मित्रता दिवसमा मित्रताको मधुरसः

हरेक सुदामाले कृष्ण जस्तो साथी कहाँ पाउँछ ?

-भागवत खनाल 

न कश्चित् कस्यचिन्मित्रं,न कश्चित् कस्यचित् रिपुः।
अर्थतस्तु निबध्यन्ते, मित्राणि रिपवस्तथा।।

न कोही कसैको मित्र हुन्छ, न त कोही शत्रु। परिस्थितिले नै कसैलाई मित्र या शत्रु बनाइदिन्छ। 


bhagwat khanalप्राचीन समयको एकादेशको कुरा हो। अनिन्द्य सुन्दरी राजकुमारी सुरम्याले स्वयंवर गरेर पति छान्छु भन्दै झ्याली पिट्न लगाइन्। पल्लो राज्यका दुईजना साह्रै मिल्ने राजपुत युवकहरू  माधो सिंह र मालुक्य सिंह पनि सँगसँगै स्वयंवरको रमाइलो हेर्न गए। उनीहरूले बाटाभरि  हाँसो र मस्करी गरे। एउटाले खाएको जुठो अर्कोलाई चल्थ्यो। एकका लागि अर्को मर्न पनि तयार। उनीहरू राजपुतका सन्तान भए तापनि गरीब थिए। आफूले त वरमाला पाइने होइन नै, तथापि राजकुमारीलाई नजिकैबाट हेरौं भन्ने लालसाले पल्लो छेउमा गएर उभिए उनीहरू।  स्वयंवरको कार्यक्रम सुरु भयो। हातमा माला लिएकी परम् सुन्दरी राजकुमारी हात्तीमा चढेर आइन्। हात्ती मन्द गतिमा अघि बढ्दै थियो। वरमालाकांक्षी असंख्य सुन्दर युवकहरू पंक्तिबद्ध थिए। राजकुमारी अघि बढ्दै आइन्। मालाकांक्षी युवकहरू क्रमशः छुट्दै गए। हात्ती  नजिक हुँदै जाँदा माधो सिंह र मालुक्य सिंहले पनि कुमारीको अनुहार छर्लङ्ग देख्न थाले। अनुपम सुन्दरी राजकुमारी सुरम्यालाई आफ्नो नजिकै आएको देखेर माधो र मालुक्यको हृदयको गति बढ्न थाल्यो। राजकुमारी हात्तीबाट झरेर माधोको अगाडि आएर ठिङ्ग उभिइन्। त्यो क्षण सानो थियो।

जीवनका हजारौंहजार क्षणमध्येको एक। तर हृदय हल्लाउन पर्याप्त थियो त्यो पल। त्यो सानो निर्णायक घडीमा मालुक्यको मनमा अनेकौं कुरा नाच्न थाले। माधोलाई मित्र बनाउनु उसको भूल थियो भने जान्नँ जान्नँ भन्दा पनि मित्रताको दुहाई दिँदै कर गरेर स्वयंवर समारोहमा ल्याउनु महाभूल। मालुक्यलाई गहिरो पश्चाताप भयो। तैपनि उसले युवतीतिर हेर्यो। युवतीले पनि उसलाई हेरिन्। उनी छोटाछोटा दुई पाइला सारेर मालुक्यको नजिक आइन्। तर निमेष बित्न नपाउँदै उनका सुन्दर पाउहरू माधोतिरै फर्के। झिमिक्क गर्न नपाउँदै  माधो वरमाला पाएर देदीप्यमान भयो। उसलाई राजाका सेवकहरूले सुन्दरीसँगै हात्तीमा चढाएर लगे। मालुक्यलाई मित्रले फर्केर पनि हेरेन। हेर्दाहेर्दै माधो मालुक्यको नजरबाट ओझेल भयो। त्यसपछि  ती दुईजना मित्रहरूको भेट कहिल्यै भएन। माधोले आफ्नो हैसियत अनुरूपका मित्रहरू भेट्टायो। मालुक्यले पनि आफ्नो औकात अनुसारका मित्रहरू फेला पार्यो। कोही पनि मित्रहीन भएन। यस जगतमा कोही मित्रहीन हुँदैन।  

