“आरोहण शारीरिक सामर्थ्य मात्र होईन, मानसिक साहससँगको परिचय हो” - जूनिता सुब्बा

तेह्रथुम, म्याङ्गलुङ्गको एक शिक्षक परिवारमा जन्मिएकी जुनिता सम्बाहाम्फे (सुब्बा) जिल्लाको गौखुरी उच्च माध्यमिक बिद्यालय मोराहाङ्गबाट एसएलसी दिने आफ्नो ब्याचमा प्रथम श्रेणीमा उत्तीर्ण हुने एउटै मात्र छात्रा भईन्। भविष्यमा उनी सगरमाथा आरोहण गर्ने लिम्बु समुदायकी पहिलो व्यक्ति हुनेछिन् भन्ने ईतिहास लेखिन त बाँकी नै थियो। 
 
सन् १९७५ मा जापानी महिला जुनको ताबेईले त्यो शिखर चढ्ने पहिलो महिलाको ईतिहास बनाईन्। जुनिताका पिताले त्यसको दश बर्ष पछि जन्मिएकी आफ्नी छोरीको नाम पनि जुन्ताबिन राखिदिए। स्कूलमा पढ्दा उनको नाम जुन्ताबिनबाट जुनिता राखियो। बुवाले लहैलहैमा राखेको नाम फेरियो। तर छोरीले आफ्नो ईतिहास बनाइन्। 

सन् २००८ तिर ऐच्छिक अंग्रेजी र समाजशास्त्रमा त्रि–चन्द्र कलेजमा  स्नातक तहको पढाई चल्दैगर्दा नेपाली बिद्यार्थीलाई बिदेश पढ्न पठाउने एउटा कन्सल्टेन्सीमा काउन्सिलर भएर काम गर्न थालिन् उनले। त्यहीं उनलाई एउटा बेनामी ईमेल आयो। सगरमाथाको बारेमा। उनको मनमा हुटहुटि भयो। सगरमाथा चढ्ने। उनको सपना सगरमाथा आरोहणमा मात्र सीमित भएन।  यही मेलोमा उनले संसारका सातै महादेशका उच्च शिखर चढ्ने सम्भावनाका बारेमा पनि खोजी गरिन्। तर त्यतिबेलासम्म नेपालबाट कसैले पनि आरोहण गरेको भेटिनन्। उनले सातै महादेशका उच्च शिखर चढ्ने लक्ष्यका साथ सगरमाथाबाट आफ्नो अभियानको शुरुवात गर्ने अठोट गरिन्।

खल्तीमा घर फर्किने टेम्पोको भाडा मात्र थियो। तर उनले काठमाडौंको एउटा ट्रेकिङ्ग एजेन्सीमा गएर पच्चीस लाखको सम्झौता गरिन्। पैसा कहाँबाट ल्याउने? अत्तोपत्तो छैन। उनको भाई रोबोटले सल्लाह दियो, विभिन्न प्रतिष्ठान र आफ्नै समुदायका संस्थालाई भन्दा हुन्छ कि? उनले त्यसै गरिन्। शुरुमा आफ्नै समुदायले पनि त्यति वास्ता गरेन। बिस्तारै उनको अभियानको कुरा मेडियामा आउन थालेपछि भने देश बिदेशका आफ्नै समुदाय सहयोगमा जुटे। नेपाल टुरिजम बोर्ड र त्यहाँका तत्कालीन बोर्ड अफ डाईरेक्टर सुवास निरौला, जिल्ला विकास समिति तेह्रथुम, तेह्रथुम सरोकार समाजका दयाप्रसाद आङ्ग्बुङ्ग, देबिदास भट्टराई लगायत अगाडि सरे। नेपाल टुरिजम बोर्डले शिखरमा आफ्नो लोगो सहित आरोहण गर्ने सहमतिमा सात महादेशीय अभियानको संयोजन गर्ने निर्णय भयो। किरात याक्थुंग चुम्लुङ्गबाट अर्जुन नुगुले चासो लिइदिए। युकेबाट सुबर्ण नेम्बाङ्गको प्रतिबध्दता सहित पहिलो कल आयो। सांसद  तुलसी तुम्बाहाम्फेको पहलमा प्रतिनिधि सभाका तत्कालीन सभामुख सुबास नेम्बाङ्गसँग भेट भयो। तर उनीबाट शुभकामना बाहेक लजिस्टिक सपोर्ट चाहिं केहिपनि भएन। ट्रेकिंग एजेन्सीहरुको संस्था टानबाट ज्योति अधिकारी अगाडि सर्नुभयो। नबील बैंकको पनि सहयोग भयो। उनले नबील नारीको झण्डा शिखरमा लगेर फहराईन्। 

