पहिलो दलित अभिनेत्रीको कहानी

जसकाे घर जलाइयो, जिउँदै मार्ने प्रयास भयो

हामीले फिल्मी कलाकारको थुप्रै रहस्यमय कुरा पढेका होलाम्। तर, यो कहानी, ती सबै कहानीभन्दा भिन्न छ। एउटी नायिका, जसको जीवन फिल्ममा अभिनय गरेकै कारण बर्बाद भयो। पहिलो फिल्मको पहिलो शो मै मानिसहरू उनको ज्यान लिन उद्देलित भए। सिनेमाघर जलाइयो। 

उनले आफ्नो बाँकीको जीवन गुमनाम भएर बिताइन्। आज पनि गुगलमा उनको नाम सर्च गरियो भने, एउटा मधुरो तस्वीर मात्र भेटिन्छ। उनको न अन्य कुनै फोटा छ, न कुनै भिडियो नै। केही पनि छैन। 

कहानी हो, दक्षिण भारतको मलयाली फिल्मको पहिलो नायिका पीके रोजीको। उनको दोष यति मात्र थियो, उनी दलित घरमा जन्मिएकी थिइन। 

‘दलितको घरमा जन्मिएर कसरी फिल्मको हिरोइन बन्न सक्छे?’ आफूलाई तथाकथित उपल्लो जाति मान्ने मानिसहरूको तल्लो स्तरको सोचकै कारण रोजीको जीवन बर्बाद भयो। 

उनले जीवनमा एउटा मात्र फिल्ममा अभिनय गरिन्। यसपछि उनले आफ्नो ज्यान जोगाउन यसरी लुक्नु पर्यो, उनको आफ्नै छोरीलाई बर्षोसम्म थाहा भएन, आफ्नी आमा मलयाली फिल्मको पहिलो अभिनेत्री थिइन भनेर।

पीके रोजीको कहानी सुरु हुन्छ, सन् १९०३ बाट। उनको जन्म त्यही वर्ष नन्दकोडेस्थित तिरुवनन्तपुरमको एउटा गरिब दलित परिवारमा भएको थियो। उनको न्वारनको नाम राजाम्मा थियो। घरमा बुवा–आमासमेत एउटा बहिनी थिइन। 

रोजीको जन्म हुँदा भारत अंग्रेजहरूको गुलाम नै थियो। त्यतिबेला गाउँमा जातिवाद र छुवाछुत चरममा पुगिसकेको थियो। 

बुवाको निधन नहुँदासम्म घरमा खासै धेरै समस्या थिएन। जसोतसो घर चलिरहेको थियो। तर, बुवाको निधनपछि घरको सबै जिम्मेवारी उनको काँधमा आइलाग्यो। सुरुवाती दिनमा उनले घाँस काट्ने काम गरिन्। यसबाट भएको आम्दानीबाट घर चल्थ्यो। 
१९२०–२५ सम्म यताउति घुमेर खाने यो परिवारको जिम्मेवारी उनकै काकाले लिएपछि रोजीको जीवनमा केही परिवर्तन देखिन्छ। 

दलित मजदुर परिवारमा जन्मिए पनि रोजी सानैदेखि नृत्यमा पोख्त थिइन। त्यतिबेलाको समयमा नृत्य कि उच्च घरानाका महिला सिक्थे वा तवायफ।

नृत्यप्रति रोजीको झुकाव घरका अन्य सदस्यलाई मन परेको थिएन। तर पनि काकाले समर्थन गरे। काकाकै सहयोगले उनी आर्ट्स स्कुलमा भर्ना भइन्। स्कुलमा उनी स्थानीय ‘कक्काराशी फोक डान्स’ मा पारङ्गत भइन्। यो डान्सले शिव–पार्वती पृथ्वीमा आएको कहानीलाई बयान गर्छ। 