जीवन एक यात्रा हो। एउटा बिसौनीमा कोही भेटिन्छ र कोही छुट्छ। फेरि अर्को बिसौनीमा अर्को कोही भेटिन्छ र कोही छुट्छ। मित्र गितारको तार जस्तै हो। ज्यादा खुकुलो छाड्दा राम्रो धुन नआउने डर, ज्यादा कसिलो बनाउन खोज्दा तारै टुट्ने डर। आफ्नो तुलनामा मित्रले उल्लेखनीय प्रगति हासिल गर्यो भने पनि कुण्ठा हुने। मित्र असफल भएर बरबाद भयो भने पनि पिर। थ्री इडियट्स फिल्ममा एउटा प्रसिद्ध डाइलग छ, ‘दोस्त फेल हो जाये तो दुःख होता है, लेकिन दोस्त अगर फर्स्ट आ जाये तो ज्यादा दुःख होता है।’ यो संसार हो। यहाँ केही पनि स्थायी र अविनाशी छैन। जहाँ मिलन त्यहाँ विछोड, जहाँ सङ्गठन त्यहाँ विघटन, जहाँ उत्थान त्यहाँ पतन। आपसमा प्रतिस्पर्धा, ईष्र्या र, द्वेषको क्षण आएन भने मात्र मित्रता लामो समय टिक्छ। अत्यन्तै कसिलो मित्रताभन्दा सामान्य र मध्यम सम्बन्ध बरु चीरस्थायी हुन्छ। 

मित्र जस्तो छ त्यस्तै रहन देऊ। उसको धरणा आफूसँग मिले हुन्थ्यो भन्ने चाहना नराख। जीवनयात्राको एउटा बिसौनीमा कोही भेटियो र अर्कोमा कोही। कुरा मिल्यो, सुख बाँडियो र दुःख पनि। यात्रा गर्दागर्दै फेरि अर्को बिसौनीमा अर्को भेटियो। पुरानो त्यहीँ छुट्यो नयाँले पल्लो स्टेसनसम्म साथ दियो। दुई कक्षामा पढ्दाको साथीको नाम पनि याद छैन। छ कक्षामा पढ्दाका एक–दुई जनाको नामसम्म याद छ। आठ कक्षामा पढ्दाको समयमा भेटिएको किशोरवयको साथीसँग साटेका भावना अहो! अहिले प्रायः नाम मात्र याद छ। को कहाँ पुग्यो थाहा छैन। कलेज पढ्न जाँदा पहिलो हात मिलाएको साथी दुई वर्ष कायम रह्यो। जीवनको प्रवाहमा लहरिंदै ऊ कहाँ पुग्यो पत्तो छैन। सरकारी नोकरी पाएर लाज मान्दै हाजिर हुन जाँदा ‘स्वागतम्’ भन्दै सबैभन्दा पहिले को मुसुक्क हाँस्यो? याद  छैन। बाल्यकालदेखि आजसम्मको आफ्नै जीवनको निबन्ध लेखेर पढ्नुहोस् त। बिस वर्षअघिको सोच आज छैन। त्यस बखतका अधिकांश साथीहरू आज सम्पर्कमा छैनन्। सायद उनीहरूले अर्को मित्र भेट्टाए। जो हिजो तपाईंसँग हिँड्थ्यो, आज अर्कैसँग हिँड्छ।  हिजो मन परेको मान्छे आज अर्कै लाग्न थाल्यो। हिजो मन नपरेको मान्छे आज मन पर्यो। 

यो जीवन दुई–चार स्थायी मित्रमा सीमित रहेको भए कति एकांकी हुँदो हो। सधंै उही अनुहार, उही बानी र उही वाणी। कति हैरानी हुँदो हो ती सबै कुरा झेल्न। बिछोड सुन्दर घटना हो। मनै ताजा र जीवन्त हुन्छ। नयाँ स्वाद भेटिन्छ। नयाँ बोली सुनिन्छ। नयाँ मान्छे चिनिन्छ। जीवनको नवीकरण हुन्छ। एउटा ठाउँ खाली हुन कसैले छाड्नै पर्छ। एउटा ढोका बन्द हुँदा, अरु धेरै ढोका खुल्छन्। एउटा धोका दिएर जान्छ, कैयौं निष्ठावान आउँछन्। एउटा असल मान्छे जान्छ, अर्को झन् असल आउँछ। यहाँ अर्को पाउनका लागि पहिलो गुम्नै पर्छ। प्रत्येक गुमाइले पीडा दिन्छ, तर त्यो नयाँ अवसर लिएर आउँछ।