सन् २००९, मे १९ मा उनले सगरमाथाको शिखर टेकिन्। सन् २०१० मे २५ मा उनले युरोपको सर्वोच्च शिखर माउण्ट एल्ब्रुस पनि सफलतापूर्वक आरोहण गरिन्। उनको योजना  संसारका सातै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने थियो। उनी भन्छिन्, “म सगरमाथा चढ्न जानु अघि समावेशी महिलाको नाममा एउटा टोली सगरमाथा गएको थियो। त्यो दलकी एकजना सदस्य माया गुरुङसँग मैले ठमेलमा कफी खाँदै कुरा गरेकी थिएँ। उनले आफ्नो अनुभव सुनाईन्, अनि मलाई आरोहणमा चाहिने केही ‘गियर’ पनि दिईन्।”

जुनिताकै शब्दमा, “मैले उनलाई सोधें, सगरमाथा पछि अब तिमीहरुको योजना के हो? समावेशी त भन्यौ, तर तिमीहरुको टोलीमा लिम्बु त थिएन? अब सगरमाथा पछि के गर्छौ?” 

जुनिता भन्छिन्, “मैले त्यो सोधेपछि उनले आफ्नो टोलीको कुनै थप योजना नभएको कुरा गरिन्। अब नाम भयो, बिस्तारै ट्रेकिंगतिर लाग्नुपर्ला, अरु त के गर्ने र?” 

 मैले भनें, संसारका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने नेपालबाट आजसम्म कोहिपनि छैनन्। म सगरमाथाबाट फर्केपछि अरु बाँकी सबै महादेशका सर्वोच्च शिखर चढ्ने प्लान छ। मायाले भनिन् “ओ हो! यो त गजबको आईडिया हो मिलेर गरौँ;  उनले बाँकी साथीहरुसामु यो कुरा राख्ने प्रमिस गरिन्। तीन घण्टा लामो कुराकानी पछि, “नेपाली महिला समावेशी दलमा अब लिम्बु पनि समावेश हुने, र सातै महादेशको आरोहण गर्न म सगरमाथाबाट फर्किएपछि हामी सबै मिलेर सेभेन समीट्को पब्लिक एनाउन्स गर्ने बाचा सहित म बिदा भएँ। 

तर म सगरमाथा चढेर कालापत्थर ओर्लिएपछि थाहा पाएँ, केहि दिन अघि मात्रै उनीहरुले मलाई बाहेक गरेर, मेरै आईडिया लिएर सात महादेशमा समावेशी महिला पर्वतारोही टोलीको घोषणा गरेछन।”

जुनिता अहिले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा आफ्नै व्यवसाय संचालन गरेर बसेकी छिन्। आरोहण सँगसँगै उनलाई कविता लेखन, समाजसेवा र आध्यात्मिक चिन्तन र दर्शनमा गहिरो रुचि छ। राजनीतिमा उनि संगठित भएर काम गरेको पनि उनमा अनुभब छ। “सामान्य  कुराहरुमा  विशिष्टता देख्नु पनि एउटा कला हो। यो सुन्दा कुनै दार्शनिकको बोली जस्तो लाग्न सक्छ। तर हामी सबै दर्शन र दार्शनिक आफैंभित्र बोकेर दैनिक हिँड्ने सामान्य मान्छे हौँ। कसैलाई यसको अनुभूति हुन्छ, कोही यसको अनुभव नै नगरि मरिदिन्छन,” उनको सोच छ।

 
पढ्दापढ्दै अचानक सगरमाथा चढ्ने प्रेरणा कहाँ बाट आयो? 

कुनै एउटा घटनाले भन्दा पनि यसमा धेरै कुराहरुको मिश्रण छ। मलाई साना साना कुराले पनि छुन्छ र प्रेरणा दिन्छ। सानैमा टेलिभिजन हेर्दा मान्छेहरु क्यामरा र माईकको भीडमा उभिएर कुरा गरेको देख्थें। के गरेर यस्तो आकर्षण हुन्छ, त्यो बुझ्ने बेला भएको थिएन। तर मनमा लाग्थ्यो, एकदिन मेरो वरिपरि पनि यस्तै क्यामराहरू हुनेछन्।

