हेल्लो केटा, जाने हैन चौथी हान्न?
जीवन रिजालको फोनले ०३७ सालको मोरङ्ग कलेजको होस्टल पुर्यायो मलाई! आह! त्यस बर्षको चौथी.....रोमाञ्चक अनुभूति! केटाहरु मात्रै बस्ने भएकाले त्यस होस्टलको अर्को नाम थियोे– नागालैण्ड!
हामी सर्टिफिकेट लेवल! भर्खर कलेज पसेका! होस्टलका लागि समेत नयाँ नागा! ब्याचलर, मास्टर्सका नागा दाईहरुको मार्गदर्शनमा चल्नुपर्ने! उनिहरुकै गफ सुन्यो बस्यो! सिनियरका अघि हामी बच्चा पनि लाटा पनि! सिनियरका गफमा प्रायः अघिल्लो बर्षका पुरुषार्थका बखान बढी हुन्थे! स्वबियु चुनाव, मारपिट, चुनावी षड्यन्त्र, जितको दम्भ, हारको पिडा यस्तै यस्तै! कलेजमा अखिलको बर्चश्व भएकाले त्यसको स्वभाविक असर होस्टलमा समेत थियो!
“पोहोर त काङ्ग्रेसीलाई राम्रै धुलाई दिएको हो! यसपाली पनि ठटाईन्छ!” नेबिसंघलाई खेदेको र कुटेको पुरुषार्थ बखान्थे उनीहरु! हामी निरीह भएर सुन्थ्यौं मात्रै!
खाना खान मेसमा भेला भएका बेला चौथीको चर्चा सुरु भो– “पोहोर त थापा निवासका केटाले राम धुलाई भेटेका थिए! यसपाली कसकसले भेट्ने हुन्?” गत बर्ष कुखुरा बोकेको देखि सिङ्गै खसी कुदाएको सम्मका पुरुषार्थ बखान्थे! केरा नरिवल त सामान्य! पुरुषार्थ पुराणमा बढाईचढाई हुनु त स्वाभाविकै थियो! काङ्ग्रेस होच्याउनुको अर्को पाटो पनि हुन्थ्यो! “डरपोक काङ्ग्रेसी त डराएर टाप ठोके! हामी त डराएनौं” आदि ईत्यादि!
“यसपाली पनि चौथी हानिन्छ! डरपोकहरु नजाँदा हुन्छ!” ताप्लेजुङतिरको एउटा भुसतिघ्रे अखिलको ललकार आयो! त्यसबेला होस्टलमा तिघ्रे अखिलकै दबदवा थियो! धनकुटातिरका एउटा ब्राह्मण त नहरको डिलमा सेतो ड्रेस लाएर “ह्या....हु.....गर्दै ईंटाका टुक्रा कुनैबेला हातले त कोहिबेला लातले हान्दै हामीलाई तर्साउँथे! “नेपालमा कराँटे खेल्ने धिरेन्द्र मात्रै हुन रे! नेपालमा कराँटे बैण्ड छ” जस्ता हल्लाले बजार पिटेको बेला धनकुटे ब्राह्मण पारी जोगबनी गएर कराँटे सिक्छ्न् भन्ने चर्चा थियो होस्टलमा!
एक त अखिल त्यसमाथि कराँटे खेल्ने! उनी होस्टलका पदेन दादा थिए! अखिल दादासँग नेबिसंघ डराउनु स्वभाविकै थियो! हामी नयाँ त झन् नन्नामुन्ना बच्चा! अखिलको आवश्यकता भन्दा बढिको पेलाईबाट वाक्कदिक्क हामी बोल्न नसके पनि भित्रभित्रै मुर्मुरिनेमा पाँचथरका रिजाल परिवार, ईलामको बैद्यहरु, सिरहा, सप्तरी अनि धनुषातिरका काङ्ग्रेस साथीहरू बिस्तारै एकआपसमा खुल्दै जानुपर्ने बाध्यता नै आईपर्यो! झापालीको समूह पनि थपियो! “हेरौं न त! यिनीहरुको चौथी” हामी पछि लाग्ने निर्णयमा पुग्यौं!
