बद्री पाण्डे, नेता, नेपाली कांग्रेस
लोकतन्त्रमा संगठनका सुदृढीकरणका लागि ‘चार ब’को सूत्र मैले अघि सार्दै आएको छु । पहिलो हो, विचार । कुनै पनि संगठनमा वैचारिक स्पष्टता र एकरुपता हुनुपर्छ । दोश्रो हो, विधान । लोकतान्त्रिक पार्टीहरुमा विधानको अक्षरसः पालना हुनुपर्छ । तेश्रो ‘ब’ हो, बैठक, जुन नियमित रुमिा भइरहनुपर्छ । वैठकभित्र महासमितिदेखि महाधिवेशनसम्म पर्छ । चौथो ‘ब’ हो, ब्यवस्थापन । यसका तिनवटा पाटा छन्, कार्यकर्ता व्यवस्थापन, कार्यालय व्यवस्थापन र आर्थिक व्यवस्थापन । अर्थ व्यवस्थापन आवश्यक छ, तर यसको संचालन र व्यवस्थापन पारदर्शी हुनुपर्छ ।
नेपाल विद्यार्थी संघमा क्रियाशील हुँदादेखि नै मैले भातृ संगठन र नेपाली कांग्रेस पार्टीलाई यसढंगले व्यवस्थापन गर्न खोजेको हुँ । यसैका लागि मैले आधा जीवन व्यतित गरिसकेको छु । तर विडम्बना हामीले विचार, विधान, वैठक र व्यवस्थापन पक्षलाई यस ढंगले चुस्त दुरुस्त पारेर पूर्ण लोकतान्त्रिक ढंगले पार्टीको विकास गर्न सकिरहेका छैनौं । अतः नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन भनेको यी सवै पक्षलाई समीक्षा र सिंहावलोकन गर्ने महत्वपूर्ण अवसर हो । महाधिवेशनले नेतृत्व चयन मात्र गर्दैैन, पार्टीको नीति, विचार, परिचालन र पद्धती शैलीमा पुनरावलोकन गर्नेछ ।
महाधिवेशनसँग जोडिएका केही कमी कमजोरीहरु सतहमा देखिन्छन् । मुख्य कुरा, विधान अनुसार हामी चल्न सकिरहेका छैनौं । हाम्रो विधानले महाधिवेशन हुनु ६ महिनाअघि नै शक्रिय सदस्यता वितरण र नविकरण प्रकृया रोक्नुपर्छ भन्छ । क्रियाशील सदस्यता नविकरण र वितरणको काम नियमित रुपमा संचालन भइरहनुपर्छ भन्ने प्रावधान पनि विधानमै छ । तर हामीले विधानका यी दुबै प्रावधानको पालना गरेनौं । सदस्यता वितरण र नविकरण निरन्तर हुन सकेन नै, अधिवेशनको उदघाटन भएर निर्वाचन हुनु अघिल्लो दिनसम्म पनि केन्द्रबाट सदस्यता संख्या थप्ने काम भयो । आफु कहाँ जित्दैछु र कहाँ हार्दैछु भन्ने हिसाब किताब गरेर सदस्यता वितरण गरियो ।
समस्याको जड नै यही हो । जिल्लादेखि केन्द्रसम्म ‘म हुनुपर्छ, मैले जित्नुपर्छ’ भन्ने आधारमा विधानमा बलमिच्याइका कामहरु भए । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता संख्या अहिले ९ लाख पुगेको छ । तर, क्रियाशील सदस्यहरुको गुणस्तरीयतामाथि प्रश्नचिन्ह उठाउन सकिन्छ । क्रियाशील सदस्यहरुको राजनीतिक सुझबुझ, प्रतिबद्धता, प्रशिक्षण आदिको कुनै आँकलन, मापन र मुल्याँकन नगरीकनै सदस्यता वितरण गरियो ।
पिरामिड महाधिवेशन पद्धती