 सन् २००५ तिर स्नातक तहमा पढ्दै थिएँ। एकजना साथीले साथीले एउटा “जब अफर”को बिज्ञापन लिएर आई। मलाई साथी जान अनुरोध गरी। अनि बाटैमा मलाई पनि लहैलहैमा दरखास्त हाल्न कर गरी। दुवैले आवेदन दर्ता गर्यौं। दुई सय जनाले आवेदन दिएकोमा २४ जना छानिएका रहेछन्। तर संयोग कस्तो पर्यो भने मलाई कर गरेर लैजाने साथी छनौटमा परिनन्। मेरो नाम भने अन्तर्वार्ताका लागि छानिएको रहेछ। त्यसपछि उसको र मेरो बोलचाल नै बन्द भयो। तर मैले कम शुरु गरें। काम थालेको एक महिनासम्म घरमा कसैलाई थाहा नै दिईन। पढ्दापढ्दै काम गरेको घरमा मन पराउनुहुन्न भन्ने मलाई थाहा थियो। तर स्वाबलम्बी हुने रहर पनि थियो। मेरो कामको जिम्मेवारी विदेश पढ्न जान चाहने बिद्यार्थीहरुलाई परामर्श दिने थियो। यसका लागि आफैं पनि धेरै अध्ययन र ईन्टरनेट सर्च गर्नुपर्ने हुन्थ्यो। एकदिन ईमेल हेर्दा एउटा अपरिचित मान्छेले सगरमाथा आरोहण सम्बन्धी बिस्तृत जानकारी सहित चिट्ठी पठाएको देखें। त्यो पठाउने मान्छे को हो मलाई आजसम्म पनि थाहा छैन। तर त्यो ईमेल मेरो जीवनको एक कोसेढुंगा सावित भयो। प्रथम सगरमाथा आरोही महिला जुनको ताबेईबाट प्रभावित भएर मलाई बुबाले दिनुभएको त्यस्तै नामले साकार रुप लिने सम्भावना देख्न थालें। 

junita Mt Elbrus 2010

हिमाल चढ्न सानो पैसाले त पुग्दैन। आर्थिक व्यवस्थापन कसरी गर्नुभयो?
 
मैले आरोहणको अठोट गरिसकेपछि अफिसबाट म सोझै ठमेलको एक पर्वतारोहण एजेन्सीमा कुरा गर्न गएँ। प्रशिक्षण र आरोहणको एउटा प्याकेजका लागि पुगनपुग झन्डै पच्चीस लाखको बजेट चाहिने रहेछ। तर मसँग त्यो बेला घर फर्किने टेम्पो भाडा मात्र थियो। आँटेपछि पुग्छ भन्ने आत्मविश्वासका साथ सम्झौता गरेर आएँ। मैले घर परिवार वा कसैसँग सल्लाह नै गरेको थिइन्। मैले सगरमाथा चढ्ने घोषणा गरिसकेपछि समेत मलाई आफू लिम्बु समुदायबाट पहिलो व्यक्तिका रुपमा यो अभियानमा लागेको कुरा थाहा थिएन। समुदाय भित्र यो कुरा पÞmैलिएपछि त्यताबाट केही सहयोग आयो। केही व्यक्तिगत ऋण लिइयो। नेपाल टुरिजम बोर्ड र नबील ब्याङ्क लिमिटेडले पनि केही प्रायोजन गरिदिए।  

सगरमाथा आरोहणको प्राविधिक अनुभव कस्तो रह्यो? 

रसुवा जिल्लाको लाङ्गटाङ्ग हिमालमा प्रशिक्षण लिएर मैले सन् २००९, मे १९ तारिक, नेपाली मिति अनुसार जेठ ५, २०६६ मा सगरमाथाको आरोहण गरेकी हुँ। शिखरको दक्षिणी मोहडाबाट, जो नेपालतिरको बाटो हो। यो बाटोमा आधार शिविर नाघेर पहिलो क्याम्पमा पुग्नु अगाडि नै एउटा खतरनाक बाटो पर्छ। खुम्बु आईसफल भनिने यो ठाउँ एक हिमनदि हो। माथिबाट हिउँको पहिरो खस्ने र तलतिर अथाह गहिरो खोंचले गर्दा यो मार्ग पार गर्न निकै कठीन हुन्छ। अल्मिनियमको भर्यांग तेर्साएर डोरीको भरमा चढ्नुपर्छ। हिउँ चर्किएर बनेको खाडल जसलाई “क्रिभास” (नेपालीमा खरपस) भनिन्छ, त्यसमा परियो भने लाश फिर्ता आउँदैन। अर्को खतरनाक ठाउँ भनेको हिलारी स्टेप हो। यो शिखरभन्दा १ सय २० मिटर मात्र तल पर्छ। तर त्यो दूरी पार गर्न जीवनभरिको बल लगेर पनि सकिँदैन कि जस्तो हुन्छ। उत्तरी मोहडाबाट जाने हो भने सगरमाथा चढ्न अपेक्षाकृत् सजिलो छ। तिब्बती सीमाको यो क्षेत्रमा चिनियाँहरुले आधार शिविरसम्मै मोटर जाने बाटो बनाईसकेका छन्। तर आफ्नो परीक्षा आफैं गर्न रुचाउने साहसी आरोहीहरु चिनियाँ बाटोबाट चढ्नु भन्दा नेपालतिरैबाट जान मन पराउँछन्।   

शिखरमा अडिनुको चुनौती के हो? चढ्न भन्दा ओर्लिन कठिन हुन्छ भन्ने सुनिन्छ। तपाईंको अनुभव कस्तो रह्यो? 

