सम्झना

महाप्राज्ञ प्रदीप गिरिको सम्झनामा

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥

ॐ शान्तिः शान्तिः शान्तिः

उनी यहाँ पनि जीवन्त र पूर्ण थिए । उनी यहाँ जति बाँचे, पूर्णतामै बाँचे । अन्ततः उनी  ‘त्यहाँ’  पूर्ण ब्रह्ममै विलीन भए । यता उनको अवसानमा सारा अस्तित्व हतप्रभ छ । परन्तु उता उनी भने जान्छु पनि नभनिकन चुपचाप विलीन भए अनन्तमा । उनी हुन्  यो देशका महाप्राज्ञ प्रदीप गिरि । यो उनको मृत्यु होइन, अमरता हो । अब मरणशील जैविक मानव प्रदीप गिरि यस संसारमा छैनन् । अब उनी अनन्त आकाशका दीप्तिमान नक्षत्र हुन् । उनी जस्ता पूर्ण प्रज्ञाका ज्योतिपुञ्जमा श्रद्धाञ्जली अर्पण गर्न कुनै शब्द पनि पर्याप्त छैन । नेपाली राजनीतिक  रङ्गमञ्चमा उनले छाडेर गएको सन्नाटालाई रमणीय बनाउन सक्षम अर्को कुनै पात्र छैन ।

 राजेन्द्र बानियाँको शब्दमा ‘एउटै मान्छेले यति धेरै विधाका यति धेरै विषयमा कसरी विद्वताका साथ बोल्न सक्छ र त्यसका लागि के चाहिन्छ ?’  प्रत्युत्तरमा प्रदीप भन्छन्, ‘बोल्नलाई त केही पनि चाहिँदैन । सायद म राजनीतिक काम कम र यस्तै यस्तै काम बढी गर्ने भएर होला ।’  प्रदीपको भनाइ छ, ‘राजनीतिमा लाग्नुअघि त्यसमा लागेपछि किचलो र षडयन्त्र पनि व्यहोर्नुपर्छ भनेर तयार हुनुपर्छ ।’ उनको भनाइमा महाभारतभन्दा ठूलो अर्को ग्रन्थ छैन । कृष्णभन्दा महान अर्को राजनीतिज्ञ छैन । राजनीति स्वभावैले कुटिल हुन्छ । परन्तु यस्तो नहोस् कि फोहोर उठाउनुको बदला आफै फोहोरको दलदलमा परियोस् ।

प्रदीप स्वयं एक महाकाव्य जस्ता प्रतीत हुन्छ्न् । उनका प्रत्येक अभिव्यक्तिहरू कविता बनेर प्रकट हुन्छन् । उनी भन्छन् , ‘केही व्यक्तिहरू दन्त्यकथाका पात्र जस्ता हुन्छन् । चार्ल्स सोभराज जस्ता । कहिलेकाहीँ मान्छे अचम्मको दन्त्यकथा बनिदिन्छ ।’  वास्तवमा नेपाली राजनीतिको खेल मैदानका खेलाडीमध्ये प्रदीप आफै एक दन्त्यकथा हुन् । धेरैले सुनेका र पढेका, तर थोरैले मात्र बुझेका । सुक्खा बगरमा एक्लै उभिएको अटल वटवृक्ष जस्तै हुन् उनी ।

