समाचार टिप्पणी

देउवालाई चुनौति दिने को होला कांग्रेसको ‘इलेक्सन हिरो?’

काठमाडौं। नेपाली कांग्रेसले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा नयाँ अनुहार अगाडि सारेर अभियान चलाउने सम्भावना छ कि छैन भन्ने प्रश्न अहिलेलाई अनुत्तरित नै छ।

२०५६ को प्रतिनिधिसभा निर्वाचनमा संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री भनेर ‘इलेक्सन हिरो’ बनाउँदा नेपाली कांग्रेसले गुमेको बहुमत फिर्ता गरेको इतिहास छ। 

यसैवीच सभापति शेरबहादुर देउवाले चुनावी तालमेलको रणनीति बनाउनुअघि पार्टीभित्रको मत बुझ्न थालेका छन्। जसमा उनले निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा लहर ल्याउन सक्ने सम्भावित अनुहारका बारेमा कुनै चर्चा गरेका छैनन्। न त कुनै नेताले यसबारेमा आफ्नो स्वतन्त्र मत राख्ने प्रयाश नै गरेका छन्।

सभापति देउवासँग फरक मत राख्ने कांग्रेस समूह भने निर्वाचनमा कसैसँग तालमेल नगरी एक्लै भाग लिनुपर्ने बताईरहेको छ। देउवाका निकटतम प्रतिद्वन्दी शेखर कोइराला र उनको समूह निर्वाचनमा गरिने गठबन्धनको विपक्षमा देखिन्छ। तर कोइराला समूहले पनि निर्वाचनमा लहर ल्याउन सक्ने कुनै विकल्प दिन सकिरहेको छैन। यस समूहका भनिने गरेका महामन्त्री गगन थापा भावी प्रधानमन्त्री हुनसक्छन् भनेर अर्का महामन्त्री विश्वप्रकाश शर्माले चर्चा गरेका छन्। शर्माले एक सञ्चारमाध्यसँगको वार्तामा गगन प्रधानमन्त्रीको उम्मेदवार हुनेगरी निर्वाचन अभियान सुरु गरिए आफू खुशी हुने बताएका छन्। तर गगन आफैंले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैैनन्। 

नेता शेखर कोइराला आफ्नै क्षेत्र केन्द्रित भएर काम गरिरहेको चर्चा छ। नेपाली कांग्रेसलाई गठबन्धनको अल्झनबाट मुक्त गरेर एक्लै निर्वाचनमा सहभागी गराउने गरी पार्टीभित्र जनमत निर्माण गर्न कोइरालाले कुनै प्रयाश गरेको देखिँदैन भनेर कांग्रेसजन नै टिप्पणी गरिरहेका छन्। यस्तो अवस्थामा सभापति देउवाले आफू अनुकूलको रणनीति बनाउन किन कुनै कसर छाड्थे भनेर एक नेताले गुनासो गरे।

यता सभापति देउवाको संस्थापन पक्षमा ‘म भावी प्रधानमन्त्री हुन्छु’ भनेर मुख फोर्न सक्ने बहादुर नेता कोही पनि देखिएका छैनन्। देउवाले सात पटक प्रधानमन्त्री बन्नुपर्ने कुरा बुझेका ती नेताले यस बिषयमा बोलेर आफ्नो राजनीतिक भविष्य जोखिममा धकेल्न नचाहेका पनि हुनसक्छन्।

पूर्व महामन्त्री प्रकाशमान सिंहले आफू ‘नम्बर वन’ नेता हुन चाहेको भनेर निर्वाचन जिते प्रधानमन्त्रीको दावी गर्ने संकेत दिएका छन्। तर उनले पनि आत्मविश्वासका साथ भावी प्रधानमन्त्री भनेर दावी गर्न भने सकेका छैनन्।

