आखिर रहेछ श्रीकृष्ण एक

परम् भक्तिको महान ग्रन्थ श्रीमद्भगवत महापुराण यस प्रार्थनाबाट शुरु हुन्छ– सच्चिदानंद रूपाय विश्वोत्पत्यादिहेतवे। तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः।। अर्थात्– सच्चिदानंद स्वरूप भगवान् श्रीकृष्णलाई नमन गर्दछौं, जो यस जगतको उत्पत्ति,  स्थिति र विनाशको हेतु आध्यात्मिक, आदिदैविक र आदिभौतिक– तीनै प्रकारको तापको नाश गर्नुहुन्छ।

यदि कोही परम् चैतन्य स्वरुप भगवान श्रीकृष्णको अनन्य शरणमा जान्छ भने उसको जीवनमा स्वयंबाट उत्पन्न भएको आध्यात्मिक दुःख, प्रकृतिबाट उत्पन्न भएको आदिदैविक दुःख र अरुबाट उत्पन्न भएको आदिभौतिक दुःखबाट सदासदाको लागि मुक्ति पाउँछ। त्यसको लागि श्रीकृष्ण शरणम् मम को भक्ति भाव जाग्नु पर्दछ। स्वयंभित्र निहित श्रीकृष्ण चैतन्यलाई जागृत गर्नु नै भगवान श्रीकृष्ण भक्ति हो। कृष्णको अर्थ हुन्छ– आकृष्य गर्नेवाला अर्थात् आकर्षण गर्ने वा आफूतर्फ खिच्नेवाला। जीवात्मालाई परमात्मा तर्फ वा सचिदानन्द तर्फ आकर्षण गराउनेवाला परमतत्व भगवान श्रीकृष्ण  हुनुहुन्छ।

ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणत क्लेश नाशाय गोविन्दाय नमो नमः।। अर्थात्ः वासुदेव नन्दन परमात्मा स्वरूप भगवान कृष्णको वंदना गर्दछांै, उनै गोविन्दको पुनः नमन छ, उनले हाम्रा कष्टहरुको नाश गरुन्! जव हामी विशुद्ध चैतन्यको शरणमा जान्छौ चित्तको मार्गमा रहेका पञ्च क्लेष अज्ञानता, अहंकार, राग, द्वेश र मोहको नाश हुन्छ।

मानिस हरहमेशा विकार रहित भएर विशुद्ध अवस्थामा रहे चैतन्यमा नै स्थित रहन्छ। अर्को तर्फ मनुष्य क्लेषले भरिएको भए जगत गुरु भगवान श्रीकृष्णको सुझाव अनुसार वैराग्य र अभ्यासको माध्यमबाट परम चेतना अर्थात् श्रीकृष्णतत्व प्राप्त गर्न सक्दछ। भगवान श्रीकृष्णलाई जगतगुरु भनिन्छ। किन भगवानलाई यसो भनियो त!  बसुदेवं सुतंदेवं कंशचारुणमर्दन्। देवकी परमानन्दमं कृष्णं वन्दे जगतगुरुम्।।

भगवान यस जगतका सच्चागुरु हुनुहुन्छ। पहिलो कुरा भगवान श्रीकृष्णको जीवन नै मनुष्यलाई गतिलो पाठ बनेको छ। एउटा पुत्र, भ्राता, पती, पिता, प्रेमी, मित्र, सखा, शासक, मार्गनिर्देशक, उपदेशक, कुटनीतिज्ञ, नर्तक, मुरलीवादक, कलाकार, शासक, शत्रुको नाशक, दार्शनिक, चिन्तक, दुखः निवारक, भगवान लगायत अनेकन भूमिका अत्यन्त कुशलतापूर्वक निभाउनु भयो।

दोस्रो कुरा जगत र जीवनलाई सबैभन्दा सुन्दर र आनन्ददायी बनाउने परम दिब्य ज्ञानको सूत्र समेटिएको श्रीमद्भगवतगीता जस्तो महानग्रन्थ प्रदान गर्नु भएको छ। सकल मनुष्यका लागि यो भन्दा नजिकको र कामलाग्ने ग्रन्थ विश्वमा अर्को छैन। यसमा लेखिएका कुरा सर्वभूतात्मा, सर्वकालिक र सर्वज्ञानले भरिपूर्ण छ। सबैलाई मिल्ने सधैंलाई कामलाग्ने छ। तेस्रो कुरा भगवान श्रीकृष्ण स्वंयले दुःख कष्ट झेलेर, ठक्कर खेपेर संसारमा हुने अनुकूलता र प्रतिकूलताबाट कसरी माथि उठ्ने, हाँसीहाँसी कसरी त्यसको सामना गर्ने?