नृत्यप्रतिको लगाव देखेर एकपल्ट हजुरबुवाले पनि उनलाई रिहर्सल जानबाट रोक लगाउन खोजेका थिए। तर, उनी डेग हल्लिनन्। समाजले पनि उनको विरोध गर्यो। तर, उनी न परिवार, न समाज– कसैको आलोचनाले रोकिनन्। 

रोजीकी आमाले एलएमएस चर्चका एक पादरीसँग दोस्रो बिहे गरिन्। सौतिनी बुवाले दबाब दिएर रोजीलाई इसाई बनाए। यद्यपि उनको आमा हिन्दु थिइन। यसपछि राजम्मा (रोजी) रोजम्मा भइन्। 

आमाले दोस्रो विवाह गरेपछि उनी हजुरबुवासँगै बसिन्। त्यो यही समय थियो, जतिबेला ठूलो संख्यामा दलितलाई धर्मान्तरण गरेर अन्य धर्ममा प्रवेश गराइयो। 

यसैबीच रोजी एउटा नाट्य समूहमा समावेश भइन्। समाजमा उनको आलोचना बढेपछि हजुरबुवाले नै उनलाई घरबाट निकाले। उनी घरबिहिन भइन्। यसपछि रोजी नाट्य समूहकै सदस्यहरूसँग बस्न थालिन्। 

यसैबीच ‘फादर अफ मलयालम फिल्म’ बाट सम्मानित जेसी डेनियल मलयालमको पहिलो फिचर फिल्म ‘बिगताकुमारम’ बनाउने अभियानमा थिए। यो फिल्मका लागि हिरोइनको लामो खोजी भयो। कोही तयार भएनन्। 

उनले एउटा इन्डो–एग्लो अभिनेत्री मिस लाला फेला पारे। तर, जतिबेला उनी ती महिलालाई भेट्न गए, उनले १० हजार रुपैयाँ माग गरिन्। सन् १९२६ मा यो रकम निकै ठूलो थियो। तर, डेनियलसँग स्विकार गर्नुबाहेक अर्को उपाय थिएन। उनले सहर्ष स्विकार गरे। 

उनले ती महिलालाई ५ हजार रुपैयाँ एडभान्स र पहिलो श्रेणीको रेलको टिकट दिँदै मुम्बईबाट तिरुवनन्तपुरम बोलाएका थिए। तर, मिस लालाले अन्य सुविधा राम्रो नभएको भन्दै फिल्ममा अभिनय गर्न अस्विकार गरिन्। 

कुरा बिग्रिए पनि मिस लालाले एडभान्स फर्काउन अस्विकार गरिन्। डेनियल पहिलेदेखि नै कर्जामा डुबेका थिए। न उनीसँग हिरोइन थिइन, न पैसा। 

मिस लालाले फिल्म नखेल्ने घोषणा गरेपछि डेनियल आफ्नो साथी जोन्सनको सुझाव मान्दै एकदिन गाउँमा एउटा नाटक हेर्न पुगेका थिए। जोन्सनलाई लागेको थियो, डेनियल जुन विषयवस्तुको लागि हिरोइनको खोजीमा थिए, ती नायिका त्यही नाटकमा समावेश थिइन। जसको नाम थियो, रोजी। 

नभन्दै, डेनियललाई रोजीको अभिनय मन पर्यो। उनले तुरुन्त रोजीलाई आफ्नो फिल्मको नायिका स्विकार गरे। तर, उनलाई रोजीको लामो नाम, रोजम्मा मन परेन। उनी चाहन्थे, उनको हिरोइनको नाम मिस लाला जस्तो आधुनिक होस्। त्यसैले उनले रोजम्माको नाम परिवर्तन गर्दै पीके रोजी बनाइदिए। 

रोजी मलयालम फिल्मको पहिलो हिरोइन बनिन्। तर, पहिलो फिल्मबाटै उनको सपनाको सबै संसार टुट्यो। 