दीपकुमार उपाध्याय २ भाद्र २०७९ को कान्तिपुर दैनिकमा लेख्छन्, ‘उहाँ असङ्गठित जस्तो हुनुहुन्थ्यो । घरबारमा रुचि नभए जस्तो ।’  काठमाडौंमा प्रायः भाडावालकै रूपमा रहँदै आएका प्रदीपलाई कुनै समयमा उनै दीपकुमारले त्रिपुरेश्वरस्थित आफ्नो घरमा बस्न दिएका रहेछन् । कृष्णप्रसाद भट्टराईको ठट्यौलीबारे उपाध्याय अगाडि लेख्छन्, ‘कहिलेकाहीँ किशुनजीले मलाई भन्नुहुन्थ्यो, ‘बाबु, प्रदीपलाई लगेर आफ्नो घरमा त राख्यौ तर यो त जोगी हो, तिमीलाई पनि जोगी बनाउला नि ।’  कृष्णप्रसाद भट्टराई र प्रदीप गिरिबिच परम मित्रता थियो । त्यो मित्रताको रहस्य किसुनजीकै शब्दमा  ‘सल्लाह नदिनू र केही पनि  नमाग्नू’  रहेछ । सल्लाह दिने र मागेर हैरान पार्नेसँग टाढा हुन चाहन्थे सन्त नेता भट्टराई ।

अस्पतालमा पुगेर  स्वास्थ्यबारे चासो राख्ने साथीहरूलाई  प्रदीपले भनेका थिए, ‘जीवन सत्य हो । मृत्यु पनि शाश्वत सत्य हो । म मृत्युसँग डराएको छैन , डराउन्न । तपाईंहरू नि ?’  मृत्युशैयामा पनि देशबारे चिन्तित थिए उनी । उनले भनेका थिए, ‘देश राम्रो हुन सकेको छैन । मलाई चिन्ता छ । तपाईंहरू पनि चिन्ता गर्नुस् । युवा पुस्तालाई अलि बढी विश्वास गर्नुस् ।’  उनले गगन थापातर्फ हेर्दै भने  ‘खोइ, तिमी  किन बोल्दैनौ ?’  ( उपाध्याय उही ) 

‘मैले पढ्न लेख्न थालेको ५० वर्ष भयो । प्रेम र जीवन बाँच्ने कलामाथि हजारौँ किताब आएका छन्, तर मृत्युमाथि किताबै छैन । मृत्यु के विचार विमर्श नगर्ने विषय हो ? वास्तवमा हाम्राबिच मृत्युप्रति कुनै दृष्टिकोण नभएकाले नै आज हामी यति भयभीत छौँ । मृत्यु जीवनको सत्य कुरा होइन र ? तर मनुष्यले मृत्युलाई किन यत्रो भयङ्कर र भयावह बनाएको ?’ प्रदीप यसरी प्रश्न गर्थे ।

नेपाली काङ्ग्रेसको एउटा कार्यक्रममा बोल्दै प्रदीपले भनेका थिए, ‘शेर बहादुरजीले भन्नुभयो, तपाईं त मन्त्री पनि माग्नुहुन्न पैसा पनि माग्नुहुन्न । मैले भनिदिएँ , मलाई सिराहामा १५ किलोमीटर बिजुलीको तार तानिदिए पुग्छ ।’  प्रदीपले त्यो १५ किलोमिटर तार तान्ने सिलसिलामा तत्कालीन प्रम देउबा , जलस्रोत मन्त्री पशुपतिशमशेर राणा एवं ब्युरोक्र्याटहरू द्वारिकानाथ ढुङ्गेल र कीर्तिचन्द्र ठाकुरकहाँ धाएको रोचक वर्णन गरेका छन् । उनी ‘त्यत्रो दौडधुप गरेर बिजुली ल्याएपछि चुनाव जितिन्छ’  भनेर ढुक्क थिए । तर उल्टो पर्‍यो । उनी बिजुली तानेको लगत्तै पछिको चुनाव हारे । नेपाली मतदाताको मतदान प्रवृत्ति बुझ्न प्रदीप जस्ता सुझबुझ भएका नेता समेत असमर्थ थिए ।

