गरिबीबाट उठेका सामागाउँका वीर बहादुर यसरी बने व्यवसायी

कुनै बेला उनको परिवार गाउँमै सबैभन्दा विपन्न मानिन्थ्यो। बिहान एक छाक खायो भने, बेलुका के खाने भन्ने समस्या थियो। बाजेका सन्तान नै अनगिन्ति, शिक्षाको पहुँचबाट निकै टाढा। गोरखाको दुर्गम सामागाउँमा जन्मिएका वीर बहादुर लामाको घरको कथा हो, यो। 

उनको एक जना फुपुको बिहे मनाङ जिल्लाको दुर्गम गाउँ तिलिचेमा भयो। माइतको अवस्था राम्रोसँग बुझेकी फुपुले एक दिन घरमा वीर बहादुरलाई आफूसँगै लैजाने र पढाउने प्रस्ताव राखिन्। त्यति बेला उनी ८ वर्षका थिए। फुपुसँग कैयौं दिन हिँडेर तिलिचे पुगेका वीर बहादुरले दुई वर्षपछि आमा गुमाउनु पर्यो। 

उनी मनाङमा पढ्दै गर्दा बुबा सामागाउँमा बिदेशी तथा स्वदेशीहरुको भारी बोक्थे। वीर बहादुरको बाल्यकाल मनाङमै बित्यो। २०५० सालमा मनाङबाट एसएलसी दिएपछि ठूलो सपना बोकेर उनी गाउँ फर्किए। तर गाउँमा शिक्षा, स्वास्थ्य र समाजको अवस्था भद्रगोल देखे। उनको मनमा धेरै कुरा खेल्यो। अशिक्षित समाज। जातले पाएको भन्दै गाउँलेहरु बिहानैदेखि रक्सी धोक्ने। गाउँमा बस्ने वातावरण नदेखेपछि फेरि मनाङ फर्किए। 

Bir Bahadur Lama hotel

२०५१ सालमा मनाङबाट उच्च शिक्षाका लागि राजधानी काठमाडौं पुगेका थिए। उनले तहाचलस्थित महेन्द्र रत्न क्याम्पसबाट आइएड पास गरें। उनको सानैदेखिको इच्छा थियो, ठूलो भएपछि शिक्षक बन्ने। किनभने उनी गाउँमा शिक्षित समाजको निर्माण भएको हेर्न चाहन्थे। उसो त सामागाउँमा २०२४ सालमा १ कक्षासम्मको पढाइ हुनेगरि स्कुल खोलिएको थियो। त्यो स्कुलमा २०५३ सालसम्म एक कक्षासम्मको मात्र पठनपाठन हुन्थ्यो। 

एक जना बिदेशी नागरिक जिओफ चाइल्ड सामागाउँ पुगेका बेला गाउँको शैक्षिक अवस्था देखेर निरास बने। चाइल्ड समाजशास्त्री थिए। त्यतिबेला वीर बहादुरका बुवा उनको भारी बोक्दै थिए। उनले आफ्नो छोरा काठमाडौंमा बसेर पढिरहेको बताए। यो सुनेपछि चाइल्डले भनेछन्, ‘छोरालाई गाउँ फर्काउन सक्छस्रु’ ती गोराले वीर बहादुरलाई गाउँमा फर्काउने भए स्कुल निर्माणमा पूर्ण सहयेग गर्ने आश्वासन दिए। 

गोराको प्रस्ताव वीर बहादुरका बुबालाई गज्जब लाग्यो। एक त गाउँमा स्कुल बन्ने। दोस्रो छोरा घर फर्किने। उनले तुरुन्त हुन्छ भने। 

वीर बहादुरका लागि यो प्रस्ताव चुनौतिपूर्ण थियो। तर, सानोमा सोचेको कुरा पुरा गर्ने अवसर पनि। त्यसैले उनले हुन्छ भने। २०५४ सालमा आएड गरेर घर फर्किदा उनको मनमा धेरै उत्साह र केहि डर मिश्रित थियो। तर समाज बदल्ने प्रतिबद्धताले उनलाई घचघचाइरह्यो।  गोराकै सहयोगले गाउँमा ५ कक्षासम्म पढाइ हुने विधालय स्थापना भयो। यसपछि गाउँमा उनको नाम फेरियो, समाजसेवी र शिक्षकको रुपमा। 

पढाएबापत उनी ५ हजार तलब थाप्थे। तर यी सबै पैसा स्कुलमै लगानी हुन्थ्यो। 

‘बिहान र बेलुका बुबाको सानो भट्टीमा सहयोग गर्थे। घरको कमाईले नै खान पुग्थ्यो। त्यसैले जागिरबाट पाउने रकम स्कुलमै लगानी गर्थे,’ उनी बताउँछन्। 
 
