काठमाडौं। छैटौं महिला साफ च्याम्पियनसिपमा नेपालले ४–० ले भुटानलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। काठमाडौंको दशरथ रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगितामा नेपालको जितका नायक सावित्रा भण्डारी र अनिता बस्नेत रहे। दुवैले २–२ गोल गरे।
समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा ३ गोल गर्यो। नेपालका लागि पहिलो गोल साम्बाको उपनामले चिनिने सावित्राले १२ मिनेटमा गरिन्। खुट्टाको सल्यक्रियाका कारण करिब एक वर्ष मैदान बाहिर रहेकी उनले डिबक्स बाहिर पाएको पासलाई गोलमा परिणत गरेकी थिइन।
वर्षाबाट प्रभावित खेलमा साम्बाले नै ६७ मिनेटमा अर्को गोल थपेकी थिइन।
नेपालका लागि तेस्रो गोल अनिताले ७२ मिनेटमा गरिन्। उनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार गोलमा परिणत भएको थियो। उनले ८४ मिनेटमा अर्को गोल थपिन्। नेपालले दोस्रो खेल श्रीलंकासँग २७ भदौंमा खेल्ने छ।
बुधबार समूह ‘ए’ अन्तर्गत दिउँसो भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। साँझको खेल बंगलादेश र माल्दिभ्सबीच हुनेछ।
प्रतिक्रिया