बिगताकुमारम फिल्ममा रोजीले उपल्लो दर्जाको नायर महिला सरोजिनीको अभिनय गरेकी थिइन। फिल्मको सुटिङ भइरहँदा सेटमा पनि उनीसँग राम्रो व्यवहार भएन। उनीमाथि छुवाछुतको व्यवहार भयो। रोजीलाई अन्य कलाकारसँग बसेर खाने र सेटमा सँगै बस्ने स्विकृति थिएन। उनी खाना घरमा लगेर एक्लै खान्थिन्। 

पत्रिकाले फिल्ममा दलित युवतीको अभिनय छ भन्ने समाचार प्रकासित गरेपछि धेरैले आपत्ति जनाए। दैनिक ५ रुपैयाँ पाउने सर्तमा रोजी सुटिङमा समावेश भइरहिन्। १० दिनमा बिगताकुमारमको सुटिङ सम्पन्न हुँदा रोजीलाई ५० रुपैयाँ प्राप्त भयो। 

विवादका बीच जेसी डेनियलको फिल्म बिगताकुमारमको स्क्रिनिङ २३ अक्टुबर १९२८ मा क्यापिटल सिनेमा हल, तिरुवनन्तपुरममा भयो। सुरुमा स्थानीयवासीले रोजीको फिल्म हेर्न अस्विकार गरे। रोजीलाई उपल्लो दर्जाको नायर महिलाको रोलमा प्रस्तुत गरेकोमा धेरैको असन्तुष्टी थियो। 

उपल्लो वर्गको अगाडि तल्लो वर्गको व्यक्तिलाई बस्ने स्विकृति पनि थिएन। यस्तो अवस्थामा दलित युवतीसँग बसेर फिल्म कसरी हेर्ने? यो विषयमा पनि बहस चल्यो। 

धेरै लफडा हुने डरले जेसी डेनियलले फिल्मको स्क्रिनिङ हुँदा रोजीलाई निम्तो गरेनन्। उनलाई स्क्रिनिङमा आउन रोक लगाइयो। 

रोजीले फिल्म प्रदर्शन नहुने डरले सुरुमा डेनियलको प्रस्ताव स्विकार गरिन्। तर, उनलाई पनि ठूलो पर्दामा आफ्नो अभिनय एक पल्ट हेर्ने चाहना थियो। त्यसैले उनी आफ्नो एउटा साथीसँग फिल्म हेर्न पुगिन्। तर, रोजीलाई देख्ने वित्तिकै मानिसहरू भड्किए।

प्रिमियरमा अतिथिको रुपमा निम्त्याइएका वकिल मल्लुर गोविन्दाले भने– यो केटी पनि हुन्छे भने हामी भित्र जाँदैनौं। 

निर्देशक डेनियल रोजीलाई सम्झाउन सफल भए। उनले पहिलो स्क्रिनिङमा रोजीलाई हल बाहिर बस्न उर्दी लगाए। तर, रोजी दोस्रो शो हेर्न पाउने लोभले सिनेमा हलको बाहिर कुरेर बसिन्। 

बिगताकुमारमको स्क्रिनिङमा भिड त देखियो तर सबै जना दलित पिके रोजीलाई पर्दामा देखेर खुसी थिएनन्। उनीहरू रिसले चुर भए। 

यही फिल्मको एउटा दृश्यलाई लिएर मानिसहरूको पारा ३६० डिग्रीमा पुग्यो। त्यो दृश्य थियो– उपल्लो दर्जाको हिरोले दलित रोजीको कपालमा सिउरेको फुललाई चुम्बन गरिरहेको। 

यो दृश्यबाट उद्देलित भएका मानिसहरूले हलको पर्दामै ढुँगा हान्न थाले। जसका कारण पर्दा पनि च्यातियो। फिल्म समाप्त भएपछि रिसले उत्तेजित भिड हल बाहिर बसिरहेकी रोजीलाई मार्न दौडियो। 

ज्यान जोगाउन रोजीले त्यहाँबाट भाग्नु पर्यो। ज्यान जोगाउन उनी नजिकैको थायकोड थिएटरमा प्रवेश गरिन्। तर, उत्तेजित भिडले उनलाई मार्नका लागि थिएटरको बाहिरै आगो लगायो। रोजीलाई बचाउन डेनियलले प्रहरीको सहयोग लिनुपर्यो। रोजी जसोतसो त्यहाँबाट भाग्न सफल भइन। तर, भिडले उनको घरमा पहिले ढुँगा फ्याक्यो, त्यसपछि आँगो लगायो।  

