तितो-मिठो

 मिडिया साहुहरु आफू कालोपदार्थ पिउँछन्, पत्रकारलाई तलब दिँदैनन्

rajesh mishraआफ्नो मनमा लागेको कुरा फ्याट्ट लेख्न जति सजिलो छ, अर्काले ‘केही’ लेखिदे भन्यो भने त्यो व्यासको महाभारतभन्दा गाह्रो हुन्छ। यो ‘केही’ शब्द आफैंमा व्यापक छ। भन्नलाई केही भने पनि ‘केही’ भित्र सबथोक अटाउँदो रहेछ। कमसेकम सम्पादकले विषय भनिदिएको भए त्यसमा केही गमिन्थ्यो। त्यसमाथि, ‘लेख्ने भए छिटो लेख, नत्र प्रकाशक लगायत साथीभाइहरू खिन्न भैसके’ भन्ने आशयको एउटा मेसेज पाएपछि मन भरङ्ग हुने नै भयो। साथीभाइहरू आफ्नो कर्मबाट निवृत्त भएर मलाई कुरेर बसेका रहेछन्। एक प्रकारको ग्लानि भयो। 

लेखूँ? के लेखूँ? कहाँबाट शुरु गरूँ? अन्त्य कुन खालको गरूँ? ह्याप्पी इण्डिङ्ग? समाचार हेर्दा र पढ्दा नेपाल होस् कि अमेरिका, कसैको पुर्पुरोमा ‘ह्याप्पी इण्डिङ्ग’ को धर्को देखिन्न। पत्रकारिता गर्दा सजिलो थियो। लेख्न धेरै सोच्नै नपर्ने। समय, तिथिमिति याद गरे पुग्यो। फलाना नेताले फलानो कुरा भन्नुभयो, जोड दिनुभयो, आलोचना गर्नुभयो आदि इत्यादि फुर्को लगाएपछि समाचारले स्वतः पूर्णता पाउँथ्यो। घरको अँगेनोमा जागिरको तेलमा मेथी फुरिहाल्थ्यो। 

हाम्रो कामले मेनस्ट्रिम मेडियाका साहूहरूको घरमा सधैं कबाब पाक्थ्यो। राता र काला लेबलका बोतल फुट्थे। हामीलाई बेलामा तलब दिँदैनन्। तर हेर त तिनको रवाफ? तैपनि नेपाल न हो, जिन्दगी चलेकै थियो। अमेरिका हो र? नेपालमा त छ महिना काम नगर्दा पनि चल्छ। घर छ, भर छ। घरको मानो खाएर नेताको राउण्डअबाउट गर्न पत्रकारलाई मुखेञ्जी पुग्छ। 

कुरै कुरामा एउटा मान्छेको याद आयो। म अमेरिका आएकै साल, भर्जिनियामा भेटेको हो उसलाई। गोर्खाको समथिंग अमगाईं। पत्रकारको नक्कली बिल्ला भिरेर नेपालकै कुनै प्रकाशकलाई माल चढाएर आएको रहेछ। असाइलम पनि हालिसकेछ। तर बस रोक्न तान्ने डोरी के हो, उसलाई थाहा छैन। ठूलो कुरा गर्छ। भन्छ, ‘तपाईं लेख्ने पत्रकारहरू भन्दा हामी नलेख्ने पत्रकारहरूलाई अमेरिकामा मौका छ।’

मलाई रीस नउठेको होइन, तर उसले गलत पनि बोलेको होइन। अमेरिका मात्र होइन, नेपालमा पनि के फरक छ र? मैले काम गरेका सारा अखबारका कुनै पनि प्रकाशकलाई लेख्न आउँंदैनथ्यो। कतै तलबितल पर्दा केही लेख्नु परिहाल्यो भने सम्पादक गुहार्थे। छापिँदा उनीहरूको नाम मात्र होइन, हस्ताक्षरसहित तिनको व्यक्तित्वको ‘ग्लोरिफिकेसन’ हुन्थ्यो। त्यसैले अमगाईं भन्ने मान्छे, जो पत्रकारको भिसामा अमेरिका आयो, जो अहिले भर्जिनियाको कुनै रेष्टुराँमा काम गर्छ, सही छ। उसले पत्रकारिता गरेकै थिएन। ऊ व्यक्ति हो। हामीले पत्रकारिता गरेका थियौं। हाम्रो उद्देश्य अमगाईंलाई सुसूचित गर्ने हुनुपथ्र्यो। तर हामी आफैं अमेरिका आयौं। ऊ पनि आयो। उसले नेपाली पत्रकारका बारेमा एउटा धारणा बोकेर आएको छ। शायद हामी अमगाईंको मानसिक ब्य्राकेटभित्र अटाउने जीव हौं। 

नेपालमा पत्रकारिताले आगो बाल्ने बाहेक बलेको आगो निभाउने काम कहिले गरेको छ? झन्डै तीन दशकको अनुभव भन्छ, छैन। म आफैंले गरिनँ। अहिले सम्झिँदा बिस्मात हुन्छ। समय यात्राको सुविधा हुँदो हो त, फर्केर सुधार्नुपर्ने कुरा धेरै रछन्। 

नेपालमा रवि लामिछाने, ऋषि धमला, दिल निशानी, पुण्य गौतम, मुकुन्दे, चिचिण्डे, भकुण्डे आदि इत्यादि किन हिट छन्? किनभने उनीहरूको विकल्प छैन। हामीलाई तातो तावाको राप मन पर्छ। चिसो भएर सोच्ने फुर्सद छैन। मेकोलेको शिक्षा प्रणालीमा हुर्किएका हामी आफ्नो पारिवारिक प्रशासन चलाउन सिपालु छौं। तर कम्युनिटीमा जानुपर्यो भने हामीलाई कहिले घीन त कहिले लाज लाग्छ। समाज रछ्यान हो। हामी त्यसमा आफ्नो खुट्टा चोबल्न मन पराउँदैनौं। तर दुर्गन्धित बाफिएको त्यो बबलभित्र स्वास लिँदा हामीलाई कुनै ग्लानि हुँदैन। हामीलाई बानी परिसकेको छ। 

कुरा अमेरिकाकै गरौँ। दुनियाँ दिवाना जोडघटाउ गर्दा पनि अमेरिकामा तीन चार लाखको हाराहारीमा नेपाली छन् भन्ने कुरा सुनिएको, बुझिएको हो। तीस करोडमाथिको आबादीमा तीन चार लाख त पानीमा नून झैं विलीन हुन्छन्। पारसीहरु भारतमा आउँदा उनीहरूले मुगल सम्राटहरुलाई भनेका थिए रे, ‘तपाईं दूध, हामी चिनी। हामी विलीन भएर मिठास दिन्छौं।’ यताका नेपालीले अमेरिकालाई के के दिए? नेपालीले नेपालीलाई के दिए? नेपाली अमेरिकी अनलाइनहरूले जति खोकेपनि, अमेरिकी समाजमा नेपालीको योगदान शून्यप्रायः छ। जुन समाज आफ्नै भलो चिताउँदैन, त्यसले के गर्ला अमेरिकी समाजमा योगदान?  

गएको अमेरिकी चुनावमै देखियो। नेपालीहरूको हैसियत भनौं वा खैसियत। म छक्क पर्नु स्वाभाविक थियो। सामाजिक सञ्जालमा साथी भैटोपल्नेहरूको इतिवृतान्त खोतल्न थाल्यो भने आफूले गर्ने काम कुनो पर्छ। आएको कथित ‘फ्रेन्ड रिक्वेस्ट’ हेर्यो, ‘ए, नेपाली रहेछ’ भन्ने लाग्छ। ओके गरिदिन दिनभरि भारी बोक्नु पर्दैन। तर साथीहरूको धारणा सुन्न (पढ्न) थाल्यो भने वाकवाकी आउँछ। मेरा भच्र्युअल साथीहरूमध्ये कमसेकम बीस प्रतिशत डोनाल्ड ट्रम्पका समर्थक मात्र होइन, अन्धभक्त देखिए। 

विश्वको कूल जनसंख्याको तराजुमा अमेरिकीहरूको सङ्ख्या पाँच प्रतिशत पनि पुग्दैन। तर संसारकै वकिलहरुको सङ्ख्या गन्ने हो भने अमेरिकामा मात्रै बीस प्रतिशत हुँदारहेछन्। संसारभरि जेल परेका मान्छेको जोडघटाउ गर्दा, आफ्ना मान्छेलाई वाञ्छित अवाञ्छित आरोपमा थुन्ने मुलुकहरूमध्ये अमेरिकाले सर्वोच्च स्थान ओगटेको रहेछ। यो अहिलेको होइन, आधा शताब्दीदेखि यस्तै हो। ‘ल्याण्ड अफ फ्रि’ भन्छन् अमेरिकी नेताहरू आफ्नो देशलाई भाषण गर्दा। तर काला वर्णका अमेरिकीहरू जति कलेजमा छन्, त्यसको दोब्बर जेलमा छन्। देखिँदा बाहिरबाट जे लाग्छ, त्यो होइन अमेरिका। तर डोनाल्ड ट्रम्पले ‘शीट होल’को विशेषण दिएको मुलुकबाट अमेरिका आउन मरिहत्ते गर्छन् मान्छेहरू!

अमेरिकाको जीवनका बारेमा स्वर्णिम अवधारणा बनाएर यता हाम्फाल्ने छुट सबैलाई छ। तर यहाँको संघर्षलाई आत्मसात गर्ने धैर्य, धारणा र सामथ्र्य सबैमा हुँदैन। सबै डीभी परेर आउँदैनन्, आएकामध्ये सबैसँग तुरुन्तै सिनेमामा जस्तो रोजगारीको कायापलट गर्ने क्षमता हुँदैन। यहाँ आएर असाइलम गर्नेहरूको त कुरै नगरुँ। 

दासताको पुरानो अध्याय समाप्त भयो अमेरिकामा, कानूनी रुपले त्यो प्रथा सन् १८६४ मा समाप्त भयो। तर मार्टिन लुथर किंगले बिसौं शताब्दीको साठीको दशकमा दासताविरोधी जुलुस निकालेको अपराधमा गोलीको शिकार हुनुपर्यो। रोजा पार्कले सन् ५५ मा गोराहरूले निहुँ खोजेका कारण सार्वजनिक परिवहन सेवा बहिष्कार गर्ने आन्दोलन शुरु गर्नुपर्यो। पछि बील क्लिण्टनले आफ्नो पालोमा उनलाई संसदमै बोलाएर सम्मान गरे। त्यो कुरा बेग्लै हो। राजनीतिज्ञहरू परेको बेला पराईको पैताला चाट्न सिपालु हुन्छन्। क्लिण्टनले पनि गरे। चुनाव जिते।
     
२०२० चुनावका बेला मेरा फेसबुकका साथीमध्ये केही उग्र रुपमा डोनाल्ड ट्रम्पको छाते, हुक्के, बैठके जस्तै भएर निस्के। मैले ‘रिजन’ र ‘लजिक’को कुरा गर्दा उनीहरू पोपले रोममा छाडेको साँढेभन्दा ठूलो स्वरमा डुक्रिए। नेपाली भाषामा भक्कुको राँगो जस्तो। भक्कुको राँगो जाँडको कट खाएर उन्मत्त हुन्छ। यिनीहरू के गरेर हो त्यसै उन्मत्त थिए। 