 यहाँ एक्लै हुँदा पनि भिडमा छौं हामी। सम्बन्धहरूले हरदम लखेटिरहन्छन् यहाँ। सर्वत्र कोलाहल छ। कहीँ कतै छुट्टी छैन। बोक्न नसक्ने भारी उचालेर हिँड्न वाध्य यो जिन्दगी। अति मिलन, अति मित्रता, अति लगाव, अति भेटघाट, अति आहार, अति निद्रा, अति निन्दा, अति प्रेम, अति प्रणय र अति आसक्तिले हैरान। यो अतिमा तपाईं मात्र हुनुहुन्न। यो अतिमा अरु पनि छन्। जान दिनुहोस्, फुत्किन दिनुहोस्। छातीमाथि कुण्डली मारेर बसेका भारीहरुलाई सर्कन दिनुहोस्। कोलाहलबाट मुक्त हुनुहोस्। हृदयको धड्कनलाई हलुका हुन दिनुहोस्। यहाँ वास्नामय फूल छिटो झर्छ, नश्वर छ। स्थायी त कागजको फूल हुन्छ यहाँ। यहाँ मूर्तिको बुद्ध मात्र स्थायी हुन्छ, सक्कली बुद्ध नश्वर। अडिएर बस्ने खाडलको पानी सडेको दुर्घन्धित हुन्छ, प्रवाहवान जल शुद्ध। यहाँ काम लाग्ने अन्तिम औषधी तपाईं आफैं हो। तपाईंको सच्चा साथी तपाईं स्वयं हो। तपाईंको वास्तविक पथप्रदर्शक ज्योति तपाईंभित्रै छ। तपाईंको ‘बेस्ट फ्रेन्ड’  तपाईं बाहेक कोही होइन। सिद्धार्थले धेरै गुरु थापे, किन्तु कोही काम लागेन। उनको मनभित्रको आगो कसैले निभाउन सकेन। बुद्धले आफूभित्र सल्केको आगो आफैं निभाए। तपाईंभित्र पनि आगो छ। अविरल आगो बोक्न अभिशप्त भरिया हो तपाईं। न कुनै सिद्धले, न कुनै अघोरीले, न कुनै किताबले, न कुनै ईश्वरले, न कुनै मूर्तिले र न त कुनै मित्रले तपाईंको आगो निभाउन सक्छ। बुद्धले भने जस्तै तपाईं पनि दीपक बन्नुहोस्। त्यही दीपकले तपाईंभित्रको आगो निभाउनेछ। अप्प दीपो भव ः।

प्रवाहवान जललाई बग्न दिनुहोस्, समात्ने प्रयत्न व्यर्थ छ। कोलाहल गर्ने कोही जान चाहन्छ त जाओस्। कलह गरेर बस्नुको प्रयोजन छैन। ऊ ऊ जस्तै छ। तपाईं तपाईं जस्तै। ऊ तपाईं बन्न सक्दैन। तपाईं ऊ बन्न सक्नुहुन्न। घृणा पनि एउटा प्रवाह हो। बग्न दिनुहोस्। बलात् समातेर राख्दा आफैंलाई हानी छ। दुःखी बनाएको अन्धो प्रेमले हो। दुःखी बनाएको अभिमानले हो। दुःखी बनाएको मोहले र कामनाले हो। कामना र अभिमान नरहे घृणाले पनि छुँदैन। घृणा, निन्दा, गाली र उपहास दाताकहाँ नै फिर्ता पठाउनुहोस्। बोक्न सक्नुहुन्न, धेरै गह्रौं हुन्छन् ती भारीहरू। जीवनका बिसौनीहरूमा धेरै कुरा आकस्मिकता बनेर आउँछन्। ती फेरि आकस्मिकता बनेरै जान्छन् पनि। समातेर राख्न खोज्यो कि टोक्छन्। घायल बनाउँछन्। 

