाहिन्छ, सामाजिक भाईचारा चाहिन्छ र त्यसलाई जिवन्त राख्नुपर्छ भन्ने न्यूनतम मर्यादा समेत बिर्सेर एक अर्काको लगौंटी तान्न ब्यस्त देखिन्थे दुबै समूह!
बाम समूह स्थायित्वको नारा घन्काउँदै थियो भने काङ्ग्रेस पक्षधर परिवर्तन चिच्याउँदै थिए! “तीन तीन पल्ट यै पुरुषोत्तम किन उठ्नुपर्ने? अब नयाँ अनुहार चाहिन्छ! परिवर्तन चाहिन्छ” भनेर कुनै काङ्ग्रेस ठेकेदार चिच्याउँदै थियो! अर्कोतिर गोविन्दले जिते आकाशै झर्ने त्रासले चिन्तित देखिन्थ्यो कुनै बाम ठेकेदार! पुरुषोत्तमले जिते आफैं राष्ट्रपति पड्काउला झैँ दम्भ ओकल्दै थियो!
‘सात पटक प्रधानमन्त्री हुन्छु’ भन्दै दम्भ बान्ता गर्दा ‘हस मालिक’ भन्दै सेवन गर्ने अनि ०४८ साल देखि एउटै उम्मेद्वारका नाममा ल्याप्चे लाउने उर्दि आउँदा समेत ‘जि, मालिक’ भन्दै कुद्ने म दास काङ्ग्रेस निर्लज्जता पूर्वक परिवर्तन पक्षधरकै लहरमा घुस्रेर भोट माग्दै थिएँ!
परिणाम पुरुषोत्तमका पक्षमा गयो! ‘जसरी पनि गोविन्द जिताउनु’ भन्दै फोन उर्दि जारी गर्ने बाहुवलिहरुको आदेशमा खरो उत्रिन सकिएन! परिवर्तन खोज्न हिँडेको म निरीह प्राणी बर्तनमा चित्त बुझाउन बाध्य भएँ! एउटा असल शिक्षासेवीलाई बेमौसमी राजनैतिक तालमा नाच्न उचालेर असमय अपाङ्ग बनाउ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सामेल हुन पुगियो!
जित्नेले अबीर दले! रातो मात्र थियो कुनै चमक थिएन! हार्नेमा निराशा थियो कुनै रौनक थिएन! यो चुनावी दम्भ युद्धमा हामीले गाउँ भुल्यौं , समाज भुल्यौं, मर्दापर्दा छिमेकी चाहिन्छ भन्ने न्यूनतम सामाजिक मर्यादा भुल्यौं! सम्झ्यांै त केवल राजनैतिक दम्भ अनि कुण्ठा मात्र! एउटा सामाजिक संस्था चलाउन गाउँका चार फुर्सदिला लम्फुका नाममा सहमति जुटाउन नसक्ने हामी पिलन्धरेहरु मुलुक बनाउने खोक्रो फुर्ति फलाक्न ब्यस्त रह्यौ!
खैर, चुनाव सकियो !!
मण्डलेको निम्तोमा बामपंथीसँग बसेर मासु भात दन्काईयो! भोट चैं परिवर्तन पक्षधर काङ्ग्रेसलाई मागेर ठूलै अन्तर्घात गरियो! बैतरणी तर्न नसकेर बीचमै अलपत्र त परिने हैन? चिन्ता यथावत छ!
प्रतिक्रिया