तमसोमा  ज्योतिर्गमयमा टिकाराम यात्रीसँग कुरा गर्दै प्रदीपले भनेका थिए, ‘नेपालको राजनीति आज अमर्यादित सत्ताको नाङ्गो खेल भएको छ ।’  माओवादीलाई उनी सत्ता राजनीतिको भासमा परेको शक्ति मान्दथे । उनी प्रचण्डका आकर्षक सपना  मात्र होइन व्यक्तित्वमा समेत स्खलन आएको घटनाक्रमका  रोचक विश्लेषक हुन् । प्रदीपको शब्दमा   ‘माओवादीसँग लागेर आशावादी भएका सबै शक्तिहरू यसबाट किंकर्तव्यर्विमूढ हुनु स्वाभाविक हो  ।’ प्रदीपले भनेका थिए, ‘एक समय यस्तो थियो , कामरेड मोहन वैद्य प्रचण्डपथको सौन्दर्यशास्त्र लेख्नुहुन्थ्यो । डा बाबुराम भट्टराई प्रचण्डपथका सैद्धान्तिक आधार लेख्नुहुन्थ्यो ।’  त्यस बखतमा प्रचण्डसँग प्रचण्ड शक्ति थियो । उनी चर्चाको सर्वोच्च शिखरमा थिए। राजनीतिको केन्द्रबिन्दुमा मात्र नभई असीमित सैन्य शक्तिले युक्त अपार व्यक्तित्वको आलोचना गर्न कठिन थियो भने प्रशंसा गर्न सहज र सुरक्षित ।  फ्रान्सेली क्रान्तिले निरङ्कुश सम्राटलाई गद्दीच्युत गर्‍यो । किन्तु त्यही क्रान्तिको जगमाथि अर्को सम्राट नेपोलियन बोनापार्ट जन्म्यो । लेनिनको बोल्सेविक क्रान्तिले खडा गरेको किल्ला स्टालिनको कब्जामा पर्‍यो । प्रदीप गिरि भन्छन्, ‘तर त्यसो भयो भन्दैमा क्रान्तिको महत्व समाप्त हुँदैन । माओवादीमा विचलन आयो भन्दैमा उसले उठाएका प्रश्नको महत्व घट्दैन । क्रान्तिकारीको पतनलाई क्रान्तिको पतनको रूपमा लिनु हुँदैन ।’

प्रतिनिधि सभामा बोल्दै उनले भनेका  थिए, ‘हामीकहाँ रहेको बेरोजगारी,  हिंसाको परम्परा, आर्थिक क्रियाकलाप , हामीकहाँ भइरहेको भ्रष्टाचार आदि सबै प्रकारान्तरले हाम्रो प्रणालीलाई असफल बनाउनेतर्फ उन्मुख छन् ।’   संघीय राज्यको सिद्धान्तको पूर्ण पालना नहुँदासम्म र स्थानीय तहले प्रचुर अधिकार र स्रोत नपाउँदासम्म समृद्धि हासिल गर्न कठिन छ । आफूलाई नेता हुँ भन्नेहरूले आफ्नो आधारभूत अस्मिता कायम गर्न चुकेकोमा प्रदीप खिन्न थिए । अन्तर्राष्ट्रिय राजनीतिको साङ्गोपाङ्ग विवेचना गर्न सक्ने खुबी थियो प्रदीपमा । नेपाली राजनीतिलाई उनले जति नजिकबाट अवलोकन गरेको अर्को मानिस छैन यहाँ । उनी राजनीतिक सिद्धान्तसम्बन्धी ज्ञानको  उच्चतम आसनमा विराजमान महाप्राज्ञ हुन् । कम्युनिस्टहरुलाई कम्युनिजम के हो भनेर चित्त बुझ्दो गरी प्रशिक्षण दिनसक्ने खुबी भएका प्रकाण्ड मनीषी  थिए उनी ।