‘हामीलाई आफ्नो निर्णय गर्ने अधिकार छ।’  हो, छ तिमीहरूलाई। तिमीहरूलाई ‘हामी यो कथित स्वप्नमुलुकमा आइसक्यौं, अब अरु कोही नआउन्’ भन्ने र सोच्ने पनि अधिकार छ। तर आउनै नदिने अधिकार तिमीहरूलाई छैन। यसका लागि तिमीहरू एउटा फासिस्टको शरणमा पर्नुु आफैं लज्जास्पद छ। डोनाल्ड ट्रम्प तिम्रा धर्मपिता होइनन्। कुनै हालतमा हुने छैनन्। तिमीहरू ‘शीटहोल’का विभिन्न प्रजातिका कीरामध्ये एउटा कीरा मात्रै हौ। तिमीहरूले ट्रम्पको सुनको हग्ने भाँडोभित्र वा बाहिर जताबाट उनको नितम्ब कन्याए पनि तिमीहरूप्रतिको उनको धारणामा कुनै सम्यक विचार आउला भन्ने विचार त्यागिदिए हुन्छ। 

कुरा गर्ने हो? डेढ दशक अमेरिका बस्दा मैले धेरै नेपाली भेटेको छु। बाइस राज्य घुम्दा मैले सलाम गर्न लायक नेपाली एउटै भेटेको छैन। शायद मेरो पहुँच पुगेन होला। स्वीकार गर्छु। तर मैले भेटेका नेपाली प्रायः खेली खाई आएका भारतीय व्यापारीका शिष्य थिए। उनीहरूले जे चोर बाटो सिकाए, त्यही सिकेर अहिले ती समुदायका नेता हुन खोज्दैछन्। एनआरएन अमेरिकाको कुनै पद पाउनु तिनको अभीष्ट हो। गर्ने गराउने केही होइन। रेष्टुरेन्ट चलाउँछन्, काम गर्नेको टीप मारेर भाडा तिर्छन्। बँधुवा मजदूर बनाउँछन्। यो मेरो स्टोर हो भनेर काम दिन्छन्, साहूको म्यानेजर हुन्छन्। सोसल सेक्युरिटी नभएको ‘बन्दा’ फेला परे, आफ्नै स्वास्नीका नाममा काम गराउँछन्। अर्काको कमाइमा पाएको करको छूटले आफ्ना सन्तान पाल्छन्। ट्रम्पलाई समर्थन गर्ने यस्तै थिए।

ट्रम्पले जितेको चुनाव अमेरिकाको भविष्य थिएन, उनका बाजे जुन मुलुकबाट आएका थिए, त्यो मुलुकमा शुरु भएको जातिवादी नरसंहारको सपनामा आधारित थियो। त्यो बेलाको जर्मनी सैन्य युद्धमा हारेको हो। त्यो लज्जास्पद हार थियो। उनले अमेरिकालाई गोराहरूको देशका रुपमा मात्र स्थापित गर्न चाहेका थिएनन्; उनी काला, ब्राउनलाई ‘कलर्ड’ भनिन्छ यहाँ, सबैलाई निमिट्यान्न पारेर नर्वे जस्ता मुलुकका नागरिक अमेरिका आउन् भन्ने चाहन्थे। नर्वेलीहरुले ट्रम्पको ट्वीटमा प्रत्युत्तर दिए, ‘तिमी आफ्नै देश बनाऊ। हामीलाई यहाँ जति आनन्द छ, तिमीले यो संसारमा पाउनेछैनौ।’

ट्रम्पको आप्रवासीविरोधी अभियान एउटा राजनीतिक नारा थियो। सबैलाई थाहा भएको कुरा हो। तर थाहा नभएको कुरा, हाम्रा नेपाली स्वयंघोषित सामाजिक कार्यकर्ताहरू किन  ‘आफ्नो विचारको अधिकार’का नाममा स्खलित हुँदैछन? 

इष्र्या, जलन, कटूता, द्वेष, ग्लानि, नाकामी– अरु भन्नु बाँकी छ र?   

म सोच्छु, कसरी हुन सक्छ यस्तो? छयालीस सालको आन्दोलनमा लाठी मुङ्ग्रो खाएर, थुना परेर, झण्डा बोकेर, पुत्ला बालेर आएका नेपालीहरूको संख्याले अमेरिकामा केही लाख नाघेको हो। म फेरि सोच्छु, कसरी हुन सक्छन् हाम्रै दौंतरीहरू एउटा श्वेत अधिनायकवादीका समर्थक? मेरो मनको अर्को कुना मलाई फुसफुस गर्दै साउती गर्छ, यो श्वेत र अश्वेतको कुरा होइन। त्यसो भए के हो? मेरो मन मलाई यसको जवाफ दिन कन्जुसी गर्छ। फेरि सामाजिक सञ्जालका पाना पल्टाउँछु। ए, कुरो यसो पो? 

यहाँ आएर कीलो गाडेका नेपाली आप्रवासीहरू अब अरु नेपाली आएको देख्न शायद रुचाउँदैनन्। जति धेरै नेपाली आए, यहाँका कथित अमेरिकी नेपालीले घरमा सुनाउने कथाको कीलो उखेलिन्छ। दिनरात काम गरेर, कर तिरेर आएको चेक ब्याङ्कमा जम्मा गरेर, भोलि सखारै उठेर काममा जोतिनु बहुसंख्यक नेपालीको दैनन्दिनी हो। अङ्ग्रेजी बोल्न जिब्रो अँठ्याउनु पर्ने बाध्यता छ। कतिपय ग्राहकले नाम बुझ्दैनन्, काम के बुझुन्? तर यो भीडको बीचमा पनि हाम्रा संस्थाहरू खडा छन्। 

यी संस्थाका बारेमा वास्तवमा हामीले कुरा गर्नु बेकार छ। किनभने यी हाम्रा लागि बनेका होइनन्। यिनीहरू आफ्नो कुन स्वार्थले लागेका हुन् र यिनका पछाडि लाग्ने छेपाराहरू किन आफ्नो रंग छिनछिनमा फेर्छन्, मैले बुझेको छु। त्यसैले म यिनका खातिर आफ्नो समय खर्चिन सक्दिनँ। सबै नेपालबाट निर्देशित नेताका हलुवाखोर हुन्। मलाई हलुवामा बालुवा मिलाउन खुब मज्जा आउँछ। 

फेरि भन्नुहोला तँलाई किन मज्जा आउँछ? मासलाई अर्कै कारण मज्जा आउँछ। मलाई पनि मज्जा आउने कारण छ।  

मलाई अहिले मज्जा आएको कुरा के हो भने, राजावादीहरू जुलुस निकाल्दैछन्। यो जुलस ज्ञानेन्द्रले निकालेको होइन। ओलीले हो। राजनीतिमा टाउको फुटाउनुभन्दा खुट्टामा एउटा रौँचिरा प्रभाव परेछ भन्न सजिलो हुन्छ। ओलीलाई थाहा छ, जनता रिसाएका छन्। उनलाई यो पनि थाहा छ कि, उनले चाहेर पनि जनता रिझाउन सक्ने अवस्था छैन। तर उनी त्यो पावरप्वाइन्टमा आफ्नो चाक सेकाउन छोड्नेवाला छैनन्। 

ओलीलाई यो थाहा छ। जनता नेपालमा रिसाउन् कि अमेरिकामा, जनताको नाम नै विभाजित सत्ता प्रदायक बुढी कुटुनीको एउटा पुरानो कन्तुरो हो। राजावादी जस्तै प्रचण्ड पनि आफ्नो भाग स्यालले खोसेको देखेर मर्माहत भएका छन्। ओलीलाई आफ्नो देशका बारेमा सबै थाहा छ। विदेशमा बस्ने नेपालीहरूले पठाइदिएको चन्दाका बारेमा झन् धेरै थाहा छ।

ओली राजनेता हुन्थे भने, उनले देशभन्दा विदेशमा ध्यान दिन जरुरी थियो। मान्छे मारेर आएको, जेल बसेको मान्छेले खानै पाएको हुँदैन। अहिले ओली खाँदैछन् भने त्यो उनको आत्मक्षुधा सन्तुष्ट गर्ने एउटा मौका हो। देश बनेको बन्यै हो। 

विदेश त बनेको छैन। ओली र प्रचण्ड मात्र होइन, सरकारी पैसा उडाएर अमेरिका नआएको कुन नेता छ?  

जो आए, आ–आफ्नासँग मिलेर गीत गाए। गए। यी मौसमी भ्यागुताहरुलाई के थाहा? अमेरिकामा गफ दिएर जीवन चल्दैन। यिनलाई घुमाउनेहरूले भनेनन् ‘हामी दिनभरि गोरु खटान गरेर जीविका चलाउँछौं, तर तपाईंका लागि आज काम हापिदिएको।’   
 
निम्छरा यी कांग्रेसी समिति, एमालेका मञ्च आदि इत्यादिले भनिदिनुपथ्र्यो, ‘ए नेता, तिमी पहिले नेपाल बनाऊ, नेपाली अमेरिकी समुदाय आफैं बन्छ। तर हुति भए पो? सबै नेता कसको घरमा गएर मासुभात खाने भन्ने ध्याउन्नमा भएपछि कसको के लाग्छ? कार्यकर्ताहरू झगडा गर्छन्, नेताहरु ‘म कति पपुलर रहेछु अमेरिकामा’ भन्दै एयरपोर्टबाटै वायु छोड्न थाल्छन्।  

नेपालका चप्पले नेताहरूलाई के थाहा अमेरिका कसरी अमेरिका बन्यो? १७७६ मा बेलायती उपनिवेशबाट उन्मुक्त अमेरिकामा यदि आप्रवासीहरू आफ्नो सीप, कला र कौशल बोकेर अमेरिकाको तटमा नओर्लिएका भए बन्थ्यो अमेरिका? युरोपबाट आएका ख्रिस्तानी पादरीहरूले स्थानीय बासिन्दाहरूको धर्म, भाषा र जीवनशैली परिवर्तन गर्न कम्बल र सतरञ्जामा पुरानो कोरोना भाइरस लेपेर गाउँका गाउँ सखाप नपारेको भए बन्थ्यो अहिलेको अमेरिका? साम्राज्य खडा गर्न निर्दयी, निर्विवेकी हुनुपर्छ। 

हाम्रा चप्पले नेताहरू दयनीय थिए। आफैं प्रताडित! उनीहरूको मनोस्वप्न भनेको राजधानी काठमाडौंमा एउटा घर बनाउने अनि घर अगाडिको बाटो पीच गराउने मात्र थियो। पृथ्वीनारायण शाहले लिम्बुहरूलाई घात गरे। बहादुर शाहले विजय पताका फहराए। भीमसेन थापाले अङ्ग्रेजसँग सुगौली सन्धि गरे। जंगबहादुर राणाले अङ्गे्रजसँग मिलेर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता गराए। त्रिभुवन भागेर भारत गए। मोहन शमशेरले भारतसँग १९५० को सन्धि गरे, बीपी कोइरालाले राणा शासनको अन्त्य गरे। त्यसपछिका कुनै नेताले इतिहास बनाएनन्। बरु आफैं इतिहासको धूलोमा विलुप्त भए। 

त्यसैले मलाई नेपालका नेता अमेरिका आउँदा यहाँका आउरेबाउरेहरू लाइन लागेर खादा मालाको ब्यापार गरेको देक्दा दिक्क लाग्छ। यी कथित नेतालाई के थाहा अमेरिका बस्ने नेपालीको पीडा? यिनीहरूसँग देश वा विदेशमा रहेका नेपालीको जीवनस्तर उकास्ने कुनै दृष्टिबोध छैन। यो दुर्भाग्य हो। यिनीहरूलार्ई आफ्नो कोटेरी कमजोर भएको पीडा हुन्छ। तर देश दुख्दैन। परदेशका नेपालीको सम्भावनाका बारेमा यी अन्धा छन्। आउँछन्, खादा माला लगाउँछन्, हसुर्छन् अनि हिँड्छन् नेपाल बिजनेस क्लास टिकट लिएर। आफूले किन्नु परे पो?

यिनीहरुलाई के थाहा, अमेरिकामा सबैभन्दा बिभिण्डिएको कुनै समुदाय छ भने त्यो नेपाली हो। यिनीहरु आफ्नो यशगान सुन्छन् अनि जान्छन्। यिनीहरुलाई के थाहा नेपाली समुदाय एकआपसमा मिलेर बसेको छैन। सन् १८ को एउटा हिउँदको महिना थियो। मैले न्युयोर्कमा आयोजित एउटा सभामा एनआरएन अमेरिका भन्ने गैवार संस्थाका कथित अभियन्ता र नेपाली पत्रकारहरूको अन्तरक्रियामा केही बोल्ने मौका पाएको थिएँ। ती कुरा फेरि दोहोर्याउँछु। 

नेपालीहरूको परिवारमा कुनै नवजातको आगमन भयो भने हामी के गर्छौं? खाममा दशबीस डलर हालेर नमस्कार गर्छौं। अथवा चाइनामा बनेको प्लाष्टिकको कुनै खेलौना वा बाङ्गलादेशको कुनै कारखानामा सिलाइएको यहाँको डलर स्टोरमा पाइने कुनै कट्टु वा गन्जी लगिदिन्छौँ। दुखेन्जी तयार गरेको बीस डलर बराबरको दाल र दारु पिएर हिँडिदिन्छौँ। तैं खुश मैं खुश। 

यहुदीहरू के गर्छन्? किन यहुदीहरूको आर्थिक साम्राज्य छ अमेरिकामा? उनीहरू नेपालीले जस्तो टुट्नेफुट्ने सामान लिएर जाँदैनन्। उनीहरू मिलेर नवजातका नाममा एउटा बैंक खाता खोलिदिन्छन्। त्यसमा सकेको पैसा पछिपछि पनि जम्मा गरिदिन्छन्। अमेरिकामा ब्याङ्कले त्यति धेरै ब्याज दिँदैन। तर पैसा जम्मा त भएको छ। त्यो ‘सीड मनी’ नवजातले कलेज पढ्ने बेला काम लाग्छ। समुदाय यसरी बलियो बन्दोरहेछ। हामीमा त्यो चेतना छैन। हामी नेपालका ‘प्रभावशाली लायक नेता’का चाकर हुन रमाउँछौं। 

चिनियाँहरू चीनबाट जोसुकै आवोस्, वास्ता गर्दैनन्। उनीहरुलाई न्यूयोर्क, फ्लोरिडा, भर्जिनिया र सानफ्रान्सिस्को जस्तै शहरमा ब्यापार गर्न ठीक छ। तर उनीहरूको समुदाय एक अर्काको दुक्ख सुक्ख हेर्छ। एउटाको समस्या अर्कोको हो यो समुदायमा। हरेक व्यापारीले आफ्नो आम्दानीको केही प्रतिशत छुट्टै खुत्रुकेमा जम्मा गरेर राख्छ। एउटाको ब्यापार डुब्यो भने पनि उसको जहाज डुब्दैन। अरुले भरथेग गरेर उकास्छन् उसलाई। उसले आफ्नो कमाइअनुसार तिर्दै जान्छ। यस्तो सोलिड्यारिटी नेपाली समाजमा कहाँ? 

सन् २००५ को कुरा होला। मेरिल्याण्डमा थिएँ। एउटा नेपाली सेभेन इलेभेनमा दिनको अठार घण्टा खटेको हुन्थ्यो। उसकी बुढी दश माइल टाढाको डलर स्टोरमा बस चढेर जान्थी। नेपालमा व्यापार गरेका, डिभी परेर आएका उनीहरुलाई आफैं केही गरौँ भन्ने भयो। उनीहरूले नेपालीहरूकै बाक्लो बस्ती भएको ठाउँमा एउटा ग्रोसरी स्टोर खोले। के जान्थे त्यहाँ नेपालीहरू? बरु तीन माइल टाढा भैयाको स्टोरमा गएर बासी साग बोकेर आउँथे। नेपालीको स्टोरको साग त्यसै कुहिन्थ्यो। आँखाले देखेको कुरा। 