हामी अरुलाई असल भन्नुअघि दुईपल्ट सोच्दछौं। परन्तु आफूलाई कति सहजै असल ठानिदिन्छौँ। चार विसङ्गति छन् रे मानवीय मनस्थितिका। म ठीक छु, मैले जित्नुपर्छ, मलाई सबैले रुचाउनुपर्छ र मलाई सबैले माया गर्नुपर्छ। आफूलाई ढाँट्न बहुतै सजिलो छ। ‘म नै असल छु, म नै शालीन छु, तर मैलाई दुःख छ।’  कत्रो भूल गर्छौं हामी। आफू बाहेक थोरैलाई मात्र असल देख्छौं। परन्तु यहाँ त्यही असल मित्रसँग पनि बिछोड हुन्छ। समातेर राखेर सकिंदैन। तपाईंले नछाडे एक दिन उसले तपाईंलाई छाड्नेछ। यो संसार हो। यहाँ कोही पनि निरपेक्ष रूपमा असल र खराब छैन। पाकेटमार पनि कसैका लागि असल छ। कोही उसको कमाइ कुरेर बसिरहेको  छ।  यो अपार भवसागर हो साथी!  यहाँ बेस्ट फ्रेन्ड सिजरलाई मार्ने ब्रुटस पनि छ। यहाँ बेस्टफ्रेन्ड द्रोणको अपमान गर्ने द्रुपद पनि छ। यहाँ मित्रताको महाजालमा परेर दुर्योधनलाई सहयोग गर्न अभिशप्त कर्ण पनि छ। हैसियत बढेपछि  मित्रले पनि मान खोज्छ यहाँ। हरेक सुदामाले कृष्ण जस्तो साथी कहाँ पाउँछ? यहाँ मित्रतामा पनि अघोषित सर्त हुन्छ। प्रयोजन सकियो, मित्रता सकियो।

 घनिष्ठ मित्रता त्यति महान हुन्छ भने त्यो किन छुट्छ? किनकि यहाँ सबै कुरा अनित्य छन्। एक आइलागेको घटना, एक अनियोजित र आकस्मिक आगमन। ऊ हिजो पनि थियो तर तपाईंको थिएन। हिजो पनि उसलाई चिन्ने हजारौं थिए, किन्तु तपाईंको हकमा अस्तित्वहीन थियो ऊ। तपाईंले नचिने पनि ऊ थियो। उसले नचिने पनि तपाईं हुनुहुन्थ्यो। ऊ भेटियो एउटा बिसौनीमा। फेरि ऊ मन पर्यो। यस्तो लाग्न थाल्यो कि ऊ जन्मजन्मान्तरदेखि सँगै छ। तपाईंले यस्तो महसुस गर्नुभयो कि ऊबिना तपाईं रित्तो हुनुहुनेछ। मन डराउन थाल्यो कि ऊ छाडेर गयो भने? परन्तु त्यो एक भ्रम हो, फगत एक भूल।  हरेक आएका कुरा एक दिन जान्छन्। मित्रलाई शाश्वत नठान्नुहोस्। मित्र अस्थायी हो मित्रता शाश्वत। सम्बन्ध अस्थायी हो, सम्झना चिरस्थायी। असल र सच्चा मित्र रहेछ भने साथ  छुटे तापनि मानस्पटलमा बसिरहनेछ। ऐन मौकामा तपाईंसामु हाजिर हुनेछ। 

अनुसन्धानले के देखाएको छ भने करिब सात वर्षमा एउटा घनिष्ठको ठाउँ अर्को घनिष्ठले लिन्छ। तर सामान्य मित्रता खोस्न कोही पनि आउँदैन। मित्रता बदल्न मिल्ने सम्बन्ध हो। आमा, बाबु, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी बनाएका सम्बन्ध होइनन्। मित्र बनाउन सकिन्छ, छनौट गर्न पाइन्छ। असहज मित्रको सङ्गत एउटा पाठ बनेर जान्छ। असल पनि जाओस्, किनकि अरुलाई पनि असलको दरकार छ। मित्रबिना जीवनको गाडी यहाँसम्म आएको होइन। नमालुम कतिले मनोरञ्जन दिएर गए। सुखमा, दुःखमा, ज्ञान आर्जनमा र रामरमाइलोमा पनि। कतिलाई आफूले पनि केही दिइयो होला। कति मन दुखाएर गए। कतिलाई दम्भ देखाइयो। कतिले नदेखाउँदा पनि दम्भ देखाएको महसुस गरे। सम्पर्कमा आएको जो कोहीले केही न केही दिएरै गयो। कतिले शीतल जल पिलाएर गए। कतिले मिठो राग दिएर गए। कतिले हार्दिक अनुराग दिएर गए। कोही दिल बहलाएर गए। कोही दिल रुलाएर गए। मै हुँ भन्ने कतिले आफ्नो औकात देखाएर गए। मुकेशको शब्दमा, ‘सारे भेद खुल गये राजदार ना रहा!’  एउटा घडी बित्नु थियो बित्यो। एउटा बिसौनी छुट्नु थियो छुट्यो। एउटा भेद लुक्नु थियो लुक्यो। अर्को भेद खुल्नु थियो खुल्यो। सबैभन्दा ठूलो काल वर्तमानकाल रे। छुटेकाप्रति कृतज्ञता र भेटिनेलाई सौहार्दपूर्ण स्वागत नै जीवन रे। सारा कर्महरू परमात्मामा समर्पण गर्नुहोस्। परमात्मामा विश्वास छैन भने प्रकृतिको शाश्वत नैतिक नियममा समर्पण गर्नुहोस्। सबै अस्तित्वलाई आफ्नै अन्तरात्मामा समर्पण गर्नुहोस्। आफ्नो अन्तःकरणलाई आफ्नो कर्मको लेखापरीक्षण गर्न दिनुहोस्। कुनै बेरुजु आएछ भने फर्छ्यौट गर्नुहोस्। तपाईंको महालेखा परीक्षक तपाईं आफैं हो।