घरका अन्य सदस्य पनि ज्यान जोगाउन सफल भए। थिएटरबाट ज्यान जोगाउँदै भागेकी रोजीले गाउँ नजिकै रहेको एउटा पुलको मुनि लुकेर रात बिताएकी थिइन। 

पछि उनले त्यही पुलबाट जाँदै गरेको एउटा लरीलाई रोकेर ड्राइभरसँग अनुनयविनय गर्दै गाउँबाट बाहिरिन सफल भइन।

ट्रान्सपोर्ट कम्पनीका ड्राइभर केसावा पिल्लई पनि उपल्लो जातिका थिए। तर, उनले रोजीलाई तमिलनाडुको नागरकोइलसम्म पुर्याउन सहयोग गरे। पछि रोजीले उही ड्राइभरसँग बिहे गरिन् र राजम्मा बनेर गुमनामको जीवन बाँचिन्। 

दलित महिलासँग बिहे गरेको भन्दै केसावा पिल्लईलेको परिवारले पनि उनीसँग नाता तोड्यो। केसावा र रोजीबाट दुई छोरीको जन्म भयो। तर, यी दुवै आफ्नो आमाको संघर्षको बारेमा आजीवन अञ्जान रहे। 

यो फिल्मको निर्माण गरेका निर्देशक जेसी डेनियल पछि कंगाल भए। ७ नोभेम्बर १९२८ मा फिल्म रिलिज हुँदा दलित अभिनेत्रीका कारण धेरैले बहिस्कार गरे। जसका कारण फिल्म फल्प भयो। गाउँको अवस्था खराब भएपछि डेनियल सबै कुरा छोडेर डेन्टिस्ट बने। 

फिल्म रिलिज भएको ३२ वर्षपछि सिने पत्रकार चेङ्गालट गोपालकृष्णनले आफ्नो लेखमा फिल्मको बारेमा उल्लेख गरे। 

सन् १९७१ मा कुन्नुकुजीले एउटा लेखमार्फत यसको कहानी जनसमक्ष ल्याए। फिल्मको एक मात्र प्रिन्ट थियो, त्यो केही वर्षअगाडि जेसी डेनियलका छोराले जलाइदिएका थिए। 

फिल्मको पहिलो अभिनेत्री रोजीको एक मात्र फोटो वकिल मल्लुर गोविन्दबाट प्राप्त भएको थियो। जसले रोजीलाई उनकै फिल्म हेर्नबाट रोकेका थिए। 

८५ वर्षपछि सन् २०१३ मा मलयालम निर्देशक कमालले सेल्युल्याइड फिल्मको निर्माण गर्दै डेनियल र पीके रोजीको कहानी देखाएका थिए। यो फिल्म विनु अब्राहमको नोवेल नस्ट नायिकामा आधारित थियो। फिल्ममा लोकप्रिय अभिनेता पृथ्वीराजले जेसी डेनियल र चाँदनी गीताले रोजीको भुमिका निर्वाह गरेका थिए। 

पीके रोजीको जीवनमा आधारित भएर दुई वटा फिल्म ‘द लास्ट चाइल्ड’ र ‘दिस इज रोजीज स्टोरी’ निर्माण भएको छ। यतिबेला मलयालम सिनेमाका महिला कलाकारको समूहले आफ्नो सोसाइटीको नाम पीके रोजीबाट राखेका छन्। 

रोजीको पहिचान खुल्नुअघि नै उनी १९८८ मा धर्ती छोडेर माथि गइसकेकी थिइन। जेसी डेनियलको पनि गुमनाम जीवन जिउने क्रममा २७ अप्रिल, १९७५ मा निधन भएको थियो। 

      
 

प्रतिक्रिया