चितवनमा आज रमीता छ


-कुसुम भट्टराई


काठमाडौं । तस्बिरमा नेकपा(एमाले)को दशौं महाधिवेशनको ब्यानरमुनी सारंगी बजाउँदै गाउने रुबिन गन्धर्व तिनै हुन्, जसले लोकतन्त्रका लागि भएको पछिल्लो जन आन्दोलनमा सडकमा उत्रिएर तात्कालीन शाही शासनविरुद्ध गाएका थिए । मनोरंजनको माध्यम संगीत र आफ्नो प्रतिभालाई उनले महान प्रयोजनका लागि उपयोग गरेका थिए ।

गायक रुबीनले ‘गोजीमा पैसा छैन रासनलाई, फाल्नुपर्छ ज्ञानेन्द्र शासनलाई’ भनेर गाइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली चाहिँ भक्तपुरको बालकोटस्थित निवासमा ‘बयलगाडे गफ’ दिइरहेका थिए । आन्दोलनकारीलाई सत्तो सराप गरिरहेका थिए । राजतन्त्र समाप्त गरेर गणतन्त्र ल्याउने पक्षमा गायक रुबिनको जत्ति पनि योगदान ओलीको थिएन । 

बिडम्बना, गणतन्त्र स्थापनाको यतिका वर्षपछि पनि रुबिनजस्ता गायकको जिवनमा कुनै परिवर्तन आएन । यो तथ्य त माथिको तस्बिरबाटै स्पष्ट हुन्छ कि उनी अचेल एमाले र ओलीको स्तुती गाउन विवश छन् । कम्युनिष्टहरुले रुबीनजस्ता सर्वहारा बर्गको आर्थिक उत्थानका लागि केही गरेनन् नै, तर एमालेको खर्चिलो तामझामको प्रभावमा परेर रुबिनजस्ता गायक पनि एमालेको स्तुती गायकमा परिणत भएका छन् । 

सवाल रुबीनको मात्र हैन, नेपालको राजनीति नै अहिले मझधारमा छ । संवैधानिक, राजनीतिक र आर्थिक भ्रस्टीकरणको दलदलमा होमेर राजनीतिलाई न यता, न उताको मझधार अवस्थामा अलपत्र छाडने एउटा असफल पात्र हुन्, केपी शर्मा ओली, जसको अगुवाईमा शुक्रवारबाट रमिता प्रदर्शन प्रारम्भ हुँदैछ, नेपालकै मध्यभागमा अवस्थित नारायणगढ बजारमा ।  

नेकपा(नेकपा)को दुइ तिहाइ बहुमतको सरकारलाई आफ्नै स्वेच्छाचारी दम्भले भड्खालोमा जाकेर चौतर्फी रुपमा असफल एमाले अध्यक्ष ओलीले एमालेको दशौं महाधिवेशनलाई वैचारिक र नीतिगत बहसको साटो ‘हिउँदे रमाइलो मेला’मा परिणत गरिदिएका छन् । देशका ख्यातीप्राप्त कलाकारको सहभागितामा हुने ‘चितवन महोत्सव’लाई माथ गर्ने गरी एमालेले तामझामको तुजुक देखाइरहेको छ । 

लोकतन्त्रमा कुनै पनि दलको महाधिवेशन आयोजना हुनु सामान्य प्रकृया हो । महाधिवेशनले दलहरुलाई लोकतान्त्रिक प्रकृया र संस्कारमा अझ खारेर अघि बढाउनसक्छ । तर, एमालेको महाधिवेशन चाहिँ लोकतान्त्रिक अभ्यास या नीति निर्माणको अवसर भन्दा पनि मनोरंजनात्मक प्रहसनजस्तो देखिदैछ । एमालेले आफ्ना बिगतका भूलत्रुटी र असंवैधानिक हर्कत स्वीकार्दै क्षमायाचनासहित नयाँ कार्यदिशा तय गर्ने तदारुकता देखाएको भए यसले अन्य दललाई पनि सुध्रीन मार्ग प्रशस्त गर्नसक्थ्यो, तर एमाले महाधिवेशनमा नेतृत्व हत्याउने र त्यसका लागि भरमार खर्च गर्ने जुन प्रवृत्ति देखियो, त्यसले दलीय प्रणाली र लोकतन्त्रको संस्थागत विकास पक्षधर पँक्ति निरास छ । 

एउटा कम्युनिष्ट पार्टीले जनावरको मस्कट बनाएर महाधिवेशन गर्दैछ । जनावरहरुको मस्कट खेलकूद आयोजनाहरुमा मात्र बनाउने गरिन्छ । नेपालमा लोपोन्मुख जनावर हाब्रेको मस्कट बनाएर यसअघि खेलकूद महोत्सव आयोजना गरिएकै हो । तर, राजनीति खेल या मनोरंज हैन । राजनीति भनेको विचार, सिद्धान्त र कार्यदिशाका साथ गरिने जनसेवा हो, एमालेले यसलाई खेल या मनोरंजनजस्तै बनाइदियो । 

