पाकिस्तानमा बाढीको प्रकोपः खुल्लामा शौच गर्न बाध्य महिलाहरू

पाकिस्तानको बाढी प्रभावित क्षेत्रका महिलाहरू खुल्लामा दिशापिसाब गर्न बाध्य छन्। केही घटनाका कारण यतिबेला महिलाहरूको मनमा गहिरो डरले डेरा जमाएको छ कि खुल्लामा शौच गर्दा कुनै पुरुषले त उनीहरूलाई हेरेनन्?

इस्लामाबाद। पाकिस्तानको पञ्जाब प्रान्तको एउटा सानो गाउँको रेल्वे स्टेशन वरिपरि दर्जनौं तम्बु गाडिएको छ। फाजिलपुरमा सायदै कुनै ठाउँ बचेको होला, जहाँ बाढीले प्रभाव छोडेको छैन। सबै ठाउँ पानीले भरिभराउ देखिन्छन्। 

जलमग्न यो ठाउँ फोहोर तथा मानिस र पशुको मलमुत्रका कारण प्रदूर्षित बनिसकेको छ। जैबुनिसा बीबीको गाउँ दुई साताअघि पानीले डुबेको थियो। ज्यान बचाउन उनी परिवारसहित सुरक्षित स्थानमा भागेकी थिइन। भन्छिन्, ‘नुहाउने वा शौच गर्ने कुनै ठाउँ नै बचेको छैन।’

पाकिस्तानको उत्तरदेखि दक्षिणसम्म सबै क्षेत्र बाढीबाट प्रभावित छ। सबै ठाउँ तम्बु गाडेको मात्र देखिन्छन्। पाकिस्तानमा अहिलेसम्मकै सबैभन्दा भीषण बाढीको संज्ञा दिइएको यसपालिको बाढीले बेलायत जतिको भूभाग प्रभावित तुल्याएको छ। यसपालिको बाढीले ३ करोड ३० लाख मानिसलाई प्रभावित तुल्याएको समाचारमा उल्लेख छ। अहिले ७ मध्ये १ पाकिस्तानी बाढीबाट प्रभावित छन्। 

बाढी पिडितहरूका लागि निर्माण गरिएको सबै क्याम्पमा शौचालय सबैभन्दा ठूलो समस्या बनेको छ। यसले स्वास्थ्यसम्बन्धि समस्या उत्पन्न भइरहेको छ। विशेषत महिलाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। 

पाकिस्तानको ग्रामीण क्षेत्रमा बसोबास गर्ने बहुसंख्यक मानिस रुढीवादी छन्। तर, बाढीका कारण विस्तापित महिलाहरू परपुरुषसँग एकै ठाउँमा बसोबास गर्न विवश छन्। जैबुनिसाले ग्रामीण क्षेत्रमा छुट्टाछुट्टै बसोबास गर्ने महिला र पुरुषको प्रथालाई उल्लेख गर्दै भनेकी छिन्, ‘हामी पर्दाको पछाडि बस्ने गथ्र्यो। अब अल्लाहले नै त्यो पर्दा उतारेर फ्याकिदिएका छन्।’ 

जैबुनिसा खुल्लामा शौच गर्दा आफूलाई निकै लज्जा महसुस हुने गरेको बताउँछिन्। उनलाई त्यतिबेला सबैभन्दा नरामो महसुस भएको थियो, जतिबेला उनी एउटा रुखले छेलिएर शौच गरिरहेकी थिइन तर एउटा परपुरुष लुकेर उनलाई हेरिरहेको थियो। 

शमीम बीबीले पनि यस्तै घटनाको बयान गरेकी छिन्। उनी भन्छिन्, ‘म आफ्नो छोरीहरूलाई एक्लै कसरी पठाउन सक्छु? जतिबेला हामी शौच गर्न बस्छौं, त्यतिबेला डर लागिरहेको हुन्छ, कुनै पुरुष हाम्रो अगाडि त उभिने होइनन् भनेर।’ 

खुल्लामा शौचबाहेक मानिसमा रोगको खतरा बढेको छ। झिङ्गा र मच्छरले यस्तो मानिसको दुःखलाई झनैं बढाउने गरेको छ, जो बिरामी र संक्रमणबाट जोगिन विभिन्न उपायको खोजीमा हुन्छन्। बाढीले बगाएर ल्याएको फोहोर पानीको कारण महिलाको छालामा पनि समस्या देखिन थालेको छ। 
फाजिलपुरका डा. एहसान अयाज भन्छन्, ‘शौचालयको कमिका कारण छाला तथा पेटको बिरामी बढिरहेका छन्।’

शमीम र उनको छोरीहरू खुल्लामा शौचालय जानु नपरोस् भन्ने हेतुले सक्दो कम पानी पिउन थालेका छन्। पछिल्लो समय महिलाहरू आफ्नो प्राकृतिक आवश्यकता पूर्ति गर्न साँझ भएपछि क्याम्पभन्दा अलि टाढा सुनसान ठाउँको खोजीमा निस्किन्छन्। उनीहरू महिलाको समूह मिलाएर शौच गर्न बस्छन्। एउटा समूह शौच गर्न बस्दा अर्को समूह निगरानीमा हुन्छ। शमीम भन्छिन्, ‘हामीलाई त यो पनि थाहा छैन। यति कुनै पुरुषले जबर्दस्ती गर्यो भने उसलाई कस्तो प्रतिक्रिया दिन आवश्यक छ।’ 
–एपी
 

प्रतिक्रिया