परराष्ट्रमन्त्री खड्काको सांसदलाई जवाफ, ‘हामी एसपीपीमा सहभागी हुँदैनौं

काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीमा नेपाल सहभागी नहुने जानकारी अमेरिकालाई पहिले नै पत्रमार्फत गराएको बताएका छन्। शुक्रबार संसद्‌ बैठकमा उनले सरकारको तर्फबाट जवाफ दिँदै भने, ‘नेपालले साउन ९ गते नै अमेरिकालाई पत्र पठाएको थियो। यही मिति २०७९ साउन ९ अर्थात जुलाई २५, २०२२ का दिन कुटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको जानकारी गराउन चाहन्छु।’  

उनले कूटनीतिक विषय भएकाले सार्वजनिक गर्न केही समय लागेको बताएका छन्। ‘हाम्रो नीतिमा सरकार प्रतिबद्ध छ। आगामी दिनमा पनि यो नीतिलाई पछ्याउने छौं,’ उनले भने, ‘आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचार हुन केही समय लागेको हो।’ 

सरकारले असार ६ गते मन्त्रिपरिषद् बैठकबाटै एसपिपीमा सहभागी नहुने निर्णय गरे पनि पत्राचार नगरेको भन्दै आलोचना हुँदै आएको थियो। सांसदहरुले निरन्तर प्रश्न उठाउँदै आएपछि सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराउन रुलिङ गरेका थिए।

प्रतिक्रिया