कोरोना कहरपछि अर्थतन्त्र थिलोथिलो छ । संस्थागत हुनै लागेको लोकतान्त्रिक पद्धतीलाई केपी ओली नेतृत्वकै सरकारले क्षतविक्षत बनाएपछि बल्ल सच्चिएर एउटा कोर्समा अघि बढीरहेको छ । अख्तियारदेखि अदालतसम्मलाई कमजोर पारिएको छ । देशमा अनेक समस्याको चाङ छ । जनतामा निराशा र वितृष्णा बढेको छ । बढदो महंगीका कारण जनतालाई बाँच्नै धौ धौ हुन थालिसकेको छ ।  नेपाली निधारमा चिन्ताको गाँठो देखिन्छ । तर, एमाले चाहिँ उत्सव मनाइरहेको छ । लोकतान्त्रिक अभ्यासमा सामान्य मानिने पार्टीको महाधिवेशनका लागि करोडौंको तामझाम अनि झाँकीहरु प्रदर्शन गरेर एमालेले मुलुकको गम्भीर अवस्था, जनताका समस्या र दुःखकै ‘उपहास’ गरेको छ । एउटा जिम्मेवार दलले भडकिलो खर्च र बेफवाँकको चुरीफुरी जनता सामु देखाउनु बिडम्बना हो । 

भूमिगत कालमा कार्यकर्ताका सेल्टरहरुमा कम्युनिष्ट पार्टीका अधिवेशन हुन्थे र तिनले देशमै परिवर्तन ल्याउने विचार र नीति तय गर्थे । नेताहरु भुटेको मकै र भटमास खाएरै बहस गर्थे । एमालेले कम्युनिष्ट पार्टीको मौलिक संस्कार, शैली र सोचमै परिवर्तन ल्याएको छ । महाधिवेशनका नाममा सडकभरी गाडिएका झण्डा, गैंडाका मस्कट र मुर्ती, ५० लाखबढीको स्टेज, पाँचतारे होटलका खाना र रिसोर्टहरुको बुकीङबाट एमालेले ‘धनको तुजुक’ मज्जैले देखाइरहेको छ । सतहमा ८ करोड खर्च हुने प्रचार गरिए पनि तामझामको खर्च यसभन्दा निकै बढी  देखिन्छ ।

धनको धाक सभ्रान्त बर्गलाई सुहाउँछ । कम्युनिष्टहरुकै भाषामा यसलाई निम्न पुँजीवादी या बुर्जुवा संस्कार भनिन्छ । एमालेले चितवनमा यसखालको तडकभडक किन देखाइरहेको छ भने, यो पार्टी अब सर्वहारा बर्ग हैन, धनाढ्यहरुलाई प्रभावमा पार्न चाहन्छ । चितवनको पौरखी, मेहनती र कर्मशील संबेदनालाई ‘म्यानुपुलेट’ गरेर हावादारी हौवा र रवाफको प्रभावमा पार्न चाहन्छ । 

चलायमान चितवन

चितवनको भरतपुर महानगर र नारायणगढ बजार पाँच दशक यता गुणात्मकम फड्को मार्दै विकास भएको मध्य नेपालकै प्रमुख व्यापारिक केन्द्र हो । आधुनिक ब्यापार व्यवसाय यहाँ फस्टाउँदोछ । अचेल चितवनबासी आफुलाई चाहिने सर सामान किन्न काठमाडौंसम्म आउनुपर्दैन, सबै थोक नारायणगढमै उपलब्ध छ । बजारसंगै खर्चिला उपभोक्ता यहाँ बढेका छन् । अर्थात कुनैबेला ‘ढाक्रेहरुको शहर’ मानिने नारायणगढमा अचेल नव धनाढ्य र सभ्रान्त बर्गको उदय भइसकेको छ । 

चितवन कुनैबेला एउटा घनघोर जंगल थियो । पहाडबाट भारतीय बजारमा माल सामान किन्न जानेहरु हुन् या भारतबाट फर्कनेहरु नै किन नहुन्, उनीहरुको बास बस्ने ठाउँको रुपमा नारायणगढ बजार सिमित थियो । बरु ७० वर्ष पहिले नारायणगढभन्दा बन्दीपुर बजार विकसीत थियो । भारतबाट ठोरी हुँदै बन्दीपुरका व्यापारी लडिया (बयलगाडा)मा राखेर नुन र मट्टितेल ल्याउँथे र नारायणगढमा बास बस्थे, खाना खान्थे । यो चाप बढदै गएपछि नारायणगढमा खाने खाने छाप्रे होटलहरु खुल्न थाले । औलोको त्रासका कारण पहाडीयाहरु चितवनमा बस्न डराउँथे, तर औलो उन्मुलन अभियान र व्यापारीक चहलपहलसँगै नारायणगढ एउटा ‘ट्रान्जीट प्वाइन्ट’ बन्दै गयो । 

