कुनै समय झापामा एक औलो उन्मुलनका भिजिटर उपलब्ध थिए! एउटा अन्तर्वार्तामा भनेका थिए– मैले यो ब्यापार श्रीमतीको सुनको बाला धितो राखेर १९३ रुपैयाँबाट सुरु गरेको हो!
ब्यापार!
सम्मानित भाषामा भन्दा आयात निर्यात! फिल्मी शब्दमा भन्नुपर्दा ईधरका माल उधर! सोझै भन्ने हो भने तस्करी!
चीनबाट टेरलिङ भित्रीन सुरु भएको थियो! उनले त्यसलाई धुलाबारीबाट भारतीय बजारसम्म पुर्याउने धन्दा थाले! हङकङ्ग सरह नै सामान उपलब्ध हुने भएकाले हङकङ्ग मार्केटका नामले प्रशिद्ध धुलाबारी! टेरलिङबाट सुरु भएको ब्यापार झेरलिङ हुँदै हरेक लिङमा फैलियो! यतिसम्म कि धुलाबारीमा सामान किनेर आफ्नो ठेगाना दिएपछि ईन्डियाको जुनसुकै कुनामा पनि सामान डेलिभरी! सर्त– दस्तुर चैं बुझाउनु पर्यो!
बिस्तारै उनको ब्यापारिक साम्राज्य फैलिँदै गयो! सहि गलत जुनसुकै धन्दा भएपनि पैसा कमाएको मान्छेलाई ब्यापारी देख्ने हाम्रो समाजले उनलाई पनि ब्यापारी देखिदियो! उनको रमाइलो पक्ष– हात फैलाउन आउने जो कोहिलाई पनि खाली हात नफर्काउने! पुलिस प्रशासन त पकेटमै थिए! कहिले देब्रेमा राख्थे कहिले दाहिनेमा! पैसा दिने मान्छे भेटेपछि सबैले देउता मान्ने नै भए! धन्दा के कस्तो हो? सरोकार भएन!
बिस्तारै उनी झापाका लागि “शशी दाई” भए! मेचीपारी बङ्गालका लागि “शशी दा” अनि दार्जिलिङ र खर्साङ्गतिरका ब्रो ब्रोनीहरुका लागि “शशी दोजु!” ईन्डियन नम्बरको चोरिको राजदूत मोटरसाइकल उपहार पाउने पत्रकारका लागि त सम्मानपूर्वक “शशी सर” हुने भैगए! अबैध कमाईको केही हिस्सा ‘दानपुण्य’ मा लाएपछि गिद्ध पनि बुद्ध बन्ने मुलुकमा उनको पनि लोकप्रियता चुलिँदै गयो! सबैको हाईहाई! “अन्तो रुपैयाँ पैसा त धेरै कमाईयो कि भाई! आबो इज्जत कमाउनु पर्छ हो!” उनलाई इज्जत कमाउने धुन चढ्यो! भोको मान्छेले खाना खोज्छ! खाना पछि आराम खोज्छ! आराम भेटेपछि मनोरञ्जन! उनी पनि मान्छे नै थिए! मानवीय चरित्र पछ्याए! पैसा सँगसँगै इज्जत खोज्नु स्वाभाविक थियो!