यसमा दुईओटा कुरा लागु हुन्छ। एउटा भावनात्मक, अर्को प्राविधिक। कुनैपनि कुरा प्राप्त गर्नु अघि त्यसको जुन मूल्य हुन्छ, पाईसकेपछि मानसिक रुपमा त्यसको अबमूल्यन हुँदोरहेछ। शिखरमा पुग्न शरीरको शक्ति त चाहियो नै, तर त्यसलाई पनि काँध थाप्ने काम मानसिक शक्तिले गर्दोरहेछ। माथिबाट बग्दै आएको हिउँलाई छिचोलेर माथि चढ्दै जाने चुनौती, हिउँका चीरालाई छल्दै क्र्याम्पुन भनिने फलामका काँडे जुत्ता लगाएर पाईला टेक्नुपर्ने समस्या, भर्याङ्गबाट चिप्लिने अथवा हातको डोरी फुस्किने खतराका बीच आँखा अगाडि मृत्यु सधंै नाचिरहेको जस्तो अनुभव हुन्छ। यस्तो बेला शरीरले हरेस खाएपनि भित्रबाट आउने आत्मिक शक्तिको ठूलो भूमिका हुन्छ। मान्छेले यस्तो क्षमता योग ध्यानबाट पनि हासिल गर्छन्। तर त्यो यात्रा मेरो जीवनको कर्मको उत्कर्ष थियो। हार खाएको शरीरले आत्मिक शक्तिको प्रभावमा कसरी आफूलाई पुनः जागृत गर्न सक्दो रहेछ भन्ने कुराको मैले त्यसबेला साक्षात अनुभव गर्ने मौका पाएँ। यो सत्यलाई शब्दले बर्णन गर्न सकिँदैन। आफैं अनुभव गर्नुपर्छ। शिखरमा पुगिसकेपछि “के यो सत्य हो? म साँच्चै शिखरमा छु र?” जस्तो बिचार पनि आयो। तर यात्राको  कठिनाइको अगाडि भने सगरमाथको चुचुरो चुम्नुले मलाई त्यति उत्साहित बनाएन।  प्राविधिक रुपले त्यहाँ लामो समय बस्नु उचित थिएन। हामी बिहान १०ः३० मा पुगेका थियौं। ११ बजेपछि चुचुराबाट हिउँ पग्लिन थाल्छ। त्यस अवस्थामा तल झर्नु जोखिमपूर्ण हुन्छ। त्यसैले हामीले शिखरमा पाँच मिनेट भन्दा बढी बिताएनौं। 

चार हजार मिटर वा त्यो भन्दा माथि बस्ने शेर्पाहरुको फोक्सो र हामी दुई हजार मिटरको हाराहारीमा बस्ने मान्छेको शारीरिक बनोट नै फरक हुन्छ। त्यसैले हामीलाई सजिलो थिएन। धेरैलाई आधार शिविर नपुग्दै स्वास फेर्न मुश्किल भएको देखियो। 

यति हुँदाहुँदै पनि संसारमा बिरलै मान्छेले देख्न पाउने त्यो प्रत्यक्ष र विहंगम प्राकृतिक सौन्दर्य, आफूले टेकेको घुँडा मुनिबाट उदाउँदै गरेको सूर्यको लाली आफ्नै आँखाले देख्दा शरीरमा उर्जा भरिन्थ्यो। माथि जाँदा स्वासको सन्तुलन, तल ओर्लिंदा घुँडा र पाईतालाको सन्तुलन। यसमा बिशेष ध्यान पुर्याउनु पर्ने रहेछ।

Way to Everest Khumbu Icefall1
सगरमाथा र माउन्ट एल्ब्रुस आरोहणको क्रममा तपाईंले अनुभव गर्नुभएको अविश्मरणीय क्षण वा अनुभव त्यस्तो के थियो, जसका बारेमा तपाईंलाई आजसम्म कसैले सोधेको नहोस्? 

