म्युनिख ओलम्पिक घटनाको ५० वर्षपछि जर्मनीले माफी माग्यो

५० वर्षअघि आजकै दिन आतंकवादीले ओलम्पिक खेलग्राममा हमला गर्दै ११ इजरायली खेलाडीको ज्यान लिएका थिए। म्युनिखमा यही ठाउँमा एउटा कार्यक्रमको आयोजना भयो, जहाँ बन्धक बनाइएका खेलाडीलाई छुटाउने अभियानका क्रममा उनीहरूको निधन भयो। 

बवेरिया राज्यको राजधानीका सबै सरकारी कार्यालयमा लागेको झण्डा सोमबार आधी झुकेका थिए। इजरायली राष्ट्रपति इसाक हरजोग र जर्मनी राष्ट्रपति फ्राङ्क वाल्टर स्टाइनमायरले ज्यान गुमाएका खेलाडीलाई श्रद्धाञ्जली दिए। 

यही मौकामा १९७२ को म्युनिख ओलम्पिकमा आतंकवादी हमलामा ज्यान गुमाएका परिवारका सदस्यसँग जर्मनीले ‘माफी’ माग्यो। जर्मनीले यो पनि स्विकार गर्यो कि, उसैको असफलताका कारण ११ खेलाडीले ज्यान गुमाए। जर्मनीको तर्फबाट राष्ट्रपति फ्राङ्क वाल्टरले घटनाको ५० वर्षपछि पिडित परिवारसँग माफी मागेका हुन्। 

राष्ट्रपति वाल्टरले भने, ‘जे घटना भयो, त्यसको भरपाई हामी गर्न सक्दैनौं, न त्यो आलोचनाको, जुन बर्षोदेखि तपाईहरूले अत्याधिक संवेदनशीलता, लापरवाही र अन्यायका कारण खेप्नु पर्यो। म यी सबै कुराप्रति लज्जित छु। यो देशको राष्ट्र प्रमुखको नाताले र जर्मनी गणराज्यको नाममा म म्युनिख ओलम्पिक खेलमा इजरायली एथलिटको सुरक्षामा भएको कमजोरीका लागि माफी माग्छु।’

श्रद्धाञ्जली सभामा उपस्थित इजरायलका राष्ट्रपति इसाक हरजोगले वाल्टरको प्रसंसा गर्दै उनको भाषणलाई ‘ऐतिहासिक तथा मनछुने’ बताए। उनले भने, ‘आधा सताब्दीपछि यो नैतिकता तथा मृतक र उनीहरूको परिवारप्रति न्याय दिने पथमा उठाएको कदमलाई दर्साउँछ।’ 

यो अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का प्रमुख थोमस बाख र अन्य अधिकारी उपस्थित थिए। पिडित परिवारले पहिले यो कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका थिए। तर, अतिरिक्त क्षतिपूर्तिका लागि सहमति बनेपछि उनीहरू कार्यक्रममा सहभागी भए। आइओसीले टोकियो ओलम्पिकमा पहिलो पल्ट म्युनिख ओलम्पिकमा निधन भएका खेलाडीप्रति श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो। 

munic olympics1

जर्मनीले स्विकार्यो असफलता
 

जर्मनी सरकारले पहिलो पल्ट आफ्नो असफलता स्विकार गरेको छ। उसले आफ्नै असफलताका कारण म्युनिख ओलम्पिकमा ११ इजरायली खेलाडीको ज्यान गएको स्विकार गर्यो। जर्मनीका राष्ट्रपति फ्राङ्क वाल्टर स्याइनमायरले पिडित परिवारलाई क्षतिपूर्ति दिने विषयमा ५० वर्षपछि मात्र सहमति बन्नुलाई ‘लज्जा’ को विषय बताए। 

५ अगस्ट, म्युनिख घटनाको ५० औं बर्षगांढ हो। यही मौकामा मृतक खेलाडीलाई श्रद्धाञ्जली दिन इजरायली राष्ट्रपतिले जर्मनीको भ्रमण गरेका थिए। एक दिनअघि जर्मनी राष्ट्रपतिले इजरायली समकक्षीको सम्मानमा आयोजित रात्री भोजमा भने, ‘लामो समयसम्म हामीले पिडितको पिडा सम्झिन अस्विकार गर्यौं। लामो समयसम्म हामी यो स्विकार गर्न पनि चाहदैन्थ्यौं कि, हाम्रो पनि कुनै जिम्मेवारी थियो। इजरायली खेलाडीको सुरक्षा हाम्रो जिम्मेवारी थियो।’ 

गत साता जर्मनी तथा घटनामा मारिएका ११ खेलाडीको परिवारबीच क्षतिपूर्तिको विषयमा सहमति बनेको थियो। 

असफल बचाउ अभियान

munich2
 

५ सेप्टेम्बर १९७२ मा आतंकवादी गुट ब्ल्याक सेप्टेम्बरका ८ प्यालेस्टिनी नकाबधारी इजरायली खेलाडी बसोबास गर्ने ओलम्पिक गाउँमा प्रवेश गरेका थिए। उनीहरूले फ्लाटमै दुई जनाको हत्या गरेर ९ खेलाडीलाई बन्धक बनाएका थिए। पश्चिमी जर्मनीको प्रहरीले बचाव अभियान सुरु गरे पनि उनीहरू असफल भएका थिए। यही घटनामा थप ९ जनाको पनि ज्यान गएको थियो। यो घटनामा पाँच आतंकवादी र एक पुलिसकर्मीको हत्या भएको थियो। 

होलोकोस्टको २७ वर्षपछि नयाँ जर्मनीको उदय देखाउन म्युनिख ओलम्पिक आयोजना गरिएको थियो। तर, यो घटनाले जर्मनी र इजरायलबीचको सम्बन्ध चिसिन पुग्यो। २०१२ मा इजरायलले यो घटनासँग जोडिएको ४५ आधिकारीक दस्तावेज सार्वजनिक गर्दै जर्मनी सुरक्षा अधिकारीको पोल खोलेको थियो। यसको तिखो आलोचना पनि भयो। 

इजरायलको खुफिया विभागका पूर्व प्रमुख जवी जेमिरको आधिकारीक बयानको आधारमा तयार पारिएको रिपोर्टमा भनिएको थियो, ‘जर्मनी प्रहरीले मानवको ज्यान बचाउन सामान्य प्रयास पनि गरेन।’

पिडित परिवारले दशकौंदेखि यो विषयमा संघर्ष गरिरहेका थिए कि, जर्मनी सरकारले आधिकारीक रूपमा घटनाको विषयमा माफी मागोस्, सरकारी दस्तावेज सार्वजनिक गरोस् तथा अतिरिक्त क्षतिपूर्ति उपलब्ध गराओस्। 

–रायटर्स
 
 

प्रतिक्रिया