कोलोराडोमा त्यस्तै देखें। नेवा दबू भन्ने नेवारहरूको एउटा संस्था रहेछ। कोलोराडोमा नेवारहरू धेरै रहेछन् तर नेवारी नबोल्ने। संखुवासभाका नेवारहरूको बाहुल्य रहेछ त्यहाँ। उनीहरू नेवारी बोल्दैनन्। बिस्तारै डिभी पर्दै अरु नेपाली आउन थाले। नेवारी बोल्ने पनि आए। नेवा दबूको सम्मेलनमा नेवारी नबोल्नेहरूलाई बोल्नेहरूले उत्तानो पारिदिए। म हेरेको हेर्यै भएँ। उनीहरूको तर्क थियो, ‘नेवारी भाषा नजान्ने मान्छे कसरी हाम्रो संस्थाको नेता हुन सक्छ?’ वास्तवमा उनीहरूलाई नेवारीभन्दा अङ्ग्रेजी बोल्ने नेताको खाँचो थियो। तर अब त्यो संस्था छोयला कचिला बजी नेवालामा सीमित छ। 

तमू धिं भन्ने पनि अर्को संस्था थियो। कोलोराडोमा नै। त्यहाँका सभापतिलाई पनि ‘अङ्ग्रेजी मात्रै बोल्छ, गुरुङ भाषा बोल्नु पर्दा लाज मान्छ’ भन्ने आरोपमा अपदस्थ गरिदियो गुरुङ भाषा बोल्ने अमेरिकी नेपाली समाजले। त्यो पनि अहिले नयाँ वर्ष मनाउने काममा सीमित होला। पढेलेखेका गुरुङहरू लाखापाखा लागिसके। 

यो हो हाम्रो चित्र। जो विचित्र छ।  

मलाई साथीभाइहरू सोध्छन्, ‘तँ किन आउँदैनस् हाम्रो जमघटमा?’ म एउटा बहकाना तर्क दिएर टारिदिन्छु, फुर्सद भएन। आज प्रष्ट कुरा गरिदिऊँ, मलाई फुर्सद छ। तर त्यो भीडभाडमा जान मन लाग्दैन। मलाई जान मन लाग्दैन त्यहाँ, जहाँ दुईजना एकएक पेग लिएर तेस्रो अनुपस्थित व्यक्तिको कुरा काटिरहेका हुन्छन्। म त्यहाँ त जाँदै जान्नँ न त मेरी  बुढीलाई नै जान दिन्छु, जहाँ तीजको पार्टी भन्दै हिन्दी गाना घन्काएर, सुनका गहना लर्काएर थसुल्नीहरू लयविहीन भावभंगिमामा प्रकट हुन्छन्। मलाई वाक्कदिक्क लाग्छ यस्ता जमघट। 

मलाई वाक्कदिक्क लाग्छ नेपाली नेताहरूको आवागमन। त्योभन्दा बढी रीस उठ्छ मलाई ‘फलाना आउँदैछन्, एयरपोर्टमा नमिले पनि घरमा नै भेटौं न’ भन्ने स्खलित निमन्त्रणा पाएर। जबसम्म अमेरिकामा बसेर नेपालीहरूले नेपालबाट आउने नेताको चाकरी गर्नुको साटो उनीहरूको मति सुधार्ने दुई वाक्य बोल्ने सामथ्र्य राख्दैनन्, त्यस्ता जमघटमा जानुको कुनै अर्थ छैन। 

भेडा भेडासँग। बाख्रा बाख्रासँग। भेडा र बाख्रा समूहमा चर्छन्।  

सिंहलाई किन चाहियो संगठन?  

(अमेरिका बस्ने केहि भूतपूर्व पत्रकारहरुले सन् सन् २०१९ मा एउटा निबन्ध संग्रह प्रकाशन गर्ने जमर्को गरेका थिए। तर त्यो अभिष्ट पुरा भएन। त्यो बेला राजेश मिश्रले लेखेको यो निबन्ध समयका हिसाबले पुरानो भएपनि असान्दर्भिक भएको छैन।)
 

प्रतिक्रिया