 उनको समतामूलक र न्यायपूर्ण समाजको चाहना अद्भुत छ । हतारमा संविधान घोषणा गरेकोमा उनी दु:खी थिए । संविधान घोषणा हुने दिन संसदमा अनुपस्थित रहेर उनले शान्त विद्रोह गरेका थिए । प्रदीप मधेसी जनताको भावनाको उच्चतम कदर गर्ने विचारक थिए । सत्ता र शक्तिको आसक्तिबाट टाढा बस्न रुचाउने उनले गुमाउनुपर्ने केही थिएन । उनी कसैसँग डराएनन् । संसदमा उनका प्रत्येक शब्द सुन्न लायक हुन्थे । उनलाई सुन्न पउँदा उच्छृङ्खल स्वभावका सांसदहरू समेत शान्त र शालीन रहन्थे । उनको तर्कको प्रतिवाद गर्ने सामर्थ्य कसैमा थिएन । भैरव रिसालको शब्दमा  ‘सांसद हुन मन गर्छन्,  तर मन्त्री हुन मान्दैनन् । कांग्रेस कार्यसमितिमा बस्छन् , तर पदाधिकारी हुन मान्दैनन् । हालै प्रदीप गिरिले एउटा पत्रिकासँग बडो रमाइलो कुरा गरेछन् । उनले दाबी गरे– म जस्ता मान्छे चाहिएको छ । मन्त्री नभएर के भो, मन्त्रीमाथि नियन्त्रण गर्ने मान्छे चाहिएको छ ।’ 

प्रदीप अद्भुत रूपमा अध्ययनशील थिए । उनको धारणाशक्ति अचम्मको थियो । यहाँ जान्ने मानिस त प्रशस्त भेटिएलान् , किन्तु जानेको कुरालाई आकर्षक तरिकाले अभिव्यक्त गर्ने कला कमैमा हुन्छ । साहित्यिक कार्यक्रममा उपस्थित गैरसाहित्यिक फाँटका व्यक्तित्व प्रदीपका कुरा सुनेर साहित्यकारहरू नै जिब्रो टोक्थे । प्रदीप भन्थे , ‘लेखकको काम भाषा सिकाउनु पनि हो ।’  सकुन्तलाको औंठी, महात्मा गान्धीको डायरी, द्रौपदीको सौन्दर्य र विद्रोही चेतना , फ्रान्सेली क्रान्तिताकाकी महारानी मेरी एन्तोनियतको नियति र  सीताले रामसँग गरेको विवाद आदि कुराभित्र छिरेर चिन्तन र विश्लेषण गर्ने क्षमता राख्थे उनी ।  प्रदीपले अहिल्या,  द्रौपदी, तारा, कुन्ती र  मन्दोदरी समेतका ‘पञ्चकन्या’ को जीवनको दारुण अवस्थाबारे करुण वर्णन गरेका छन् । उनी भन्छन्, ‘यिनीहरूको जीवनी देख्दा मलाई के लाग्छ भने त्यो यिनीहरूको जीवनी होइन, मनुष्य जीवनको अपूर्णताको कथा हो।’   प्रदीप हाम्रो साहित्य र संस्कृति अपहेलित भएकोमा चिन्तित थिए । उनले भनेका थिए, ‘कविता समेत प्रभावित भयो I’

प्रदीप राजनीतिको अध:पतन देखेर साह्रै दु:खी थिए । सबै शक्ति र पदका लोभी हुन थाल्ने हो भने भन्नुपर्ने कुरा भनिदिने कसले ? उनी भन्ने गर्थे, ‘पार्टी जाओस् भाँडमा भनेर बोल्नसक्ने मानिस चाहिन्छ । चाहे पुँजीवादी होस् या समाजवादी या साम्यवादी , युवाको विचारको मसालले समस्याको समाधान देख्नुपर्छ ।’  हाम्रो राजनीति घनघोर पतनमा गयो । अहङ्कार अत्यन्तै घनीभूत भयो । रूपमा समावेशी देखिए तापनि सारत: समग्र राज्यप्रणाली असमावेशी भयो । विकासको मोडेल गहुँ र धान नचिन्ने अर्थमन्त्रीको हातमा गयो । जसले गहुँ र धान चिने तिनले पनि गुहु र गोबर छुट्ट्याउन सकेनन् । कोही पनि सपुत निस्केन यहाँ । अनि त्यस्तो वातावरणमा प्रदीप गिरि चिन्तित हुनु स्वाभाविक थियो । परन्तु आज त्यो दीपक पनि निभेर विलीन भयो । एक जना हिन्दुस्तानी सायरको शब्दमा, ‘बिछड़ा कुछ इस अदा से कि रुत ही बदल गई I इक शख़्स सारे शहर को वीरान कर गया ।’ 

