काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आई पी यू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति स्पेन प्रस्थान गरेका छन् ।
प्रतिनिधिमण्डल बुधबार बेलुका ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्यदेव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई छन् ।
यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् । अन्तर व्यवस्थापिका संघ (आई पी यू) र स्पेनको संसदको आयोजनामा यहि मंसिर १० देखि १४ (२६ देखि ३० नोभेम्बर २०२१ ) स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलन हुँदै छ ।
सो सम्मेलनमा 'Contemporary Challenge to Democracy: Overcoming Division and Building Community' शीर्षकमा सभामुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी २८ नोभेम्बरमा स्पेनको म्याड्रिडमा आयोजना हुने Meeting of the Parliamentary Network of the Non-Aligned Movement मा सभामुख सापकोटाले भाग लिई बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल यही मंसिर १६ गते स्वदेश फर्कनेछ ।
प्रतिक्रिया