दार्चुलावासीका लागि गाइचरनको क्षेत्र हो, महाकाली नदी वरिपरीको तटबन्दीय भूभाग। ६ दशकअघि पढाइ–लेखाइको बारेमा पटक्कै थाहा नपाएका १८ वर्षीय एक युवाका लागि महाकाली नदी वारपार गर्नु दैनिकी जस्तै थियो।
एक दिन यस्तै नदी पार गरेर भारतीय गाउँ धार्चुला पुग्दा उनले एक हुल मानिस कैलाश मानसरोबर जान लागेको देखे।
त्यही भीडमा भरियाहरु गेरुवस्त्रधारी एकजना मानिसलाई बोकेर लैजादै थिए। उनमा कौतुहलता जागेछ। नजिक पुगेर हेर्दा, खल्तिमा कलम बोकेका ती व्यक्तिलाई देखेपछि उनले सोधेछन्, ‘किन यी मान्छेलाई यसरी बोकेको?’
भीडबाट एक जना मानिसको आवाज आयो, ‘उनी पढेलेखेका मान्छे हुन्। त्यसैले बोकेको।’
यो शब्द ती युवाको कानमा दिब्योपदेश जस्तै घुस्यो। मन हलचल भयो। उनले गम खाए. ‘ओहो! मैले पनि पढे भने यसरी नै सबैले बोक्छन् होला।’
महाकाली किनारमा गाईबस्तु छोडेर घर फर्किए। केही दिन निन्द्रा लागेन। उनको मनमा त्यो घटना यसरी गडेछ, एक दिन पुषको जाडोमा एक सरो लुगा लगाएर राती घर छोडे।
पढाइको हुटहुटीले उनलाई छिमेकी भारतको हरिद्वार पुर्यायो। त्यतिबेला हुनेखाने नेपालीका सन्तान मात्र अध्ययनका लागि हरिद्वार पुग्थे।
काशी दत्त भट्ट, पढाइको हुटहुटीले दार्चुला जस्तो विकट जिल्लाबाट भारतको हरिद्वार पुग्ने पहिलो पुस्ताका नेपाली हुन्। उनी २१ वर्षको उमेरमा कखरा सिक्न हरिद्वार पुगेका थिए।
पढाइप्रति उनको रुचि र मिहिनेत देखेर भारतीय शिक्षक पनि छक्क पर्थे। उनले निकै दु:ख गरेर स्नातकसम्मको अध्ययन पुरा गरे।
उनका लागि भारतमै बसेर काम गर्ने थुप्रै अवसर थियो। किनभने त्यति बेला हरिद्वारमा पनि पढेलेखेका मानिस कम थिए।
तर, भारतमा बस्नुको सट्टा उनले मातृभूमि नै फर्किने इच्छा जाहेर गरे। गाउँ फर्किएर उनले दार्चुलामा जनचेतना फैलाउने काम गरे। उनले शिक्षा र स्वास्थ्यमा अभूतपूर्व काम गरे।
उनी हरिद्वारबाट फर्किदा गाउँमा उनका साथीहरु अझैं खेतवारीमै ब्यस्त थिए। उनीहरु महाकाली नदीको भेलमा आफ्ना सपना बगेको हेर्थे र गाउँ फर्किन्थे।
हरिद्वारमै अध्ययनरत रहँदा उनी एउटा युवतीको मायाजालमा पनि परे। कालान्तरमा तिनै युवतीसँग बिहे गरे। त्यति बेला मन पराएको केटीसँग माया प्रेमको कुरा गर्नु धेरै टाढाको कुरा मात्र थिएन, आँखा जुधाउनु पनि धौं–धौं पर्दथ्यो।
तर संस्कृतमा स्नातक उनी कवि भावमा कुरा गर्न सिपालु थिए। एक दिन आत्मविश्वास जुटाएर उनले एउटा पत्र लेखे, त्यो पनि कन्याका मातापितालाई।
८० वर्षको उमेरमा अझैं पनि उनलाई पत्रमा लेखिएको त्यो कविता याद छ–
आशा श्री चरणादिको हजुरमा शिरै झुकाइकन,
श्रद्धापूर्वकले म गर्छु अहिले श्रीदेवीको चिन्तन !