आरोहणको क्रममा भएका सबै घटनाहरु अबिश्मरणीय छन्। ती मध्ये अत्यधिक ऊचाईमा हुने अक्सीजनको पातलो चाप र स्वासको सन्तुलन गर्ने क्षमता, जसलाई पर्वातारोहणमा “अक्लमटाईजेसन” भनिन्छ, हाम्रो लागि निकै महत्वपूर्ण कुरा हो। यो क्षमता हासिल गर्न हामीले सगरमाथा आधार शिविरबाट बिहानै तीन बजे हिँडेर पहिलो वा दोश्रो शिविरसम्म पुग्दै फर्किंदै गर्नुपर्ने हुन्थ्यो। यो क्रम लगातार बीस दिनसम्म चल्यो। हामीले बिहान ९ बजेभित्र आधार शिविर फर्किनु अनिवार्य थियो। यो भन्दा ढीलो हुँदा घाम चर्किने र हिउँ पग्लिने कारण यात्रा खतरनाक हुन्थ्यो। बिशेष गरी आधार शिविर र पहिलो क्याम्पको बीचमा पर्ने खुम्बु आईसपÞmल रहेको क्षेत्र जोखिमपूर्ण थियो। एउटा बिहान हामी आधार शिविर फर्कंदा ढीलो भयो। बरफ पग्लेर हिउँ बन्दै पहिरो जान थालेको थियो। मेरो शरीर थाकेर हल्लिन नसक्ने अवस्था भयो। म थचक्क बसें। मेरो शेर्पा भाई भन्दैथियो, “दिदी, हिउँ पहिरो आयो उ माथि बाट।” तर मेरो शरीर हल्लिने अवस्थामा भएन।  मैले त्यतिबेला मेरो शेर्पा भाईलाई भनें, “भाई तिमी जाउ, म पछि आउँछु।” मैले पहिरो आएको हेरिरहें। म जे पर्ला त्यहि टर्ला भन्ने सोचमा थिएँ। तर त्यो पहिरो आठ दश फीट पर आएर रोकियो। यो मेरो जीवनको अविश्मरणीय क्षण हो। 

रसियाको माउण्ट एल्ब्रुसमा हुँदा अनौठो अनुभव रह्यो। नेपाल, वेल्स, फ्रान्स, स्कटल्याण्ड, नर्वे, रसिया र युक्रेनका आरोहीहरुको एक संयुक्त टोली थियो। समिटबाट फर्केपछि सबैले आ–आफ्नो देशको झण्डा आफैंसँग राखे। मैले भने त्यो रसियन गाईडलाई राख्न दिएँ। ती झण्डाहरु हामी बसेको आधार शिविरको होटलमा सम्झना स्वरूप टाङ्गिने चलन रहेछ। सबैले आफ्नो झण्डा निकाले। मेरो झण्डा चाहिं त्यो रसियनले कतै हराएछ। त्यतिबेला मेरै दलका एक बेलायती आरोहीले प्रश्न गरे, “जुनिताको देशको झण्डा खोई? व्हेर ईज नेपाल?”  मलाई लाग्यो, मान्छेहरु आफ्नो देशको पहिचान प्रति कति संबेदनशील हुँदा रहेछन्! ती विदेशीले नेपालका बारेमा यति कुरा उठाउँदा पनि मलाई निकै छोयो। २१ दिन पछि रसियाको माउण्ट एल्ब्रुस आरोहण सफलताबाट पÞmर्किएपछि नेपाली दूतावासमा दालभात खाएको, व्यवसायी जीवा लामिछाने र उपेन्द्र महतोको सहयोग र एनआरएन लगायत त्यहाँका विभिन्न संघ संस्थाका तत्कालिन प्रतिनिधिहरुसँगको भेटघाट सम्झना योग्य छन्। 


प्रशिक्षण र आरोहण समेत गरेर तपाईंले कति हप्ता वा महिना पर्वतमा बिताउनुभयो? 

लाङ्गटाङ्ग हिमालमा हाम्रो प्रशिक्षण एक महिना  थियो। सगरमाथामा पचास दिन बिताएँ। माउण्ट एल्ब्रुसमा एक्काईस दिन। 

पुरुषहरुको बहुमत भएको दलमा एक्ली महिला हुनुको अनुभव कस्तो हुन्छ?

पर्वतारोहण महिला र पुरुष छुट्टयाउने ठाउँ होईन। यहाँ लिङ्गभेदको महत्व हुँदैन, मान्छेको जीवनको हुन्छ। सवाल चुनौतीको सामना गर्ने साहसको हो। त्यसो भए पनि, शारीरिक रुपमा कमजोर देखिन्छन् महिला, तर साहसको कुरा गर्दा म महिला थिईंन। न त कुनै पुरुष भन्दा कम नै थिएँ। त्यसैले यसबारेमा मेरो कुनै उल्लेखनीय अनुभव छैन। 


तपाईंलाई आफ्नो अभियानको क्रममा कसैले जानाजान दुरुत्साहित गरेको अनुभव भयो? 

