फोहोरबाट माेहरको कथा–२

डम्पिङ साइटलाई यसरी बनाइयो ‘अर्बन भेजिटेबल गार्डेन’

काठमाडौं। दक्षिण अफ्रिकामा २५ वर्षपछि रंगभेदी नीति त समाप्त भयो। तर, उसले केही वर्षअघिसम्म आफ्ना गाउँहरूमा बिजुली, पानी र सडक जस्ता अत्यावश्यक सुविधा उपलब्ध गराउन सकेको थिएन। गाउँभरि जतात्यतै फोहोरको डुँग्रो मात्र देखिन्थ्यो। अझ, प्लाष्टिकको समस्या उस्तै थियो। स्थानीय प्रशासनलाई समस्या त थाहा थियो तर कमजोर आर्थिक अवस्थाका कारण ठोस कार्य हुन सकिरहेको थिएन। 

दुई वर्षअघि उनीहरूले ‘वार अन वेष्ट’ अर्थात फोहोरविरूद्ध लडाईंको उद्घोष गरे। ५० गैरकानुनी डम्पिङ साइटलाई पार्क र खेल मैदानमा रुपान्तरण गर्न सफल भए। नेल्सन मण्डेला वे महानगरपालिकाका प्रवक्ता म्थुबान्जी मिनिकी यी सबै रुपान्तरणमा स्थानीयवासीको योगदान भएको बताउँछन्। 

उनी भन्छन्, ‘यो सत्य हो, हाम्रो अगाडि गैरकानुनी डम्पिङको समस्या छ। हामीहरू मानिसमा जागरुक्ता फैलाउने अभियानमा सक्रिय छौं। उनीहरूलाई सम्झाई रहेका छौं, यो बस्ती, गाउँ तपाईहरू कै हो। यो वस्ती सरकारको होइन। सरकार र तपाईहरू बीच साझेदारी हुन जरुरी छ। यदी तपाईहरू हामीलाई सहयोग गर्नुहुन्न भने कसरी राम्रो गर्न सकिन्छ?’
नजिकैको वाल्मर नगरमा ६० हजार मानिस बसोबास गर्छन। यो नगर सबैका लागि जीवन्त उदाहरण हो, मानिसले चाहना राख्ने हो भने के गर्न सकिन्न भनेर। 

यहाँ एक माली कोलानी सिवा परिवर्तनको संवाहक बनेका छन्। उनले फोहोरो फ्याक्ने डम्पिङ साइटलाई हरियो सब्जी उत्पादन गर्ने केन्द्रमा रुपान्तरण गरिदिएका छन्। यहाँ उत्पादन हुने सब्जी यो क्षेत्रमा ठूलो माग छ। सिवाले वाल्मरका ५ जना स्थानीयलाई रोजगारीसमेत दिन भ्याएका छन्। 

south africa1

उनी भन्छन्, ‘पहिलो कुरा त यो बगैंचाले पर्यावरणलाई सफा बनाउन सहयोग गर्छ। किनभने पहिले मानिसहरू यहाँ फोहोर फ्याक्थे। साथै यसले बेरोजगारी जस्तो समस्या रोक्न पनि सहयोग गरिरहेको छ। सब्जी उत्पादन गर्न मलाई मानिसको आवश्यकता छ। किनभने म हरेक समय यही हुन्छु।’

वाल्मोर शहर खाली फोहोर फ्याक्ने ठाउँमा रुपान्तरण नहोस् भन्नका लागि धेरै समाजिक संस्थाहरू कार्यरत छन्। मानिसहरूले पनि विस्तारै सहयोग गरिरहेका छन्। यही समाजिक संस्थामध्ये एक हो, री–ट्रेड। 

यो समाजिक रिसाइक्लिङ प्रोजेक्ट खुस्ता मोको विल्सन जस्ता स्थानीय फोहोर उठाउने व्यक्तिसँग मिलेर काम गरिरहेको छ। उनी र उनी जस्ता केही मानिस शहरबाट हरेक दिन फोहोर उठाएर री–ट्रेडको रिसाइक्लिङ गर्ने ठाउँसम्म ल्याउँछन्। 

विल्सनलाई हरेक फोहोरमा अंक प्रदान गर्ने गरिन्छ। यसबाट हुने आम्दानीबाट उनी भोजनको व्यवस्थापन मात्र गर्दैनन्, लत्ताकपडा पनि खरिद गर्न सक्छन्। मारिया डे एञ्जेलो ग्रुवरले यसको सुरुवात गरेकी हुन्। 