अप्ठ्यारा परिस्थितिबाट भाग्ने होईन कि होशपूर्वक भाग लिएर समाधान गर्ने भन्ने कुरा स्वयंको जीवन भोगाईबाट सिकाउन खोज्नु भएको छ। त्यसकारण भगवान श्रीकृष्णलाई यस जगतका वास्तविक जगतगुरु भनिन्छ। परब्रह्म परमात्मा सयकलायुक्त हुनुहुन्छ भने भगवान श्रीकृष्ण परब्रह्म परमात्माको साक्षात अवतार भएकोले चौंसठ्ठी कलाले पूर्ण हुनुहुन्छ। मनुष्य भने यदि सर्वगुण सम्पन्न भयो भने बत्तीस लक्षणले युक्त हुन्छ। भगवान मनुष्य रुपमा शास्वत महापुरुष हुनुहुन्छ। जो पुरुषहरुमा सबैभन्दा उत्तम पुरुषोत्तम अनि आकर्षणमा सबैभन्दा चित्ताकर्षक हुनुहुन्छ।

परम प्रेमका प्रतिमूर्ति भगवान श्रीकृष्ण युद्धकलाका सिद्धहस्त योद्धा हुनुहुन्छ। प्रेम र युद्ध जस्तो विरोधाभासपूर्ण चरित्रमा पनि दुबैमा उत्तिकै कुशल भूमिका निभाउन सक्ने यस्तो अद्भूत लिलाका नायकलाई शासकीय दर्शनको आधार र आदर्शतम पात्र बनाउनु पर्नेमा घृणा, विद्रोह र बदलाको भावनाबाट उत्पन्न भएको दर्शनलाई बोकेर फरक परिवेश र संस्कृतिमा उद्भव भएका अर्थराजनीतिक वादलाई आदर्श मानेर अनि नेतालाई गुरु थापेर शासन सत्ता संचालन गर्नेहरुलाई  विश्वका महान ग्रन्थ श्रीमद्भगवत गीता, महाभारत र रामायण अगाडि राखेर तिनलाई मूल धर्माचरण बनाएर शासन गर्न अन्तसप्रेरणा जागोस्। यहाँहरुले बोक्नु भएको आदर्श चरित्र र तिनको दर्शन जो परधर्ममा आधारित छ। प्रभावमा आधारित छ। अनि अमौलिक छ। जुन नेपालीको शान्तिप्रिय र आध्यात्मिक स्वभाव सुहाउँदो छैन।

 देश, माटो,  संस्कृति मिल्ने र यहिंको परिवेशमा उब्जिएको ज्ञानलाई पो आदर्श बनाईन्छ त! भगवान श्रीकृष्णको मार्ग जसले भन्छ– आत्माज्ञान नभई ब्यक्तिले आफूमाथि त शासन गर्न सक्दैन भने अरुमाथि शासन के गरोस्। नेपाल आत्मज्ञान प्राप्त गर्ने विश्वगुरुको उद्भवस्थल भए तापनि व्यक्तिगत स्वार्थकेन्द्रित अहंकारको मार्ग बोकेर हिँडेका शासकहरुद्वारा शासित हुनुपर्ने विडम्बना भोगिरहेका छौं।

समयमै भित्री आँखा खोलेर आत्मज्ञानको मार्ग नअपनाएमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पछुताए जस्तो पछुताउनु पर्नेछ। महाकवि देवकोटा मृत्यु शैयामा आफ्ना अन्तिम श्वास गन्दैगर्दा आत्मानुभूतिका केही शब्द ब्यक्त गर्नुहुन्छ– न ज्ञान भो, न भक्ति भो न भो विवेक, आखिर रहेछ श्रीकृष्ण एक! (बिन्दा आचार्य, योगध्यान शिक्षक,जीवन विज्ञान)

प्रतिक्रिया