सगरमाथाको शिखरमा पुगिसकेपछिको समाचार स्याटलाईट फोन मार्फत नेपालका सम्बन्धित निकाय र मेडियालाई जानकारी दिने काम मैले आरोहण सम्झौता गरेको एजेन्सीको थियो। किनभने मसँग व्यक्तिगत स्याटलाइट फोन थिएन। तर, हाम्रो आरोहण सफल भैसकेको दुई दिनसम्म पनि एजेन्सीले कसैलाई जानकारी दिएन। मैले सोध्दा काठमाडौंमा खबर गरिसकेको भनियो। उता मेरा शुभचिन्तक र प्रायोजकहरु चिन्तित थिए। तीन दिनसम्म कुनै समाचार नआएपछि मलाई सहयोग गर्ने एक संस्था तेह्रथुम सरोकार समाजका एक प्रतिनिधिले पर्यटन मन्त्रालयमा सोधेर मेरो सफल आरोहणको समाचार पाएका थिए। तर स्वदेशी बिदेशी मेडियालाई यसको औपचारिक जानकारी थिएन। अर्को अचम्मको कुरा, त्यहाँ मलाई हाई अल्टिच्युड वर्कर अर्थात् आरोहण श्रमिकको रुपमा दर्ता गरिएको कुरा थाहा भयो। म पारिश्रमिक पाउने श्रमिक होईन, आफ्नो पैसा तिरेर आफ्नै एक्सपिडिसनमा गएको थिएँ। नेपाली सगरमाथा आरोहीहरुलाई लाग्ने राजस्व नेपाल सरकारले मिनाहा गर्दै आएको छ। मेरो सन्दर्भमा आरोहणको अनुमति एजेन्सी मार्फत लिने कुरा शुल्क बुझाएको दिन सम्झौतामा उल्लिखित थियो। एजेन्सीका मालिक शेर्पा समुदायबाट थिए। आरोहण पछि मैले यो कुरा उहाँलाई सोध्दा उहाँको जवाफ थियो, “सगरमाथा आरोहण पछि फर्किएर आएका “सेलिब्रिटी” आरोहीहरुले हिमालमा सहयोग गर्ने शेर्पाहरुलाई कुनैपनि कार्यक्रममा बोलाएर ईज्जत नदिने र उनीहरु चाहिं सबैबाट सम्मानित हुने र सरकारले समयमा निर्णय नगर्दा आरोहणको सिजन समाप्त हुने र चढ्न नपाईने दुईओटा कारण देखाए। अनि भने, “आखिर तपाईंले सगरमाथा चढेको रेकर्ड त भैहाल्यो नि!” यी कुराहरुबाट के बुझ्न सकिन्छ भने शेर्पाहरुको “सदिच्छा” बिना आरोहण असम्भव छ। साथै उहाँहरुमा संकुचित भावना देखिन्छ। यस्तो घटना मलाई मात्र होईन, गैर शेर्पा समुदायका अन्य आरोहीहरुलाई पनि परेको छ। तर उनीहरु खुलेर बोल्न सकेका छैनन्। यो पनि एक प्रकारको दुरुत्साहन नै हो। 

Junita in Mt Everest 2009
सगरमाथा आरोहण तपाईंको आफ्नै अभियान थियो। कतिजना शेर्पाले मद्दत गरे? 

हो यो मेरो आफ्नै अभियान थियो। आरोहीमा म र एकजना चाईनिज अमेरिकन थियौं। मेरो एकजना सहयोगी शेर्पा र पन्ध्र जनाको किचन टीम थियो। 

खाना चाहिं के खाएर चढ्नुभयो? 

खाना नेपाली खान्कीमा सीमित थिएन। कन्टिनेन्टल देखि लिएर चाइनिज, कोरियन पालैपालो पकाउथे। लोकल शेर्पा खाना पनि हुन्थ्यो। हामीले अर्डर गर्ने भन्दापनि उनीहरुको सेट मेनु हुन्थ्यो। हाई अल्टिच्युड म्याच गर्ने डाईट हुन्थ्यो। झोलामा हाई प्रोटीन चकलेटका प्याकेटहरु हुन्थ्यो। त्यो काठमाडौंबाटै तयार गरिएको हुन्थ्यो। आरोही र स्टाफको खाना भने भने छुट्टै हुन्छ। स्टाफहरु के खान्छन् हामीलाई थाहा हुँदैन। रसियामा भने असाध्यै चीज र कोदोको पाउरोटी खाँदारहेछन्। हिमालमा मलाई एउटा निकै मन परेको कुरा के भने, एउटा मान्छेले अर्को  मान्छेलाई भेट्दा दुवै थाकेका हुन्छन्। तर आफूसँग जे छ; पानी, जूस, चकलेट जे छ, बाँडी हाल्छन्। यो मानवीय पक्ष त्यहाँ मात्र देखिन्छ। यसले पनि मेरो मन छोयो।   

सगरमाथा जाँदा शौचालयको प्रबन्ध चाहिं कस्तो हुन्छ? 

