दाजु पत्रकार!
चौंवालिस पैंतालिस सालतिर आलोकका पत्रिकाका संस्थापक श्यामकृष्ण उपाध्यायको आग्रहमा आलोक सम्पादनको जिम्मेवारी दाजुले लिएपछि सहयोगि भूमिका रह्यो मेरो!
दाजुले साप्ताहिक रूपमा लेख्ने ‘प्रसङ्ग कतिपय’ चोटिलो सामाजिक राजनीतिक व्यंग्यको चौतारी थियो! दाजुको लेखाईमा यदाकदा थपथाप गरि टोपल्थें म! लेख्ने आदत खासै नभए तापनि हल्काफुल्का लेख्ने जमर्को गरिन्थ्यो! तर दाजुको लेखाइलाई नजिकबाट निहाल्थें! विशेषगरी व्यंग्य लेखनलाई! आलोकको ‘प्रसङ्ग कतिपय’ पछि राजधानीको सुरुचि र गोरखापत्रमा ‘शहरमा जसको चर्चा छ’ हुँदै नेपाल साप्ताहिक र नागरिक दैनिक को ‘चरित चर्चा’लाई नजिकबाट नियाल्दै गर्दा लेख्न चाहेर पनि फेदटुप्पोको भेउ पाउन नसकिरहेको अवस्थामा ०६३ सालतिर लेख्ने जमर्को गरें! ‘एउटा महापुरुषको कथा’ नामको व्यंग्य लेख्न मलाई करिब १५ दिन लागेको थियो! कनिकुथी लेखिसकेपछि निकै ठूलो पराक्रम गरेको भ्रम पाल्दै दाजुलाई देखाएँ! टाउको हेर्ने बित्तिकै मैतिर फर्काउँदै बोल्नु भो– यस्ता झमेलामा नफस! आफ्नो पसलमा ध्यान दे! मेरो उत्साहमा पानी फेरियो! भाई यो व्यंग्यस्यङ्यको झमेलामा परेर शत्रु कमाउनेतिर नलागोस् भन्ने भाव बुझें मैले! अलिपछि थाहा भो भाउजूसँग चैं– केटाले पारा ल्याउँछ जस्तो छ भन्नु भएको थियो रे!
हेर्नसम्म त हेर्दिनुस्!
पहिलो प्रयासमै हिम्मत हार्ने कुरै थिएन! गाह्रो मान्दै बोक्नसम्म चैं बोक्नु भो! भोलिपल्ट फिर्ता दिँदै– कसैले छापिदिन्छ भनें छाप! म चैं सिफारिस गर्दिन! भनेपछि केही आशा जाग्यो! घटना र बिचारको अफिस पुगेर जयप्रकाश त्रिपाठीजीलाई देखाएपछि लेखाईको तारिफ गर्दै छाप्ने वचन दिँदै हरेक हप्ता लेख्ने आग्रह समेत गर्नु भो! पहिलोपटक घटना र बिचारमा छापिएको त्यो व्यंग्यले राम्रै चर्चा पायो! हरेक हप्ता लेख्न थालियो! पाठक प्रशंसक बढ्दै जाँदा दाजुले समेत– यसरी लेख! यसबारेमा लेख भनेर उत्साह थपिदिएपछि लेख्ने जोस जाँगरले तिब्रता पायो!
तर दूर्भाग्य!
०६६ चैत्र २६ को दिन मेरा लागि जीवनको सबैभन्दा कालो दिन हुनपुग्यो! दाजुको अप्रत्याशित र अकल्पनीय निधनले मलाई शारीरिक रूपमा गलाउनुको साथै मानसिक रूपमा समेत अपांग बनायो! लेख्ने उत्साह नै हरायो! आफ्नो सबैभन्दा नजिकको प्रशंसक नातामा दाजु भए तापनि मित्रवत व्यबहार गर्ने ब्यक्ति नै गुमाएपछि कसका लागि लेख्नु? भन्ने भावले निकै समयसम्म गाँज्यो!