तर सार्वजनिक रुपमा एउटा जबरजस्त प्रश्न भने चर्चामा छ– के देउवाको नेतृत्वमा हुने प्रतिनिधिसभाको निर्वाचनले देउवालाई नै प्रधानमन्त्री बन्न पुग्नेगरी नेपाली कांग्रेसलाई जनमत देला? यस प्रश्नको जवाफ सायद स्वयं सभापति देउवासँग पनि छैन।

यसको अर्थ हो, नयाँ अनुहार अगाडि सार्न सकेन या चाहेन भने नेपाली कांग्रेससँग युवा मतदातालाई लोभ्याउन सक्ने कुनै कार्यक्रम पनि छैन। गएको स्थानीय निर्वाचनमा पहिलो पल्ट मतदान गरेको पुस्ताले आउँदो मंसीरमा पहिलो पटक प्रतिनिधिसभा सदस्य पनि चुन्दैछ। तर यी दुइवटा निर्वाचनमा आनकातान अन्तर छ, स्थानीय निर्वाचनमा जसरी प्रतिनिधि छानिएको छ, त्यसैगरी प्रतिनिधिसभाको प्रतिनिधि छानिने छैन। आउँदो निर्वाचनका लागि यो सोचनीय बिषय हो। ‘कि लहर ल्याउनसक्ने नयाँ अनुहार कि उत्साह जगाउन सक्ने भरोसालाग्दो कार्यक्रम’ कांग्रेसका अघिल्तिर उभिएको चुनौति हो यो।

सभापति देउवाले यी दुवै पक्षमा कसैसँग परामर्श गरेका होलान् भनेर विश्वास गर्ने कांग्रेसजन पाउन मुस्किल देखिन्छ। आफैं भावी प्रधानमन्त्रीको दावेदार नेताले पार्टी र पद मध्ये पदलाई प्राथमिकता दिइरहँदा निर्वाचनपछि पार्टीको हैसियत के होला भनेर चिन्ता गरिहेका छन् कि छैनन् भनेर चिन्ता गर्नुको पनि अर्थ छैन।

आफ्नै नेतृत्वमा प्रतिनिधिसभाको निर्वाचन गराउन गृहकार्य गरिरहेका देउवाले पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको नयाँ अनुहार अगाडि सार्ने कुनै संकेत दिएका छैनन्। 

यसैवीच आज नेपाली कांग्रेसका नेताहरूले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वभाविक चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने सभापति देउवालाई सुझाव दिएका छन्। प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेला भएका नेताहरूले गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने विकल्प दिएका छन्।

तर उनीहरुले ठोस कार्यक्रम र निर्वाचनमा लहर ल्याउन सक्ने कुनै स्पष्ट एजेण्डा सभापति देउवालाई दिन सकेनन्। देउवाले आगामी निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाँटको विषयमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा सुझाव लिन बैठक बोलाएका थिए।

‘व्यवहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृति’ को चुनावी तालमेल गर्न र त्यसैको आधारमा सिट बाँडफाँट गर्न नेताहरूले गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई यस्तो सुझाव त दिए तर जनमत आकर्षित गर्ने कुनै नयाँ बिषय अगाडि सार्न भने सकेनन्।

उपसभापति विमलेन्द्र निधिका अनुसार, ‘गठबन्धन गरौं तर त्यसले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपारोस्, त्यसमा बढी जोड दिएर जाऔं। अस्वभाविक देखिने गठबन्धन नगरौं। सबैलाई न्याय हुनेगरी गठनबन्धन गरौं।’

पूर्वउपसभापति विजयकुमार गच्छदारले त थारु समुदायका माग र मुद्दालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने सुझाव दिए। 

पूर्वउपसभापति विमलेन्द्र निधि‚ गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, सहमहामन्त्रीहरू किशोरसिंह राठौर, भिष्मराज आङदेम्बे, जीवन परियार, महेन्द्र यादव, उमाकान्त चौधरीलगायतले आफ्नो धारणा राखेका थिए।
 

प्रतिक्रिया