हुन त, नेपाली कांग्रेसको महाधिवेशन पद्धती बडो बलियो छ । क्रियाशील सदस्यता वितरण प्रकृया टुंग्याइसकेपछि ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन भएको छ । ७ सय ५३ वटै पालिकाह र ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्र र ७७ जिल्लामै अधिवेशन भएको छ । हाम्रो संगठन पिरामिड शैलीमा दरिलो गरी उभिएको छ । तल हाम्रा मतदाता छन्, त्योभन्दा माथि क्रियाशील सदस्य छन्, त्यसमाथि हजारौं टोल कार्य समितिहरु छन् । टोलभन्दा माथि वडा कार्यसमितिहरु छन् । अनि पालिका, ७७ जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्र हुँदै केन्द्रसम्म एउटा यस्तो आकर्षक पिरामिड निर्माण हुन्छ, जसले अन्य पार्टीका अधिवेशनसँग हाम्रो पार्टीको अधिवेशनको तुलनै हुन सक्दैन ।
मंसिर १० बाट एमालेको महाधिवेशन हुँदैछ । तर, एमालेले आफ्ना सबै जिल्लाहरुमा अधिवेशन गरेकै छैन । उसको खण्डित खालको अधिवेशन पद्धती छ । नेपाली कांग्रेससँग व्यवस्थित र पिरामिड शैलीको संगठन खडा गर्ने आकर्षक पद्धती छ । क्रियाशील सदस्यता वितरण प्रकृया नै समयमा टुंगीएकाले समस्या भएको हो, हैन भने अहिले तलैदेखि लाखौं लाख कार्यकर्ता परिचालित भएका छन् । ९ लाख क्रियाशील सदस्यहरु हरेक वडा अधिवेशनमा सहभागि भएका छन् । यो हाम्रो पार्टीको लोकतान्त्रिक शौन्दर्य र शक्ति हो ।
अधिवेशनका क्रममा देखिएको व्यापक प्रतिश्पर्धा कतै तिक्ततामा परिणत नहोस्, यसमा हामी सचेत हुनुपर्छ । पुरानो पुस्ताले ‘मलाई अन्तिम पटक मौका देउ’ भनिरहेको छ । नयाँ पुस्ता चाहिँ ‘कति पुरानो पुस्ताले मात्र ओगटीरहने, हामीलाई पनि मौका चाहियो’ भनिरहेको छ । हाम्रो पार्टीमा ७० वर्षका साथीहरु पनि छन्, २० वर्ष नकटेका नयाँ साथीहरु पनि आइसके । फरक फरक पुस्ताहरुबिचमै पनि निकै ठूलो प्रतिश्पर्धा भइरहेको छ । लोकतान्त्रि संस्कर, पद्धती र परिपाटी बमोजिम प्रतिश्पर्धा भइदिएको भए त राम्रै हुन्थ्यो, तर त्यसो नभइरहेकाले कतै यो प्रतिश्पर्धाका क्रममा उत्पन्न तिक्तताले आगामी दिनमा हुने राष्ट्रिय र स्थानिय चुनावमा प्रभाव पार्ने हो कि भन्ने चिन्ता छ ।
नीति र कार्यक्रमको पक्ष
चौधौं महाधिवेशनको कमजोर पक्ष भनेको यसपाली हामीले नीति र कार्यक्रम प्रस्तुत नगर्ने भयौं । जिल्ला अधिवेशनहरुमा पनि अधिकांश ठाउँमा बन्दसत्रहरु चलेनन् । धेरै ठाउँमा राजनीतिक र सांगठनिक दस्तावेजहरुको प्रस्तुती र छलफल हुन सकेन । अधिवेशनको उदघाटन र निर्वाचन गराउनमै केन्द्रको पनि जोड रह्यो । हामी नेतृत्व चयनको बाध्यता र बाटोमा अग्रसर भयौं, नीतिगत छलफललाई महत्व नदिएकोजस्तो देखियो । पार्टी त नीति, कार्यक्रम र विचारले चल्नुपर्ने हो, यसतर्फ हामीबाट कमजोरी भयो ।
यसलाई सच्याउन पार्टी केन्द्रिय समितिको बैठकले अलग्गै ‘नीतिगत महाधिवेशन’ गर्ने सोच अघि सारेको छ । नीतिगत महाधिवेशन बोलाइएन भने पनि महासमिति वैठक बोलाएर नीतिगत काम गर्न सकिन्छ । यसैगरी प्रदेश सम्मेलन, जिल्ला सम्मेलन र वडा सम्मेलनमा पनि नीतिगत छलफल हुनसक्छ । आगामी दिनमा हामी त्यो बाटोमा जानैपर्छ । दोश्रो, प्रतिश्पर्धाका क्रममा उत्पन्न आपसी मनमुटाव र तिक्ततालाई सामान्यीकरण गर्दै तलदेखि माथिसम्म पार्टीमा एकता र विश्वासको बातावरण निर्माण गर्नुपर्छ ।