शौचालयको कुरा गर्दा, सबै कुराको प्रबन्ध आरोही पुग्नु अघिनै शेर्पाहरुले गरिसक्छन्।  सुत्ने टेन्ट , डाइनिङ् र किचन टेन्ट आदि हामी त्यहाँ पुग्नु अघिनै तयार भैसकेको हुन्छ। शेर्पाहरुले पूजा गर्ने थान अर्कै हुन्छ। उनीहरु आफ्नो पूजा नगरि एक पाईला सार्दैनन्। शौचालय पनि त्यस्तै हो। सुत्ने टेन्ट भन्दा अलि पर शौचालयको टेन्ट खडा गरिएको हुन्छ। त्यहाँको चीसोमा पनि पानी तताएर नुहाउने टेन्टको व्यवस्था हुन्छ। बरफ तताएर पानी बनाउने हो। त्यहि तताउने हो। शौच गर्दा पनि पुरै लुगा खोल्नु नपर्ने किसिमले तयार गरिएको बिशेष लुगा हुन्छ। जे गर्न मन लाग्यो, त्यतापट्टीको चेन खोलेर आफ्नो काम सम्पन्न गर्न मिल्छ। अनि शौचालय बनाइएको टेन्ट मुनी खाल्डो बनाएर प्लास्टिकका ड्रम गाडिएका हुँदा रहेछन्। त्यहाँ जम्मा भएको जे छ त्यो पछि याकलाई बोकाएर तल ओसारिन्छ। शायद त्यो हिमाल मुनि आलू र जौ ईत्यादिका लागि मल हुन्छ होला। सरकारी निकायका मान्छेहरु हरेक साता त्यहाँ ती ड्रम उठाउन आउँछन्। 

तपाईंहरु आफ्नो फोहोर त्यत्तिकै फालेर आउनुहुन्छ कि त्यसको व्यवस्थापन गर्ने कुनै प्रबन्ध हुन्छ?

यसको जिम्मेवारी हाम्रो अभियानको व्यवस्थापन गर्ने सम्बन्धित एजेन्सीको हो। अक्सिजनका सिलिण्डर, पलाष्टिकका झोला लगायत अन्य सबै फोहोरको ब्यस्वस्थापन उनीहरुले नै गर्छन्। गर्नुपर्ने बाध्यकारी नियम छ। तैपनि धेरै ठाउँमा  यो नियमको ईमान्दारीपूर्वक पालना भएको देखिंदैन। सगरमाथा सफाई अभियान जस्ता कार्यक्रमहरु त्यसकै परिणाम हो। आधार शिविर माथि सरकारको उपस्थिति छैन बराबर छ। सबै कुरा आरोहीको जिम्मेवारी र ईमान्दारितामा भर पर्छ।

 आरोहीहरुबीच अहिले ग्लोबल वार्मिंगको समस्या एउटा बिषय भएको छ। यसबारेमा तपाईंको धारणा के छ? 

यो आरोहीको मात्र होईन, बिश्वब्यापी समस्या हो। सम्पूर्ण मानव र प्रकृतिको लागि यो एक चुनौति हो। बीस बर्ष पहिलेको हिमाच्छादित सगरमाथाको शिखर अहिले कालो देखिन्छ। यो नेपालको मात्र समस्या होईन। सगरमाथाको दक्षिणमा रहेको नेपाल भन्दा सयौं गुणा ठूलो भारत र उत्तरमा रहेको चीन यसका लागि मूलतः जिम्मेवार छन्। नेपालका उत्तर र दक्षिणमा रहेका यी दुई भीमकाय छिमेकी विश्वकै ठूला प्रदुषक हुन्। विश्वमा हाल भएको कूल कार्बन उत्सर्जनको आधाको लागि यी दुवै मुलुक जिम्मेवार छन्। बिकसित मुलुकहरुले पृथ्वी मात्र होईन, अन्तरिक्ष समेत प्रदुषित गरिसके। नेपाल जस्तो मुलुकले यसमा नेतृत्व गर्न सक्दैन। तर यसको असर नेपाल मात्र होईन, यस्तै साना मुलुकका जनताले भोग्नुपरेको छ। बिकसित मुलुकहरुले प्रदुषणको आफ्नो भाग पचाईसकेर अबिकसित मुलुकलाई पाठ पढाउनु हास्यास्पद छ। 

junita
नेपाल सरकारले आरोहीहरुसँग राजस्व उठाउँछ, तर वातावरणीय सरोकार वा आरोहीको सुरक्षाका बारेमा त्यति ध्यान दिँदैन भन्ने गुनासो सुनिन्छ। तपाईंको अनुभवले के भन्छ?  