आरामी म यहा त्यहाँ हजुरमा आराम होउन भनि,
गंगा मासित प्रार्थना म गर्छु अहिले शिरै झुकाइकन !!
योग्यलाई त योग्यको बर बुझी देख्नु सदा लक्षण
धर्मात्मा अघिका यसो भानिगाए सम्पूर्ण बिद्वानजन!
आमातुल्या सरि पिता हजुरनै स्वदेशका हौ भने
शंका केही मनमा लिई हजुरकी कन्या मलाई दिने !!
कन्याका बुबा २००७ सालमा जहाँनिया शासनबिरुद्ध लडेका प्रजातान्त्रिक योद्धा थिए, बासुदेव नेपाल। उनकै अगुवाइमा २००८ सालमा पाल्पाको मदन पोखरामा शारदा मावी स्थापना भएको थियो। २०१३ सालमा हरिद्वारमा जेठी छोरीको जन्म हुँदा उनले विधालयकै नामबाट छोरीको नाम राखे।
२०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था ‘कू’ गरेपछि उनी पनि भारत पलायन भएका थिए। शिक्षित हुनुका साथै नेपाल क्रान्तिमा पनि होम्मिएका कारण उनलाई काशी दत्तको पत्रको भाव बुझ्न गाह्रो परेन। उनले छोरीको लागि काशी योग्य र शिक्षित केटो भएको निर्क्योल निकाल्दै बिहेका लागि स्वीकृति प्रदान गरे। आमा भने ‘कन्फ्युज’ थिइन।
त्यसैले बिहेका लागि एउटा सर्त राखियो– बिहेका लागि छोरी त दिने। तर दार्चुला जस्तो दुर्गम र टाढा लैजान नपाउने।
काशीलाई शारदा खुब मन परेको। उनले सहजै स्वीकारे। कुरा मिल्यो। शारदा शर्मा र काशी दत्त भट्टको बिबाह २०३१ सालमा हरिद्वारमा धुमधामका साथ सम्पन्न भयो।
बिबाह सम्पन्न भएको केही समय उनले हरिद्वारमै अध्यापन गराए। जीवन पनि राम्रैसँग चलिरहेको थियो। तर एकदिन आफ्नो पुरानो सपना पुनर्रताजा भएर आयो। उनले युवा अवस्थामा पढेर गाउँ फर्किएको सपना देख्न थाले।
एक दिन हिम्मत जुटाएर उनले सासु आमा र ससुरा बासँग गाउँ फर्किने कुरा के गरेका थिए, आमाले झर्किएर भनिन्, ‘बिहे गर्दा गाउँ नफर्किने भन्नु भएको थियो। यहि बस्ने बाचा गरेको होइन?’
काशी दत्त त्यो बेला शास्त्री भइसकेका थिए। उनले पहिलो पल्ट जवाफ फर्काए–
जननी जन्मभूमिश स्वर्गादपि गरियसे!
काशीको कुरा सुनेपछि सासु आमा रुन थालिन्। छोरी शारदालाई सोधिन्– ‘छोरी के गर्छौ ?’
छोरीको उत्तर थियो– ‘चेली जन्मेपछि घरबाट डोलीमा निस्किनु पर्छ र श्रीमानको घरबाट अर्तीमा निस्किनु पर्छ। यो नै सत्य हो।’
छोरीको कुरा सुनेपछि आमा र बुबाले आशिर्वाद दिए र यो जोडी दार्चुला फर्कियो।
भारतीय बजार धार्चुला कटेर घर नजिकै महाकालीको तीरमा पुगेपछि शारदाको मनमा चिसो पसेको थियो। कहिल्यै पहाड नदेखेकी शारदा ठूलो महाकाली नदीमाथि बाँधिएको तुइन चढेर नदीको बीचमा पुग्दा उनलाई आमा, बुवा र भाइ–बहिनीको याद आयो र उनी रुन थालिन्।