राणा कालमै यहाँको बन फाँडेर बस्ती बसाउने पहल थालियो । जसले जति बन फाँडेर जग्गा निकाल्छ, उसलाई जमीनको लालपुर्जा दिन थालियो । बन फाँडेर विर्तावाल जग्गा निर्माण गरियो, स्थानिय थारु समुदायलाई चाहिँ हरवा, चरवा र कमैया बनाएर कज्याउन थालियो । सयौं वर्षदेखि यो क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायमा औलो रोग प्रतिरोधात्मक क्षमता भएकाले उनीहरुले यहाँ खेती किसानीको आधार खडा गरे । 

विसं २०१२ मा ‘राप्ती दुन विकास योजना’ सुरु भएपछि भरतपुरमा मानव वस्ती विकासले गुणात्मक फड्को मार्न थाल्यो । अमेरिकाको सहयोगमा प्रारम्भ भएको वस्ती विकास योजनाका हर्ताकर्ता कृष्णबम मल्ल थिए, जसलाई अहिले पनि भरतपुरबासी सम्झीन्छन् । पहाडी समुदायलाई यहाँ सित्तैमा जग्गा दिनेसम्मको अभियान चलाइयो । अमेरिकी सरकारकै सहयोगमा हेटौडासम्म सडक विस्तार भएपछि वीरगंज र रक्सौलसम्म व्यापारिक नाका जोडियो । अनि विस्तारै चितवनप्रति सबैको आकर्षण बढन थाल्यो । 

नारायणी नदिमा पुल बनेपछि नारायणगढ बजारको विस्तार भयो । पूर्व–पश्चिम राजमार्गबाट बुटवल हुँदै पश्चिम नेपालसँग चितवन जोडियो । त्रिभुवन राजपथको विकल्पमा मुग्लिन–नारायणगढ सडकखण्ड बनेपछि काठमाडौंसम्म चितवनको सहज पहुँच भयो । अनि यहाँ बसाइसराइको क्रम तिब्र भयो । 

औलो उन्मुलन अभियानपछि औलोको डर पनि रहेन । नेपालका सम्पूर्ण भुभागबाट मानिसहरु यहाँ ओइरिन थाले । अहिले चितवन कृषि, पर्यटन, यातायात, जलश्रोत र व्यापारको प्रचुर संभावना भएको केन्द्रमा परिणत भएको छ । अचेल यसलाई मेडिकल सिटी पनि भनिन्छ । कुखुरा र अन्डा उत्पादनका हिसाबले यो ‘पोल्ट्री क्यापिटल’ हो । मानिसहरु भन्न थालेका छन्, ‘लिलानाथ बाजेको भात होटलबाट सुरु भएको चितवनको आर्थिक र व्यावसायिक विकास अहिले विश्वकै धनीमध्ये एक विनोद चौधरीको सिजि मलसम्म आइपुगेको छ ।’

राजनीतिक स्वार्थ

चितवनको बढदो आर्थिक चहलपहललाई भजाउन राजनीतिक दलहरु यतिबेला उद्यत देखिन्छन् । चितवनको विकास यहाँका स्थानिय जनताको मेहनत र पौरखको प्रतिफल हो । तोरीदेखि महसम्म, केरादेखि दुधसम्म उत्पादन गरेर मात्र हैन, अहोरात्र जागेर लामो दुरीका बसयात्रीलाई भोजन गराएर यहाँका जनताले आफ्नो आर्थिक विकास गरेका हुन् । 

गैडा, हात्ति र बाघको त्रासदीविच यहाँका जनताले आफ्नै पहलमा जुन विकास गरे, त्यसले यो क्षेत्रमा मध्यम बर्गको एउटा बलियो पँक्ति खडा गरेको छ । सौराहामा पर्यटनको जुन विकास भएको छ, त्यो त्यहींकै जनताको मेहनत हो । चितवनका सम्पन्न र मेहनती मतदातालाई एमालेलगायतका कम्युनिष्ट पार्टी या अन्य दलहरुले चुनावका बेला मात्र सम्झीने गर्छन् । एमालेले दशौं महाधिवेशन चितवनमा आयोजना गर्नुको उद्देश्यमा पनि चुनावी स्वार्थ नै लुकेको छ, अर्थोक हैन । चितवनमा विकसीत धनी र मध्यम बर्गको बलियो जनाधारलाई प्रभावमा पार्नकै लागि एमालेले भडकिलो तामझाम देखाएको हो । तर, चितवनको समग्र विकासको प्याकेज भने एमालेसँग छैन । 

