फोहोरबाट माेहरको कथा–१

फाेहोर प्लाष्टिकबाट तेल बनाउने भारतीय जाेडी

काठमाडौं। सन् २००९ को कुरा हो। पूणेको एउटा जंगलमा घुम्न निस्किदा हरिण हाम्रो अगाडि देखियो। त्यो छटपटाइ रहेको थियो। उसलाई हामीले आफ्नो आँखै अगाडि छटपटाउँदै मरेको देख्यौं। वास्तवमा त्यो हरिणको निधन प्लाष्टिकको कारण भएको थियो। उसले प्लाष्टिक खाएको थियो। यो घटनाले हामीलाई यति बिचलित तुल्यायो कि, थुप्रै रात हामी सुत्न सकेनाैं।

यति नै बेला हामीले प्रण गरेका थियौं, प्लाष्टिकलाई हामी तह लगाएरै छाेड्छौं। एक दिन हामी होटलमा खाना खान बसिरहेका थियौं। वेटरले ग्लासमा बर्फ ल्याएर दिए। बर्फ हेर्दाहेर्दै पग्लियाे। यसपछि हामीलाई आइडिया फुर्याे–प्लाष्टिकलाई पनि यसरी नै पगाल्न सकिन्न र!

हामीले पुन: प्रयोगमा नआउने प्लाष्टिकलाई पगाल्ने फर्मुला निकाल्यौं। अहिले फाेहर प्लाष्टिकबाट हरेक दिन ७०० लिटर डिजल जस्तो आयल निर्माण गरिरहेका छौं। याे आयल इन्डस्ट्रियल मेशिनदेखि जेनेटर र बाेट चलाउन प्रयोग भइरहेको छ। इको फ्रेण्डली यो स्टार्टअपले वार्षिक २ करोडको व्यापार भइरहेको छ।

यो कुरा ५८ वर्षका शिरीष फडतारेले कुनै जंगलमा बसेर हामीलाई कहानी सुनाइरहेका होइनन्, पूणेस्थित आफ्नै प्राेडक्सन युनिटमा बसेर सुनाएका हुन्। ५५ वर्षीय मेघा ताडपत्रीकर शिरीषको बिजनेश पार्टनर हुन्। दुवै कलेजका साथी हुन्। उनीहरु ‘रुद्रा ब्लु प्लेनेट इनभायरमेन्ट साेलुसन’ नामक कम्पनी चलाउने गर्छन्।

rudra1

शिरीषको पूणे युनिटमा यतिबेला २० जना काम गर्छन्। यहाँ कोही काम नलाग्ने प्लाष्टिक सफा गरिरहेको भेटिन्छन् त काेही प्राेसेसिङमा व्यस्त छन्। उनीहरु काम नलाग्ने प्लाष्टिकको चाङतर्फ इंकित गर्दै भन्छन्– जसलाई मानिसहरु काम नलाग्ने भनेर यताउति फ्याक्ने गर्छन्,हामी यसबाट आयल निर्माण गरिरहेका छौं। अहिले माग यति धेरै छ कि सप्लाई गर्न धाैंधाैं भइरहेको छ।

शिरीष त्यो दिनको कुरा सुनाउँदा राेमाञ्चित हुन्छन्, जतिबेला उनी यसको एक्सपेरिमेन्टमा जुटेका थिए। भन्छन्,‘हामी दुवै साइन्सका विधार्थी हाेइनौं। त्यसैले मलाई बुझ्न निकै समस्या भयाे। म अकाउन्टेन्ट थिए र मेघा ब्रान्डिङ मेनेजर थिइन।’

आफ्नो योजनालाई सफल बनाउन उनीहरुले मेकानिकल र केमिकल ब्याकग्राउन्ड भएका साथीसँग भेट्ने योजना बनाए। शिरीषले आफ्नो फ्याक्ट्रिमा उत्पादन भएको आयल देखाए। जुन अन्य आयल जस्तै थियो। फरक छुट्याउनै गाह्रो। उनी भन्छन्,‘तपाईहरुलाई मात्र होइन इन्डस्ट्रिको मान्छेहरुलाई पनि यो आयल छुट्याउन धाैंधाैं पर्छ।’

शिरीष काम सुरु गर्दा आफूहरुका लागि गुमाउने कुरा केहि नभएको बताउँछन्। ‘घर चलाउन हामी पहिलेदेखि व्यापार गर्थ्यौ। जतिबेला हामीले कुडाबाट आयल बनाउने काम सुरु गर्यौ, धेरैले हामीलाई पागल भने। उनीहरु भन्थे–पागलहरु फोहोरबाट आयल निकाल्न हिँडेका छन्। आज हेर्नुस् त!’

जसरी कच्चा तेलबाट पेट्राेल, ग्यास, डिजल, मट्टितेल जस्ता प्राेडक्ट रिफाइन गरेर बनाइन्छ त्यसरी नै प्लाष्टिकलाई पघालेर आयल बनाउन सकिने उनी बताउँछन्। तर यसका लागि प्लाष्टिक सफा हुनुपर्छ। केही कम्पनि आयल खरिद गरेर पुन: यसलाई प्लाष्टिक बनाउने योजनामै लागेका छन्। तर उनी तेल निकालेर बेचिरहेका छन्। ‘इन्डस्ट्रिका मानिसहरु मेशिनका लागि डिजलको सट्टा हामीले तयार पारेको आयल खरिद गर्न मन पराउँछन्,’ उनी भन्छन्। 

यो काममा शिरिषलाई सबैभन्दा ठूलो चुनाैति भनेकाे नै ठूलो मात्रामा काम नलाग्ने प्लाष्टिक संकलन हो। पूणे नगरपालिकाले धेरै पल्ट प्लाष्टिक सप्लाई गर्ने कुरा गरेको थियो। तर त्यो हुन सकिरहेको छैन। उनी एउटा ट्रस्ट बनाएर पूणेको साेसाइटीबाट प्लाष्टिक उठाउने कर्मचारीमार्फत फाेहोर संकलन गरिरहेका छन्। 

शिरीष भन्छन्, ‘यदि सरकारले हामीलाई सहयोग गर्ने हो भने अधिकतम आयलको उत्पादन सम्भव छ। बजारमा २५ हजार लिटर आयलको दैनिक खपत छ। यसका लागि हामीलाई ५० टन काम नलाग्ने फाेहोर प्लाष्टिक आवश्यक पर्ने गर्छ।’

rudra2

उनी केही तथ्या‌क हामीसँग राख्छन्। भन्छन्, ‘पूणेमा हरेक दिन २ हजार टन फोहोर संकलन हुन्छ। जसमा १६० टन प्लाष्टिक पाइने गर्छ। यसमा पनि रिसाइकिल गर्न लायक ८० टन प्लाष्टिक छन्।’ शिरीषको कम्पनी प्लाष्टिकबाट आयल बनाउने मेशिनको निर्माण कार्यमा जुटेकाे छ। नाेएडाबाहेक अन्य शहरमा पनि यसकाे प्लान्ट लगाउने काम भइरहेको छ।

शिरीष भन्छन्, ‘प्लाष्टिकलाई रिसाइकिल गरिसकेपछि निस्किएको फाेहोरबाट सडक बनाउने काम गर्न सकिन्छ। अहिलेसम्म पूणेमा ३० वटा सडक यही प्रविधिबाट निर्माण भइसकेकाे छ।’

–मनीषा भल्लाको रिपाेर्ट भास्करका लागि।

 

 

 

 

 

प्रतिक्रिया