त्यो दिन सम्झँदा अहिले पनि कहालिने ६५ वर्षीय शारदा भन्छिन्, ‘मलाई त्यति बेला जीवनको अन्तिम दिन लागेको थियो।’
स्कुल पढ्दा गाउँका श्वेत तस्बिरमा खेतका गार्हालाई भर्याङ सम्झिने उनले त्यहाँ पुगेपछि वास्तविकता बुझिन्।
‘न ती खेतबारी भर्याङ थिए, न हिउँ परेको बेला रमाउन सकिदो रैछ। यी त सब कल्पना रहेछन्। वास्तविक जीवन भन्दा धेरै पर अथवा भनौ तस्बिरमा देखिने सबै चिज वास्तवमै सुन्दर हुने भए, यो संसार कति लोभलाग्दो हुँदो हो,’ उनी भन्छिन्।
शहरमा जन्मिएर हुर्किएकी शारदालाई केही वर्ष दार्चुला अन्कन्टार गाउँ लाग्थ्यो।
‘आमाले भनेका सबै कुरा झलझली सम्झन्थे। कलेजका साथीसंगी सम्झेर वित्यास लाग्थ्यो। आमा–बुवाको सम्झनाले धेरै दिन रोएर बिताए। तर जीवनसँग सम्झौंता गरे,’ उनले भनिन्।
दिन बित्दै गयो। गाउँकै हिमालय माविमा आफ्ना श्रीमानसँग पढाउन थालेपछि चिन्तामुक्त भएको उनको बुझाई छ।
त्यो बेला दार्चुलामा चेलिबेटीलाई स्कुल हैन, घाँस–दाउरामा पठाउने गरिन्थ्यो। सानै उमेरमा बिबाह गरिदिने चलन थियो।
यो देखेर शारदा अचम्म परिन्। उनले नै गाउँमा छोरीले पनि पढ्नुपर्छ भन्ने सन्देश फैलाइन। यस क्षेत्रका महिलाले उच्च शिक्षा हासिल गर्नुमा यो जोडीको ठूलो योगदान मानिन्छ।
समाज परिवर्तनका लागि गाउँबाट आमा–बुबा छोडेर हिँडेका काशी दत्त अध्यापनकै क्रममा २०३२ सालमा राजा वीरेन्द्रको राज्याभिषेकको समयमा सिडियोद्वारा एउटा कविता लेखिदिन गरिएको आग्रहलाई अहिले पनि सम्झिन्छन्।
‘त्यै बेला कविता लेखेबापत सिडियोमार्फत पाँच सय रुपैयाँ पुरस्कार पाएको थिए,’ उनले भने।
कविको मन निकै सुन्दर छ। त्यसैले उनी सबै चिज सुन्दर देख्छन्। कवि भावमा हरेक प्रसङ्ग निकालिहाल्छन्। प्राय: छन्दमा कुरा गर्न सिपालु उनको बिशेषता हो। पहाडको खोचबाट निस्किने सुन्दर शब्दले साहित्य प्रेमीको मनमा बस्न सफल उनी हरिद्वारमा पढ्दा प्रपन्नाचार्यका सहपाठी थिए।
आफू बसेको जिल्ला त्यसमा पनि दुहु–व्यास सम्बन्धि कविता उनले ३२–३३ साल मै रचेका थिए। जसमा कालापानी क्षेत्रलाई समेटिएको छ।
‘तम्बाकु बचेली गिरि किसा पोला र आपी अरु!
डड्यापु यी त मौरया, गिरि गिसा पोला र आपी अरु।
जो कुन्तिसौ भो शुरु।।।।।।।
झल्कन्छन् अति सुन्दरै हिमशिला जो आपी लेकैमहा!
श्रद्धा साधकको अमुल्य घर झै सम्झी रहौ मन महा !!
यो साहित्य घना घना पिपिनमा स्यामाती स्थामा बलि।
माथी रुख परे यी देवहरुका मुनि गुराँस फुली।।
ठूला शिखरका सरलता बग्छिन् नदि कालिकी !
