काठमाडौं। चीनमा एक पल्ट फेरि कोरोना संक्रमण बढेको छ। चीनको पर्यटकीय क्षेत्र मानिने सान्या शहरमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले पुरै शहरलाई ‘लकडाउन’ गरेको छ। यो घटनाले यहाँ ८० हजार बढी पर्यटक फसेको अन्तर्राष्ट्रिय मिडियाको दावी छ।
सान्या शहरमा आइतबार मात्र ४ सय ८३ संक्रमित फेला परेका थिए। चिनियाँ अधिकारीले पर्यटकको ७ दिनमा ५ वटा पीसीआर रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्र घर फर्किन दिने बताएका छन्। सरकारले पर्यटकहरूको असुविधालाई ध्यानमा राख्दै होटलमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। यो व्यवस्था कोरोना प्रतिबन्ध नहट्दासम्म कायम रहने बताएको छ।
कोरोना संक्रमितको संख्या बढेपछि अन्तर्राष्ट्रिय उडान पनि प्रभावित बनेका छन्। सरकारले शहरमा विदेशी विमान अवतरणलाई अनुमति दिएको छैन। यस्तै, ट्रेनको टिकटमा पनि कडाई गरिएको छ।
सोसल मिडियामार्फत चिनियाँ सरकारले स्थानीय तथा पर्यटकसँग कोरोनाबाट बाहिरिन सरकारलाई सहयोग गर्न अपील गरेको छ। सान्याका उपमेयरले ८० हजार पर्यटक फसेको कुराको पुष्टी गरेका छन्। उनले ४८ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ आउने पर्यटकले शहर छोड्न सक्ने बताएका छन्।
हेनान राज्यका स्वास्थ्य अधिकारी ली वेन्जिउले शहरमा बीए ५.१.३ भेरियन्ट फेला परेको बताए। उनले यो भेरियन्ट पहिलो पल्ट प्राप्त भएको जानकारी पनि दिए।
प्रतिक्रिया