प्रदीप गिरी नेपाल  कूटनीतिक क्षेत्रमा समेत असफल भएकोमा चिन्तित थिए । उनले भनेका थिए, ‘कुटनीतिको गलत समझदारी छ। यस्तै कुटनीतिलाई नबुझिकन अघि बढ्दै जाने हो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ।’  २०७२ साल फागुन २२ गतेको कान्तिपुर दैनिकमा प्रकाशित  ‘आजको सन्दर्भमा राष्ट्रियता’  शीर्षक लेखमा  उनले लेखेका छन् , ‘त्रिभुवन राजमार्ग एउटा त्यस्तै प्रयास थियो। आधुनिकीकरणका त्यस्ता प्रत्येक प्रयासलाई केही व्यक्ति र शक्तिले राष्ट्रियताको नाममा विरोध गरे। त्रिभुवन राजमार्ग निर्माणलाई भारतीय हस्तक्षेपका रूपमा वामपन्थी कविहरूले भत्सर्ना गरेको अझै पढ्न सकिन्छ।’  परन्तु भारतले नेपालप्रति स्वस्थ नीति अङ्गीकार नगरेकोमा भने साह्रै क्षुब्ध थिए उनी  । भारतको राजदूत नेपाल आउँदा एउटा  ‘भाइसराय’  जस्तो भएर आउने गरेकोमा उनलाई घोर आपत्ति थियो । ‘दुई वर्षको तोते बालकले भाषा सिके जस्तो’  नेपाली कूटनीति देखेर उनी खिन्न थिए  ।

 विकासको मोडेलतर्फ किसुनजी जस्तो नेताले समेत भावनामा बग्दै ‘नेपाललाई सिङ्गापुर बनाउने’  अभिव्यक्ति दिएको देखेर उनी अचम्म परेका थिए ।  मानिसको ‘न्याटिभ इन्टेलिजेन्स’  को अवहेलना देखेर उनलाई साह्रै थकथकी लाग्थ्यो । लोकतन्त्रको नाममा संख्यातन्त्र हावी भयो । लोकतन्त्रको मर्म बुझिदिने कोही भएन । राजनीतिक वृत्तका महाप्राज्ञ प्रदीप एक्लो बृहस्पति झैं हुन वाध्य भए । उनको कुरा काट्ने र ‘च्यालेन्ज’  गर्ने  सामर्थ्य त कसैमा थिएन , किन्तु अनुयायी बन्न पनि कोही तयार देखिएन । नेपाली कांग्रेसका तमाम मानिसले उनलाई रुचाए । परन्तु उनको नीतिको परिपालना गर्न कोही पनि राजी भएन ।  प्रदीपले बालेको दीपक फगत प्राज्ञिक बहसमा सीमित भयो ।

अन्त्यमा - प्रदीप २०७६ साल भाद्र २४ गतेको अन्नपूर्ण पोस्टमा लेख्छन्, ‘सम्मान गर्ने क्रममा हामीले कमसेकम बीपीको विचारको अध्ययन गर्ने सुरुवात गरौं । बीपीको मात्र होइन मनमोहनको गरौं पुष्पलालको गरौं । नेपाललाई साँच्चै  नै ‘तेस्रो बाटो’  देखाऔं। पुँजीवादको बाटो चल्दैन । पुँजीवादकै अनुकरण गरेर हिँडेको साम्यवाको बाटोले पनि चल्दैन।’ तर विडम्बना ! उनको कुरा ‘ध्यान दिएर सुन्ने र पढ्ने’ काम मात्र भयो ।

 

 

 

प्रतिक्रिया