चार दशकपछि वृहत राष्ट्रिय प्रतियोगिता गर्न जुट्यो पोखरा

पोखरा। गण्डकी प्रदेशमा आयोजना हुने  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीको सम्पूर्ण काम अघि बढाएको छ। 

राखेपबाट गठित खेलस्थल व्यवस्थापन उपसमितिले खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ।

प्रतियोगिताका अधिकांश खेल पोखरा र पोखरा रङ्गशालामा हुने जानकारी राखेपले गराए पनि प्रदेशका ११ वटा जिल्लामा कम्तिमा एक खेल खेलाउने योजना बनाइएको छ। 

खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले चार दशकपछि पोखरामा हुन लागेको प्रतियोगिताले प्रदेशवासीमा उत्साह थपेको बताए। खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय आगामी भदौ १५ भित्र टुङ्गो लाग्ने उनले बताए।

राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन गर्ने निर्णय राखेपले गरिसकेको छ। प्रस्तावित खेलस्थलमा पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुष स्पर्धाका खेल पोखरामा सञ्चालन हुनेछन्।

यसैगरी जिमन्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषको खेल पनि पोखरामा प्रस्ताव गरिएको छ।

महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराँते (महिला–पुरुष) लमजुङ, टेबलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने प्रस्ताव पठाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए। 

बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको उनले बताए। प्रदर्शनी खेल लोकदोहोरी पोखरामा गर्ने योजना छ। 

प्रतिक्रिया