यसबीच धेरै शुभचिन्तक प्रशंसक लेख्न प्रेरित गर्नु भो! निरन्तरको दवाब र आफ्नै रहर समेतले बिस्तारै फेसबुकमा लेख्न थालियो! शुभचिन्तक प्रसंसक बढ्दै जाँदा उत्साह पनि थपिँदै गयो!
‘भाई, राम्रो छ! लेख्न नछोड्नु’ भन्ने अग्रज दाईहरुको प्रेरणादायी शब्दले लेखन उर्जा थपिदियो! यसरी उत्साहित गर्नेमा बिष्णुविभू घिमिरे, कृष्ण धरावासी, केशव आचार्य, छविलाल खतिवडा, सनत रेग्मी, केदार शर्मा, बिष्णु निष्ठुरी अघिल्लो पङ्तिमा हुनुहुन्थ्यो! बेलाबेलाको मेरो कठोर लेखाईलाई ‘स्याबास ज्ञानमणि’ भन्ने अनि कुनैबेला चित्त नबुझ्दा ‘पानीमा पादेजस्तो! न गन्ध न आवाज’ भन्दै सचेत झापड हान्ने दाई हरि अधिकारीको प्रेरणा सदा स्मरणयोग्य छ मेरा लागि! मेरा समकालीन मित्र अनि कनिष्ठ भाई बैनीहरुको प्रशंसा समेत मेरो लेखनमा उर्जा बन्यो!
पछिल्लो समय गाउँफर्के अभियानले झापा फर्काएपछि अर्को उग्र प्रशंसक निस्किनु भो– चन्द्र भण्डारी!
‘गोरु ढोका थुनेर लेख्ने मात्रै काम गर! तेरो प्रचार म गर्छु’ सम्म भन्न भ्याईदिनु भो चन्द्र दाईले! नभन्दै मेरो लेखलाई कञ्चनजंघा एफएमको कोरोना कहर कार्यक्रममा हरेक हप्ता स्थान दिएर त्यसलाई आवाजको माध्यमबाट पूर्वी नेपालमा परिचित गराईदिने दीपेन्द्र पौडेल अनि मेरो हरेक स्टाटस पढिसकेर ‘अङ्कल किताब चैं कहिले?’ भन्दै मीठो किचकिच गर्ने भतिज शेखर पाण्डे मेरो स्मृतिमा रहिरहने ब्यक्ति हुन्!
फेसबुकबाट निस्केर कुनै संस्थासँग जोडिन बारम्बार आग्रह गर्ने बिष्णु निष्ठुरीले असारको अन्ततिर फोन गर्नु भो–‘अब फेसबुकमा लेखेर सयपचासको लाईक कमेन्टमा रमाएर बस्ने हैन! दृश्य टेलिभिजनका लागि हप्तामा एउटा स्तम्भ लेख्नुस्!
बिष्णुजीले मप्रति गर्नुभएको बिश्वास मेरा लागि चुनौती समेत रह्यो! उहाँको सुझाव मिश्रित आग्रहमा मैले दाजु भरतको बिम्ब देखें! सँगसँगै भाउजूँसग भन्नुभएको समेत सम्झें– केटाले पारा ल्याउला जस्तो छ!
त्यसैले अब हरेक हप्ता मंगलबार दृश्य टेलिभिजन मार्फत आउने जमर्को गरेको छु! दृश्य टेलिभिजन परिवारले मप्रति देखाएको बिश्वास प्रति हार्दिक आभार! निरन्तर लेख्नका लागि मलाई प्रेरित गर्ने मेरा अग्रज, समकालीन तथा कनिष्ठ प्रशंसकको भावनाको कदर गर्दै निरन्तरताको प्रण समेत गर्दछु!
मेरो लेखन प्रयत्नको पहिलो खुड्किलो, प्रेरणाको मुहान–नाताले दाजु, कर्मले पिता अनि ब्यवहारले अत्यन्तै निकट मित्र भरत भूर्तेलप्रति भावपूर्ण श्रद्धासुमन!!
प्रतिक्रिया