शव्द/तस्विरः शम्भु गौतम
दोलखा, भदौ २: पौराणिक सहर दोलखामा परम्परागत रुपमा देखाइँदैआएको भैरबकुमारी जात्रा आज रातिबाट सकिँदै छ । आज रातभर दोलखा सहरका विभिन्न चोक र डबलीमा नाच्दै भोलि बिहान एक वर्षका लागि यो जात्रा थन्क्याइन्छ ।
पाँच सय वर्ष पुरानो मानिएको यो जात्रा प्रत्येक वर्ष ५ दिनसम्म पौराणिक सहर दोलखाका चोक र डबलीहरुमा परिक्रमा गराई थन्क्याउने चलन छ ।
मौलिक बाजागाजाको तालमा भैरब र कुमारीसहितको समुह युद्धको शैलीमा नाच्ने रोचक जात्रा हरेक वर्ष गाइजात्राको भालिपल्ट अर्थात भदौ कृष्ण द्वितीयादेखि षष्टिसम्म देखाइन्छ ।
यो जात्राको क्रममा ब्रत बस्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । विभिन्न मनोकाङ्क्षाका साथ दोलखा सहरका ब्रतालु नारीहरुले राती पुजापाठ गरेपछि सुरु हुने नाचमा भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरुको भीडले जात्रास्थल खचाखच हुने गर्दछ । यहाँ ब्रत बसी पूजाआजा गर्दा पितृहरुको आत्माशान्ति हुने र परिवारमा सुखशान्ति हुने जनविश्वास रहेको स्थानीय समाजसेवी भरतनारायण प्रधान बताउँछन् ।
द्वापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरुलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको कुरा दोलखा सहरका अग्रज यज्ञकुमार प्रधानले आफ्नो पुस्तक ‘दोलखाका सांस्कृति सम्पदा’ मा लेखेका छन् ।
तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुपूर्व ब्रत बस्ने महिलाहरु दिनभर निराहार ब्रत बसी टासिचाटोलको गुठीघरमा भेला हुन्छन् । सा“झ परेपछि बुढी आमा, भैरब, कुमारी लगायत सेनामेनाहरु सिँगारेर लहरै बस्छन् । पुजाको विधि सकिएपछि सिँगारिएर बसेका मकुण्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि ब्रतालुहरुले खाना खाने चलन छ । त्यसपछि भैरब र कुमारीको नृत्यजात्रा सुरु हुने गर्दछ ।
टसिचा टोलबाट निस्किएको जात्रा कोर्छेटोल, गणेशथान, पाल्चोटी, डोक्छेँ, लिस्टोल, भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी, दुंगल, पिंगल, नक्छेँ र कोर्छेँ हुँदै टसिचाटोलको कुमारी छेँ मा भित्र्याउने चलन छ ।
प्रतिक्रिया