सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई आगामी मंसीरको निर्वाचनसम्म निरन्तरता दिने निर्णय गराउँदा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी पदाधिकारी र सदस्यहरु सायद मोवाईलमा लाईक र कमेन्ट लेखिरहेका थिए! सभापति देउवाको उच्च प्राथमिकतामा परेको यो एजेन्डा बिना छलफल ‘सर्वसम्मति’ ले निर्णय भएको माइन्यूट लेखाएपछि बैठकमा आएका अरु बिषयमाथि मौन रहनु उनको सुविधाको कुरा थियो।
केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुले सामान्य टिप्पणी पनि नगरी सर्वसम्मत हुनपाएको गठबन्धनको निरन्तरताबारे बैठक बाहिर गरिएका आलोचना र टिकाटिप्पणी खोलाको गीत सावित भैरहेका छन्।
पाँचदलीय गठबन्धनको निरन्तरता नेपाली कांग्रेसका सभापति देउवाको प्राथमिकता हो कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को वाध्यता हो, यसबारे अनेकन दृष्टिकोण हुनसक्लान्। गठबन्धनप्रति असन्तोष प्रकट गरिरहेका कांग्रेसजन भने यसले नेपाली कांग्रेसको ‘नूर’ गिरेको ठानिरहेका छन्। गएको स्थानीय निर्वाचनमै कांग्रेसले आफ्नो असली मुहारमा खिचडीको लेप लगाईसकेको अनुभव गरेका ती कांग्रेसजनलाई अब नूर गिरेको महसुश भैरहेको छ भने त्यसलाई अन्यथा मान्न पनि सकिँदैन। तर जब सभापति देउवा गठबन्धनको लेप घसेपछि आफ्नो पार्टीको मुहार चम्किएर सोले कि हेमा मालिनीको जस्तै उज्यालो भएको ठानिरहेका छन् भने अरुलाई जेजस्तो लागेपनि फरक पर्नेवाला छैन।
कांग्रेसजनका नजरमा सभापति देउवामाथि माओवादी अध्यक्ष प्रचण्ड देखिनेगरी नै हावी हुँदै गएका छन्। प्रधानमन्त्रीको निवासमा निकटवर्ती नेता भन्दा उद्योगी व्यापारीको घेरा बलियो भैरहेको छ। पार्टीका महामन्त्रीहरु नेपाल विद्यार्थी संघका नेताको तहमा गणना गरिएका देखिन्छन्। यस्तो परिस्थितिमा आगामी निर्वाचनमा को को उम्मेदवार हुनेछन् भनेर अनुमान लगाउन पनि कठिन हुने कांग्रेसजनको बुझाई छ।
रोचक कुरा त के छ भने १४औं महाधिवेशनपछि युवाहरुको जबर्जस्त प्रवेशले नेपाली कांग्रेसमा नयाँ जोश र उमंग आएको भनेर निकै ढोल पिटिएको थियो। तर त्यसपछिका दिनहरुमा सभापतिको एकल इच्छा नै पार्टीको मुख्य एजेन्डा भैरहँदा पनि मुख खोल्न नसक्ने त्यो युवा नेतृत्वको शिथिल उपस्थितिले कांग्रेसको उपस्थिति खरि झरेको मादल घन्के जस्तै सुनिएको कतिपय कांग्रेसजनलाई लागिरहेको छ।
वाम एकताको बाँसुरी
गीतामा कृष्ण र अर्जुनका वीच एउटा सम्वाद छ। अर्जुन प्रश्न गर्छन्– ‘हे कृष्ण, यो मन धेरै चञ्चल, प्रमथनवाला, दृढ र बलवान् छ। यसलाई वशमा राख्नु भनेको वायुलाई रोकेर राख्नु जस्तै दुष्कर मानिरहेको छु म। तपाईं त यो चञ्चल मनलाई स्थीर राख्ने कुरा गरिरहनु भएको छ। यो कसरी सम्भव छ?’
जवाफमा अर्जुनलाई सम्झाउँदै कृष्ण भन्छन्– ‘हे महाबाहो, निःशन्देह यो मन चञ्चल छ र यसलाई वशमा राख्नु त्यति सजिलो पनि छैन। यसलाई अभ्यास र वैराग्यले मात्र वशमा राख्न सकिन्छ।’
यता नेपाली राजनीतिमा एकजना यस्ता पात्र छन् जसको मन न अभ्यासले न त वैराग्यले नै वशमा रहन सम्भव छ। सत्ताको साँचो हातमा पर्दा समेत शान्त नहुने मन अरु कसको पो हुनसक्छ र? राजनीतिको खेलमा म्याराडोनाको शैली अपनाईरहेका ती पात्र प्रचण्ड हुन् भनेर चिनाईरहनु नपर्ला। उनी स्वयं स्वीकार्छन्– ‘म त केही न केही नयाँ काम नगरी चूप लागेर बस्नै सक्दिन। यथास्थितिमा बसिरहनु मेरा लागि सम्भव नै छैन।’ सायद प्रचण्डको जति चञ्चल मन स्वर्गका उर्बशीहरुको पनि थिएन होला। न त महाभारतका शकुनीको न लङ्केश्वर रावणकै।
यस कुरालाई आजका दिनमा पनि प्रचण्ड पुष्टि गर्ने प्रयाश गरिरहेका छन्। एकातिर उनी नेपाली कांग्रेससँग आगामी निर्वाचनसम्म गठबन्धन गरेर जाने भनेर औपचारिक रुपमा सम्झौता गरिसक्छन्, अर्कातिर उनी वाम एकताको बाँसुरी बजाउन पनि पछि पर्दैनन्। यो उदेकलाग्दो राजनीति केवल प्रचण्डले मात्र गर्न सक्छन् भन्ने कुरा अब नयाँ बिषय रहेन। तर मानिसहरु अझै पनि प्रश्न गरिरहेका छन्– ‘प्रचण्ड कुन जिल्लाको कुन निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्दैछन्?’ सायद यसको जवाफ गठबन्धनका नेता नेपाली कांग्रेसका सभापति देउवासँग होला! किन भने गठबन्धनभित्रको एउटामात्र अपरिवर्तनीय सम्झौता हो कुनै पनि शीर्ष नेताले चुनाव हार्न नहुने! प्रतिनिधिसभामा हैसियत पुग्यो भने फेरि गठबन्धनकै नयाँ सरकार पनि सञ्चालन गर्ने।
माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच जारी गोप्य भनिएका भेटवार्ताले प्रचण्डकै शरणमा फर्किएका बाबुराम भट्टराईलाई समेत समेटेर पार्टी एकता गर्ने मार्गचित्र कोर्दै गरेको प्रष्ट छ। सायद अरु पनि वामपन्थी दललाई जोड्दै जाने प्रचण्ड फर्मूला जारी नै रहने छ। जुटेजति वामपन्थी दल जुटाएपछि प्रचण्डको राजनीतिक बाँसुरीको धुन जोडतोडले घन्किने छ र त्यही संगीतमय वातावरणमा उनले कांग्रेस सभापति देउवामाथि दवाव डालेर आफ्नो भागमा निर्वाचन सिट बढाउने छन्। प्रचण्डको ताजा राजनीतिक चालबाजी यही नै हो भन्दा अन्यथा हुने छैन। सायद यिनै कुराको सुँइको पाएर हुनसक्छ नेपाली कांग्रेसका एक युवा नेताले भने– ‘सभापति देउवाले पार्टीको नूर गिराउन कुनै कसर बाँकी राखेका छैनन्।’
राजनीतिको यस्तो कथाव्यथा नियाली रहेका इतिहासका कैयौं घटनाका साक्षी एकजना अर्थराजनीति विज्ञले राजनीतिमा दलहरु कमजोर हुँदै गएको टिप्पणी गरेका छन्। नेपालका पहिलो अर्थ सचिब हिमालय शम्शेर राणाले राजनीतिमा दलहरु कमजोर हुँदै गएको र व्यापार हावी हुँदै गएको पाएर आफू चिन्तित भएको सुनाए। ‘सरकार त जनताको हित भन्दा बढी उद्योगी व्यवसायीको साझेदार जस्तो पो देखिएको छ’ राणाले आज विशेष वार्ताका सन्दर्भमा भने।
आफ्ना पूर्खाको शासन चलिरहेकै बेला त्यसविरुध्द प्रजातन्त्रको पक्षमा उत्रिएका हिमालय शम्शेरको भूमिकाले उनका परिवारलाई तर्साएको थियो। प्रधानमन्त्री हुने ३५औं रोलक्रममा रहेका उनी तत्कालिन सेनाका लेप्टिनेन्ट कर्णेल पनि थिए। प्रजातन्त्र अघि र राणा शासनको पतनपछि पनि राजकाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राणाले सत्ता गठबन्धनमा कुनै पनि दलको अनुहार प्रष्ट हुननसक्ने बताए। ‘दलहरुले आफ्नो कार्यक्रम अघि सारेर मतदातालाई आकर्षित गर्नुपर्ने हो। तर यो गठबन्धनमा कुन दलको के कार्यक्रम हो भनेर छुुट्याउनै सकिँदैन, यो कस्तो राजनीति हो मैले त बुझ्न सकिरहेको छैन’ कैयौं निर्वाचनको पर्यवेक्षण समेत गरिसकेका राणाले सुनाए।
प्रतिक्रिया