एमालेको एउटा ‘टार्गेट’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुन् । चितवनको विकास या ब्रान्डीङ भन्दा पनि दाहाललाई चितवनमा कमजोर बनाउने सोचले महाधिवेशनको तडकभडक गरिदैछ । महाधिवेशन आयोजक समितिका संयाजक रामबहादुर थापा बादलले आगामी चुनावमा चितवनमा दाहाललाई हराउने उदघोष गरिसकेका छन् । एमालेले छुद्र राजनीतिक प्रतिश्पर्धाको स्वार्थलाई छोप्न गैंडाको हौवा खडा गरेको देखिन्छ । 

आज रमिता छ, 

CPN-UML-

चितवनमा शुक्रबारदेखि ‘पेटी बुर्जुवा’ संस्कारमा रमाएका एमाले नेता कार्यकर्ताको रमीता हेर्न लायको हुनेछ । तिनले पहिलो दिन नै नारायणी नदि किनारमा प्रदुषण फैलाउनेछन् । मिनरल वाटरका बोतल, पर्चा, पम्लेट, चनाचटपटेका कागज र कुरकुरे लेजका खोलदेखि चुनावी प्रचारका सामाग्री जथाभागि मिल्काउनेछन् । पर्यटक घुम्ने, युवा जोडीले सेल्फी खिच्ने, डुंगा सयर गर्ने, घाम ताप्ने, प्रकृती दर्शन गर्ने र रमाउने त्यो नदि किनारमा शुक्रबार नचाहिंदो कोलाहल हुनेछ । नेताका क्रकश र कटाक्षयुक्त गालीगलौज लाउडस्पीकरमा गुंजनेछन् । आसपासका चराचुरुंगी र जलचर तर्सिनेछन् । 

हामीले भृकुटीमण्डप या प्रज्ञा प्रतिष्ठानमा देखेकै हो । नारायणगढ बजारभरी उम्मेदवारहरुका पर्चा र पम्लेट यत्रतत्र सर्वत्र छरिएर प्रदुषण फैलनेछ । अहिले नै नारायणगढदेखि सौराहासम्मका सडकका किनारभरी अनेक झण्डा र ब्यानरहरु टाँगीएको छ । पुरै सडक जाम हुनेछ । पूर्व पश्चिम राजमार्ग नै जाम भएपछि नारागणगढ बजारको शान्त र गतिशिल जिवनचर्यामा खलल पुग्नेछ । बिनासित्तीको होहल्ला र जामले चितवनलाई सकसमा पार्नेछ । कुनैबेलाको (अचेलको हैन) विहारी शैलीको चुनावजस्तै पार्टीको महाधिवेशन पनि ‘चुनावी मेला’मा परिणत हुनेछ । आखिर यो सब प्रदुषणबाट चितवनबासीले के पाउने ? 

बाहिरबाट गएर रमिता देखाउनेहरुको चाहिँ यहाँ कमी छैन । निर्माणधिन अन्र्तराष्ट्रिय रंगशाला अलपत्र छ । धुर्मुस र सुन्तली करोडौं ऋणमा डुबियो भन्दै हारगुहार गरिरहेका छन् । यो पनि अर्को रमीता हो । किसानहरुले दुध र तरकारीको यथोेचित मुल्य पाइरहेका छैनन् र सडकमै आफ्ना उत्पादन पोखिरहेका छन् । राज्यको अव्यवस्थाले सिर्जना गरेको यो अर्को रमीता हो । दाहालले गएर ओलीलाई सराप्ने, ओलीले गएर दाहाललाई धारे हात लगाउने काम त निकै भइरहेको छ अचेल, यो पनि चितवनबासीका लागि रमीता नै हो । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जिताउन उहिल्यै मतपत्र च्यातेर रमीता देखाइएकै थियो, पछिल्लो रमीता शुक्रबारबाट एमालेले देखाउँदैछ ।

हिउँदमा महोत्सव हुन्थे, रमीता हुन्थ्यो, चितवनबासी घाम ताप्दै रमीता हेर्थे । यही भावभंगीमाका साथ एमालेले केही दिन देखाउने रमीता हेर्न देशबाट मात्र हैन, विदेशबाट समेत मानिसहरु त्यहाँ ओइरीएका छन् । चितवनको पर्यटन विकास, जलश्रोतको उपयोग, कृषि उत्पादन र बजार व्यवस्थापन र चुरे संरक्षणका एजेन्डा यो रमीताको कोलाहलमा कतै ओझेलमा परेका छन् । चितवनबाट यसपाली न त कुनै विचारको उदघोष हुनेछ, न नयाँ नेतृत्व नै चुनीनेछ । केपी ओलीको वर्चस्व साबित गर्दै एमालेको रमीता सकिनेछ । खेल खतम, आठ करोड हजम । 

gaida

प्रतिक्रिया