महाधिवेशनपछि ‘रचनात्मक विद्रोह’
राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको भूमिका अब झन प्रखर हुनुपर्ने अवस्था छ । बिगतमा तिन तहको निर्वाचनपछि बाम गठबन्धन दुइ तिहाइ बहुमतको सरकार बन्यो । त्यतिबेला ‘कम्युनिष्टको सरकारले सकेसम्म राम्रै काम गरोस्’ भन्ने हाम्रो सदासयता थियो । कम्युनिष्टले राम्रो काम गरोस्, यसबाट नेपाली कांग्रेसलाई पनि नैतिक दबाब परोस् र कम्युनिष्टले भन्दा राम्रो काम कसरी गर्ने भनेर कांग्रेसले पनि तयारी गरोस् भन्ने हाम्रो अपेक्षा थियो । कम्युनिष्टले गरेको भन्दा राम्रो कसरी गर्ने भनेर कांग्रेसले सोच्ने, कांग्रेसलेभन्दा राम्रो काम गरेर कसरी उछिन्ने भनेर कम्युनिष्टले सोच्ने । अहिले जसरी ‘आजभन्दा भोली नराम्रो’ हुने खालको सिलसिला चलीरहेको छ, यसलाई तोडेर ‘आजभन्दा भोली राम्रो’को सुचक्रमा प्रवेश गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा थियो ।
कम्युनिष्टहरुको दुई तिहाइ बहुमतको सरकार यस दिशातर्फ अग्रसर भएन । उल्टै राजनीतिक रुपमा बेइमानी, आर्थिक रुपमा भ्रष्टाचार र संवैधानिक रुपमा अनेक ज्यादतीहरु भए । भ्रष्टाचारका ठूला काण्डहरु भए । विपक्षीलाई त निषेध गरियो नै, आफ्नै पार्टीभित्र पनि निषेधको राजनीतिलाई बढावा दिइयो र नेकपा नै विभिन्न टुक्रामा विभाजित भयो । यो कांग्रेस खुसी हुनुपर्ने परिदृश्य चाहिँ हैन । नेकपा विभाजनबाट कांग्रेस झन् सचेत र गम्भीर हुनुपर्ने अवस्था छ ।
‘नेकपा’को हातबाट दुर्घटनातर्फ जान लागेको लोकतान्त्रिक प्रणालीलाई उद्धार गर्ने हिसाबले अहिले सरकारको नेतृत्व नेपाली कांग्रेसको हातमा आएको छ । सरकार संचालन हामीले अपेक्षा गरेजस्तो प्रभावकारी ढंगले हुन सकेको छैन । महाधिवेशनका कारण प्रधानमन्त्रीले पार्टीकै काममा बढी केन्द्रित हुनुपरेको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि पार्टी पनि नौलो बिहानीमा एउटा गतिका साथ अगाडि बढनुपर्छ । पहिलो दिनबाटै विधानको अक्षरसः पालना हुनुपर्छ । नेतृत्वले कुनै गल्ती गरेको खण्डमा हामीले पनि पार्टीभित्रै ‘रचनात्मक विद्रोह’ गर्नुपर्छ । रचनात्मक विद्रोहले नै पार्टीलाई सही दिशामा अग्रसर गराउँछ । अब विधान र पद्धती उल्लंद्ध हुँदा ‘भइहाल्यो नी, छाडिदिउँ’ भन्ने शैली त्याग्नैपर्छ । नेता होस् कि कार्यकर्ता, विधान पालनामा कडिकडाउ हुनैपर्छ ।
