अध्यात्ममा मनुष्यले आत्मबोध गर्न सक्ने अनेक मार्ग बताईएको छ। ती मध्ये दुईटा मार्ग मुख्य छन्। एक प्रवृत्ति मार्ग अर्थात मनको झुकाव वा रुझान संसारतर्फ जानु अर्थात भोगेर स्वयंलाई जान्नु र अर्को निवृत्ति मार्ग अर्थात मन स्वयं तर्फ फर्केर आउनु वा संसारबाट स्वयंतीर खिचिनु अर्थात वैराग्यमा उपलब्ध भएर। यो भोगको मार्ग र योगको मार्ग जीवनलाई दुई आयामबाट जीउने र बुझ्ने तरिका हो।
अध्यात्ममा अर्को त्रि–आयामिक जीवन दर्शन पनि छ। त्यो हो योग र भोग बीचको सन्तुलित मार्ग अर्थात भगवान श्रीकृष्णको मार्ग सन्तुलनको मार्ग। जीवन र जगतलाई तीनपक्षीय आयामबाट हेर्ने दृष्टिकोण। एउटा अति बाट अर्को अति तर्फ नगई सन्तुलनमा रहने उपाय वा बीचको अवस्था। न सुख नत दुःख बस आनन्द। न सफलता नत असफलता बस सन्तुष्ट। न दिन नत रात बस मिर्मिरे विहान वा झिसमिसे साँझको अवस्था। न आधुनिक नत पुरातन बरु भित्रबाट सनातन अनि बाहिरबाट नविनतम। ज्ञानको साधना अनि विज्ञानको सुविधा दुबैको बेजोड संयोग। गृहस्थ जीवन र योगीको जस्तो जीवनका बीचको सन्तुलित जीवन। अति सदैव खति भन्दा मध्यमार्ग अर्थात सन्तुलनको मार्ग अतिउत्तम मानिएको छ।
यस जगतका प्रथम जगतगुरु योगेश्वर भगवान श्रीकृष्णले दिनु भएको कर्मयोगको मार्ग, भगवान गौतमबुद्धले दिनुभएको सम्यक मार्ग, गतिशिल ध्यानको माध्यमद्धारा जनजनमा ध्यानका विधि पुर्याउनु हुने परम गुरु ओशोले दिनुभएको सहजयोगको मार्ग, घरघरमा योग पुर्याउने हुने बाबा रामदेवको पतञ्जली योग होस या जीवन विज्ञानले दिएको जीवन योग र उर्जा ध्यान होस् यी सबै सन्तुलनको मार्ग हो। एउटा मनुष्यको लागि उसको जीवन सबैभन्दा महत्वपूर्ण छ। न ब्रह्म नत संसार। उसको जीवन सुखदायी भयो भने पो उसले ब्रह्म चिन्तन गर्न सक्छ।संसारका अरु मानिस, प्राणी, बनस्पती, जीवजन्तुको भलाईको बारेमा सोच्न सक्छ, कल्याणको काम गर्न सक्छ।
सन्तुलनको मार्ग के हो त? जीवनमा केही चीजमा स्थिरता त केही कुरामा गतिशिलता हुनुपर्छ र तीनको बीचमा सन्तुलन पनि। त्रिशुल अर्थात मानिसमा रहेका तीनवटा शुल क्रोध, लोभ र अहंकारलाई योगध्यानको माध्यमबाट शमन गर्नु, यदि गरिएन भने यसले स्वयंलाई मात्र होईन अरुलाई समेत घोच्दछ। हरेक दिन योगाभ्यास, प्राणायाम र ध्यानगरेर शरीरमा उत्पन्न हुने त्रिविकार वात पित्त कफलाई सन्तुलनमा राख्नु। त्रिगुण सत्व, रज र तम मध्ये योगध्यानको माध्यमबाट तमस अर्थात अज्ञानता, अल्छि र आलस्यतालाई हटाई सत्य स्थापित गर्न जोश जाँगरयुक्त रजसले भरिएर कर्म गर्नु। गृहस्थ जीवनमा नै रहेर हामीलाई योगस्थ हुनु छ। घरपरिवार त्यागेर, जिम्मेवारीबाट भागेर अनकन्टार ठाँउमा, एकान्त गुफामा योगध्यान गर्न त सजिलो छ।
