मूल्य वृद्धि फिर्ता लिन ६ विद्यार्थी संगठनको माग

काठमाडौं । विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर विद्यार्थी संगठनले मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

मूल्यवृद्धि नियन्त्रणका लागि भारतबाट मात्रै ल्याइने प्रशोधित इन्धनमाथिको एकाधिकार अन्त्य गर्दै अन्तर्राष्ट्रिय बजारबाट तेलजन्य कच्चा पदार्थ नेपाल आयात हुने वातावरण तयार गर्नसमेत उनीहरुले माग गरेका छन् । इन्धन व्यापारका विषय मात्रै नभएर जनताको दैनिक जीवनसँग जोडिएको आधारभूत आवश्यकता भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘यो संवेदनशील विषयमा नेपाल सरकार जवाफदेही भएर जनतालाई सहजरुपमा जीवनयापन गर्ने वातावरण तयार गर्नको लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाई मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौँ । मूल्य वद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी सङ्गठन देशभर आन्दोलन सिर्जना गर्न बाध्य हुनेछ ।’

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । पछिल्लो पटक इन्धनको मूल्यवृद्घिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया