भोट के मा?
हलोमा!
अरु सबै बाईबाई!
एउटा भोट उमेशलाई!
०४३सालतिर बिराटनगरमा यो नारा गुन्जायमान थियो! राष्ट्रिय पञ्चायत सदस्य (रापंस) उम्मेद्वार थिए– उमेश जङ्ग थापा! अर्कातर्फ पञ्च नेता मात्रिका प्रसाद कोइराला!
थापा काजी मात्रिका प्रसादलाई हराएर दरवार र जनताबीचको पर्खाल तोड्ने उद्वघोषका साथ मैदानमा उत्रेका थिए! उग्र क्रान्तिकारी वाणी ओकल्थे! अञ्चलाधीश अफिस अगाडि हुल बाँधेर ‘ए ओली, हान मलाई गोली! मेरी स्वास्नी पहिले पनि चिउरा बेच्थी, म मरे पनि चिउरा मुरै बेच्छे’ भन्दै छातीमा मुड्की बजार्दै चिच्याउनु उनको दैनिकी नै थियो! थारुका ज्वाईंलाई सघाउन ससुराली खलक गाउँबाट काठको हलो बोकेरै आएपछि जुलुस ‘विशाल’ हुनु स्वभाविकै थियो!
त्यसमाथि भएभरका अखिल र नेबिसंघका भुरा समेत ‘उमेश दाई जिन्दावाद’ को पछि लागेपछि उमेश बाहेक अरु ‘नो चान्स’ भित्र परेका थिए! पञ्च नेता कोइराला हराएर पर्खाल तोड्नु प्रमुख लक्ष्य थियो! पर्खाल तोड्ने हतौडा बोक्नेमा मोरङ्ग कलेजको ठूलै जत्था थियो भने होस्टलका हामी छुचुन्द्रे समेत लागिपरेका थियौं! होस्टलको नेतृत्व लिनेमा रघुवीर महासेठको ‘उमेश दाई ठीक हेरिन्छ! उहाँलाई जितानुपर्छ’ भन्ने तर्कका पछि हामी समेत कुद्यौं! त्यस समय उमेश जस्तो ‘क्रान्तिकारी’ अनि कोइराला जस्तो ‘निकम्मा’ कोही देखिएन मोरङ्गबासीका नजरमा!
त्यस समय खतरनाक अञ्चलाधीश थिए– सूर्य बहादुर सेन ओली! प्रशासनमा कुख्याती कमाएका क्रुर प्रशासक! बीचमा माओवादको लेदो भित्र छिरेर क्रान्तिकारी पौडी पनि खेले क्यारे! अहिले कता छन् थाहा भएन! दैनिक जसो उनका अघि पुगेर ‘ए ओली! हान मलाई गोली’ चिच्याउन थालेपछि ओलीले गोलि त हानेनन् तर थापा काजीको मर्मत चैं राम्रैसँग गरेका थिए!
त्यो मर्मत कार्यक्रममा अर्का उम्मेद्वारको हातमा सामान्य चोट लाग्यो! रिजाल थरका कोहि हुनुपर्छ! नाम स्मरण भएन! साँझपख भएको त्यो घटनाको भोलिपल्ट बिहानै बजारभरी ‘मेरो भोट उमेशलाई’ भन्दै भाँचिएको हातमा ब्यान्डिज सहितको पोष्टर छ्याप्छ्याप्ती देखियो! रिजालजी थापाको चुनाव प्रचारमा जुटे आफूलाई मिड्प्याक गरेर! यो पोष्टर नाटकपछि थापा प्रचारकमध्ये केहिले यो थापा जिताउन गरिएको प्रशासनिक प्रपञ्च हो भन्दा कोहि पत्याउनेवाला थिएनन्! थापाको पक्षमा यस्तो माहोल थियो कि बिरोध बोल्दा कुटाई खाने सम्भावना थियो!
त्यस समय अहिले जस्तो अपसेट प्रेस नभएकोले फोटो छाप्ने ब्लक बनाउन काठमाडौं या बिहारको पटना पुग्नुपथ्र्याे। जुन एकरातमा सम्भव थिएन! साँझको लाठीचार्जमा हात भाँचिएको ब्यक्तिको पोष्टर बिहानै बजारभरी टाँसिन कसरी सम्भव भयो? हाम्रो यो तर्कले कुनै काम गरेन! कोइराला हराउन र थापा जिताउन अञ्चलाधीश मार्फत दरवारले रिजालजीलाई डमि उम्मेद्वार बनाएको जगजाहेर भैसक्दा समेत उनको लहर बढदो थियो! कोइराला पञ्च भएकाले हार्नुपर्छ अनि उमेश अहिलेको अबस्थामा ठूला क्रान्तिकारी हुन जसले दरवार र जनताबीचको पर्खाल तोड्छन् र जनप्रतिनिधि हुन योग्य छन् भन्ने भ्रम ब्याप्त थियो!
नभन्दै जनमत थापाको पक्षमा गयो! हामी थापाजीलाई भेट्न पुग्यौं! अब उनी उम्मेद्वारबाट रापंस भैसकेका थिए! मुस्किलले भेट सम्भव भो! हामी मध्ये कोहि बोल्यो– पर्खाल तोड्छु भन्नुहुन्थ्यो! कसरी तोड्नु हुन्छ त? भावी योजना के के छन्?
एउटा दरवारिया (कोइराला) हार्नु नै पर्खाल तोडिनु हो नि! मैले उनलाई हराएर पर्खाल तोडिसकें नि! उनको छोटो जवाफ पछि हामी जिल्ल पर्यौ! एक त उन्मत्त उमेश त्यसमाथि रापंस! कुन्ता कि बुहारी भट्मास खाकी भनेझैं भो! जनमत आफ्नो पक्षमा भएकोले उनी मात्तिँदै गए! राजनैतिक संस्कार त थिएन नै! कानुनी मर्यादाको समेत ख्याल राखेनन्!
कोइराला हराएको दम्भमा यति मात्तिए कि एकतर्फी बाटोमा गाडी छिराउने देखि ठेला निषेधित गल्लिमा ठेला ठेलेर कानुनको धज्जी उडाउने ब्यक्तिको रूपमा समेत चिनिए! मजदुरको क्षणिक ताली पाउन उनी कानुनी र गैरकानुनी सवै काममा अघि देखिए! उनलाई उचाल्नेमा अखिल र नेबिसंघका भुरा छँदैथिए! उचाल्ने जमात भेटेपछि जितको उन्मादमा उनी उचालिनु सामान्य थियो! उनको उपद्रो मोसफलमा मात्र सिमित रहेन!
तत्कालीन भारतीय लोकसभा अध्यक्ष बलराम जाखड विरुद्ध राष्ट्रिय पञ्चायत भवन भित्रै ‘भारतीय बिस्तारवाद मुर्दावाद’ चिच्याउनसम्म भ्याए! केही उदण्ड जमातले त्यसलाई भारत विरुद्धको साहसिक कदम भनी स्वागत समेत गरे! तर त्यो एउटा जनप्रतिनिधिबाट छिमेकी राजनैतिक पाहुना विरुद्ध गरिएको अभद्र व्यबहार थियो! कुटनैतिक मर्यादा बिपरितको कार्य थियो!
अहिले उनी कता छन्? कुनै कुनामा बसेर दारु खाँदैछन् कि पिण्डसेवन गरिसके? थाहा छैन! उल्कापात झैँ आए चम्के हराए!
यता– उहिले मोरङ्गमा उमेश लहर चलेझैँ केही समय अघि बालेन लहर चल्यो! उसबेला पञ्चायती बितृष्णाले काम गरेझैँ यसपटक दलिय बितृष्णा र युवाआकर्षणले बालेनलाई उचाइमा पुर्याईदियो! उनको जितको बिरुवा हुर्कनुमा स्थापितको बेलगाम थुतुनोले निकै मलजल गर्यो भने चाक्सिवारी भाउजुको ‘ट्याग’लाई काठमाडौंबासीले सम्मान दिन सकेनन्!
बालेनको आगमनलाई धेरैले ‘ए मनुवा! कुछ करेगा’ को नजरले हेरे! पहिलो चुनौति फोहोर भित्रको राजनीतिलाई पन्छाउनु थियो! धेरै आशावादी मध्ये मैले पनि बालेन प्रयत्नलाई सकारात्मक रूपमा हेरें! उनको सुरुवाती कदम स्वागतयोग्य हुनुका साथै दलिय ब्यवधान उनका लागि चुनौतिपूर्ण समेत थियो!
फोहोर ब्यबस्थापन सँगसँगै अव्यवस्थित सडकपेटी ब्यवसाय बिस्थापनका लागि गरेको उनको प्रयत्न स्वागतयोग्य थियो! ‘गरि खान’ पाउनुपर्ने अधिकारका नाममा सडकपेटि ढाकेर मकै पोल्ने देखि ठेला ठेल्नेसम्मलाई तह लाउन सुरु गरेको सडक सुद्धिकरण अभियानलाई धेरैले सकारात्मक रूपमा लिएको देखिन्थ्यो!
भलै फोहोरको रापमा स्वार्थको रोटि पोल्न सिपालु राजनैतिक खोल ओढेका केही अराजनैतिक भ्रष्ट तत्वले मकैको क्षतिपूर्ति दिने देखि ठेला किन्दिने सम्मको सडक नाटकले केही अवरोध पैदा गरे तापनि सकारात्मक थालनिमा धेरैको समर्थन देखिन्थ्यो! चुनाव अघि उनको बारेमा अमुल भाञ्जाले भनेको स्मरण भो– मामा ! बालेनसँग भिजन छ!
उसबेला बालेनसँग भिजन छ भन्ने भाञ्जाको कुरामा सहमत म अहिले उसँग भिजन भन्दा बढी कन्फ्युजन छ कि? भन्नेमा पुगेको छु! जब उनी यी सबै सुधारका कुरालाई थाँती राख्दै कुनै गँजडिको मूर्ति गाड्ने योजना बुन्नतिर लागे! जनप्रतिनिधिले जनताको करबाट संचित पसिनामा बिगतमा गरेको दाँई दोहोरिन थालेपछि बिरोधका स्वर निस्किनु स्वभाविकै थियो! त्यस विरुद्ध मेरै तलबबाट बनाउँछु भन्ने उनको दम्भ बोल्यो! अरे बाबा!
आफ्नै तलबबाट आफ्नै बारिमा जो जस्को मूर्ति गाड्दा भैगो त! आफ्नै तलब भत्ताबाट त स्वास्निलाई फरिया किन्दा पनि भो! प्रेमिकालाई उपहार दिँदा पनि भो! बिरोध त जनताले तिरेको करमा बिगतमा भएका दलिय साँढेको चरित्र नदोहोरियोस् भन्ने मात्र हो!
यतिमा मात्र सीमित भएनन् हाम्रा युवा मेयर! चुनावताका आफ्नो प्रचारमा पुच्छर लागेको पछुवाको अमुक नौटन्की संस्थालाई नगरकोषबाट करोडौं दान दिने घोषणासम्म गर्न भ्याए! सुनिँदैछ– कालेकाले मिलेर खाउँ भाले अभियान अन्तर्गत च्याउ सरि उम्रेका मृतक नेताका नाममा खुलेका दर्जनौं प्रतिष्ठानका नाममा दामासाहिले रकम बाँडफाँडको चक्करमा परेर आत्मसमर्पणको बाटो अपनाउँदै छन्!
यस्तै यस्तै काम र कुराले चुनाव अघि भिजन बोकेका बालेन कतै कन्फ्युजन बोकेका ‘बेलुन’ त बन्दै छैनन्? जो फुलेको देखिन्छ! बाहिरबाट हेर्दा सुन्दर छ! गोलमटोल छ तर भित्र हावा सिवाय केही छैन! एउटा सिन्का लाग्ने बित्तिकै प्याट्ट फुट्छ कुनै अस्तित्व रहँदैन! उमेशजङ्ग थापा झैँ!
अर्को पतेकी बात– अहिले धराने मेयरसँगको वाकयुद्ध समेतले भिजनलाई टेवा दिने भन्दा कन्फ्युजनलाई मलजल गर्ने निश्चित देखिन्छ! धरानलाई धरानकै गतिमा चल्न दिउँ! त्यो उतैको मेयरको चिन्ता हो! काठमाडौंका मेयरले काठमाडौंका बारेमा सोचौ! बालेन, बालेन साह नै रहुन्! बेलुन साह नबनुन्! शुभकामना!
प्रतिक्रिया