काठमाडौं। चर्चित गायिका शकिराको दुई वटा गीतमा आज विश्व नाच्ने गर्दछ। उनको ‘हिप्स डन्ट लाय’ र फिफाको आधिकारीक गीत ‘वाका वाका’ गीत अहिले पनि उत्तिकै हिट छ। ‘वाका वाका’ गीतको भिडियो यु–ट्युबमा ३ अर्ब बढी मानिसले हेरिसकेका छन्।
१३ वर्षको उमेरमा करिअर सुरुवात गरेकी शकिराको अहिलेसम्म १२ दशमलव ५ करोडभन्दा बढी एल्बमको कपी बिक्री भइसकेको छ। उनी ‘स्पोटीफाई’ मा सबैभन्दा बढी स्ट्रिम हुने ल्याटिन कलाकार हुन्। उनको आजको कूल नेटवर्थ नै ३० करोड अमेरिकी डलर बराबर छ, अर्थात नेपालमा ३८ अर्ब १८ करोडभन्दा बढी रुपैयाँ।
यति ख्यातीप्राप्त कलाकार हिजाआज आफ्नो गीत–संगीत र धनसम्पत्तिका कारण नभई कर चोरीको कारण चर्चामा छिन्। उनीमाथि १ करोड ४५ लाख युरो (१ अर्ब ८८ करोड रुपैयाँ) बराबर कर छली गरेको आरोप लागेको छ।
यो मुद्धामा उनलाई ८ वर्षको जेल सजाय हुनुपर्ने जिकिर गरिएको छ। यो वर्ष शकिराका लागि त्यति सुखद मानिदैन। उनी र चर्चित फुटबलर जेरार्ड पिके गत जुनमा छुट्टिने निर्णयमा पुगेका थिए।
यसअघि यो जोडी स्पेनको एउटा भब्य बंगलामा बसोबास गर्थे। यी दुवैले त्यो बंगला खरिदका लागि ५९ लाख अमेरिकी डलर खर्चेका थिए। झरनासहित स्विमिङ पुल र निजी सिनेमा हलसमेत रहेको यो भब्य भवनमा दुवै परिवारका आमा–बुवा पनि बसोबास गर्थे।
शकिरासँग यो बाहेक १२ एकडमा फैलिएको एउटा फार्म हाउस पनि छ। उनले त्यो जमिन आफ्नो पूर्व प्रेमी एन्टोनियो डे ला रुआसँग मिलेर किनेकी थिइन। जहाँ उनीहरू प्रायः घुमिरहेको देखिन्थे। ‘फारो जोस इग्नासिया’ नाम गरेको यो फार्म हाउस उरुग्वेको एउटा गाउँमा पर्छ। शकिराले सन् २००८ मा यही बस्दा ‘लभ इन द टाइम अफ कालरा’ एल्वम तयार पारेकी थिइन। निकै महंगो मानिने यो फार्म हाउसमा सात वटा बेडरुम र दुई वटा गेस्ट हाउस छन्। फार्मको भित्र गीत रेकर्ड गर्ने स्टुडियो पनि निर्मित छ।
शकिरासँग बहामासमा पनि प्राइभेट आइल्याण्ड छ। सन् २०११ शकिराका लागि निकै महत्वपूर्ण मानिन्छ। यही वर्ष उनी ‘हलिउड वाक अफ फेम’ मा समावेश भएकी थिइन। यो सम्मान पाउने उनी कोलम्बियाको पहिलो कलाकार थिइन।
ल्याटिन पप स्टारले १ करोड ५० लाख अमेरिकी डलरमा बहमासमा प्राइभेट आइल्याण्ड खरिद गरेकी हुन्। यो आइल्याण्ड ५५० एक्कडमा फैलिएको छ। यसमा थुप्रै झरना पनि छन्। उनले अमेरिकाको मियामीमा पनि महंगो सम्पत्ति खरिद गरेकी थिइन। अमेरिकी गायिका जेनिफर लोपेजको छिमेकी बनेकी शकिराले ८ हजार वर्ग फुटमा फैलिएको सम्पत्ति ३८ लाख अमेरिकी डलरमा खरिद गरेकी थिइन। उनले त्यो सम्पत्ति सन् २०२१ मा १ करोड १६ लाख डलरमा बेचेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ।
बीबीसीका अनुसार शकिराले प्रति वर्ष ३ करोड डलर पाउने सर्तमा सन् २००८ मा ‘लाइभ नेशन’ सँग १० वर्षका लागि सम्झौंतापत्रमा हस्ताक्षर गरेकी थिइन। सन् २०२१ को जनवरीमा शकिराले आफ्नो १ सय ४५ गीत सार्वजनिक गर्ने अधिकार ‘हिपग्नोसिस सङ्स फण्ड’ लाई बेचेकी थिइन। यो सम्झौंतामा उनलाई १० करोड डलर नाफा भएको थियो। उनी २०१३ मा एउटा सो ‘द भ्वाइस’ को जज बनेकी थिइन। उनले यसका लागि १ करोड २० लाख डलर लिएको बताइन्छ।
३ पल्ट ग्रामी अवार्ड जितिसकेकी शकिराले आफ्नो आयको तुलनामा कर नतिरेको आरोपसँगै कर छलीको मुद्धा परेको हो।
प्रतिक्रिया