कालिकी बहिनी सरि अरु यहाँ मिल्छिन् नदि नाम्पिका।।
मेरो देश सु–स्वर्ग होस तर बरु प्यारो छ यो तिंकर ।।।।।’
आज भन्दा ६० वर्ष अगाडि नेपालका अधिकांश दुर्गम क्षेत्रमा पठनपाठनका लागि बिद्यालय खुलेका थिएनन्। राजधानी र राजधानीबाहिर पनि हुने खानेका सन्तान मात्र पढ्न सक्ने अवस्था थियो। यस्तो अवस्थामा सुदूरको एक दुर्गम जिल्ला दार्चुलाको गाउँका मान्छेले पढ्न पाउनु भनेको सपना जस्तै थियो। त्यति बेलाको समयमा गरिबी, अभावको चंगुलमा फसेको समाजबाट उम्किएर पढ्न कै लागि हरिद्वार पुग्नु चानचुने कुरा पनि थिएन।
राजधानी काठमाडौंको भूगोलबाट मात्र टाढा नभएर, विकासका हरेक पूर्वाधारबाट निकै टाढा रहेको दार्चुला जिल्ला भरिमै पछिल्लो समय यो जोडी स्थानीय माझ प्रसंसाको पात्र बनेको छ।
छोरी पढाउनु हुदैन, छोराले मात्र पढ्नु पर्छ भन्ने समाजमा जब शारदा शर्मा शिक्षिकाको रुपमा झुल्किइन् हिमालय माध्यमिक बिधालयमा छात्रभन्दा छात्राको संख्या दोब्बर भएको थियो। छोरीले पढ्नु पर्ने रहेछ भन्ने चेतनाको विकास अभिवृद्धि हुनुमा यो जोडीको ठूलो भूमिका छ।
पूर्व प्रधान्याध्यापक काशी दत्त जिल्लाकै पहिलो साहित्यकार हुन्। उनको प्रथम कृति २०३१ सालमा बालाकाण्ड रामायण प्रकासन भएको थियो। अहिलेसम्म उनको १६ वटा साहित्यिक र धार्मिक कृति प्रकासन भइसकको छ भने हजारौं फुटकर कविता रचना गरिसकेका छन्। १५ वर्ष अगाडि उनले अनिवार्य अवकास पाएका थिए। ८० वर्षको उमेरमा पनि उनी साहित्य सिर्जनामा उत्तिकै तल्लिन छन्।
उनी व्यास पबित्र भूमि भएको बताउँछन्। यहाँ ब्यासऋषिले साधना गरेका कारण सम्पूर्ण हिन्दुको पवित्र तिर्थस्थल भएको उनको ठम्याई छ।
‘तर हाम्रै छिमेकी मुलुक भारत उस्तै संस्कृति र उस्तै धर्मका अनुयायी भएर पनि हाम्रो जमिनमा लामो समयदेखि सैनिक अखडा बनाएर बसेको छ’, उनी भन्छन्– लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा हामी नबोले को बोल्ने ? हामीले नलेखे, कसले लेख्ने? हामीले उठान नगरे कसले गर्ने ?
उनी राज्यले आफ्नो सीमा सुरक्षा गर्नुपर्ने बताउँछन्। ‘देशका ५४ वटा ठाउँमा अतिक्रमण भएको छ। सबैभन्दा बढी दार्चुलाको ब्यास क्षेत्रमा छ,’ उनी भन्छन्– ‘आफ्नै आँखा अगाडि देखेको र भोगेको जमिन छिमेकले हड्पेकोमा चयनसँग कहाँ बस्न सक्छिन्छ र!’
यो मेरो मनको मसि कलमले लेखे कथा बीरको,
कालीको जल पीई, रगतले कोरे लिपुलेक यो !
पढ्दा बेदऋचा र ब्यासऋषिको साध्यस्थली छाङ्गुर
कालापानी लिपू न भारत छ यो नेपाको आखिर !!
साचो हो भन भारती जनहरु सुगौली सन्धि तीर !
उनी जहाँ जान्छन् सँगै आफ्ना कृतिहरु झोलामा बोकेर साथमा एउटा बासुरी पनि राख्छन्। भन्छन्,‘साहिया सँगै संगीतमा रमाउनु कविको बिशेषता हो।’
उनी सकभर आफ्नो अर्धांगिनीसँगै हुन्छन् र भन्छन् ‘आफूले सिर्जना गरेको प्रायस् रचनाहरु संगालेर राख्ने उनी हुन।’
अन्तमा यो जोडी शिक्षकको जीवन माझीसँग तुलना गर्छन। ‘नदीको किनारमा सयौं मात्र होइन, हजारौं यात्रीलाई माझीले वारपार गराउँछन्। शिक्षकले पनि हजारौं बिद्यार्थीलाई नदी पार गराउनु पर्ने हुन्छ। यसमा रमाउन पाएकोमा जीवनभरको आत्मसन्तुष्टी प्राप्त भएको छ।’
प्रतिक्रिया