स्थानीय चुनाव लडे! अत्यधिक मतले बिजयी भए! अब उनी मात्र शशी रहेनन्! काँकडभिट्टा गाउँ पञ्चायतका प्रधानपञ्च भए! उनी अब जनप्रतिनिधि बने! पुलिस, प्रशासनसँग खाम बोकेर अनुनय बिनय गर्न जाने उनी हाफपैन्टमै सिधै सिडिओको च्याम्बरमा प्रवेश पाउने हैसियतमा पुगे! उनले आफुलाई बिगतको ब्यापारी भन्दा बढी जनप्रतिनिधिको रूपमा प्रस्तुति देखाउन थालेपछि “खाईपाई आएको सुबिधा” कटौतीबाट पुलिस, प्रशासन असन्तुष्ट हुनु स्वभाबिकै थियो! उता जनप्रतिनिधिको रूपमा लोकप्रियता बढ्दै गयो! पैसा छँदैथियो, भ्रष्टाचार गर्नु थिएन! अरु प्रधानपञ्च मोटर किन्नतिर लाग्थे, उनी गाउँ पञ्चायतका लागि डोजर किनेर बाटो खन्नतिर लागे! आफ्नै खर्चमा पुरै गाउँ पिकनिक लान थालेपछि उनको लोकप्रियताबाट भ्रष्ट पञ्च त्रसित हुनु स्वाभाविकै थियो! त्यस्तै भो! सँगसँगै प्रतिद्वन्द्वी “ब्यापारी” समेत त्रशित! मेचीपारीबाट आउँदै गर्दा अज्ञात बन्दुकधारीद्वारा उनको ईहलिला समाप्त गराईयो! पैसा कमाएपछि इज्जत कमाउन हिँडेको एउटा “कुशल तस्कर” को असमय अन्त भो! सँगसँगै “उभरता हुवा पञ्च” पनि!
कुनै पनि नेतासँग हत्तपत्त फोटो नखिच्ने तर कुनै असल मान्छे भेट्दा नछाड्ने मेरो स्वभावले रबि लामिछाने देखेपछि लोभ्यायो! उनको प्रस्तुति भरसक नछुटाई हेर्ने प्रशंसकले राखेको फोटो प्रस्ताव तुरुन्तै पारित भो! प्रत्यक्ष भेटेर महसुस गरेको उनको सालिनताले अर्को प्रभाव छोड्यो!
एउटा चर्चित पत्रकार जसले आवाजको माध्यमबाट समाजलाई धेरै सकारात्मक सन्देश दिएको छ! बिदेशमा अलपत्र परेका निरीह जनताको पिडामा मल्हम लाएको छ! गलत कुराको बिरोधमा बोलेको छ! हरेक क्षेत्रको बिकृति विरुद्ध आवाज बुलन्द गरेको छ! अन्यायको विरुद्ध आगो ओकलेको छ! धेरै निमुखालाई न्याय दिलाएको छ! बोलेर चिच्याएर धेरैको लगौंटी खुस्काएको छ! धेरै भ्रष्टको मुटु थर्काएको छ! पत्रकारिता जगतमाप्रशस्त चर्चा कमाएकोछ!
तर आज–
“आदरणीय जनसमुदाय, ईज्जत त कमाईयो कि अब पैसा कमाउनु पर्यो क्या” भन्ने भाव ओकलेर राजनीति नामको फोहोरी पोखरीमा हाफपैन्ट लाएर चोपलिएको चैं धेरैलाई पचेको छैन!
हिजोसम्म उनी अर्काको धोती खुस्काउन ब्यस्त थिए! अब उनको लगौंटी तान्न धेरै लागिपर्ने छन्! हिजोसम्म अरु उपर मुर्दावाद चिच्याउने उनी उपर अब अरु मुर्दावादहरु खनिने छन्! हिजो अस्तिसम्म उनी जवाफ माग्थे अब उनको अगाडि सवालको बिस्कुन फिंजिने छ! अरुको बैभवशाली जीवनको श्रोत खोज्नेले अब आफ्नो कन्तुर देखाउनु पर्नेछ! बिना झण्डा पाएको इज्जत प्रतिष्ठा दाउमा राखेर झण्डा सहितको ईज्जत कमाउने लोभमा रबि कतै शशी त बन्दै छैनन्? एउटा क्षेत्रमा सफल ब्यक्ति अर्को क्षेत्रमा सफल बन्न मुस्किल छ भन्ने नजिर त निकै अघि बनेकै छ!
खैर!
नशा गर्न तम्सेको गँजडिलाई कुलतमा नफस्ने सल्लाह मात्र दिन सकिन्छ! उसको मुख थुन्न सकिन्न! उसको मष्तिक बदल्न सकिन्न! एउटा असल पत्रकारको असामयिक अबसानमा समबेदनाका दुई शब्द बाहेक केही भन्न सकिएन!
जय होस!
प्रतिक्रिया