यसैगरी सरकार पनि उत्तिकै प्रभावकारी ढंगले संचालन हुनुपर्छ । कम्युनिष्ट नेतृत्वको सरकारले हिजो अढाइ वर्षको कार्यकालमा जनतालाई निरास बनाएको छ । यो प्रणालीप्रति नै जनतामा वितृष्णा जगाएको छ । यो निरासा र पद्धतीप्रतिको वितृष्णलाई विश्वासमा बदल्न कांग्रेस नेतृत्वको गठबन्धन सरकारले जनताको पक्षमा बढीभन्दा बढी काम गर्नैपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा बनेको सरकार वास्तवमै जनताका समस्याप्रति चिन्तीत छ, यसले सुशासन दिनसक्छ, भ्रष्टाचार न्यूनीकरण गर्नसक्छभन्ने व्यवहारमै साबित गर्नुपर्छ । पार्टी र सरकारलाई संगसंगै प्रभावकारी ढंगले लैजान सकियो भने आगामी तिन तहको चुनावमा नेपाली कांग्रेसले विजय प्राप्त गर्नसक्छ । आउँदो पाँच वर्षका लागि पनि सरकारमा गएर पार्टीले मुलुकलाई समृद्धितर्फ अघि बढाउनसक्छ ।
मुलुकको अवस्था सुधार्ने मुख्य चुरो भनेकै पार्टीको सुधार हो । पार्टी सुध्रीयो भने राजनीति सुध्रदोरहेछ । राजनीति सुध्रीयो भने देश सुध्रन्छ । पार्टी नै यस्तो आधार हो, जुन ठिक भयो भने संसद ठिक हुन्छ । पार्टी ठिक भयो भने मात्रै सामाजिक, आर्थिक र राजनीतिक क्रियाकलाप ठिक हुन्छन् । दल सुधारेर राजनीति सुधार्ने, राजनीति सुधारेर देश सुधार्ने हाम्रो मिसन हुनुपर्छ । र, सबैभन्दा मुख्य कुरा, दल सुधार्न हामी आफै सुध्रनुपर्छ, नेतृत्व सुध्रनुपर्छ ।
लोकतान्त्रिक पद्धती सफल भएका देशहरुको उदाहरण हेर्ने हो भने, ति देशका दलहरुमा नेतृत्व परिवर्तन फटाफट भएको पाउँछौं । हामीकहाँ समस्या के भयो भने पुराना र नयाँ दुबै एकै ठाउँमा, एउटै प्रतिश्पर्धामा छन् । यसले एकखालको कोलाहल सिर्जना गरेको छ । भूमिका र पद कम, तर आकांक्षीहरु धेरै हुन जाँदा पद हत्याउन साम, दाम, दण्ड, भेद सबै अवलम्बन गर्ने प्रवृत्ति बढेकाले राजनीति विकृत हुँदोरहेछ ।
र, नयाँ नेतृत्वको प्रश्न
गत १२ औं महाधिवेशनमा म अंचलबाट केन्द्रिय सदस्य लडेको थिएँ । १३ औं अधिवेशनताक जब अंचलहरु प्रदेश भए, म प्रदेशबाट त्यतिबेला लडीन । म एकजना नै हुँ, त्यसबेला अंचलबाट जितेकामध्येबाट प्रदेशबाट नलडी खुला प्रतिश्पर्धाबाट केन्द्रिय सदस्य भएको । यसपाली मैले पिछडीएको क्षेत्र (नौ जिल्ला समेटीएको)बाट सह–महामन्त्री पदमा उम्मेदवारी दिने सोच बनाएको छु । विधान बनाउँदा नै हामीले पिछडीएको क्षेत्रबाट सह–महामन्त्रीको क्लस्टर राखेको हो । पार्टीमा धेरै साथीहरुलाई म यसमै उठछु भन्ने जानकारी पनि छ ।
सभापति पदमा अहिले धेरै साथीहरुको चर्चा भइरहेको छ । यसपाली जसरी तल्लो तहदेखि नै नयाँ पुस्ताका साथीहरु चुनीएर आएका छन्, यसले केन्द्रको नेतृत्वलाई पनि नयाँ पुस्तामा हस्तान्तरण हुन बाध्य पार्र्दैछ । नेतृत्व परिवर्तनको पक्षमा शसक्त माहौल बन्दैछ । अहिले सभापति शेरबहादुर देउवाको विकल्प खोज्न जुन इतर समूह खडा भएको छ, यसमा अघिल्लो पुस्ताबाट सभापतिमा रामचन्द्र पौडेलले मात्र दाबी गर्नु भएको छ ।