उनलाई लाग्छ, ‘मान्छेलाई लाग्छ– फोहोर बाहिर लगेर फ्याक्यो भने त्यो आफैं हिँडेर अन्यत्र जान्छ। तर, ती ठाउँमा मानिस बसोबास गर्छन। यस्तो ठाउँमा कोही बस्न चाहदैनन्। फोहोरमा बस्नु उपयुक्त पनि हुँदैन। दक्षिण अफ्रिकामा हामी यी कुरा परिवर्तन गर्न चाहन्छौं। किनभने यहाँ थुप्रै ठाउँ फोहोरबाट सिर्जित छ। त्यसैले हामी मानिस बस्नका लागि यी ठाउँलाई सुन्दर बनाउन चाहन्छौं।’

री–ट्रेड कम्पनी फोहोरमा काम गर्ने व्यक्तिलाई अरुको तुलनामा निकै राम्रो पारिश्रमिक दिन्छ। यसको आफ्नै स्टोर छ। कम्पनी चन्दा तथा यसबाट हुने आम्दानीबाट सञ्चालित छ। 

री–ट्रेडका कारण अहिले शहरमा रिसाइकल राम्रो पेशा बन्दै गइरहेको छ। फोहोर संकलन गर्ने विल्सन भन्छन्, ‘मानिसहरू अचेल मलाई विल्सन तिमीले जे काम गरिरहेका छौं, त्यसलाई निरन्तरता देउँ भन्छन्। म रिसाइकलको काम गरिरहन्छु। यसले मलाई धेरै सहयोग प्राप्त भएको छ।’

यो पनि

फाेहोर प्लाष्टिकबाट तेल बनाउने भारतीय जाेडी

फोहोर फ्याँक्ने ठाउँलाई गार्डेनमा रुपान्तरण गरेका सिवा कहाँ हिजोआज कामदारहरू सब्जी पोको पारेको भेटिन्छन्। कोरोना महामारीको बेला स्थानीय धेरैले जागिर गुमाउनु पर्यो। अहिले पनि उनीहरूलाई बाच्नका लागि खाध्यान्नको आवश्यकता छ। 

मासिफुन्टे नामक एउटा गैर सरकारी संगठन सिवाको गार्डेनबाट यी सब्जी खरिद गरेर प्रभावित मानिसलाई उपलब्ध गराउने काम गरिरहेको छ। मासिफुन्टे जर्मन–अफ्रिकी संगठन हो। यसले वाल्मरमा बसोबास गर्ने युवाहरूलाई ट्रेनिङको व्यवस्थापन गर्छ। उसले वाल्मरमा गार्डेन निर्माणका लागि पनि काम गरेको छ। 

सामाजिक कार्यकर्ता वालेन्सिया त्वालो भन्छिन्, ‘मासिफुन्टेमा बसेर काम गर्दा हामीलाई महसुस भयो कि, हामीले समुदायमा बसेर काम गर्नुपर्छ। यो कसैलाई केही दिने कुरा मात्र होइन। यो त परिवर्तनको संवाहक हो। मानिसहरूमा विश्वास जाग्रित भएको छ। उनीहरूमा केही गर्न सकिन्छ भन्ने आत्मसम्मान फर्किरहेको छ।’

शहरी प्रशासनले यस कुरालाई सुनिश्चित गर्ने काम गरिरहेको छ कि, यी कार्यमा सरसफाई र सबै स्वास्थ्य मापदण्ड पुरा भएको छ कि छैन। सरकारी अधिकारीका अनुसार कृषि विभागले पनि ‘अर्बन भेजिटेबल गार्डेनिङ’ मा सहयोग र निगरानी बढाइरहेको छ। 

सिबा भन्छन्– उनलाई गार्डेनमा काम गर्न औजार उपलब्ध गराइएको छ। तर, फोहोरलाई गार्डेनमा रुपान्तरण गरिएको माटोबाट उब्जनी हुने सब्जीमा जहरीलो तत्व छ कि छैन, त्यसको कुनै लेखाजोखा राखिएको छैन। यो भने आवश्यक रहेको छ। फोहोरबाट मोहर बनाउने अभियानमा जुटेको नगर प्रशासनले सन् २०२२ को आर्थिक वर्षमा ७० लाख युरो खर्चिने आश्वासन दिएको छ। 

–डिब्ल्यु न्युजबाट  
 

प्रतिक्रिया