पहिले नेपाल सरकार सरकार जस्तो हुनुपर्यो। अनि अरु कुरा गर्न सुहाउँछ। अहिलेको सरकार जनताको होईन, मुट्ठीभर स्वार्थी ब्यापारी र पेशेवर राजनीतिकर्मी र बिदेशी माफियाको हातमा छ। पहिले यो समस्याको निराकरण गरौँ। त्यसपछि अरु कुरा आउँछन्। मुलुकको दीर्घकालीन हितको कुरा यो सरकार मात्र होईन, कुनै पनि सरकारको प्राथमिकतामा परेको छैन। यो दुख्खको कुरा हो।  

अमेरीकामा के गर्दैहुनुहुन्छ ?

कुनै योजना नै नहुँदा नहुँदै पनि अमेरिका बसाईको एक दशक पुगिसकेछ। जीविकाका निम्ति केही त गर्नेपर्यो। क्यालिफोर्निया राज्यबाट सौन्दर्यशास्त्र विधामा स्नातक गरेर लाईसेन्स लिएकी छु। त्यसै सम्बन्धी आफ्नै व्यवसाय पनि चलाएको छु। हाम्रो द पर्ल स्ट्रीट जर्नल इन्क नामको कम्पनी छ। यसले प्रपोजल लेखन, कपी राईटिङ्ग÷एडिटिङ्ग र अनुवाद सम्बन्धी काम  गर्छ। यसै कम्पनी मार्फत पिएसजे टीभी नामक एक वेबसाईट पनि संचालनमा छ। फुर्सदको समय कविता कोर्न मन लाग्छ। एक सय भन्दा बढी छन्। समय हेरेर पाठक सामू प्रस्तुत गर्ने योजना छ। मेरो सातै महादेशका उच्च शिखर चढ्ने सपना पनि सेलाएको छैन। बकेट लिष्टमा अझै पाँच वटा बाँकी छन्। अर्को बर्ष उत्तर अमेरिकाको अग्लो हिमाल अलास्काको माउण्ट देनाली जाने योजना छ। 

आरोहण बाहेक भविष्यका अन्य योजना के छन्? 

हृदयको कुरा गरूँ भने आदर्शवादी ठान्छन् मान्छे। तर आदर्श बिनाको जीवन के जीवन? मलाई अध्यात्म र समाजसेवामा रुचि छ। तर अहिले फेसनको रुपमा चलेको सेवा जस्तो होईन। मातृभूमिमा नबसेपनि टाढैबाट भएपनि न्यून आयका परिवारका बालबालिकालाई पढ्न सहयोग गर्ने उद्देश्य छ। अहिले पनि सकेको गर्दैछु। तर त्यसलाई समाचार बनाउने रहर छैन। अहिले देख्छु अध्यात्म, धर्म र समाजसेवाको नाममा धनाढ्यहरु समाजसेवा भन्दै आफ्नै सेवामा लागेका छन्। उनीहरु हल्ला धेरै काम थोरै गर्छन। आफ्नो आत्माको आवाज सुन्दैनन्। मान्छे जस्तो सामाजिक परिवेशमा हुर्किन्छ, त्यसको प्रभावमा पर्ने हो। मलाई भने त्यसको बिपरित, कम सुनेर धेरै बुझ्ने कला, थोरै बोलेर धेरै बुझाउने कला, युद्द नै नगरि युद्द जित्ने कला, आफैलाई सुनेर आनन्दित हुने कलामा समय खर्चिन मन छ। यसको लागि नेपालमा एक आधुनिक ध्यानशाला बनाउने योजना छ। 

तपाईंको जीवनको बिश्वास के हो? 

आफूले आफूलाई बिश्वास गर्नु, आफूलाई सुन्नु। आफूले आफूलाई प्रेम गर्नु, सम्मान गर्नु। यो भन्दा ठूलो बिश्वास मलाई अरु केही लाग्दैन। यसको अर्थ अरुप्रति निरपेक्ष भाव राखेर आफ्नो स्वार्थमा केन्द्रित हुनु होईन। अर्कोलाई प्रभाव पारेर प्रेम र बिश्वासको पात्र हुने होईन, म स्वयं प्रेम हुँ। बिश्वास हुँ।  सम्भावनाका ढोका बन्द गरेर आत्मपीडामा बाँच्नुको कुनै अर्थ छैन। समय आएपछि सबै ठीक हुन्छ भन्नु हारको स्वीकृति हो। हार्नु ठूलो कुरा होईन, हारलाई स्वीकार गर्नु भने घातक हो। समयको हातमा छोडिदिने जीवन पाउनु र नपाउनुको के अर्थ? हाम्रो जीवन नहुँदा पनि समय थियो, छ र रहनेछ। समयले हाम्रो उपस्थिति वा अनुपस्थितिको लेखाजोखा राख्दैन। समयको तालमेलमा हिँड्ने वा नहिँड्ने कुरा हामी आफैले निश्चित गर्ने हो। यही हो मेरो बिश्वास। 

Way to Mt Everest Khumbu Icefall (1)

प्रतिक्रिया