चौथीको दिन ७५/८० जनाको होस्टल जत्था लाग्यो चौथीक्रान्तितिर! उद्घाटन समारोह रोडशेष चोकबाट सुरु भो! एउटा रिक्सावाला दिनभरिको थकानले थकित टायरगाडामा मस्त निदाईरहेको थियो! समूहमा अलि गम्भीर खालका झापाली उट्पट्याङ थिए– केशव अधिकारी! केशव दाईले गाडा बिस्तारै गुडाउन थालेपछि अरुले पनि साथ दिए! बिचरा थकित मजदुर, मस्त निन्द्रामा! कता जाँदैछु? कसले कता कुदाउँदैछ? अन्जान यात्रा...! गाडा कोशी प्रोजेक्ट पुगेपछि केशव दाइले कागजको टुक्रा उसको नाकको पोरामा घुसार्दिनु भएपछि एक दुई पटक त निन्द्रामै हात चलाउँदै थियो! अति भएपछि ब्युँझिएर सराप्न थाल्यो! अखिल दादाहरु त छँदैथिए! हामी छुचुन्द्रे समेत थपिएर उल्टै हप्काउन थालेपछि बोल्न सक्ने हिम्मत नै भएन! केही नबोली गाडा तान्दै फर्कियो! एउटा निरीह प्राणी हप्काउँदा अनि उ लुलुक्क पर्दा हामीलाई निकै ठूलो क्रान्ति सफल गरेको भान भो! फुर्ति बढ्यो! पसियो कोशी प्रोजेक्ट!
केराको बोट नजिक खटिया राखेर केरा रक्षार्थ कुनै पियन सुतेको रैछ! कलिलो, छिप्पेकोसँग मतलब थिएन! उपद्रो गर्नु न थियो! थालियो केरा काट्न! बिरोधमा निस्केको पियनलाई होस्टलको भान्से(साईंलो) ले खुकुरी देखाएपछि बिचरो चुप! सँगैको अर्को मेसको भान्से कान्छो समेत दादा निस्कियो! भएभरका केरा काटियो! रोडशेषबाटै ब्यवस्था गरेको रिक्सा भ्यानमा लोड गरियो! हामी चोर्ने– साईंलो र कान्छो ओसार्ने! चोर्ने त के भन्नू र? समूह यति अराजक थियो कि डकैती नै थियो त्यो! कोशी प्रोजेक्ट भित्रका फलफूल केही बाँकी राखिएन! यहाँसम्म कि टेलीफोनको तार समेत काट्न भ्याईयो! तारलाई पछि होस्टलमा लुगा सुकाउन प्रयोग गरियो!
कोशी प्रोजेक्टको उपद्रोपछि नजिकैको घरको नरिबलको रुखमा नजर पुग्यो! साईंलो रुखमा चढेर हँसियाले नरिबलको झुप्पा काट्न थाल्यो! एकएक वटा झार्ने फुर्सद कसलाई पो थियो र? झुप्पो भुइँमा बजारिन थालेपछि हल्लाले घरका मान्छे बिउँझिए! कराउन थालेपछि कराटे कमरेडको ह्या.... हु...सुरु भो! बिवश बिचरा हात जोडेर “दुई चार वटा चैं छोड्दिनुस है! केटाकेटीले खान्छन्” भन्न थाले! चौथी ग्रूप भए पो सुन्थ्यो त! डकैती ग्रूपले सुन्ने कुरै थिएन! बिचरो नरिबल साहुको सिट्टिपिट्टी गुम!
नजिकै अर्को घरमा नजर पुग्यो! खोरमा कुखुरा रैछन्! काँचो केरा समेत नछाड्ने डकैत समूहले कुखुरा छोड्ने कुरै भएन! खोरको ताला फोरेर कुखुरा तान्न थालेपछि कुखुरा कराएर हल्ला सुरु भो! केशव दाईले खोरै उचाल्ने सल्लाह दिए! चारवटा भुसतिघ्रेले चार सुरबाट खोरै उचाले! बाटोमा रिक्सा भ्यान रेडि थियो! लोड गरियो! माल होस्टल चलान भो! कुखुरा मालिक निस्केर खेद्न खोज्दैथियो– खुकुरी प्रदर्शन पछि बिचरो साहु ‘राम इज अ गुड ब्वाई!’
अबको गन्तव्य थियो– थापा निवास! गतबर्षको दम्भले ग्रसित थिए कमरेडहरु! थापा निवासभित्रको कुनै घर कम्पाउण्डको अग्लो नरिबलको रुख चढ्न अलि मुस्किल देखिएपछि कराँटे पौडेलका भाई रुख चढ्न तम्से! काङ्ग्रेस त यसैपनि डरपोकमा दर्ता भैसकेका थिए! उनी रुख चढेर झार्ने! हामी तल बसेर बटुल्ने सल्लाह भो! तल झाडिमा झर्दा आवाज आउने डरले लुङ्गिमा थाप्ने आईडिया अनुसार एउटाले लुङ्गी खोल्यो! चार सुरमा लुङ्गी समातेर उभियौं हामी! अहिले जस्तो हाफपाईन्टको चलन थिएन! प्रायः सबै लुङ्गिमै थियौं! भाई कमरेड रुख चढेर झुप्पो काट्न थाले! ३५/३० फुट अग्लो रुखबाट झरेको नरिबलको झुप्पो नाथे लुङ्गिले कसरी थामोस्? सर्ल्याङ्ग...को आवाजले घरका मान्छे हुलका हुल निस्के! वरिपरीका समेत थपिए! पोहोरको शेखी झार्न तयार भएर बसेका मध्ये एउटा चिच्यायो– निकाल बन्दुक! पड्काईदिउँ सालेहरुलाई! “बन्दुक निकाल” को आवाज सुन्ने बित्तिकै क्रान्तिकारी कमरेडहरुको क्रान्तिको समेत हावा खुस्किसकेको बेला हामी काङ्ग्रेस लिखुरेको त कुरै भएन!
