कुरा हो, सन् १९३९ को। पण्डित मदन मोहन मालवीयले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्यापनरत प्रोफेसरलाई चिट्ठी लेख्दै निम्तो गरे, ‘तपाई भारत आउनुहोस्।’
मनोविज्ञान विषयका यी प्रोफेसर अक्सफोर्डमा पूर्वीय दर्शनको लेक्चर दिने गर्थे। पण्डित मालवीयको त्यो प्रस्तावलाई ती प्रोफेसरले खुसी हुँदै स्विकार गरे। र, अक्सफोर्डको आकर्षक जागीर छोडेर भारत फर्किए।
यी प्रोफेसर थिए, तमिलनाडुका एक स्थानीय जमिन्दार सर्वपल्ली वीरस्वामीका छोरा डा. सर्वपल्ली राधाकृष्णन। जो पछि भारतको राष्ट्रपति बने।
भारत फर्किएपछि राधाकृष्णनलाई पण्डित मालवीयले बनारस विश्वविद्यालय (बीएचयू) को उपकूलपति नियुक्त गरे। २० वर्षको उमेरदेखि नै मनोविज्ञान पढाउँदै आइरहेका राधाकृष्णनको जीवनमा अक्सफोर्ड छोड्ने निर्णय सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ सावित भयो।
यसपछि उनी प्रोफेसर हुँदै राजनीति र कुटनीतिमा प्रवेश गरे। राधाकृष्णन स्वतन्त्र भारतको पहिलो उपराष्ट्रपति तथा भारतको दोस्रो राष्ट्रपति बने।
आज उनकै जन्मदिन हो। उनको जन्मदिनलाई भारतमा ‘शिक्षक दिवस’ को रूपमा मनाउने गरिन्छ।
बीएचयूको उपकूलपति नियुक्त भएपछि राधाकृष्णन पहिलो पल्ट जवाहरलाल नेहरुको सम्पर्कमा पुगेका थिए। त्यसअघि उनको दोहोरो चिनजान थिएन। यही हुँदा उनले भारतको स्वतन्त्रता संग्रामलाई नजिकबाट नियाल्ने मौका पाए।
उनले कहिल्यै कांग्रेसको सदस्यता ग्रहण गरेनन्। न स्वतन्त्रता संग्राममा प्रत्यक्ष संलग्न भए। ६ डिसेम्बर, १९४६ मा संविधान सभा गठन हुँदा उनलाई सदस्य बनाइयो।
१५ अगस्ट, १९४७ मा भारत स्वतन्त्र भयो। यो त्यतिबेलाको समय थियो, जतिबेला दोस्रो विश्व युद्ध समाप्त भएर विश्व दुई ध्रुवमा विभाजन भइसकेको थियो। एकातिर अमेरिकाले नेतृत्व गरेको पूँजीवादी पश्चिमा देशहरू त अर्को तर्फ विशाल सोभियत संघको नेतृत्वमा कम्युनिस्ट र उसका साथीहरू।
तर, १९४९ मा प्रधानमन्त्री जवाहरलाल नेहरुले न अमेरिका, न सोभियत संघ, कुनै पनि गुटमा नबस्ने निर्णयका साथ गुटनिरपेक्षताको सिद्धान्तलाई अगाडि सारे। नेहरुको मान्यता थियो, दुई बलिष्ठ देशहरूको लडाईंमा नयाँ देशहरूले अलग्यै बसेको राम्रो।
यही अवस्थामा भारतमा संविधान निर्माण अन्तिम चरणमा थियो, नेहरुले राधाकृष्णनलाई संविधान सभाबाट राजीनामा गर्न लगाए। नेहरु चाहन्थे, राधाकृष्णन सोभियत संघका लागि भारतीय दूत भएर जाउन। आखिर भयो पनि त्यस्तै।
१२ जुलाई, १९४९ मा राधाकृष्णन सोभियत संघको राजदूत नियुक्त भए। उनलाई सोभियत संघको राजदूत नियुक्त गर्दा धेरैको मत थियो, कम्युनिस्ट तानाशाही भएको देशमा मनोविज्ञानका शिक्षकको के काम? उनी असफल भएर फर्किन्छन् भन्ने सबैलाई लागेको थियो।
सुरुका दिन भयो पनि त्यस्तै। मस्को पुगेर राधाकृष्णनलाई सोभियत नेता जोसेफ स्टालिनसँग औपचारिक भेटघाट गर्नुपर्ने थियो। तर, ६ महिनासम्म स्टालिनले समय नै दिएनन्। १४ जनवरी १९५० मा स्टालिनले भेटघाटका लागि राधाकृष्णनलाई बोलाए। समय थियो, रातिको ९ बजे। रोचक कुरा, स्टालिन विदेशी कुटनीतिज्ञसँग राती १२ बजेपछि मात्र भेट्ने गर्थे।
के सच्चिदानन्द मूर्ति तथा अशोक बोहराको किताब ‘राधाकृष्णन हिज लाइफ एण्ड आइडियाज’ को १२ औं च्याप्टरमा स्टालिनसँगको भेटघाटलाई रोचक तरिकाले उल्लेख गरिएको छ। किताबको पेज नम्बर १२१ मा भनिएको छ, ‘अभिवादनपछि राधाकृष्णनले स्टालिनलाई पहिलो प्रश्न गरेका थिए– मिस्टर चेयरमेन सर, तपाईसँग भेटघाट गर्न यति कठिन किन छ?’
राधाकृष्णनको प्रश्नको जवाफमा स्टालिनले भने, ‘साच्चै मलाई भेट्न यति कठिन छ र? लौं, हामीहरू भेटिरहेकै त छौं नि।’
यो एउटै प्रश्नले वातावरणलाई यति सहज तुल्यायो कि, ५ मिनेटका लागि समय प्राप्त गरेका राधाकृष्णनले ३ घण्टा स्टालिनसँग कुराकानी गरे।
कुराकानीकै बीचमा राधाकृष्णनले स्टालिनलाई मार्शल भनेर सम्बोधन गर्न थालिसकेका थिए भने स्टालिनले राधाकृष्णनलाई प्रोफेसर भनेर। राधाकृष्णनसँग नजिक भएकाहरूका अनुसार उनले कुराकानी चलिरहँदा एकपल्ट स्टालिनको कपाल पनि सुमसुमाउने अवसर प्राप्त गरे। तर, यो कुरा किताबमा उल्लेख छैन।
सच्चिदानन्दको किताबमा राधाकृष्णनले स्टालिनलाई सम्राट अशोकको कथा पनि सुनाउन भ्याएको उल्लेख छ। उनले स्टालिनलाई कसरी कर्लिङको नरसंहारपछि हिंसालाई त्यागेर सम्राट अशोक बौद्धको शरणमा गए भन्ने पाढ सुनाएका थिए।
उनले स्टालिनलाई तपाईले पनि बल प्रयोग गरेर सत्तामा पुग्नु भयो, के थाहा तपाईसँग पनि यस्तै संयोग दोहरिन्छ कि भनेर आफ्नो कुरा राखेको बताइएको छ।
राधाकृष्णनको कुरा सुनेपछि स्टालिनले आफ्नो दोभाषेलाई यो मान्छे राजनीतिज्ञ होइन रहेछ, यो मानवताको भक्त हो भनेका थिए।
उनीसँगै जोडिएको अर्को कथा पनि छ। डा. सर्वपल्ली राधाकृष्णन १९५७ मा उपराष्ट्रपति थिए। त्यतिबेला उनको भ्रमण चीनमा थियो। उनको भेट चीनका महान नेता माओसँग भयो। माओले राधाकृष्णनलाई आफ्नै घरमा निम्त्याएका थिए।
माओको निम्तो पाएर उनको घर चुङ नान हाई पुग्दा राधाकृष्णनसँग भेटघाट गर्न माओ आतुर भएर बसेका थिए। राधाकृष्णनलाई के लागेछ कुन्नी, उनले माओलाई पहिलो भेटमै उनको गाला थपथपाउँदै भने, ‘अध्यक्ष महोदय, दिक्क मान्नुपर्दैन। मैले स्टालिन र पोपसँग पनि यस्तै भाईचारा देखाइसकेको छुँ।’
सर्वपल्ली राधाकृष्णन भारतका एक्ला यस्ता राष्ट्रपति हुन्, जो पदमा हुँदा छिमेकी देशबाट दुई वटा युद्ध भोगेका थिए। पण्डित जवाहरलाल नेहरु र लालबहादुर शास्त्री जस्ता ठूला कदका प्रधानमन्त्रीको मृत्यु पनि आफ्नै आँखाले देखे।
सन् १९२६ मा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘छैटौं इन्टरनेशनल कांग्रेस अफ फिलोसफी’ को आयोजना भएको थियो, जसमा सर्वपल्लीले पनि भाग लिएका थिए। त्यहाँ उनले आधुनिक सभ्यतामा अध्यात्मिकताको घट्दो प्रभावको विषयमा बोलेका थिए। उनको विषयले अमेरिकीहरूको मन छुयो। उनको पनि १८९३ मा स्वामी विवेकानन्दको प्रवचन जस्तै चर्चा भयो।