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको चाहनासँगै एक पटक रामचन्द्र पौडेलको दाबीलाई न्याय गर्ने हो कि भन्ने विचार पनि उठीरहेको छ । उहाँ अहिलेसम्म एक पटक पनि सभापति र प्रधानमन्त्री दुबै हुनुभएको छैन । उहाँ आफैले ‘म अहिलेसम्म फस्र्ट म्यान भएको छैन’ भन्नुहुन्छ । उहाँको यो दाबीलाई ठाडै अस्वीकार या निषेध गर्ने अवस्था छैन । साथीहरु स्वभाविक रुपमा नयाँ पुस्ताको नेतृत्वको पक्षमा छन् । रामचन्द्र पौडेल चाहिँ ‘म उत्तिकै शक्रिय र जाँगरीलो छु, मलाई एक पटक फस्र्ट म्यान बनाएर त हेर’ भनिरहनुभएको छ । सभापति देउवाको विकल्प खोज्न चाहने चार जना नेताहरु मिलिदिने हो भने पक्कै यो पक्ष बलियो हुनसक्छ ।
नेता रामचन्द्र पौडेलले लचकता देखाउनु भएको छ । उहाँले सभापतिका बाँकी तिन आकांक्षी आपसमा मिलेर आएको खण्डमा आफु पछि हटने बताउनुभएको छ । तर ‘तपाइहरु कोही पनि नमिल्ने हो भने मलाई समर्थन गर्नुस्, म तिन चरणको चुनाव सम्पन्न गरेपछि तपाइहरुलाई छाडिदिन्छु’सम्म उहाँले भनिसक्नुभएको छ । यो लचकताले एक खालको परिस्थिति निर्माण गरेको छ । तर, सबै नेतामा आफै सभापति हुनुपर्छ भन्ने आकांक्षा अति प्रवल छ ।
हरेकसँग आफैले जित्नसक्ने तर्क छ । चारै जनाले ‘म जित्छु’ भन्ने जिकिर गरिरहँदा, जित्ने आधारबारे एकले बाँकी तिनलाई सहमत गराउन त सक्नुपर्छ नी । हामीले के सल्लाह दिएका छौ भने जित्ने दावी गरेर मात्र भएन, त्यसको आधार प्रस्तुत गरेर अन्य आकांक्षी या दाबेदारलाई आफ्नो पक्षमा सहमत गराउनुस् । मैले त व्यक्तिगत रुपमा रामचन्द्र पौडेलदेखि अन्य सबै नेतालाई यही सल्लाह दिएको छु ।
चार आकांक्षीबिच एकजनाको नाममा सहमति भयो र यो पक्ष एकढिक्का भयो भने सभापति देउवाजीको पक्षमा कुनै माहौल नै छैन । ‘इतर समूह’ एक भयो भने उहाँको संभावना म देख्दिन । तर, इतर समूह एक भएन भने देउवाजीले नै जित्नुहुनेछ, किनकी पार्टीमा जसले जित्ने संभावना देखिन्छ, माहौल त्यतै उल्टीन्छ । किनकी, भोली राजनीतिक सुरक्षा त सबैलाई चाहिन्छ । हो, यस्तो नहोस् र नेतृत्व नयाँ पुस्तामै जाओस् भनेर हामीले चार नेतालाई मिल्नका लागि दबाब दिइरहेकै छौं । अब जिल्ला र क्षत्रिय सभापति चुनिएर आउनेहरुबाट पनि उहाँहरुमाथि दबाब पर्नेछ ।
चार नेतामध्येबाट एकजनाको नाम अगाडि सार्नैपर्छ । बरु, चार नेतामध्ये कोही प्रधानमन्त्री, कोही सभापति, कोही राष्ट्रपति, कोही अहिले सभापति हुने, कोही एकवर्षपछि सभापति हुनेगरी कार्यबाहक सभापति हुने आदि विभिन्न उपाय अपनाएर चार नेताका महत्वाकांक्षाको व्यवस्थापन गर्न नसकिने हैन । यी विभिन्न विकल्पहरु खोजेर भए पनि उहाँहरुले एकजनाको नाममा सहमति गर्दै समाधान दिनुपर्छ भन्ने उहाँहरुमाथि हाम्रो दबाब जारी छ ।
(नेपाली कांग्रेसका केन्द्रिय सदस्य पाण्डे आसन्न महाधिवेशनमा सह–महामन्त्रीका दाबेदार हुन्)
प्रतिक्रिया