को कता भाग्यो? कसरी भाग्यो? कसैलाई मतलब थिएन! आफ्नो ज्यान जोगाउनु नै मूल ध्येय थियो त्यस समय! एकएक दुईदुई गर्दै होस्टल आईपुगियो! यसबीच धेरैका लुङ्गिले मालिकको साथ छोडिसकेका थिए! एकाध साथीका टर्च लाईटले समेत बीरगती प्राप्त गरे! कतिका घडी खुस्के! समग्रमा भन्नुपर्दा केही घण्टा अघिको चौथी क्रान्तिको सारै मार्मिक निधन भएको थियो! सबै भेला भैसक्दा पनि रुख आरोही कमरेड गायव! भोलिपल्ट उनको हनुमाने मुहार देखेपछि जानकारी भो– अग्लो रुखबाट उत्रिँदा एक्लै परेछन्! थापा निवासका ब्रोहरुको राम धुलाईबाट रोई कराई गरेर होस्टल फिर्ती भएको रैछ!
भाई कमरेडको थापा निवासको स्वागत धुलाई पछि कराँटे कमरेडले “काङ्ग्रेसले चौथीमा राजनीति घुसाएर अखिल कुटाएको” आरोप लाएपछि होस्टल प्रष्ट रूपमा अखिल र नेबिसंघ दुई खेमामा बिभाजित देखियो! आफ्नो भाईले कुटाई खाएको रिस हामी माथि थोपरेर हेप्न थालेपछि हामी पनि खुल्नु पर्ने बाध्यता आईपर्यो! अति भएपछि झापाका देवी सङ्ग्रौला बम्के– आफ्नै भाईले कुटाई खाँदा आफैं भाग्ने अनि दोष हामीमा थोपर्ने? तिमी चैं के हेरेर बसेका थियौ? भाईले गोदाई खाँदा नहरको डिलमा ईंटाका टुक्रामाथि ह्या.. हु. गरेको फुर्ती कता गयो? देवीजीको चर्को स्वर पछि कराँटे कमरेड चुप! देवीजीको ज्यान र स्वर दुबैले काम गर्यो!
यो घटना पछि निकै महिनासम्म नागालैण्ड निवासीले थापा निवासतिर फर्केर हेर्ने हिम्मत गरेनन्! पछि उताबाट रमेश पौडेल सर र होस्टलबाट वार्डेन राजन पौडेल सरको प्रयत्नले युद्ध बिराम सम्भव भो! हप्ता दिनसम्म मस्ती चल्यो होस्टलमा! चोरेका कुखुरा छँदैथिए! काँचो नरिबल पानीले भान्सामा डकार्दा अनि ट्वाईलेटमा खकार्दा समेत “साउथ ईण्डिया” बास्ना आउँथ्यो निकै दिनसम्म!
सत्र अठार बर्षको त्यो चौथी नामको डकैती सम्झिँदा मन रोमाञ्चित हुन्छ अहिले पनि! त्यस समयका धेरै साथीमध्ये कमै मात्र सम्पर्कमा छन्! को कता होलान्? के गर्दै होलान्? त्यस समूहको एउटा रमाइलो पात्र केशव दाईको निधन भैसकेको छ! एउटा मित्र उपेन्द्रकान्त अर्याल चोर डाका तह लाउने पदमा पुगे! पुलिस आईजिपीको रूपमा रिटायर्ड हुँदासम्म कति चोर डाका तह लाए? उनलाई नै थाहा होला! अर्का सदस्य रघुवीर महासेठ काठमाडौंमा रहेको संसद नामको “राष्ट्रिय डकैती प्रतिष्ठान” को सदस्यको रूपमा अहिले पनि मुलुकमाथि चौथी हान्दै छन्! बेला बेला मन्त्रीका रूपमा पनि देखिन्छन्!
थापा निवासको गोदाई समारोहपछि अखिलको क्रान्ति शून्यमा झर्यो! नागालैण्ड निवासी सबै “राम इज अ गुड ब्वाई” भए! अर्को बर्ष चौथीको च पनि उच्चारण भएन!
थापा निवासको गोदाईपछि होस्टलको चौथीले त विश्राम पायो! यता मुलुकको चौथी भने द्रुतगतिमा दौडिँदैछ! जुन अत्यन्तै खतरनाक छ! मुलुकको चौथीले विश्राम पाउन कसको गोदाई पर्खेर बसेको होला? म चैं अन्योलमा छु! तपाईं नि?
प्रतिक्रिया