विराटनगर। पाँच वर्ष लामाे अवधिमा पनि प्रदेश १ ले आफ्नो प्रदेशको नाम टुँगाे लगाउन सकेन। ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामाकरणको टुंगो लागि सकेको छ। तर प्रदेश १ ले अहिलेसम्म नाम टुँगो लगाउन नसकेको हाे। प्रदेशसभाको पाँच वर्षे कार्यकालको अन्तिम बैठक शुक्रबार यहाँ दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
आज बस्ने बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष ०७८–०७९ को वार्षिक प्रतिवेदन, प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८ पारित गर्ने र प्रदेशसभा अन्त्य गर्ने कार्यसूची रहेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले १२ भदौमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशसभा अन्त्यको सिफारिस गरेको बताए।
प्रदेशको नामाकरणको विषयमा एमाले र कांग्रेसले कोशी वा सप्तकोशी भन्दै आ–आफ्ना अडान राख्दै आएका थिए । एमालेले सर्वदलीय बैठकमा कोशी नामाकरण गर्नुपर्ने प्रस्ताव गरेको थियो। कांग्रेसले औपचारिक रुपमा निर्णय नगरे पनि उसले सप्तकोशीमा सहमति जनाउने विकल्पलाई खुला राखेको थियो।
माओवादी र नेकपा एसले पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राख्दै आएका थिए ।
प्रतिक्रिया