तर घरपरिवारमा नै रहेर, आफ्नो र परिवारको भरण पोषणको लागि पेशा व्यवसाय गरेर, आफ्नो कर्तब्य कर्म पुरा गरेर, जीवनमा आईपरेका समस्याको समाधान आफंैले गरेरपनि आफ्नो अन्तष्करण शुद्ध बनाउन सक्नु अनि योगस्थ बन्न सक्नु चै साँचो पुरुषार्थ हो। कुटिल मानिसका जटिल व्यवहारका सामु रहेर आफूलाई तटस्थ, शान्त अनि ध्यानस्थ बनाउनु कम चानचुने कुरा होईन! हरेक मनुष्य भित्र अन्तरद्धन्दको महाभारत चलिरहेको हुन्छ। एउटा मान्छे र अर्को मान्छेको बीचमा फेरी अर्को महाभारत बहिर्द्धन्द्ध चलिरहेको हुन्छ। महान कर्मयोगी भगवान श्रीकृष्णको जीवनबाट हामीले सन्तुलनको पाठ सिक्न सक्छौं।
हामी जानेर होईन जान्नका लागि अध्यात्ममा जोडिनु पर्छ।होशमा वा वेहोशमा जीवनको यो मोडमा आईसकेका छौं। कम्प्युटरको बटम जस्तो जीवनलाई अनडु गरेर वितिसकेका वा भईसकेका कुराहरु पुःन पहिलेको जस्तो जस्ताको तस्तै बनाउने सुविधा छैन मानिसलाई। जीवन सतत् बगीरहेको छ। जे छौं जहाँ छौं त्यहीबाट आफूले रोजेको जीवन शुरु गर्नु बुद्धिमानी हो। हामीलाई हाम्रा जीवनमा आएका समस्याको समाधान गर्नु छ। भोगीरहेका दुःख पिडाबाट मुक्ति पाउनु छ।तत्कालको समस्याबाट मुक्त हुनु छ। भोको पेटले राष्ट्रभक्तिको कविता लेख्न सक्दैन्।भोको मानिसका लागि एकछाक भोजन महत्वपूर्ण हुन्छ। यवहारिक अध्यात्म र जीवन उपयोगी योगले यही काम गर्नुपर्दछ। शरीर विकारग्रस्त छ।
मानिस रोग, भोक र शोक ग्रस्त छ। दुःख, कष्टले आप्त छ। अब उसलाई शास्त्रका मोक्ष मार्गका श्लोक र धर्मग्रन्थका उपदेशले काम गर्दैन्। तपाईले जती भने पनि उसले कुरा बुझ्दैन्। उसको दिमाखमा घुस्दैघुस्दैन्। किनभनेउसको संम्पूर्ण ध्यान रोग, पिडा अनि समस्यामा गाडिएको हुन्छ।तत्काल उस भित्रको मनस्थिति परिवर्तन गर्ने, बिग्रिएका रसायन ठिक पार्ने, शरीरको कष्ट अनि मनको दुःख हटाउने विधि चाहिन्छ। योगध्यानको यस्तो विधि जोतत्काल र सहज उपलब्ध होस्।जीवन उपयोगी अनि सहयोगी बनोस्। चहर्याइ रहेको घाँउको मलम बनोस्।
दुःखबाट सुख तर्फ जाने पुल बनोस्।तनको सुख अनि मनको शान्ति बनोस्। मनको भारी विसाउने साझा चौतारी बनोस्। योगी बनौं या नबनौं थाहा छैन तर सहयोगी बनौं अनि उपयोगी बनौं। अरुलाई काम लाग्नेबन्न सकौं। यही हो सन्तुलनको मार्ग। योगेश्वर भगवान श्रीकृष्णको मार्ग जो भक्तले पुकार्ने वित्तिकै सहयोग गर्न खाईरहेको खानाको गास समेत छोडेर दौडिनु हुन्थ्यो। हरिॐ तत् सत्
प्रतिक्रिया