मास्टरको जागिरे भए पनि उनको घर दुइ कोठे पुरानो थियो। गाउँमा कोहिँ नयाँ मान्छे आयो कि मास्टरको घर भनेर पठाइदिन्थे। ‘दुई कोठा थियो। दिदी र फुपु किचनमा सुत्नुहुन्थ्यो। अर्को कोठामा पाहुनालाई एकातिर सुताएर म र बुवा भूइँमा ओछ्यान लगाएर सुत्थ्यौं,’ उनले भने। 

Bir Bahadur Lama hotel1

उनको घरकै छेउमा सानो खेत थियो। एक दिन पर्यटन मन्त्रालयका कर्मचारीले उनलाई सुझाव दिए– यसरी पाहुनालाई घरमा कोच्याएर किन सुताउँछौं। बरु खेतमा टेन्ट हालेर सुताउँ र सहयोगबापत केहि रकम उठाउँ। 

सरकारी कर्मचारीकै ‘आइडिया’ का कारण उनले यो क्षेत्रमा ठूलो होटल व्यवसायीको परिचय बनाएका छन्। अहिले सामागाउँमा उनको ५४ कोठाको आलिशान होटल छ। ‘माउन्ट मनास्लु’ नाम गरेको यो होटलमा विदेशी तथा स्वदेशी पर्यटकको बाक्लो उपस्थिति देखिन्छ। 

‘विगत सम्झदा अपत्यारिलो लाग्छ। भारी बोकेर हिँड्ने परिवारमा जन्मिएको म अहिले होटल व्यवसायीको रुपमा चिनिन्छु,’ उनले भने। 

सुरुमा बुबाको भट्टीबाट उठेको उनको व्यवसायीक चेत अहिले यो क्षेत्रमा परिवर्तनको सम्बाहक बनेको छ। 

सामागाउँ उत्तरी गोरखाको विकट भूगोलमा रहेको गाउँ पुग्न सदरमुकामबाट करिब एक दिन गाडी र ५ दिन पैदल हिँडनु पर्ने बाध्यता छ। 

सन २००० मा बिधिवत रुपमा होटल स्थापना गरेको दिन अहिले पनि उनी झलझली सम्झन्छन्। 

‘पहिलो पाहुनाको रुपमा सेभेन समिट कम्पनीका सस्थापक मिङ्मा शेर्पा आउनुभएको थियो। दोस्रो भिआइपी गेस्ट फ्रान्सका चर्चित एथ्लेट्स ब्रुनो पनि आएका थिए’, उनी भन्छन्। 

उनको होटलमा बहराइनका राजकुमार, दुबइकी महारानीलगायत पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको परिवार बसिसकेको छ। यहाँबाट मनास्लु हिमाल चढ्नेको ताती लाग्ने गर्छ। 
 
उनको होटल ३० औं वर्षदेखि पाहुनाको रोजाइमा परेको छ। यो क्षेत्रमा कुनै मान्छे बिरामी हुँदा राजधानी काठमाडौं लैजाने काममा पनि उनी नै खटिएका देखिन्छन्। ४७ वर्षको उमेरमा आफ्नो फेरिएको भूमिका देखेर उनी दंग छन्। ‘सामागाउँभरिमा सबैभन्दा गरिब परिवारमा म जन्मिएको थिए। घरको समस्या देखेर नै फुपुले मनाङ लैजानुभयो। अहिले मलाई सबै कुराले पुगेको छ,’ उनी भन्छन्, ‘दु:ख पनि केहि होइन रहेछ। सुख पनि। कर्म गर्नुपर्ने रहेछ।’

अहिले गाउँलेहरुमा आएको चेतना देखेर उनी खुसी छन्। करिब १४५ धुरी घर भएको सामागाउँमा स्कुले शिक्षा नलिने बच्चाहरु भेटिदैनन्। फेरि गाउँलेहरुमा उधमशीलताको विकास र विस्तार भइरहेको छ। सामागाउँमै अहिले २५ वटा स्तरीय होटल तथा लजको निर्माण भइसकेको छ। उच्च शिक्षाका लागि काठमाडौं धाउने युवापुस्ताको भिड पनि उत्तिकै छ। उनी गाउँमै ‘प्लस टु’ सम्मको शिक्षालाई विस्तार गर्न चाहन्छन्। यसका लागि उनको प्रयत्न जारी छ।
 

प्रतिक्रिया