‘द वाइट अम्ब्रेलाः इन्डियन पोलिटिकल थाउट फ्रम मनु टु गान्धी’ समेत भारतको राजनीतिक इतिहासमाथि थुप्रै किताब लेखिसकेका अमेरिक लेखक डोनाल्ड मेकेन्जी ब्राउनले आफ्नो किताब ‘नेशनलिस्ट मुभमेन्टः इन्डियन पोलिटिकल थाउट फ्रम रान्दे टु भावे’ मा लेखेका छन्, ‘राधाकृष्णनले सधै पश्चिमी आलोचनाको विरूद्ध हिन्दु संस्कृतिको रक्षाको कुरा उठाए। उनले भारतवासीको बौद्धिक परम्परालाई आफ्नो गौरवको रूपमा प्रस्तुत गरे।’
सन् १९२६ मै डा. राधाकृष्णनको चर्चित किताब ‘द हिन्दु भ्यू अफ लाइफ’ लाई अक्सफोर्ड विश्वविद्यालयले प्रकासित गरिसकेको थियो। उनको दोस्रो किताब ‘द आइडियोलोजी भ्यू अफ लाइफ’ पनि १९२९ मा प्रकासित भयो। यी दुवै किताबमार्फत राधाकृष्णनले पश्चिमी जगतलाई हिन्दु जीवन, धर्म र दर्शनको गहराईमा लैजाने प्रयास गरेका छन्।
यसअघि पश्चिमा जगत हिन्दु जीवनशैलीलाई रहस्यमी सम्झिन्थ्यो।
वास्तवमा राधाकृष्णनलाई २० वर्षको उमेरमै १९०९ मा मद्रास प्रेसिडेन्सी कलेजले आफ्नो फिलोसफी विभागमा जागिर दिइसकेको थियो।
सन् १९४४ मा सप्रू कमिटी निर्माण हुँदा उनलाई पनि समावेश गरिएको थियो। यो कमिटीले पाकिस्तानको रूपमा छुट्टै मुस्लिम देश बनाउने मुस्लिम लिगको प्रस्तावलाई खारेज गरेको थियो। कमिटीले यस्तो संविधान सभाको माग गरेको थियो, जसमा हिन्दु र मुसलमानको संख्या बराबर होस्।
राधाकृष्णनलाई उनको पिता कुनै एउटा मन्दिरको पुजारी बनाउन चाहन्थे। तर, उनको क्षमताका कारण मद्रास क्रिश्चियन कलेजले उनलाई स्कलरसिप प्रदान गर्यो। उनी १९०६ मा बीएको परीक्षामा पहिलो भए। राधाकृष्णन सुरुका दिन फिजिक्सको अध्ययन गर्न चाहन्थे। तर, संयोगले फिलोसफीको प्रोफेसर बने। यसको पछाडि उनको पारिवारिक हैसियत थियो। उनको परिवार उनलाई धेरै पैसा खर्च गरेर पढाउन सक्ने अवस्थामा थिएन। उनीसँग त्यतिबेला किताब किन्ने पैसा पनि थिएन। उनको काकाको छोराले त्यही कलेजबाट एमए गरेका थिए, जुन कलेजबाट उनले फिलोसफीको अध्ययन गरे। दाजुले नै उनलाई आफ्नो पुरानो किताब उपलब्ध गराएका थिए।
राधाकृष्णन आफ्नो सामान्य जीवनयापनका कारण विधार्थीमाझ लोकप्रिय थिए। उनीसँग ज्ञानको अपार भण्डार थियो। उनी राज्यसभामा रिसाएका सांसदहरूलाई श्लोक सुनाउँदै तनावमा नरहन सुझाव दिन्थे।
–दैनिक भास्करका लागि नीरज सिहको रिपाेर्ट।
प्रतिक्रिया