जति समय बित्यो कसैको न्यानो साथ र सहयोग पाएरै बित्यो। यात्राको  प्रत्येक बिसौनीमा जति सज्जनहरू भेटिए , सबै पाठ सिकाएरै गए। नछुटे हुन्थ्यो भनेका पनि छुटे। यीसँगै जीवन गुजार्न पाए त आहा! भनेर सोचेका पनि छुटे। ट्रान्जिटमा भेट हुने कतिपयले हृदयमा छाप छाडेर गए। जति मीठो र राम्रो, त्यति नै क्षणभङ्गुर। आइसक्रिम झैं पग्लेर जाने मिठास । मनुष्यको स्वभाव नै गजबको छ। मीठो चिया छिटो सकिन्छ। मीठो खाना छिटो सकिन्छ। मीठो मिलन छिटो सकिन्छ। नमिठो खाना खेलाइरहन मन लाग्छ। मन परेको जुत्ता र कपडाको काल छिटो आउँछ। मन परेकोलाई मास्न उत्सुक हुन्छ रे मानव। मन नपरेको कमिज होस् या सारी, सधैं ह्याङ्गरमा झुण्डिइरहन्छ। बेला बेलामा धोयो, फेरि झुण्ड्यायो। माया गर्न पनि नसकिने, माया मार्न पनि नसकिने।

एक जना मित्र थियो मेरो। जे कुरामा पनि अर्थ खोज्ने। बडो भावुक र दयालु। किन्तु दुःखी थियो ऊ। कक्षामा गुरुले पढाउँदै छन् , ऊ बिचमै सोधिदिन्थ्यो, ‘सर जीवनको अर्थ के हो?’  हे मूर्ख! पहिले जे पढ्दैछस्, त्यसको अर्थ खोज्। भात खाँदा पनि गम्भीर। ‘यो जीवनमा पाउने के हो? गुमाउने के हो?’  हे मूढ! अहिले तात्तातो भात खाने बेला हो। यो बखतमा जीवनको अर्थ भात हो। मीठो मुखले खा र यो उब्जाएर तेरो मुखसम्म ल्याउने श्रम र पसिनालाई धन्यवाद दे। घाँस काट्न रुखको टुप्पोमा पुगेको किसानले जीवनको अर्थ खोज्न थाल्यो भने? सगरमाथा चढ्न गएको आरोहीले शिखरमा पुग्नुअघि जीवनको अर्थ खोज्न थाल्यो भने के होला? परीक्षा दिन बसेको परीक्षार्थीले जीवनको अर्थ खोज्न थाल्यो भने? नवविवाहित दम्पतिले सुहागरातको समयमा जीवनको अर्थ खोज्न थाले भने?  वर्तमानमा जुन कर्म गर्नुपर्ने  हो त्यही गर। जीवनको अर्थ खोज्ने झन्झट नगर। जीवनको अर्थ तिम्रो कर्मको परिणामले बताउनेछ। आज जुन बिसौनीमा छौ, त्यसैको आनन्द उठाऊ। कसैलाई खुसी दिनुछ भने अहिले नै दिइहाल। के थाहा भोलि आउँछ कि आउँदैन। के थाहा अर्को बिसौनीमा अर्कै पात्र भेटिने पो हो कि? 
अन्त्यमाः– लाओत्सु भन्छन्– जो असल छन्, तिनीहरूलाई असल व्यवहार गर। जो असल छैनन्, तिनीहरूलाई पनि असल व्यवहार गर। जो इमान्दार छन्, तिनीहरूप्रति इमान्दार बन। जो इमान्दार छैनन्, तिनीहरूप्रति पनि इमान्दार बन। यही नै जीवनलाई सहज बनाउने सम्यक विधि हो। यही विधिले नै समाजमा इमानदारी स्थापित र प्रतिष्ठित हुनेछ। 


 

प्रतिक्रिया